बासँगै मेरो पनि सरूवा भयो, धनगढी। बा राष्ट्रिय वाणिज्य बैंक, धनगढी शाखाको एकाउन्टेन्ट'। म पञ्चोदय मा.वि., हसनपुरको कक्षा आठको 'स्टुडेन्ट'।
पञ्चोदय सुदूरपश्चिमकै राम्रो पढाइ हुने सरकारी स्कुल। तर स्कुलको पढाइ र गुणस्तरले मलाई फरक पर्नेवाला थिएन। आफू त 'एभरग्रीन एभरेज'।
मेरा लागि पढाइ-लेखाइ तेस्रो-चौथो प्राथमिकताका विषय थिए। पहिलो, सिनेमा। दोस्रो, हुलाक टिकट संकलन।
हुन त हिरो बन्न ममा न रहर थियो, न जिउडाल। तै पनि फिल्म भनेपछि हुरुक्कै।
रूचिकै कारण आज मेरो डायरी संग्रहमा विभिन्न देशका आठ सयभन्दा बढी हुलाक टिकट छन्। फिल्म चाहिँ, चाइनिजदेखि फ्रेन्चसम्म। रसियनदेखि स्पेनिससम्म। कलिउडदेखि हलिउडसम्म दुई हजारजति फिल्म मानसपटल संग्रहमा होलान्।
त्यतिबेला धनगढीमा दुइटा सिनेमा-घर थिए। एउटा, जोशी टाकिज। अर्को, चन्दन टाकिज। मेरो स्कुलबाट नजिक जोशी टाकिज। डेराबाट झन् नजिक।
८–९ वर्षको छँदा दुई पटक फिलिम हेर्न 'चान्स' मिलेको थियो बासँग। पहिलो चान्स बोकाले मिलाइदिएको। बडेमाको बोका चढेर घोडसवारको मजा लिन खोज्दा म फिस्टोलाई पुर्लुक्कै लडाएर हातै भाँचिदियो। उपचारका लागि दिल्ली जाँदा हेरेको खै कुन फिल्म हो, हिरो मिथुनजस्तो लाग्छ।
दोस्रो 'चान्स' बासँगै पलिया जाँदा हेरेको फिल्म- दिल। 'मुझे निँद ना आए...हो' गीत सम्झना छ। दुवै फिल्म भारतमै हेरेको। दुवै नाइट शो। त्यसपछि सिनेमा हल गइएन।
सिनेमा हलको बगलमै बस्न थालेपछि मन सिनेमामै बस्न थाल्यो। गुलशन ग्रोबरले 'दिल गार्डेन गार्डेन हो गया' भन्या जस्तो, नयाँ नयाँ सिनेमाका पोस्टरले बजारका भित्ता रंगिदा मेरो मन 'सिनेमा सिनेमा' हुने समय थियो त्यो। किताबका गाताभरी हिरो-हिरोइनका फोटा। गौरीफन्टा बजारबाट किनेर ल्याएका कापी हिरो-हिरोइनकै तस्वीर भएका।
डेराबाट टाकिज नजिक र स्कुल टाढा भएर होला किताबका पानामा भन्दा सिनेमाका पोस्टरमा ध्यान बढी जान थाल्यो। 'ग्यांग्स अफ वासेपुर'को डायलगजस्तो- 'जब तक सनिमा है, लोग चुतिया बन्ते रहेंगे' हो रहेछ। 'सनिमा' को लागि के गरिएन!
