अघिल्लो साता बुधबारको दिन। साढे सात बजे बिहानीको घाममा ढाड सेक्दै कौशलटारबाट म झम्सिखेल हिडेँ।
टाउकोमा हेल्मेट, हातमा पन्जा, ब्यागमा स्यानिटाइजर र दुइटा मास्क एकैसाथ लगाएको म स्कुटर बत्ताउँदै थिएँ। डर एकदमै धेरै थियो।
एउटा डर बेजोडको स्कुटर ट्राफिकले समात्ला भन्ने, अर्को पिसिआर टेस्ट कसरी गर्ने भन्ने। सवेरै कोरोना परीक्षण गर्न बोलाइएको थियो।
खासै डराउने मान्छे त म होइन। तर कोरोनाको नाम सुन्दा खै के भयो। केटा मान्छेलाई के डर भनेको नि सुनेको थिएँ, तर त्यो भनाइ मात्र रहेछ। डर लाग्ने रहेछ, नदेखाएका मात्र।
नलागोस् पनि किन, लक्षण नदेखेकालाई पनि कहिलेकाहीँ पिसिआर टेस्ट गर्दा पोजेटिभ देखिने रहेछ। झन् लक्षण देखिनेलाई कोरोनाले कहाँ छाड्थ्यो र? मन न हो, आत्तिहाल्ने रहेछ।
दिमागमा यस्तै नानाथरी कुरा खेलाउँदै म झम्सिखेल चोक पुगेछु।
एउटा मनले पिसिआर टेस्ट गरेपछि ढुक्क हुन्छ भन्दैथ्यो। अर्को मनले दाँयाको गल्लीबाट यु-टर्न हान्दै घर भाग्दे भन्यो। दोधारे मनको कुरै नसुनी मेरा नवजवान हातले स्कुटरको एक्सिलेटर झन् बटार्यो। म सिधै अफिसको गेटमा पुगेँ।
अफिसका सबै पुगिसकेका थिए।
तीन-चार मिटरको दुरी कायम गर्दै अफिसको आँगनमा सबै गोलो बनाएर उभिएका थिए। मलाई देखेर हाइ-हेल्लो गर्दै हाँस्न खोजे। तर मास्कभित्रको त्यो हाँसो फिक्का लाग्यो। सायद सबैले डर लुकाँउदै मुस्कुराउन खोजेका थिए।
स्कुटर पार्क गर्दै हेल्लो फर्काएँ र सरर माहोल नियालेँ।
चराझैं चिर्बिराइरहने दिदी पनि कुना च्यापेर टोलाउँदै थिइन्। दाइहरू हात बेरेर भुँइ हेर्दै थिए। मैले नि एउटा कुना च्यापेर भुँइ हेर्न थालेँ। भुँइमा केही विशेष थिएन। बोलीचाली कम गर्न अपनाइएको बहाना मात्र रहेछ।
मेरो निरन्तर १० मिनेटको भुँइ अवलोकनलाई ध्यानाकर्षण गर्दै एउटा सेतो गाडी अफिसको गेटभित्र छिर्यो। मेडिकल टिमको रहेछ। उभिएका सबै दुई पाइलापछि सरे। दुरी कायम गर्न वा डर थाम्न थाहा छैन।
मास्क, पन्जा, सेनिटाइजिङ स्प्रे, पिसिआर टेस्टिङ उपकरण बोकेर पिपिई लाएका दुई दाजु आँगनको बीचमा आए। टेस्ट गर्ने पालो नजिकिँदै थियो। बढ्दो महामारीले हामी कसैलाई पछ्याएको छ/छैन पत्ता लगाउन अफिसले सो कदम चालेको हो। टेस्टमा नेगेटिभ आए बल्ल विसंकोच काम गर्न सकिन्छ ठानेर हामीले पनि जाँच गर्न जोड गरेका थियौं।
नाम टिप्न सुरू भयो। म झनझन् पछि सर्न थालेँ। जेठाहरूले हिम्मत गर्दै पहिल्यै नाम टिपाए र छिटो पालो पाए। लाइन विस्तारै सर्न थाल्यो, मन बेस्सरी आत्तिन थाल्यो। तीन पटक टेस्ट गराइसकेका दाइ आज टेस्ट गराउँदा पनि आँखा रसाएर फर्किए।
सियोझैं लामो छडी नाकको भित्रैसम्म घुसार्दै-घुमाउँदै-झिक्दै गरेको देखेँ। अलिकति उब्रेको हिम्मत नि मर्यो। टेस्ट गराइसकेका जो कोही आँखा टिलपिल पार्दै आउँदैथे। केही खोक्दै पनि।
मभन्दा अगाडि तीन जनाको पालो रह्यो। एक जना दिदी त आत्तिएर हाँस्न पो थाल्नुभयो। मलाई आपतै पर्न थाल्यो। के साह्रो डर उत्पन्न भएको ममा?
