नेपालसँगै दक्षिण एसियाका भारत, बंगलादेश, पाकिस्तानमा कोरोना संक्रमण उच्च दरमा वृद्धि भईरहँदा दक्षिण एसिया कोरोना हटस्पट बनिरहेको छ। छिमेकी भारतमा हालैका दिनमा विश्वमै सबैभन्दा बढी संक्रमित पत्ता लागिरहेका छन्।
नेपालमा कोरोना संक्रमितको संख्या तीस हजार नाघिसकेको तथा मृतकको संख्या करिब एक सय पचास पुग्न लागिसकेको छ। उच्च दरमा कोरोना बढीरहेको कारण रोग नियन्त्रणको लागी देशका विभिन्न भागमा लकडाउन र निषेधाज्ञा लागू गरिएको छ। राष्ट्रिय र अन्तर्राष्ट्रिय परिवेशका कारण नेपालीहरुमा कोरोना रोग प्रतिको सचेतनामा वृद्धि भएको भएतापनि विभिन्न कारण कोरोना रोग तीव्र दरमा फैलिरहेको छ।
मानिसहरुमा रोग प्रतिको सचेतना बढेपनि संक्रमणको दर बढ्दै जाँदा नेपालीहरुमा मानवीय संवेदनशिलता भने हराईरहेको महशुस विभिन्न घटनाले देखाईरहेका छन्। आफ्नो धर्म निभाई नियमित रुपमा बिरामी जाँच गर्दैगर्दा बिरामीबाट नै कोरोना संक्रमण बोक्न पुगेका चिकित्सकको घर अगाडि ‘कोरोना संक्रमितको घर भन्ने बोर्ड झुन्ड्याइएको घटना होस् वा स्वास्थ्यकर्मी र सुरक्षकाकर्मी विरुद्धका घटना हुन् वा कोरोना संक्रमित र उनका परिवारलाई गरिने व्यवहार हुन्, सामाजिक भूमिकामा नागरिकले गरिरहेको व्यवहार अशोभनीय र अपाच्य रहेको छ।
कोरोनालाई जितेका जनकपुरका विशेश्वर यादव आफ्नै परिवारबाट तिरष्कारमा परेका कारण आत्महत्याको अन्तिम उपाय अवलम्बन गर्न बाध्य हुनु परेको घटनाले त हामीमा सामाजिक विचलन आउन लागिसकेको संकेत गरिरहेको छ। कोरोना महामारीका कारण हाम्रो सामाजिक सोच, एकता र भावनामा आएको परिवर्तनका यस्ता अनेकौ उदाहरणहरु हाम्रो समाजमा विकसित भईरहेका छन्।
कोरोना संक्रमित भएकै कारण समाजले गर्ने छिःछि दुरदुरको व्यवहारले हजारौ व्यक्ति र तिनका परिवारहरुले ठूलो कष्ट भोग्नु परिरहेको छ। समाज, आफन्त र परिवारकै पनि अपहेलनाका कारण कोरोना संक्रमितहरुमा गहिरो मनोवैज्ञानिक असर परिरहेको छ।
कोरोना संक्रमण सुरु भईसकेपछि नेपालमा आत्महत्याका घटना तथा मनोवैज्ञानिक परामर्शदाता र चिकित्सकहरुकोमा बिरामीको संख्या बढ्नु त्यसैको प्रमाण हो। समष्टीमा भन्नुपर्दा कोरोना संक्रमणको दर बढीरहँदा संक्रमितहरुलाई समाजमा गरिने दुर्व्यवहार, वितृष्णा, बेइज्जतीका घटनाहरु पनि निकै बढेका छन्।
प्रश्नहरु उब्जिन्छन्, पृथ्वी र मानव सभ्यताले भोगेको के यो पहिलो महामारी हो त? के यस संसारमा कोरोना बाहेक अन्य रोगहरु छैनन् त? कोरोना संक्रमण सुरु हुनुभन्दा पहिला नेपाली जनतालाई कुनै सरुवा रोग लाग्दैनथे त? किन नेपालीहरु कोरोनासगं यति धेरै त्रसित भईरहेका छन्, किन असंयमित भईरहेका छन्? कोरोनाकै कारण किन आफ्नैलाई तिरष्कार गरिरहेका छन्? कोरोनाले हाम्रो समाजमा ल्याउने सामाजिक र आर्थिक प्रभावको मूल्यांकन त भविष्यमा हुनेनै छ तर मानवीयता संकटमा परेको अहिलेनै आभाष भईरहेको छ।
