आजभोलि जताततै कम्प्युटर र इन्टरनेटको जमाना छ। जीवनका हरेक क्षेत्रमा कम्प्युटर र इन्टरनेटले महत्वपूर्ण भूमिका खेलेको छ। पुस्तक र प्रकाशनको क्षेत्र पनि यसबाट अछुतो हुने कुरा भएन। हुन त आज भोलिका युवा पुस्ताहरु पुस्तक पढ्नभन्दा सुन्ने र हेर्ने सामग्रीहरुमा रमाउने गर्छन् तर पढ्नु जस्तो आनन्द सुन्दा र हेर्दा कदापि हुँदैन।
त्यसैले प्रविधि जतिसुकै परिवर्तन भएपनि, जतिसुकै विकसित भएपनि पुस्तक मानिसको अभिन्न साथी रहिरहने कुरामा शंका छैन तर पुस्तक पढ्ने तरिकामा भने समय अनुसार परिवर्तन भैरहन सक्छ। त्यही परिवर्तनको सिलसिला अनुसार नै अहिले विश्वभरि नै इ-बुकको प्रचलन बढ्दैछ र पारम्परिक कागतका किताबहरु विस्तारै विद्युतीय संस्करणका किताबहरुद्वारा विस्थापित हुन थालेका छन्।
अलि पुराना पुस्ताका पाठकहरुले अझैँ पनि कागजमा छापिएका पुस्तकहरु पढ्न रुचाउँछन् तर नयाँ पुस्ता विस्तारै विद्युतीय पुस्तकहरुमा आकर्षित हुँदै गएको छ। पुस्तक पढ्दा जस्तो रमाइलो, सुन्दा र हेर्दा नभए जस्तै कागतका पुस्तक पढ्दा जस्तो रमाइलो इ-बुक पढ्दा हुँदैन अनि इ-बुक पढ्दा दिमाग र आँखालाई पनि केही असर गर्छ। तर प्रविधिको व्यापकता र व्यापारिक हिसाबले गर्दा इ-बुकहरुले द्रुत गतिमा बजार लिन थालेका छन् र यसलाई रोकेर रोक्न पनि सकिदैन।
इ-बुकको इतिहास खोतल्दा बिसौँ शताब्दीको मध्ये तिर नै यसको प्रयोग सुरु हुन थालेको पाइन्छ। तर अहिले हामीले पढ्ने गरेको जस्तो इ-बुकको कुरा गर्दा गत शताब्दीको अन्त तिरबाट यसको प्रयोगमा व्यापकता आउन थालेको हो। सुरु सुरुमा कम्युटरमै पीडीएफ लगायतका विभिन्न ‘फर्म्याट’ मा ती पुस्तकहरु पढ्ने गरिन्थे तर पछि पुस्तक पढ्नकै लागि भनेर ठूला ठूला बहुराष्ट्रिय कम्पनीहरुले छुट्टै ‘इ-बुक रिडर’ हरु नै उत्पादन गर्न थाले।
त्यसले पाठकहरुको राम्रो प्रतिकृया पनि पायो र बजार विस्तार हुँदै गयो। पछि गएर स्मार्ट फोनहरुको सर्वसुलभता र प्रविधिको द्रुत विकासले गर्दा स्मार्ट फोन निर्माताहरुले पनि आफ्ना फोनहरुलाई ‘इ-बुक रिडर’को रुपमा पनि प्रयोग गर्न सकिने गरी बनाए जसले गर्दा छुट्टै ‘इ-बुक रिडर’ किन्न हिच्किचाएका पाठकहरुले पनि फोन मै इ-बुक पढ्न पाउने भए र इ-बुकको प्रयोग झन् द्रुत गतिमा फस्टायो।
