विभिन्न उद्देश्य राखेर विदेश गएका लाखौँ नेपालीहरू कोरोना भाइरसको महामारीले निम्ताएको डर र त्राससँगै अलपत्र समेत परेका छन् र आफ्नो घर फर्कन चाहन्छन्। नेपाल सरकारले आफ्ना नागरिकहरूलाई देश फर्काउन गरेको निर्णय सर्हानीय छ। प्राथमिकता निर्धारण गरि धेरै देशबाट नेपाल ल्याउने कार्य सुरु गरिसकिएको छ जसका लागि हामीले धन्यवाद दिनैपर्छ। तर यसका साथै सरकारले गरेको अपूर्ण तयारी अथवा व्यवस्थापनमा भएका केही कमजोरीहरूले मानिसहरू अझै मारमा परिरहेका छन्।
म पनि विदेशमा अध्ययन गरिरहेको एउटा विधार्थी हुँ र नेपाल फर्कन चाहन्छु। म जस्तै नेपाल फर्कन चाहने अन्य ठाउँ तथा देशमा अध्ययन वा कामको शिलशिलामा रहेका साथी तथा आफन्तहरू छन् जोसँग दिनहुँजसो सम्पर्क भइरहन्छ जसले गर्दा सबैको चासो, जिज्ञासा र समस्यालाई बुझ्ने मौका पाएको छु। साथीहरू सुनाउनुहुन्छ, नेपाल फर्काउने कुरा समचारमा आइरहेको थियो तर कहिले, कसरी र प्राथमिकता परिने हो कि होइन भन्ने कुरा थाहा थिएन।
भन्ने वित्तिकै आउन सकिँदैन भनेर जानकारीका लागि धेरै पटक राजदूतावासमा सम्पर्क गरियो तर जानकारी हासिल गर्न सकिएन। एक दिन एक्कासी नेपाल फर्कन चाहनेले फारम भर्नु भनी सूचना देख्यौँ। तर कहिले, कसरी अनि टिकट तथा होटल खर्चको बारेमा जानकारी थिएन। राजदूतावासमा सम्पर्क गर्दा त्यहाँका कर्मचारीहरू पनि अनभिज्ञ पाइयो। तर पनि फारम भरियो।
एक जना थाइल्याण्डमा अध्ययनरत साथी सुनाउनुहुन्छ, 'एक्कासी मिति तोकिएर आयो। टिकट हेरेको त अरू समयभन्दा तीन गुणा महङ्गो। जाने कि नजाने भन्दै दोधारमा परेँ, जसोतसो टिकट काट्ने पैसाको व्यवस्था गर्दै थिएँ, नेपालमा क्वारेन्टिनमा बस्दाको होटल खर्च बुझेको त नसकिने पो रहेछ। सबैभन्दा सस्तो होटलको दर रु ३००० भनेर लेखेको रहेछ, तर सम्पर्क गरेर बुझ्दा त त्यो दरमा त कोठा नै छैन।'
अनि एक दिन मात्र बस्ने होइन, कम्तिमा १४ दिनसम्म बस्नुपर्ने होला। स्थानीय क्वारेन्टिनको बारेमा बुझ्दा झन् बढी जोखिमको अवस्था देखियो। सरकारले पनि यो बुझ्नुपर्यो कि विदेशमा पढ्ने हरेक नेपाली धनी हुँदैनन्। कि त स्थानीय क्वारेन्टिन व्यवस्थित बनाउनुपर्यो होइन भने होटल दर न्यूनीकरण गर्नुपर्यो।
त्यस्तै कुवेतमा कार्यरत एक जना आफन्त दिदी भन्नुहुन्छ, यहाँ बसौँ काम छैन, फर्कूँ भने पैसा छैन। टिकट पनि छोइसाध्य छैन, त्यस्तै होटलमा बस्न पैसा छैन। स्थानीय क्वारेन्टिनमा गुणस्तर त टाढाको कुरो सुरक्षासम्म छैन। यो दुःखबाट आफ्नो देशमा जाउँ भन्दा क्वारेन्टिन स्थानमा नै बलात्कार हुँदैछ। बलात्कारभन्दा ठूलो त कोरोना हुन सक्दैन। उहाँ थप्नुहुन्छ, अरू साथीहरू टाढाटाढा बस्छन् राजदूतावासले जारी गरेको सूचना कतिसम्म त पुग्दैन र पुगे पनि यति छोटो समयमा आउन नै सम्भव हुँदैन। सरकारले उद्धार गर्छु मात्र भनेर हुँदैन व्यवस्थित हिसाबले गर्न सक्नुपर्दछ।
त्यस्तै अष्ट्रेलियामा परिवार भेट्न जानु भएको आमा भन्नुहुन्छ, ६ महिनाको लागि गएको थिएँ, भिसाको अवधि पनि समाप्त हुन थाल्यो। नेपाल फर्काउने बारेमा त सुने तर आउने कसरी? स्वास्थ्य समस्या त्यसमाथि बाहिरको खाना नखाने परम्पराले गर्दा बाहिर क्वारेन्टिनमा बस्न सम्भव छैन। होम क्वारेन्टिनको बारेमा बुझ्न खोज्यौँ तर कहाँ बुझ्ने नै थाहा भएन। मेरो घरमा छुट्टै कोठा थियो त्यहीँ बस्ने र पकाउने गर्न सकिन्थ्यो, आफ्नो परिवार बालबच्चाको माया त हामीलाई पनि धेरै लाग्छ, हामी तिनीहरूको ज्यान त जोखिममा पार्न चाहँदैनौँ नि, हामी आफ्नो घरमा सुरक्षित हुन्थौँ र अपनाउनु पर्ने नियमको पालना समेत गर्थ्यौँ।
