२०१७ नोभेम्बर ६, कोलम्बो सहरको होटल हिल्टन खचाखच थियो। दक्षिण एसिया र एसिया प्रसान्त क्षेत्रका करिब १५० सहरको सञ्जाल 'सिटिनेट'को अधिवेशन सुरू भएको थियो। समारोह उद्घाटन श्रीलंकाका प्रधानमन्त्री रनिल विक्रमसिङ्गेले गर्नेवाला थिए।
सिटिनेटको सचिवालय सन् २०१२ मा जापानको योकोहामा सहरबाट दक्षिण कोरियामा सरेको थियो। त्यही बेलादेखि राजधानी सोलका मेयर पार्क वोन–सुन सञ्जालका अध्यक्षको भूमिका निर्वाह गरिरहेका थिए।
त्यसैले उद्घाटन समारोहको अध्यक्षता गर्न र नयाँ कार्यसमितिको चुनाव गराउन उनी पनि कोलम्बो आइपुगेका थिए। अध्यक्षका रूपमा सबैको केन्द्रविन्दु उनै मेयर पार्क थिए। सञ्जालको प्रमुख कार्यकारी पद महासचिवमा म र हाल अमेरिका बस्ने भारतीय पूर्व आइ.ए.एस.अफिसर विजय गन्नथनको उम्मेदवारी थियो।
'सिटिनेट नेपाल' का ११ सदस्यमध्ये कार्यकारी समिति सदस्य बन्न र भोट हाल्न दस सदस्य त्यहाँ थिए। महानगर र नगरपालिकाबाट भर्खरै निर्वाचित मेयरहरू- चिरीबाबु महर्जन, रेनु दाहाल, विजय सरावगी, भिम पराजुली, मानबहादुर जि.सी., धरानका तत्कालीन मेयर स्व. तारा सुब्बा र उपमेयर मञ्जु भण्डारी, तानसेनका अशोक शाही लगायतको सहभागीता थियो।
अग्लो राजनीतिक र शारीरिक कदका धनि मेयर पार्क कोलम्बोको हिल्टन होटलस्थित समारोह स्थलमा छिरे। उनी साधारण मानिस झैं सबैसँग हात मिलाउँदै र कसैकसैसँग छोटो कुराकानी गर्दै हिँडिरहेका थिए।
केही भिड हटेपछि म पनि उनीनजिक पुगेँ र आफ्नो परिचय दिँदै कुनै भूमिका नबाँधी अंग्रेजीमा भनेँ, 'गुड मर्निङ, मेयर पार्क ! मलाई महासचिव पदका लागि तपाईं र कोरियाका नगरहरूको भोटको आवश्यकता छ।'
उनले आफ्ना दुवै हातले मेरो हात समाउँदै भने, 'ओहो, तपाईं हो कलानिधि!'
उनले बडो शालीन हुँदै भने, 'म तपाईंसँग सत्य बोल्नु पर्छ। यसपटकका लागि हामीले विजयलाई समर्थन गर्ने निर्णय गरिसकेका छौं।'
मलाई तत्कालै थाहा भयो अब चुनाव जित्न गाह्रो छ। किनकी राजधानी सोलका मेयरले जसलाई भोट हाल्छन्, कोरियाका अन्य मेयरले पनि उनैलाई फलो गर्नेछन्। उनको प्रभाव फिलिपिन्सका नगरमा पनि उत्तिकै छ।
तथापी मैले भने, 'केही छैन मेयर पार्क! म तपाईंको इमानदार र प्रष्ट जवाफबाट साँच्चै प्रभावित भएँ।'
त्यतिभन्दा सम्म उनले मेरो आँखामा हेरिरेका थिए र मेरो हात पनि समाइरहेका थिए।
उनले गम्भीरता पूर्वक फेरि भने, 'तै पनि म तपाईंलाई शुभकामना दिन्छु।'
यसोभन्दा उनको अनुहारमा सहानुभूति र हार्दिकता थियो।
विगतमा काठमाडौं महानगरका मेयर र नेपाल नगरपालिका संघ कार्यकारी समिति सदस्य रहँदा संघका तत्कालीन अध्यक्ष डोरमणि पौडेल आफू नजाँदा मैले प्रतिनिधित्व गर्ने गरेकाले सन् २०१२ को सोल सम्मेलनमै मैले मेयर पार्कलाई भेटेको थिएँ।
त्यति बेला उनी भर्खरै सोलको चुनाव जितेका जल्दा–बल्दा मेयरको रुपमा परिचित थिए। पारम्परिक नेताका पट्यारलाग्दा भाषण र भ्रष्टाचारबाट आजित कोरियाली जनताले पार्क जस्तो कुनै राजनैतिक पृष्ठभूमि नभएको तर चिरपरिचित मानव अधिकारवादी नेतालाई ठूलो भोटको अन्तरले जिताए।
कोरियाको दोस्रो शक्तिशाली पदमा विराजमान उनी धेरै लोकप्रिय भए। उनको लोकप्रियताले नै उनलाई सन् २०१८ जुनमा लगातार तेस्रो पटक सोलका मेयर बनायो। कोरियाको इतिहासमा यस्तो पहिलो पटक भएको थियो।
संसारका प्रायः विकसित र ठूला देशमा जस्तै, राजधानी सहर सोलका मेयर पार्कलाई पनि सन् २०२२ को आसन्न राष्ट्रपति निर्वाचनमा प्रवल दावेदारका रूपमा हेरिएको थियो।
कोरियामा उच्च पदस्त व्यक्तिहरूको जति छिटो उदय भएको छ, त्यति नै छिटो पतन वा अवसान पनि भएको देखिएको छ।
