त्यही घटनालाई पवित्र र स्तुत्य बनाइदिने युट्यूबर। घटनामा टुइस्ट आएको पत्ता लगाउने पनि युट्यूबर। अनि त्यसैको खोइरो खन्नेदेखि सजाय तोक्ने सबै युट्यूबर। होइन, देशमा प्रशासन छ कि छैन? छ भने कहाँ छ?
घटनाको छानविन गर्ने, नीति नियमको पालना गराउने र पालना नगरेको भए नियमानुसार सजायको दायरामा ल्याउने निकाय हुन्छ मुलुकमा। कुनै सुचना वा जानकारी प्राप्त भएमा पहिला नै त्यसको स्रोत र सत्यता पुष्टि गरेर आचारसंहिताको पालना गर्दै सञ्चार माध्यममा सार्वजनिक गर्ने प्रक्रिया हुन्छ, त्यो प्रक्रिया बमोजिम प्रकाशित वा प्रसारित गर्ने आधिकारीक साधन हुन्छन्, त्यसका साधक (पत्रकार) हुन्छन्। यस्तो भएन भने विधि र प्रणाली उत्तानो पर्छ। समाज अराजक बन्छ।
घरमा परिवारका सदस्यहरुबीच असमझदारी हुनु, छरछिमेकमा एकार्काबीच कुरा नमिल्नु, विवाद बढ्दै गएमा झैझगडाको स्थिति आउनु आदि स्वभाविक सामाजिक प्रक्रिया हुन्। त्यस्तोमा कसैले क्यामरा तेर्स्याइहाल्नु, कलम र बुम सोझ्याइहाल्नु पहिले सामाजिक तवरबाटै सुल्झन दिनुपर्ने, कि त सुल्झाउन कोशिस गर्नुपर्ने हो।
नसुल्झिएमा त्यो हेर्ने सम्बन्धित निकाय हुन्छ, सोही निकायलाई काम गर्न दिनुपर्ने हो। निकायको काम गराइमा शंकास्पद क्रियाकलाप देखियो भने कलम, क्यामरा र बुमहरू तम्तयार भएर बस्नुपर्ने हो। तर भइरहेको अर्कै छ।
आजकल समाजमा घटना घट्दा घटनास्थलमा प्रशासनभन्दा पहिला दृश्य छायांकन गर्नेहरु पुग्ने गरेका छन्। घटनाले पछ्याउने प्रक्रिया र खोजलाई अलपत्र छोडेर छायाँकारहरू आफूलाई सर्वप्रथम र सर्वश्रेष्ठ सुचना प्रवाहको आफैँ मतियार बनाउँछन्।
घटनाको सेतो वास्तविकता पत्ता लाग्नु पहिले नै घटनास्थलका साक्षीको पहिलो बोलीलाई 'भाइरल' बनाइसक्छन्। पछि तथ्य कुरा अर्कै भइदियो भने त्यो पनि उनीहरूलाई नै मसला हुन्छ- एउटै घटनामा दुई तीन वटा कन्टेन्ट! नेपालमा युट्यूब च्यानलहरु यसरी चम्किएका छन्।
व्यक्तिले आफूखुसी चलाएका युट्यूब च्यानललाई आधिकारिक मिडिया मानेर त्यसको पिछा गर्ने अबुझ समाज छ। भ्रम बिक्ने समाजमा त्यति बुझाइदिने कसैको ह्याउ छैन। अचेल त, दाजुभाइको अंशविवादमा दाजुले भाइलाई 'मिडिया बोलाउँछु' भनेर थर्काउँछ। श्रीमतीले श्रीमानलाई, वल्लाघरेले पल्लाघरेलाई, डेरावालाले घरबेटीलाई, कर्मचारीले हाकिमलाई चेतावनी दिन्छन्- मिडियामा हाम्रा पनि मान्छे छन्, याद राख!
उनीहरूले युट्यूब च्यानललाई मात्र 'मिडिया' बुझेका छन्, त्यसका सञ्चालक न्याय/अन्याय केलाइदिने भरपर्दा मान्छे सोचेका छन्। युट्यूब च्यानलमा राखिएका जानकारी मात्र 'ताजा समाचार' भन्ठानेका छन्। यो बिडम्बनाले समाजलाई अनियमित र भ्रमित बनाइरहेको छ।
सबै च्यानललाई मुछ्ने कुचेष्टा गरिएको होइन। केही आधिकारिक र नियमसंगत चलेका च्यानलहरु आफैँमा सचेत पनि छन्। तिनीहरुबाट अरुहरुले सिक्न सक्छन्, मर्यादा के हो? घटनाको संवेदनशीलताको खिलाफमा बिना अनुमति तस्बिर, दृश्य र घटनासँग सम्बन्धित/असम्बन्धितका विचारहरु जबरजस्ती लिनु कहाँको मिडियाकर्म र मर्यादा हो?