मानव सभ्यताले विभिन्न कालखण्डमा योभन्दा पनि ठूला विपतहरु गहन धैर्यता र सुझबुझका साथ सफलतापूर्वक परास्त गरेको कारण मानव समुदाय विकासको यस स्थितिसम्म आईपुगेको हो। यो संसारमा दश हजारभन्दा बढी रोगहरु रहेकोमा जम्मा पाँच सय मात्रको उपचार विकसित भएको छ। मानिसले अहिलेसम्म जम्मा दुई वटा रोगहरुको उन्मुलन गर्न सफल भएको छ– मानिसमा लाग्ने स्मल पक्स र पशुमा लाग्ने रिन्डरपेष्ट।
विज्ञान तथा चिकित्सा क्षेत्रमा धेरै सफलता हासिल गरिएता पनि रोग उन्मुलनका कार्यमा सोचेको सफलता प्राप्त हुन सकेको छैन्। क्षयरोग, एड्स जस्ता रोगहरु हाम्रो समाजमा धेरै लामो समयदेखि रहेका छन् र ठूलो जनधनको क्षति गराईरहेका छन्। यसरी अनगिन्ती स्वास्थ्य चुनौतीका बावजुद हामीहरु साधारण अवस्थामै जीवन जिईरहेका छौँ।
हामी मानव सभ्यताको विकासको लागि निरन्तर प्रयासरत रहि सफलतापनि हासिल गरिरहेका छौँ। तर किन कोरोना नामक एउटै रोगले हाम्रो विश्वास, आस्था र सोचलाई डग्मगाईरहेको छ? किन हामी अधैर्य बनिरहेका छौँ?
समाजमा विभिन्न त्रासहरु व्याप्त रहेका छन्। फलानोको कारण यस्तो भयो, फलानोले जानीजानी कोरोना फैलायो, डेरावालले घरमा कोरोना भित्र्याउछन् कि जस्ता जिज्ञासा र प्रश्नहरु टोलटोलमा सुन्न पाईन्छ। कुनै घरमा साधारण रुघाखोकीको बिरामी रहेको भएतापनि कोरोनाकै शंकागरी अपहेलित दृष्टिकोणले हेर्ने, सम्पर्कमा आउन नखोज्ने जस्ता घटना सामान्य हुन लागेका छन्।
कोरोना एक सूक्ष्म विषाणुका कारण लाग्ने रोग हो अर्थात हाम्रो नाङ्गो आँखाले यसलाई देख्न सकिदैन भन्नेकुरा त अहिलेसम्ममा सबैले बुझेको हुनुपर्दछ। आखाँले देख्न नसकिने विषाणुलाई तैले फैलाइस् भनेर कसैले भन्न सकिने कुरा होइन। आफ्नो पेशागत धर्म पालना गरिरहँदा डाक्टर, सुरक्षाकर्मी, नर्स, व्यापारी, कृषक, ड्राइभर, कामदार लगायतलाई कोरोना संक्रमण हुनु पक्कै पनि उहाँहरुको चाहनाले भएको हैन भन्ने कुरा सबै जनताले बुझ्नु र मनन गर्नु जरुरी छ।
कल्पना गरौँ त, हाम्रो व्यवहारबाट दिक्क मान्दै डाक्टर, सुरक्षाकर्मी, नर्स, व्यापारी, कृषक, ड्राइभर, कामदार लगायतले आफ्नो कर्तव्यबाट पछाडि हट्ने निर्णय गरेभने हाम्रो परिस्थिति कस्तो होला? साँच्चै भयावह र कल्पना गर्न नसकिने अवस्थाको सिर्जना हुन जान्छ। महामारी नियन्त्रणको लागि सबै एकजुट हुनु पर्ने अवस्थामा एक अर्कामा वितृष्णा पैदा हुने कार्यहरु गर्दा त्यसको प्रभावले हामी महामारीको दलदलमा थप फसिने कुरामा सबैले हेक्का राख्नु पर्दछ।