त्यसैको परिणाम- अहिले धेरैजसो विकसित देशहरुमा कागतमा छापिएका पुस्तकहरुकै हाराहारीमा इ-बुकहरु बिक्ने गरेको कुरा तथ्यांकले देखाएको छ। तर नेपालमा इ-बुकले बजार लिन अलि समय लाग्यो। त्यसको मुख्य कारण प्रविधिको सर्वसुलभता नहुनु, इ-कमर्स प्रति उपभोक्ताको अविश्वास र नेपाली पुस्तकहरु इ-बुकमा उपलब्ध गराउन प्रकाशकहरुले इच्छा नेदेखाउनुलाई मान्न सकिन्छ।
कथालय प्रकाशनले सन् २०१४ इ-बुकको प्रवर्द्धन गर्नको लागि ‘वी रिड’ भन्ने एप सार्वजनिक गरेको थियो। निकै स्तरीय भएपनि त्यसले लोकप्रियता हासिल गर्न सकेन र कथालय प्रकाशन २०१८ मा त्यसलाई बन्द गर्न बाध्य भयो। त्यसो हुनुमा मुख्य दुई कारणहरु थिए। पहिलो कारण त नेपालमा त्यो बेलासम्म पनि प्रविधिको सर्वसुलभता थिएन र दोश्रो कारण नेपाली इ-बुक त्यतिबेला चलनचल्तिमा थिएनन् र कथालयले आफ्ना प्रकाशनका सीमित पुस्तकहरुको इ-बुक मात्र त्यसमा राखेकाले अन्य प्रकाशनका किताबहरु पढ्नको लागि त्यो एप काम आउन सकेन।
तर अहिले समय फेरिइसकेको छ। कथालयले मात्र हैन अन्य प्रकाशन गृहहरुले पनि इ-बुकमा आफ्ना पुस्तकहरु उपलब्ध गराउन थालेका छन्। कोरोनाको कारणले गर्दा भेरहेको बन्दाबन्दीले गर्दा पनि इ-बुकको बजारमा उर्जा थपेको छ। कोरोनाको कारणले गर्दा अन्य व्यवसाय जस्तै प्रकाशन व्यवसाय पनि नराम्ररी प्रभावित हुन पुग्यो।
बन्दको कारणले पुस्तकहरु प्रकाशन हुन सकेनन् र प्रकाशित भैसकेका पुस्तकहरु पनि पाठकहरु समक्ष सजिलै पुग्न सकेनन्। त्यसैले, त्यसको विकल्पमा धेरैभन्दा धेरै प्रकाशन गृहहरु इ-बुक तर्फ आकर्षित हुन बाध्य बने। इ-बुकको माध्यमबाट आफ्ना पुस्तकहरु पाठकहरु समक्ष पुर्याउन सजिलो हुने भएकोले अहिले नेपालमा यसको लोकप्रियता बढ्दो छ र त्यसमा अहिले लोकप्रिय हुँदै गएको अनलाइन भुक्तानीका अन्य एपहरुले पनि सहयोगी भूमिका निभाएका छन्।
बन्दाबन्दीको समयमा नेपालय जस्तो प्रतिष्ठित प्रकाशन गृहले आफ्ना पुस्तकहरु लगातार इ-बुक मार्फत सार्वजनिक गर्न थालेपछि अब नेपालमा इ-बुकको भविष्य उज्वल हुन थालेको आंकलन गर्न सकिन्छ। नेपालय मात्र हैन, अन्य प्रमुख प्रकाशन गृहहरु बुक हिल, फाइन प्रिन्ट, साङ्ग्रिला, कथालय र फिनिक्स बुकहरुले पनि आफ्ना पुराना पुस्तकहरु र नयाँ पुस्तकहरु पनि धमाधम इ-बुकमा उपलब्ध गराउन थालेका छन्। तर कोरोनाको कारणले मात्र नभई इ-बुकका फाइदाहरुले पनि प्रकाशकहरु त्यो तर्फ आकर्षित हुन थालेका हुन्।