आत्तिएर हाँसेको दिदीको आवाज अझ भयानक सुनेँ। अझै आत्तिएँ।
'सुसन आऊ,' पो भन्छन्। हेरेको, अगाडि पालो भएको साथी कुन बेला लुसुक्क पछाडि पुगिसकेछ। बच्चामा हिँड्न सिक्दा सजिलो थियो होला। तर यी पाँच पाइला अघि सार्दा घुँडै फत्रक्क भए।
'उता फर्क। माथि हेर। आँखा चिम्ल। एकछिन सास रोक है,' पिपिईले ढपक्कै ढाकिएका दाइले बच्चालाई फकाए जसरी भने।
आँखा चिम्म गरेँ। स्वाट्ट नाकमा के पस्यो र छिनमै फुत्त बाहिर निस्कियो।
दाइले 'भयो भाइ जाऊ' भन्दा 'हँ?' भनेछु।
मेरा आँखा नि हल्का रसाए। हल्का नाक दुख्यो। केमिकलको गन्ध भित्रै पस्यो। एकछिन अकमक्क परेर उभिएँ। केही मिनेटमा दुखाइ सामान्य भयो। यत्ति रहेछ। पिसिआर टेस्ट सकियो। हामी यतिकै आत्तिएका थियौं। आत्तिएको मन शान्त पार्दै म कसैलाई नभनी सरासर घर लम्केँ।
घरको आँगनमा पुग्दै गर्दा फेरि मन आत्तिन थाल्यो। अब नतिजा के आउला?
पोजेटिभ आए कति दिन क्वारेन्टाइनमा बास हुने हो? कति दिन घर परिवारबाट टाढिनुपर्ने हो? सुनेअनुसार क्वारेन्टाइनमा बिहानै ६ बजे उठाइदिन्छन्। खाना मीठो हुन्न र हेरचाह गर्न कोही आउँदैनन् भन्थे। सत्य के हो, भोग्नु परेको छैन। सकेसम्म भोग्नु नपरे बेस्।
नेगेटिभ आए केही समय ढुक्कै हुन्थ्यो। निर्धक्क हिँडडुल गर्न सकिन्थ्यो। रोकिएका काम सुरू हुन्थ्यो।
तर अहिलेलाई घरै बस्न जरुरी थियो। कन्ट्याक्ट ट्रेसिङमा परेको हुनाले आफैं होसियार हुनुपर्छ। अर्थात् टेस्टको रिजल्ट नआउन्जेल घरमा सेल्फ आइसोलेसन बस्नुपर्छ। केही दिन सबैसित दुरी कायम गर्नु भलो हुन्छ भने किन पछि सर्नु?