अझ अमर्यादित त के भने दोष र दोषी पनि युट्यूबरले निर्क्यौल गर्ने, आफैँद्वारा घोषित दोषीलाई प्रश्नका बाँडहरूले घोचिरहने, अपराधी बनाएर केरकार गर्ने, बोल्ने इच्छा नभएकालाई पनि बोल्नैपर्ने दबाब दिने, छेउछाउका मानिसहरूलाई उत्तेजित पार्ने, सजाय समेत तोकिदिने... यो त अत्ति भएन र! युट्यूबरहरूले देशमा संचारकर्मी, प्रहरी, स्थानीय निकायदेखि न्यायाधीशसम्म आवश्यक नपर्ने जस्तो भान पारेको समाज कतातिर जान्छ होला भन्ने कल्पना गरौँ त!
देशमा नियम हुन्छ, कानुन हुन्छ। त्यो युट्यूब च्यानल खोल्ने र चलाउनेहरूले पनि मान्नुपर्छ। कसैको व्यक्तिगत घर, जग्गा, क्षेत्रमा प्रवेश गर्न पहिला अनुमति लिनुपर्छ। अनुमति नपाए र जानै पर्ने भए 'मिडिया' को 'पावर' देखाएर होइन स्थानीय प्रशासनको सहयोग लिएर प्रक्रियागत रुपमा प्रवेश गर्नुपर्दछ। नत्र चोरी, डकैती, जबरजस्ती गर्दै हिँड्ने र 'मिडियाकर्मी हुँ' भन्ने युटुबरमा फरक के भयो।
प्रशासन र सञ्चारसँग सम्बन्धित नियमन गर्ने निकायको पनि कमजोरी देखिन्छ। तिनीहरुको बैधानिकता के हो, आधिकारिकता के हो, हक के हो, कर्तव्य के हो? सबै कुराको निगरानी हुनुपर्यो। नियमभित्र तिनीहरुलाई पनि हुल्नुपर्यो।
केही च्यानलका संचालकले पैसा उठाउँदै 'आवश्यक पर्ने'लाई बाँडेको मानव संवेदना बटुलेर देवत्वकरण कमाइरहेका छन्। सहयोग उठाउने र बाँड्ने यो आफूखुसी तरिकालाई पनि नियमभित्र बाँध्नु पर्यो। त्यसको प्रक्रिया, हिसाबकिताब आदिको खोजिनीति, निगरानी हुनुपर्यो। हातमा क्यामरा बुम, कलम बोकेका हामी समाजका अरू प्राणीभन्दा विशिष्ट हौँ भन्ने हरुका धङ्धङीलाई ठेगानमा ल्याउनुपर्यो र नियमभित्र तिमीहरुले पनि चल्नुपर्छ भन्ने चेत खुलाइदिनु पर्यो।
यी कुराहरुमा सम्बन्धित निकायले आलाटाली र हेलचेक्राइँ गरिरहेमा हरेकका मोबाइल वा कम्युटरमा मिडिया र घर-घरमा पत्रकार उत्पादन भएर भ्रमको खेती र अराजकताको पराकाष्ठा सम्हाल्न झन गाह्रो हुँदै जानेछ।
समाजका कुरिती र कुकृत्यहरुलाई निरुत्साहित गर्नैपर्छ। केही युट्यूबरको त्यस्तै प्रयास देखिन्छ।तर यहाँ त आफैँ रीति वा नियम बाहिर गएर भ्रम फैलाउनेको संख्यामा बृद्धि हुन थाल्यो। केही अराजक युट्यूबका संचालकहरुले समाजमा घुसेर मान्छेलाई जबरजस्ती असामाजिक बनाउन थाले, तिनीहरूका दादागिरीले मानिसलाई आफ्नो समाजमा खुलेर हिँड्न पनि नदिने भए।
मानिसका सानातिना कमजोरी पनि तिनका डलर खेतीका बीउ बन्न थाले। मान्छेलाई कमजोरीबाट सिक्न पनि नदिने? हिनताबोध गराइ खेदो खनेर आफ्नो 'कन्टेन्ट' बलियो बनाउन अर्कालाई तनावको पराकाष्ठामा पुर्याउने? यो किमार्थ स्वीकार्य नहुने कुरा हो।
जस्को जे काम हो, त्यो उसैलाई गर्न दिनुपर्छ। त्यो नै नियमसंगत हुन्छ। एउटा युट्यूबर आफैँ प्रहरी, आफैँ पत्रकार, आफैँ न्यायाधीश बन्न सुहाउँदैन र पाउँदैन। सुचना र जानकारी लिन त्यसका श्रोत र निकायमा जानुपर्छ। घटना र जानकारीको संवेदनशीलता, गोपनीयता, विश्वसनियता, अनुसन्धान गरिरहेको निकायलाई त्यसले पार्न सक्ने प्रभाव आदिको बुद्धिमानीपूर्वक विश्लेषण गरेर मात्रै सार्वजनिक गर्नुपर्छ।
आचारसंहिताको ख्याल पनि गर्नुपर्छ। समाज परिवर्तन गर्ने नाउँमा गलत नजिर बसाउन हुँदैन। परिवर्तन आवश्यक छ, तर सही तरिकाले। प्रबिधिको सदुपयोगले समाज सही तरिकाले परिवर्तनको ढोका खोल्दछ भने अत्योपयोग तथा दुरुपयोगले समाज समस्याको दलदलमा फस्दै जान्छ। यसर्थ, बग्रेल्ती भुन्भुनाएका युट्यूबर, तिनका च्यानल र तिनका काम गराइलाई सही दायरामा ल्याउन जरुरी छ।