होम क्वारेन्टिनको बारेमा स्वास्थ्यका कर्मचारीलाई बुझ्दा त्यस्तो कुनै निर्देशिका नभएको र कति त यो बारेमा अनभिज्ञ भएको जानकारी प्राप्त भयो। कसैले यो व्यवस्था त आर्मीले गर्छ पनि भने तर विश्वासिलो जवाफ कतैबाट पनि पाइएन। राजदूतावासलाई यो बारेमा जानकारी नै छैन। हामीले जिज्ञासा र समस्या पर्दा कता सम्पर्क गर्ने हो? सरकारले कम्तिमा सम्पर्क निकाय र व्यक्ति त तोक्नु पर्ने हो जसले हामी जस्ता अन्योलमा परेकालाई सहजीकरण होस्।
यी त केवल प्रतिनिधि पात्र मात्र हुन्। यस्ता समस्यासँग विदेशबाट नेपाल फर्कने हरेक नेपाली जुधिरहेका छन्। कसैलाई हवाई टिकटले मारमा पारेको छ भने कसैलाई होटल क्वारेन्टिनको भाडादर र स्थानीय क्वारेन्टिनको गुणस्तरीयता र सुरक्षाले पिरोलेको छ। कोही भने सही समयमा जानकारी नपाएर अन्योलमा परिरहेका छन्। त्यस्तै विदेशबाट फर्किनुभन्दा अगाडि वा नेपाल पुगिसकेपछि पिसिआर वा आरडिटी कहाँ गर्ने भन्ने मै धेरै व्यक्तिहरू अन्योलमा छन्। हामीले दिनहुँ यस्ता समस्या सुनिरहेका छौँ। नेपाल सरकारले विदेशबाट नेपाल ल्याउँदा निम्न कुराहरूलाई समेत मध्यनजर राख्नु नितान्त आवश्यक छः
१. सरकारले विदेशमा रहेका नेपालीलाई सही सूचना सम्प्रेषण गर्न विदेशको हकमा राजदूतावास र नेपालको हकमा एउटा निश्चित निकाय तोक्नुपर्यो र उक्त निकायहरूलाई पनि आवश्यक कुराको जानकारी हुनुपर्यो। साथै कार्यालय समयभन्दा पछि सम्पर्क गर्नको लागि पनि सम्पर्क व्यक्ति तोक्नुका साथै फोन नम्बर तथा इमेल प्रदान गराउँदा सहज हुन्छ।
२. विदेशमा बस्ने हरेक नेपालीको पहुँचमा इन्टरनेट सुविधा हुँदैन र धेरै अन्तर्राष्ट्रिय विमानस्थल भएको ठाउँबाट टाढा बस्ने भएकोले सूचना जारी गरेपछि केही समय प्रदान गर्नुपर्ने।
३. अर्को मुख्य समस्या हवाई भाडा भएकोले यसको व्यवस्थापन गर्नु आवश्यक छ। भाडा दर कम गरी सबैले धान्न सक्ने बनाउनु पर्यो साथै तिर्न नसक्नेको प्राथमिकता निर्धारण गरी निःशुल्क सेवा प्रदान गर्ने व्यवस्था गर्नुपर्यो। यस्तो विशेष एवं विषम परिस्थितिमा हवाई कम्पनीहरूले पनि उदारता देखाउनु पर्यो।
४. क्वारेन्टिन व्यवस्थापन मुख्य समस्या रहेकोले कोरोना र यसबाट हुने क्षतिलाई न्यूनीकरण गर्न क्वारेन्टिनको सही तरिकाले व्यवस्थापन हुनुपर्दछ। स्थानीय क्वारेन्टिनहरूको गुणस्तरीयता बढाउनुको साथै सुरक्षाको समेत प्रत्याभूति गराउनु आवश्यक छ। क्वारेन्टिनभित्र हुने हिंसा पूर्णरूपमा रोक्नुका साथै महिला र त्यसमा पनि गर्भवती तथा सुत्केरीहरूको लागि विशेष व्यवस्था गरिनुपर्दछ।
५. होटल व्यवसायी परिषदले दिएको भाडादर अरू समयको भन्दा पनि बढी भएको र उत्त दरमा समेत धेरै ठाउँमा कोठा नपाइएको गुनासो समेत भएकोले यसको व्यवस्थापन गर्नु पनि अनिवार्य छ। होटल व्यवसायीहरूका लागि यो समय सेवाको समेत भएकाले मुनाफामा बढी जोड नदिई सेवा भाव पनि राख्नुपर्दछ र सरकारले पनि यसको निगरानी तथा व्यवस्थापन गर्नु अनिवार्य छ।
६. क्वारेन्टिनमा देखिएका समस्यालाई न्यूनीकरण गर्न होम क्वारेन्टिनमा पालना गर्नुपर्ने नियम तथा निर्देशिका तयार पारी होम क्वारेन्टिनलाई प्राथमिकता दिई व्यवस्थित गर्न सकेमा धेरै मानिसले राहत पाउन सक्छन्।