रेबिज रोग मानव सभ्यताको इतिहासमा सबैभन्दा पुरानो रोग मध्येको हो। वैज्ञानिक लुइस पास्चरले सन् १८८५ मै यस रोग विरुद्धको खोप पत्ता लगाएका थिए। तथापि रेबिज रोग विरुद्ध मानव समुदायको संघर्ष निरन्तर चलिरहेको छ।
विश्व स्वास्थ्य संगठनको तथ्यांक अनुसार हरेक ९ मिनेटमा एक व्यक्ति अर्थात वार्षिक ५९ हजारभन्दा बढी मानिसहरुको मृत्यु रेबिजका कारण हुने गरेको छ। रेबिजबाट मृत्यु हुने मध्ये ४५ प्रतिशत सार्क मुलुकका, ५५ प्रतिशत एसियाली मुलूकका, ९५ प्रतिशत एसियाली र अफ्रिकी मुलुकका हुने गरेका छन्।
रेबिजबाट मृत्यु हुने मध्ये ६० प्रतिशत ५ देखि १५ वर्ष मुनिका बालबालिका हुने गरेका छन्। नेपालमा रेबिजका कारण वार्षिक १०० देखि १५० मानिसको ज्यान जाने गरेको छ। नेपालमा ९८.५ प्रतिशत अवस्थामा बहुला कुकुरको टोकाइको कारण मानिसमा रेबिज रोग लाग्ने गरेको छ। तराईका जिल्लाहरुमा रेबिजको प्रकोप ज्यादा देखिने गरेको छ।
रेबिज के हो?
रेबिज बौलाहा पशुको टोकाइबाट मानव र अन्य स्तनधारी प्राणीमा सर्ने अतिनै डरलाग्दो प्राणघातक रोग हो। यो एक जुनोटिक रोग हो अर्थात्, पशुबाट मानिस र मानिसबाट पशुमा सर्ने गर्दछ। स्तनधारी सबै पशुहरुमा यो रोग लाग्न सक्ने र अरुलाई सार्न सक्ने भएता पनि मुख्यतया कुकुर, न्याउरी मुसा, बिरालो, स्याल, ब्वाँसो लगायतका जनावरको टोकाइबाट यो रोग मानिसमा सरेको पाइन्छ।
विश्वको तथ्यांक विश्लेषण गर्दा ९० प्रतिशतभन्दा बढी अवस्थामा मानिसमा रेबिज रोग लाग्नुको कारण रेबिज संक्रमित कुकुरको टोकाइ रहेको छ। स्याल र ब्वासोले आफू संक्रमित नभइ रोगका विषाणुहरुलाई भण्डारण गरी राखेका हुन्छन् र रेबिज रोग फैलाउँछन्। रेबिज संक्रमित पशुको मासु वा दुधबाट पनि रेबिजका विषाणुहरु मानिस वा अन्य जनावरमा सर्न सक्ने हुँदा यस्ता वस्तुहरु उपयोग गर्नु हुँदैन।
रेबिज कसरी लाग्दछ?
रेबिज रोगले ग्रसित जनावरको र्यालमा रोगको विषाणु पाइने र सो विषाणुयुक्त र्याल उक्त जनावरले टोक्दा वा पुरानो घाउ, चोटपटक लागेको ठाउँमा पर्न जाँदा रेबिज रोग लाग्दछ। रेबिज रोग लाग्न सक्दछ की सक्दैन भन्ने कुरो र्यालमा रहेको भाइरसको मात्रा, भाइरसयुक्त र्यालको परिमाण, घाउको प्रकृति, अवस्था र टोकेको ठाउँ आदिमा भर पर्दछ। नेपालमा ९९ प्रतिशत रेबिज रोग बहुलाएको कुकुरको टोकाइबाट हुने गर्दछ र यसमा मुख्य रूपमा १५ वर्षमुनिका बालबालिका बढी रहेका छन्।
रोगका लक्षणहरू के हुन्?