बेकारमा जोखिम मोल्दै हिँडडुल गर्दा अन्जानमा अरूलाई सर्यो भने को जिम्मेवार? त्यसैले आफ्नै घरमा पनि स्यानिटाइजर दल्दै मास्क लाएर कोठामै समय बिताउन थालेँ। सिक्ने-पढ्ने गुगलबाटै हुन्थ्यो। साथीभाइसँग भेटघाट फेसबुकबाट। मनोरञ्जनलाई युट्युब र टिकटक।
पहिलो दिन बितेको पत्तै भएन। केही काम गर्न मन पनि लागेन। सुतेर मोबाइल चलाउँदै निदाएछु।
अर्को बिहानी कोठाको ढकढकले ब्युँझिएँ।
'टेस्टको रिजल्ट आएन?' मभन्दा आत्तिएकी आमा ढोका बाहिरबाटै कराउन थालिन्।
'छैन। एकछिन अरू सुत्न दिनु न हौ,' भनेर झर्किँदै निदाउन खोजेँ। अब निद्रा रत्ति परे पो। कोरोनाले निद्रा झ्वाम पारिहाल्यो। सिरानी भित्तामा अडेस लाउँदै मोबाइलमा ट्विटर खोलेँ।
'साथी हो, शनिबार मिटिङ छ', 'के छ तेरो खबर, कुरा गर्नै छाडिस्,' यिनै मेसेज पढ्दै थिएँ, आँखा अफिसको ग्रुप च्याटमा पुग्यो- '२४ घण्टा भयो, रिजल्ट आएन। आउँदैन क्या हो?' एक जना दाइको प्रश्नमा जवाफ आयो, 'आज राति आउँछ।'
आज राति नै पो। लौ न! के आउने हो रिजल्ट। यति डर एसएलसीको रिजल्टमा नि भएको थिएन। कस्तो भाइरस उत्पत्ति भयो। केही गर्दै नदिने। बाहिरको भाइरसले भित्रको रोग प्रतिरोधात्मक भाइरसलाई नतर्साओस् भनेर ध्यान मोड्न खोजेँ। 'जे होला देखा जाएगा' भन्दै मोबाइल अफ गरी ल्याइटपमा फिल्म सुरू गरेँ।
फिल्मको नाम 'टुवेल्भ एंग्री म्यान'। फिल्मको कथामा एक जनाले अन्य एघार जनालाई आफ्नो विचार ठीक हुन सक्ने बारेमा विश्चास दिलाउँदै थियो। वास्तविकतामा म पनि घरपरिवार, साथीभाइ, आफन्त र छरछिमेकलाई मलाई केही हुँदैन भनेर विश्चास दिलाउँदै थिएँ। दिलाउन जरुरी थियो। अन्यथा टोलमा रोग सार्ने पात्र कहलिन बेर लाग्थेन।
झन्डै दुई घन्टापछि फिल्म सकियो। लगतै अर्को फिल्म सुरू गरेँ। आधा दिन फिल्म हेर्दै बिताएँ। बाँकी आधा गीत सुन्दै, रमाउन खोज्दै।
त्यो दिन दिनभरीमा एक पटक मात्र खाना रूच्यो। बासना नआउनु कोभिडको लक्षण भन्थे तर खाना नरुच्नु पनि हो कि? नानाथरी अनुमान गर्दै आफूलाई केही हुँदैन भनेर आत्मबल बढाउँदै गएँ। घडी हेर्दै टोलाएँ। सुइ घुम्दै थियो। दिन ढल्दै गयो। रात पर्दै गयो। निन्द्राले झुपुझुपु भएँ।
जागराम बसी पिसिआर टेस्टको रिजल्ट कुर्छु ठानेको म, रामलाई जागिर खोज्दै गरेको सपना देख्न थालेछु। एउटा अफिसमा इन्टरभ्यू दिएर फर्किँदै थियौं। हामीलाई फोन गर्छु भन्थ्यो। त्यही बखत अचानक मोबाइल 'ट्रिङट्रिङ' गर्यो।
मोबाइलको घण्टीसँगै म विपनीमा झस्किएर ब्युँझिएँ। मेसेज साँच्चै आएको रहेछ, बिहानको ५ बजे। 'एल.टी-अलर्ट' नामबाट आएको रहेछ।
टेस्टकै रिजल्टको थियो। सम्झिँदै पेट बटारिएर आयो। दिमाग भारी हुन थाल्यो। कहाँ न कहाँ भगवानलाई सम्झिन पुगेछु। आफूलाई परेको बेला मात्र भगवानमा आस्था राख्ने मैले संसारकै सबै भगवानको नाम पालैपालो जप्दै मेसेज खोलेँ।
चार अक्षरको शब्द देखेर अकस्मात कराएँ, 'ममी!'
मिष्ठान्न निद्रामा मग्न आमा आत्तिएर उठ्दै कोठा अगाडि दौडिँदै आइपुगिन् र सोधिन्, 'के भयो?'
'रिजल्ट आयो…नेगेटिभ!'