सन् २००९ मा कोरियाका राष्ट्रपति रानो मुह्यन आफ्नो कार्यकालपछि हाँस पालेर बोङ्गा भनिने गृहनगरमा शान्त जीवन बिताइरहेका थिए। कार्यकाल सकिएको १८ महिनापछि उनलाई भ्रष्टाचार आरोप लाग्यो। उक्त आरोपको पीडा सहन नसकेर उनी घर नजिकैको पहाड चडे। र, केही बेरमै डाँडाबाट हामफालेर आत्महत्या गरे।
यो घटना यति दुखद र मर्मस्पर्शी थियो, उनको अन्तिम संस्कारमा सरिक हुन करिब चालिस लाख कोरियाली त्यो सानो नगरमा पुगेका थिए।
सन् २०१७ मा पनि कोरियाका महिला राष्ट्रपतिविरुद्ध केही नजिकका नातेदारलाई फाइदा पुग्ने काम गर्न छुट दिएको, छोरीको प्रभावमा नीतिगत निर्णय लिने वा काम गर्ने जस्ता आरोप लाग्यो। उनीमाथि संसद र अदालत दुवैले कारबाही अघि बढाए। उनको विरोधमा हजारौं कारियाली सडक आन्दोलनमा उत्रिए।
त्यो बेला मेयर पार्कले जनताको आन्दोलनको पक्षमा खुलेर समर्थन गरे। कार्यकारी राष्ट्रपतिविरुद्ध जनताको साथ दिने उनको निर्णय तत्कालीन समयमा चानचुने कुरा थिएन। यो घटनाबाट उनी सत्यका लागि सम्झौता गर्थेनन् भन्ने देखियो। राष्ट्रपतिले सार्वजनिक माफी मागिन् र अनुनय-विनय गरिन्। तर अदालतले उनलाई दोषी ठहर गरिदियो। हाल उनी कारावास जीवन बिताइरहेकी छन्।
कोरियामा यस्ता घटनाको श्रृङ्खला लामो छ। तर मेयर पार्कको नियती पनि त्यस्तै हुन्छ भन्ने सायदै कसैले सोचेको थियो।
बिहीबार एकाएक उनी मेयरको सरकारी निवासबाट कता लागे कसैलाई सुइँको भएन। कालो क्याप र पछाडि भिर्ने झोला बोकेर हिँडेको भने सिसी क्यामराले कैद गरेको थियो।
बेलुका छोरीले पार्क सम्पर्कविहिन भएको खबर प्रहरीलाई दिइन्। उनलाई खोज्न ६ सय प्रहरी, अग्नि नियन्त्रक, ड्रोन र कुकुर परिचालन गरियो। सात घन्टा लामो खोजीपछि शुक्रबार मध्यरातमा उनको शव सोलकै बकाक डाँडामा मृत अवस्थामा कुकुरले भेटायो।
सिएनएनका अनुसार व्यक्तिगत गोपनीयताका कारण उनको मृतशरीरको अवस्थाबारे प्रहरीले अन्य जानकारी दिएको छैन।
मेयर पार्कको मृत्युको कारण अझै पूर्ण यकिन छैन। तर पनि तेस्रो कार्यकालसम्म स्वच्छ छवि कायम राख्दै आएका पार्कलाई आफ्नै पूर्व सेक्रेटरीले २०१७ देखि आफूलाई यौन हिंसा गरेको आरोपमा भर्खरै मुद्दा हालेको स्थानीय सञ्चारमाध्यमले लेखेका छन्।
पार्कले २०१८ को 'मि–टू' अभियानमा महिलाहरूले शक्तिशाली राजनीतिज्ञहरूलाई खुलेर आरोप लगाएको प्रति उनीहरूको आत्मविश्वासको प्रशंसा गरेका थिए। उनै पार्कमाथि त्यही आरोप लाग्यो। स्थानीय सञ्चारमाध्यमका अनुसार उनले यही पीडा सहन नसकी मृत्युको बाटो रोजेको हुन सक्ने अनुमान गरिएको छ।
सोल सहर शोकमा डुबेको छ। लाखौं पक्षधर मेयर पार्कलाई अन्तिम बिदाइ गर्न भावविभोर भई प्रतिक्षा गरिरहेका छन्। उनका कतिपय विरोधीहरूबाट उनले गरेको गलत कामको सजाय भोग्नबाट भाग्न मृत्युवरण गरेको भन्दै सामाजिक सञ्जालमा आलोचना भइरहेको छ।
कोरियाली सञ्चारमाध्यमका अनुसार पार्कमाथि महिलाले लगाएका आरोपबारे सत्यतथ्य सार्वजनिक हुने सम्भावना कम छ। किनकी उनले लगाएको आरोपको छिनोफानो सम्भवतः कानुनी रूपमा हुने छैन। कोरियाको कानुनअनुसार आरोपित व्यक्तिको मृत्यु भएमा त्यो मुद्दाको फाइल स्वतः बन्द हुन्छ।
महिला हिंसा, यौन शोषण र महिला अधिकारको वकालत गरिरहेका मेयर पार्कको मृत्यु शंकास्पद र रहस्यमय रूपमा भयो। कोरियाको राष्ट्रपति हुने बलियो सम्भावना भएका नेताको अवसान भयो।
अरू सत्य के हो, प्रस्ट छैन। मैले बुझेको यही सत्य आत्मसात गर्दै कोलम्बोमा मिलाएको उनको हातको तातो स्पर्श अनुभव अझै गरिरहेको छु।
(कलानिधि देवकोटा नेपाल नगरपालिका संघका कार्यकारी निर्देशक हुन्।)