अरुलाई एक औला देखाउँदा चार औला आफुतर्फ नै फर्किएका हुन्छन्। कोरोना नियन्त्रणमा सबै नेपालीको उत्तिकै महत्वपूर्ण भूमिका रहन्छ तर के हामी सबै यसतर्फ जिम्मेवार रहेका छौँ त? सबै जनताले आ-आफ्नो तर्फबाट कोरोना रोकथामका उपायहरु अवलम्बन गरेको भए पक्कै पनि संक्रमण यसरी समुदाय स्तरसम्म फैलिने थिएन होला। सरकारले तोकेका स्वास्थ्य तथा सुरक्षा मापदण्डहरुको पालना केही नागरिकले नगरिदिँदा सम्पूर्ण राष्ट्रले त्यसको परिणाम भोग्नुपरेको सत्य हो।
अर्थात् कोरोना संक्रमण फैलाउन तपाई हामी कुनै न कुनै रुपमा जिम्मेवार छौँ, प्रत्यक्ष अप्रत्यक्ष रुपमा सहभागी छौँ। तर सबै दोषजति संक्रमितलाई किन? सामाजिक अपहेलना संक्रमितलाई मात्रै किन? कोरोना भाईरसलाई संक्रमितसम्म पुर्याउने तपाई हामी पानीमाथिको ओभानो बन्न सुहाँउछ? अरुलाई छिःछि दुरदुर गर्नुभन्दा पहिला हामी हाम्रो भूमिका र जिम्मेवारीलाई पनि मनन गर्ने कि!
समग्र विश्व यस महामारी प्रति चिन्तित रहेको छ। धेरै देशहरु यस रोगविरुद्धको खोप उत्पादन कार्यमा सफलता प्राप्त गरिरहेको समाचार पनि सुन्नमा आईरहेको छ।विश्वमा संक्रमितहरु मध्ये दुई तिहाई बिरामीहरु उपचारपछि निको भई घर फर्किएका छन्। नेपालमा पनि करीब दुई तिहाई संक्रमितहरु उपचार पछाडि निको हुनु भएको छ। मानिसहरुमा यस रोगप्रतिको सचेतनामा वृद्धि हुँदै गईरहेको छ।
यी सबै पक्षहरुको विश्लेषण गर्दा सुरुङको अर्को कुनामा विस्तारै प्रकाश देखिन थालेको आभास सबैले गर्न थालेका छन् र यो महामारीको नियन्त्रणको लागि अत्यन्तै महत्वपूर्ण हौसला हो। तर सबैको प्रयासका बाबजुद यो महामारी २ वर्षसम्म जानसक्ने अनुमान विश्व स्वास्थ्य संगठनले गरेको छ र हामी यसको लागि सामाजिक, आर्थिक र मनोवैज्ञानिक रुपमा पूर्ण तयार हुनुपर्दछ।
दुःखको समयमा एकजुट हुने र समझ्दारीका साथ समस्या समाधान गर्ने नेपाली विशेषता रहदै आएको छ। हो, यस भाइरल रोगका कारण हाम्रो दैनिकीहरुमा परिवर्तन आउन सक्नेछन् तर सामाजिक एक्यबद्धता र विकासका आधारभूत पक्षहरु सधै एक हुने गर्छन। रोग वा समस्याले जो सुकैलाई सताउन सक्दछ तर एकलाई पर्दा अर्कोले सघाउने हाम्रो संस्कारले निरन्तरता पाउनु सबै नेपालीको हितमा हुनेछ।
ढिलो चाँडो कोरोना रोग नियन्त्रणमा आईहाल्छ तर हाम्रा आस्था र विश्वास टुटे भने तिनलाई जोड्न निकै मुस्किल हुनेछ। त्यसैले हामी सुझबुझ पूर्ण तरिकाले हाम्रा सामाजिक विकासका कार्यहरुलाई निरन्तर रुपमा अगाडि बढाउनु पर्दछ। कोरोना संक्रमणको यस समयलाई हामी नेपालीको सहिष्णुता, भाइचारा र सामुहिकताको परीक्षा मानी यसमा सबै उर्तिण हुनु जरुरी छ। यसका लागि कोरोना महामारीसगँ त्रसित होइन, सचेत र जिम्मेवार हुनु आवश्यक छ।