फिल्मी किरोले काटिसकेको थियो, म किताबी किरो कहिल्यै बन्न सकिनँ।
वसन्तयामतिरको कुनै छुट्टीको दिन। बाले एकाबिहानै सिलाबरको चहकिलो कराहीमा बेसार अलि बढी हालेको आलु, प्याज, टमाटर र लौकाको 'ग्रेभी' र ट्यागसहितको 'युनाइटेड' प्रेसर कुकरमा भात पकाउनुभयो। बालाई उपचार गर्न मुरादाबाद जानुपर्ने रहेछ। सम्भवतः टाउको दुखाइको औषधि गर्न। आजसम्म पनि बेलाबेला टाउको दुखिरहन्छ बाको।
बाले त्योबेला भात खाएर जानुभयो या भोकै, थाहा छैन। तर निस्किनै लाग्दा भन्नुभयो, 'म राति फर्किन्छु, कतै नजानू, चकचक नगर्नू, भाइलाई नछोड्नू।'
मेरो फिल्मी इच्छा बालाई कहिल्यै भन्न सकेको थिइनँ। न बाले कहिल्यै फिल्म हेर्न जाने प्रस्ताव गर्नुभयो। त्यसैले त्यस दिन बा हिँडेको केही बेरमा भाइलाई भनेँ, 'हेर राजा, आज मौका छ, जाऊँ फिलिम हेर्न।'
ऊ पनि हौसियो। बाले कतै नजानू भनेको भए पनि ढिला आउने 'सिग्नल' फ्याँकिसकेकाले खाना खाएर धोइफोइ गरी दाजुभाइ हिँड्यौं जोशी टाकिजतिर।
सेतो, ठूलो, अग्लो फिल्म हल। बजारमा टाँसिने र सिनेमा हलबाहिर टाँसिने पोस्टर अलग्गै हुँदा रहेछन्। मूल पोस्टर त सबसे ठूलो, आठ वटाजति साना पोस्टर जोडेर बनाएको। सिनेमा हेर्न आउनेहरूका साइकल राख्ने छुट्टै साइकल स्ट्यान्ड।
'टिकट खिड्की' भनिँदो रहेछ सिनेमाको टिकट बेच्ने ठाउँलाई। यसो हात छिराएर दस रुपैयाँ दिएर दुइटा टिकट मागेँ। दुई रूपैयाँ फिर्ता दियो, साथमा दुइटा पहेँला रङ टिकट। टिकट खल्तीमा कोचेर ठन्डा बरफ किन्न गयौं। लाम्चो प्लास्टिकमा सुन्तलाको स्वाद भएको, रुपैयाँको दुइटा बरफ।
आज ढुक्कले फिलिम हेरिन्छ। बा पनि छैनन्- उफ ! कम्ती कौतुहलता थिएन। बरफ च्यापेर ठूलो च्यानल गेटतिर दगुर्यौं। यति ठूलो च्यानल गेट पहिलो पटक देखेका हामीले। भित्र जताततै फिल्मी पोस्टर। भित्तैभरी हिरो-हिरोइनका तस्वीर।
गीत घन्किरहेछ- 'तुम याद ना आया करो...।'
ट्यार्रर। घन्टी बज्यो। एकचोटी त झल्याँस्स स्कुलकै घन्टी सम्झिएँ। तर, स्कुलको जस्तो टिनिनिनी छैन। कक्षा होइन, सिनेमा सुरू हुने घन्टी रहेछ। सबैजना यताउता दौडिए। कोही बाल्कोनीतिर, कोहो ड्रेस सर्कलतिर, कोही अन्तै। हामी अलमलमा पर्यौं, कता जाने?
फरक फरक रङको टिकट दिनुको कारण बल्ल बुझ्यौं, अनि हाम्रोजस्तै रङका टिकट बोक्नेका पछि लागेर पुग्यौं हलभित्र।
सयौं कुर्सीका लहर। अगाडि भित्तोमा बडेमानको सेतो पर्दा। माथि लामो डन्डीमा झुन्डिएर फनफनी घुमिरहेका पंखाहरू, टाउकैमा झर्लान् जस्ता। गार्ड दाइ मुखमा 'एभरिडे' टर्च च्यापेर आइपुगे टिकट चेक गर्न। मैले टिकट देखाएँ। टर्चको इशाराले परको सिटमा जान भने। ठाउँठाउँमा उध्रिएर नरिवलको बोक्राको रेसा निस्किएका सिटमा बस्यौं।
..ढान टाँडा...न...। कादर खानको वजनदार ब्याकग्राउन्ड आवाजमा कहानी सुरू हुन्छ- पहेले दुनियाँ नहीं थी। सिर्फ दुनियाँ बनाने वाला था।
सासै टक्क रोकिएला झैं भयो। पछाडि भित्ताको प्वालबाट आउने लाइटले पर्दामा चलचित्र देखिने रहेछ। सिनेमाको नाम हिन्दी, अंग्रेजी, उर्दूमा क्रमशः आउँ - जिने नहीं दूंगा।
कलाकारहरू धर्मेन्द्र (राका), शत्रुघ्न सिन्हा (साका), राज बब्बर, अनिता राज, रजा मुराद, जगदीप, शक्ति कपुर। डाँकु, गोला, बारुद, बन्दुक, घोडा, एक्सन, रोमान्स, डायलग अनि गीत संगीतले भरपुर। एकएक सिन मजेदार। धर्मेन्द्रको डबल रोल। बदलाको भावनामा आधारित फिल्म।