सबै जनावरहरूमा रेबिजका लक्षणहरू करिब करिब उस्तै हुन्छन्। यहाँ मुख्य रूपमा कुकुरमा देखिने लक्षणहरू प्रस्तुत गरिएको छ।
- कुकुरको सामान्य व्यवहारमा एक्कासी परिवर्तन आउँछ। मालिकले भनेको टेर्दैन र झर्कन्छ।
- एकान्तमा बस्न मन पराउँछ। विशेष गरेर आवाज, मानिस र अन्य जनावरको गतिविधिले उत्तेजित तुल्याउँछ र बिना कारण झम्टन पुग्छ।
- बहुलाएको कुकुर एक दिनमा दशौँ किलोमिटर दौडन सक्छ र आफू हिडेको बाटोमा जे (सजिव वा निर्जिव) पायो टोक्ने, झम्टने र आक्रमण गर्ने हुन्छ। बेलाबेलामा झिँगा मारे जस्तो (तर वास्तवमा त्यहाँ झिँगा हुँदैन) गरी बस्छ।
- बहुलाएको कुकुर मानिसजस्तो पानीदेखि डराउँदैन।
- शरीरका विभिन्न भागको पक्षघात हुन्छ। बगंराको माशंपेशीको पक्षघात हुने भएकाले मुख खुला हुन्छ। स्याल कराए जस्तो वा अनौठो प्रकारले भुक्ने र निश्चित समयको अन्तरमा आफसे आफ भुक्ने गर्दछ। पछाडिको भागको पक्षघात भइ कुकुर अशक्त हुन्छ।
- साधारणतया रोगको लक्षण देखा परेको ४-५ दिन भित्र कुकुर मर्दछ।
रोगको निदान कसरी गर्ने?
धेरै अवस्थामा लक्षणहरुबाट रोग पत्ता लगाउन सकिन्छ। शंकास्पद पशुको मृत्यु पश्चात सो पशुको मष्तिष्कको नमुना लिइ प्रयोगशालामा परीक्षण गराउनु जरूरी हुन्छ तर यो कार्य पशु चिकित्सक वा प्राविधिकले मात्रै गर्नुपर्दछ।
शकांस्पद कुकुरले टोकेमा के गर्ने?
सर्वप्रथम टोकेको घाउलाई साबुन पानीले राम्रोसँग (करिब ५ मिनट) सफा गर्नु पर्दछ र त्यसपछि एन्टीसेप्टिक लगाउनु पर्दछ। साबुन पानी उपलब्ध नहुञ्जेल घाउलाई सूर्यको किरणमा राख्नु पर्दछ। २४ घण्टा भित्र टिटानसको सुई लगाउनु पर्दछ। घाउमा टाँका लगाउने तथा कस्सिने गरी ड्रेसिङ गर्नु हुँदैन।
पहिला पहिला कुकुरले टोकेपछि १० दिनसम्म सो कुकुरको चालचलन, बानी व्यहोरा अध्ययन गर्ने र रेबिजको लक्षण देखिएमा खोप लगाउने गरिए पनि हालै विश्व स्वास्थ्य संगठनले जस्तोसुकै कुकुरले टोकेपनि तुरुन्त खोप लगाउनु पर्ने जनाएको छ।
कस्तो अवस्थामा खोप लगाउने?
- बहुला कुकुरको लसपसमा आएको खण्डमा
- टोक्ने जनावरको पत्तो नलागेमा
- जगंली जनावर, स्याल, बाघ, भालु बाँदर, बँदेल, खरायो आदि जनावरले टोकेमा
- जीउमा घाउ छ र रेबिज रोग भएको कुकुर आदि जनावरको र्याल लागेमा
- रेबिज रोग लागेको पशुको काँचो मासु वा दुध खाएमा वा सम्पर्कमा आएमा
- मुसा, चमेरो, बिरालो आदिले टोकेमा
- रेबिज भएको कुकुरले जुठो पारेको पानी, खानेकुरा आदिको सम्पर्कमा आएको खण्डमा
- सुई लगाएको ३ महिनापछि अर्को पटक टोकेको खण्डमा वा लसपस भएमा
- रेबिज रोगले बहुलाएको मानिससँग लसपस भएमा वा त्यस्तो मानिसले टोकेमा/चिथरेमा
उपचार र रोकथाम कसरी गर्ने?
