कोरोना संक्रमणले एक वर्ष पूरा गरेको छ। केही वैज्ञानिकले भ्याक्सिन सफल रहेको दाबी गरे पनि थुप्रै प्रश्न अनुत्तरित छन्।
रोकथामका लागि विश्वले अपनाएको विधि कोरोना पहिचान गरेर संक्रमण फैलन नदिने हो। यसमा पिसिआर परीक्षणबारे नसुन्ने सायदै कोही होलान्। एन्टिबडीमा आधारित आरडिटी परीक्षण र अरूभन्दा छिटो कोरोना पत्ता लगाउने भनिएको एन्टिजन परीक्षणबारे पनि तपाईंहरूले सुन्नुभएकै होला।
यीमध्ये कुनै पनि विधि शतप्रतिशत सही हुँदैन। जैविक विज्ञान आफैंमा अपवादको विज्ञान हो। यहाँ एउटै प्रजातिमा विविधता हुन्छ। यसको एउटा ज्वलन्त उदाहरण कोरोना संक्रमण नै हो।
हेर्दा स्वस्थ देखिने व्यक्तिले संक्रमणका कारण ज्यान गुमाएका छन् भने कोही सामान्य लक्षणसमेत नदेखिई निको भएका छन्। त्यसैले भरपर्दो परीक्षण विधि छान्नु आवश्यक हुन्छ। एक मात्र गलत नतिजाले धेरैलाई संक्रमित पार्न सक्छ।
अमेरिकाको खाद्य तथा औषधि व्यवस्था विभागले तीन प्रकारका विधि वर्गीकृत गरेको छ। ती हुन्:
१) मलिक्युलर टेस्ट: मलिक्युलर टेस्टमा पिसिआर, ल्याम्प लगायत विधि पर्छन्। यसले भाइरसको जेनेटिक तत्त्व रहे-नरहेको आधारमा संक्रमित पहिचान गर्छ। यो विधि खर्चिलो र समय लाग्ने भए पनि सबभन्दा भरपर्दो मानिएको छ।
यसले तत्कालीन अवस्थामा संक्रमित भए-नभएको मात्र छुट्टयाउँछ। पहिले लागेको थियो कि थिएन भन्ने थाहा हुँदैन।
यसबाट सक्रिय कोरोना संक्रमित पहिचान गर्न सकिन्छ। पिसिआर प्रविधिले भाइरसको आनुवांशिक सामाग्री आरएनएलाई लाखौंको मात्रामा गुणात्मक प्रवर्द्धन गर्छ, जसले स्वाबमा भाइरस थोरै भए पनि पहिचान गर्न सकिन्छ।
२) एन्टिजन टेस्ट: यो विधिले १५-३० मिनेटमै परीक्षण गर्छ। यसले शरीरमा भाइरसको निश्चित प्रोटिन पहिचान गरी शरीरमा भाइरस रहे-नरहेको छुट्याउँछ। यो विधिलाई छिटोछरितो भनिए पनि गलत नतिजा दिनसक्ने सम्भावना हुन्छ।
अमेरिकाको खाद्य तथा औषधि विभागले पोजेटिभ नतिजा सही हुने तर नेगेटिभ नतिजा पोजेटिभ पनि हुनसक्ने भएकाले नेगेटिभ आउनेलाई मलिक्युलर परीक्षण गर्न सल्लाह दिएको छ। शरीरमा भाइरको मात्रा थोरै छ भने यसले पत्ता लगाउन नसक्ने धेरै सम्भावना रहन्छ।
३) एन्टिबडी टेस्ट: संक्रमणपछि शरीरले भाइरसविरुद्ध लड्ने कोषहरू विकास गर्छ। ती कोषले एन्टिबडी प्रोटिन निर्माण गर्छन्, जसले भाइरसको एन्टिजन प्रोटिन नष्ट गरेर भाइरस अन्त्य गर्छ। रगतमा रहेका त्यस्ता एन्टिबडीका आधारमा कोरोना संक्रमण भए-नभएको पत्ता लगाइन्छ।
यस प्रकारको परीक्षणमा भाइरल संक्रमण भएको तर शरीरले भाइरसविरूद्ध एन्टिबडी विकास गरिसकेको छैन भने त्यस्तालाई नेगेटिभ देखाउँछ। निको भइसके पनि एन्टिबडी शरीरमा पछिसम्म रहिरहन्छ, जसले यो परीक्षणबाट संक्रमित व्यक्ति निको भए-नभएको थाहा हुँदैन।
दैनिक हजारौंको परीक्षण गर्दा एक-दुई नतिजा गलत आउनु सामान्य हो। यसलाई दक्ष परीक्षणकर्ताले गलत नतिजा आउनसक्नुको कारण अड्कल गरेर पुन: परीक्षण गराउन सक्छ।
पिसिआर परीक्षण भरपर्दो मानिए पनि बेलाबेला गलत नतिजा सार्वजनिक हुनुको पछाडि निम्न कारण हुन सक्छन्:
१) कोरना संक्रमितसँग भर्खरै मात्र सम्पर्कमा आएकाले भाइरस शरीरमा प्रवेश गरे पनि स्वाब लिने स्थान (नाक,घॉटी) मा भाइरस नरहेको वा अत्यन्तै कम मात्रामा रहेको
२) भाइरस भए पनि स्वाब लिँदा नआएको
३) स्वाबमा गल्तीले वा दुर्घटनावश भाइरस पर्न गएको
४) स्वाब लिइसकेपछि त्यसलाई समयमै प्रयोगशाला पुर्याउन वा आवश्यक चिसो तापक्रममा भण्डारण नभएको
५) भाइरसबाट त्यसको आनुवांशिक तत्त्व (आरएनए) निकाल्न प्रयोग गरिने रसायनहरूमा खराबी
विज्ञ तथा दक्ष जनशक्तिले यस्ता सम्भावित कमजोरी पहिचान गरी केही हदसम्म गलत नतिजा कम गर्न सक्छन्। यसका लागि स्वाब संकलनदेखि स्वाबलाई प्रयोगशालासम्म लैजाने र परीक्षण गर्ने व्यक्तिहरूको दक्षता र गम्भीरतामा भर पर्छ।
कोरोनाको प्रभावकारी रोकथामका लागि जनसमुदायदेखि सरकारसम्म सबैले आफ्नो जिम्मेवारी वहन गर्नुपर्छ। पन्ध्र-बीस दिन पूर्ण रूपमा लकडाउन गरेर धेरै संक्रमित भएको ठाउँमा छुट्टाछुट्टै अनि कम संक्रमित भएको ठाउँमा एउटा परिवार वा घरको स्वाब एकैठाउँ मिसाएर पिसिआर परीक्षण गर्ने हो र पोजेटिभ आएकाहरूलाई आइसोलेसनमा राख्ने हो भने जोखिम धेरै कम हुन सक्छ।
(लेखक त्रिभुवन विश्वविद्यालयमा बायो-टेक्नोलोजीमा एमससी पढ्दैछन्।)