दुई भाइ ट्वाल्ल पर्दै हेर्दै गयौं। मैले पहिल्यै सिनेमा हेरिसकेकाले बिछट्टै नौलो नलागे पनि भाइ कताकता डराइरहेझैं लाग्थ्यो। म बेलाबेला उसलाई घचेटेर साहस थपिरहेको थिएँ।
फिल्म आधाआधीमा 'इन्टरभल' हुँदो रहेछ। चिया, चमेना, कोल्ड ड्रिंक्स र पाउरोटी खान। मोल भने बाहिरको भन्दा महंगो। अघि टिकट खिड्कीको दाइ अहिले क्यान्टिनमा बसिरहेछन्। शुक्रबार हलमा नयाँ फिल्म लाग्दा रिक्सापछाडि फिल्मको पोस्टर टाँसेर बिहानैदेखि एकसरो धनगढी बजारको भन्सारदेखि क्याम्पस रोडसम्म र स्कुल भएका ठाउँतिर माइकिङ गर्ने पनि उही दाइ हुन्।
रिक्सामा गह्रुंगो स्वरमा भन्थे, 'दर्शक महानुभाव, धनगढीको जोशी टाकिजमा आजैदेखि भव्यताका साथ प्रदर्शन हुन गइरहेछ गोविन्दा अभिनित हिन्दी कथानक चलचित्र– आग। हेर्न नछुटाउनु होला।'
बीच्च-बीच्चमा म्युजिकल ब्रेक गर्दै फेरि सुरु हुन्थे, 'एक्सन, रोमान्स अनि डायलगले भरपूर मनोरञ्जनात्मक चलचित्र आग। जोशी टाकिज धनगढीमा।'
इन्टरभलपछि फेरि फिल्म सुरू भयो। उस्तै मारधाड, घोडचढी, डायलग, रोनाधोना, नाँचगान, कमेडी। हिरोको धमाकेदार इन्ट्रीमा होस् वा भिलेनले कुटाइ खाँदा र बेलाबेला रिल काटेको भन्दै दर्शकहरू हलै उचाल्ने गरी सिटी बजाउँदै चिच्याउँथे। हेर्दाहेर्दै फिल्म 'द इन्ड' भइसकेछ। पर्दामा नामहरू आइरहे पनि दर्शक हिँड्न थाले। पर्दा पूरै बन्द नहुन्जेलसम्म हेरिरह्यौं हामी दुई भाइ। अन्ततः जीवनको नौलो अनुभव लिएर टाकिजबाट निस्कियौं।
कोठा पुगेपछि पनि आँखाभरी फिल्मका दृश्य नाचिरहे, चलचित्रझैं। फिल्म फेरि हेर्ने हुटहुटी जाग्यो। भारततिर गएका बा राति अबेर आउलान्। भाइलाई कोठाबाट ननिस्किन भनेँ।
'८ बजेतिर फिल्म सकिहाल्छ। बुढा आउनुभन्दा अगाडि फर्किउँला' भनेर यसपटक राम दाइलाई नाइट शोका लागि मनाएर फिल्म हलतिर लागेँ।
एकएक सिनसँग दिउँसै जानकार भइसकेकाले सिनेमा अघिभन्दा झन् रोचक बन्यो। फिल्मको सिनभन्दा अगाडि म 'ब्रिफिङ' गर्न थालेँ। नाइट शोमा मान्छे कम हुँदा रहेछन् तर पनि मजा बेग्लै।
फिल्म हेरेर साढे आठ बजेतिर कोठा फर्किँदा बाटैमा जम्काभेट नहोस् भनेर बालाई बाटोमा खोजिरहेँ। तर 'दीवार' फिल्मका अमिताभ बच्चनले 'तुम मुझे ढुँड रहे हो, और मै तुम्हारा यहाँ इन्तजार कर रहा हुँ' भन्या जस्तो बा त अघि कोठा पुगिसकेर मेरै प्रतीक्षा गरि'रा, फिल्मको भिलेनभन्दा खतरा मुद्रामा।
क्लाइमेक्समा रोटी पकाउँदै गरेका भिलेन- मेरा बा। म पुग्ने र रोटी पकाएर सक्ने संयोग परेछ। म भिजेको बिरालो जस्तै लुसुक्क ओछ्यानमा बस्न ढोकाबाट छिर्न के खोजेको थिएँ, बाले अघिको फिल्मको भिलेन 'साका'को शैलीमा डरलाग्दो गरी सोध्नुभयो, 'कहाँबाट आइस् यति राति?'
'राम दाइसँग गएको थिएँ।'
'कहाँ गएको थिइस्?'
'फिलिम हेर्न।'
राम दाइले आड दिन्छन् कि भनेर यसो मुन्टो घुमाएर हेरेको, दाइ त उहिल्यै कुलेलाम। फिल्मका कमेडी सिनमा जोकर गायब भएजस्तो।
बा मुर्मुरिँदै यसरी आउनुभयो, मानौं मलाई भनिरहनुभएको छ- बदमास, अपनी मर्जी करता है। मै तुझे जिने नहीं दूंगा।
अनि बाले दुई दनक दिनुभयो।
ढिसुम..!, यो राति राति फिल्म हेर्न गएकामा।
या...ढिसुम! यो भाइलाई एक्लै छाडेकोमा...।