यस रोगको कुनै उपचार छैन। रोग लागिसकेपछि मृत्यु लगभग निश्चित रहेको छ। जनावरसँग प्रत्यक्ष सम्पर्कमा आउने व्यक्तिहरूले पहिला नै रेबिज विरूद्धको खोप लगाउनु पर्दछ।
पाल्तु जनावरहरूलाई नियमित रूपमा रेबिज विरूद्धको खोप लगाउनु पर्दछ। कुकुर/बिरालोलाई जन्मिएको ३ महिनामा पहिलो खोप र त्यसपछि प्रत्येक वर्ष खोप अनिवार्य रूपमा लगाउनु पर्दछ। घरपालुवा कुकुर बिरालोलाई घर बाहिर जान दिनु हुँदैन। सडक र सामुदायिक कुकुरहरुलाई पनि नियमित खोप लगाउने व्यवस्था मिलाउनु पर्दछ। रेबिज रोग लागेको पशुको दुध मासु केही पनि सेवन गर्नु हुँदैन।
रोग नियन्त्रणमा राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रयास
नेपाल सदस्य राष्ट्र रहेको विश्व स्वास्थ्य संगठन, विश्व पशु स्वास्थ्य संगठन, खाद्य तथा कृषि संगठन र रेबिज नियन्त्रणका लागि विश्वव्यापी गठबन्धनले संयुक्त रुपमा सन २०३० (विसं २०८६) सम्ममा कुकुरको टोकाइबाट हुने मानव रेबिजको संख्यालाई शून्यमा ल्याउने उद्धेश्यका साथ अभियान सञ्चालन गरिरहेका छन्।
नेपाली पात्रोअनुसार ‘२०८६ सम्ममा शून्य’ महाअभियानलाई सफल बनाउनु नेपालको दायित्व र कर्तव्य हो। यसैगरी प्रत्येक वर्ष सेप्टेबर २८ को दिनलाई अन्तर्राष्ट्रिय रेबिज दिवसको रुपमा मनाउने गरिएको छ।
नेपाल सरकारले २०७६ भाद्र ९ गतेको नेपाल राजपत्रमा सूचना प्रकाशित गरी रेबिज रोगलाई सूचित गर्नुपर्ने रोगको सूचिमा राखी रेबिज नियन्त्रण अभियानको सुरुआत गरिसकेको छ। यस्तै, स्वास्थ्य विभागले 'मानिसमा खोप प्रयोग बारे राष्ट्रिय निर्देशिका २०७५' जारी गरेको छ।
पशु सेवा विभाग, विभिन्न गैर सरकारी संस्थाहरुले कुकुरलाई खोप लगाउने, कुकुरलाई बन्ध्याकरण गर्ने, जनचेतनामुलक कार्यक्रमहरु सञ्चालन गरिरहेका छन्। तर यस्ता कार्यक्रमहरु रोग नियन्त्रणको लागि पर्याप्त नरहेको हुँदा तीनै तहका सरकारले दिगो योजना, यथेष्ट श्रोत र जनचेतना जगाउन संयुक्त पहल गर्नु आवश्यक छ।
सन् २०३० अर्थात विसं २०८६ सम्ममा विश्वबाट मानव रेबिजलाई शून्य बनाउने अभियानलाई सफल बनाउन राजनीतिक दल, प्रशासन, स्वास्थ्यकर्मी, पशु स्वास्थ्यकर्मी र आम नेपालीले सक्रिय सहभागिता र योगदान गर्नुपर्दछ।
(लेखक पशु विकास अधिकृत हुन्। )