पाठकहरुले आफूले किनेका इ-बुकहरू आफ्नो इ-रिडरमा सजिलै खोजी गर्न सक्छन् र इ-बुकमा आफुलाई चाहिएको जानकारी पाउन छापाको किताबमा पाना पल्टाएर खोजेको जस्तो धेरै समय पनि खर्चिनु पर्दैन- सजिलै खोज्न सकिन्छ। त्यति मात्र हैन, आफ्नो आवश्यकता अनुसार अक्षरहरुलाई सानो ठूलो बनाउन सकिन्छ र अधिकांश इ-बुकमा शब्दकोश पनि उपलब्ध हुन्छ र पाठकले आफूले नबुझेको शब्द तुरुन्तै शब्दकोशमा खोज्न सक्छन् जस्ले गर्दा पाठकलाई पुस्तक पढ्न सजिलो र रमाइलो लाग्छ।
व्यापारिक दृष्टिकोणबाट हेर्दा इ-बुक प्रकाशनको लागि कम लागत लाग्ने र परिवहनको लागि कुनै शुल्क नलाग्ने हुनाले पाठकहरुको लागि इ-बुक निकै सस्तो पनि पर्न जान्छ। त्यति मात्र हैन, नयाँ लेखकहरुले कुनै प्रकाशक बिना नै आफ्ना पुस्तकहरु इ-बुकको माध्यमबाट सार्वजनिक गर्न सक्छन्। विविध कारणवश प्रकाशकका नजरमा पर्न नसकेका नव लेखकहरुले आफ्नो प्रतिभा उजागर पाउने यो राम्रो मञ्च बन्न सक्छ र यसबाट नेपाली साहित्यमा पनि योगदान पुग्न सक्छ।
नेपाली पुस्तक बजार निकै सानो भए पनि इ-बुकले लोकप्रियता लिन थाल्यो भने र सस्तो र सजिलोमा इ-बुकहरु उपलब्ध हुन थाले भने यसले नयाँ पाठकहरु थप्नेछ। इ-बुकलाई बोक्नु पर्ने र भण्डारण गर्नको लागि ठाउँ खोज्नु पर्ने झन्झट पनि हुँदैन। त्यसको साथसाथै वातावरण र किराहरुले पुस्तक बिगार्लान् भन्ने डर पनि हुँदैन। वातावरणीय हिसाबले हेर्दा पुस्तक छाप्नको लागि चाहिने कागत बनाउन काट्नु पर्ने रुखहरु पनि इ-बुक पढ्ने गर्दा जोगिन्छन्।
हुन त इ-पुस्तक पढ्दा थोरै भए पनि विद्युत खपत हुन्छ अनि इ-रिडरहरूमा प्लास्टिकको प्रयोग हुने हुनाले वातावरणको लागि कागजभन्दा पनि हानिकारक हुन्छ तर पनि त्यो वातावरणीय प्रभाव रुख काटेको वातावरतणीय प्रभाव कम हुन्छ।
यी सबै कारणहरुले गर्दा अब नेपाली बजारमा पनि इ-बुकको सर्वसुलभता र लोकप्रियता बढ्ने विश्वास गर्न सकिन्छ। तर अन्धाधुन्ध रुपमा कुनै सतर्कता नअपनाई इ-बुक पढ्दा इ-रीडरहरुबाट निस्केको विकिरणबाट आँखा र शरीरका अन्य अंगहरुलाई हानी पनि गर्न सक्छ।
आँखा र अन्य अंगको सुरक्षाको लागि इ-रिडरहरुमा विकिरण छेक्ने पर्दा लगाउने, आँखा जोगाउने चश्मा लगाउने या नगन्य मात्रामा विकिरण उत्पन्न गर्ने राम्रा खालका इ-रिडरहरु प्रयोग गरेमा इ-बुकको बढ्दो प्रचलनबाट लेखक, प्रकाशक र पाठकहरु सबैले फाइदा लिन सक्छन्।