कसैको श्रीमती कसैसँग गयो भने वा कसैको श्रीमान् कसैसँग गयो भने हामी ‘अवैध’ सम्बन्ध भनिदिन्छौँ। जुन कुरा हावा झैं फैलिहाल्छ। यसैपनि नराम्रो कुरा हावा झैं फैलिने यस समाचारहरु त्यसमा झन यौन जोडिएपछि भाइरल नहुने कुरै भएन।
तर यसले निम्त्याउने परिणाम हामीहरुले सोचेका हुन्नौं। यस्ता सम्बन्धहरु सार्वजनिक भएपछि धेरैको घरमात्र बिग्रदैन, आत्महत्या जस्ता घटनाहरु बढ्नु पनि यी नै कारण हुन्। ‘अवैध’ सम्बन्धको कारण उब्जेको आक्रोश समाजमा व्याप्त फैलिन्छ।
अन्ततः के हुन्छ भने, समाजका मान्छेले ती सम्बन्धलाई अवैध स्ट्याम्प लगाएर राखिदिन्छन् जीवनभर। समाजमा उसको प्रतिष्ठा गिर्छ। समाजबाट पाउनु पर्ने साथ सहयोगमा उसको भागिदार हुँदैन र पाउँदैन। यसरी एउटा अवैध सम्बन्धका कारण पूरा जीवन नै ध्वस्त हुन्छ।
सम्बन्धहरु राम्रा र नराम्रा पक्षहरुसँग गाँसिएका हुन्छन्। वैध र अवैधसँग होइन भन्ने हो। अवैध भन्नु एउटा वाक्य हुन सक्ला। यद्यपि जुन सम्बन्धलाई विरोध गर्न खोजिन्छ वा जुन सम्बन्ध बनाइरहन अर्थात् बनाउन सकिँदैन र टुक्रिन्छ। सम्बन्धलाई सम्मान गर्न नजानेर बिग्रन्छ।
त्यसलाई विशेषणका नाममा अवैध सम्बन्ध प्रयोग गरिदिन्छौं। आफ्नो कलुषित मनोभावना रिसहरुलाई व्यक्त गर्न कुनै शब्दहरु खोज्नु सिवाय हामीले बिग्रिएको सम्बन्धलाई नै खारेज गरेर त्यसलाई ‘अवैध’ करारनामा गरी दिन्छौं।
त्यसैले यस्ता शब्द प्रयोग गर्नेहरुलाई अवैध शब्दको प्रयोग अवैध तरिकाबाट गर्दा कस्तो होला? के हामीले यस्तो सम्बन्ध वैध भन्न सक्छौं? जस्तो कि श्रीमान श्रीमती एकैघरमा भएता पनि चुहुने घरको पानी जस्तो छ सम्बन्ध। सँगै हिड्दा एकले अर्कोको खुट्टा तान्ने पछार्ने बाहेक अरु हुन्न।
श्रीमानले श्रीमतीको र श्रीमतीले श्रीमानको इज्जतमा धक्का लाग्ने शब्दहरु, होच्याएर बोल्ने वाक्यहरु, समाज र परिवारमा एकअर्कामा गिराउने प्रवृत्ति। घरभित्र हेयको भावना हुँदाहुँदै पनि समाज र परिवारका निम्ति उनीहरु बारम्बार झगडा गर्दै लड्दै उठ्दै जीवन गुजारिरहेका हुन्छन् एकातिर भने अर्कोतिर समाज र आफन्तका अगाडिमात्र टिकाइएको यो सम्बन्धलाई कसरी ‘वैध’ भन्ने? वास्तवमा यो सम्बन्धलाई ‘अवैध’ भन्नुपर्ने होइन र?
अर्कोतर्फ सोचौं। दुई अपरिचितबीच चिनजान हुन्छ। एकअर्कोको दुःख सुखमा सहयोग साथ हुन्छ। एकअर्काका पिर मर्कालाई बुझिदिन्छन्। अगाडि बढ्न प्रेरणा र भरोसा दिलाउने गर्दछन्। तर एउटै घरमा नबसेका। समाजबाट स्वीकृत नभएका। श्रीमान र श्रीमती नभएका तर विश्वासिलो सहयात्री ठानिएका बीच सम्बन्ध भयो भने त्यो कसरी ‘अवैध’ हुन्छ? यस सम्बन्धलाई ‘अवैध’ घोषित गरिदिने कारण के हो?
मेरो दिमागमा बारबार घुमिरहने यी नै प्रश्नहरुको जस्तो कि सुरक्षाकर्मीद्वारा होटल लजहरुमा छापा मारेर युवायुवती पक्रिन्छ। उमेर पुगेका प्रेमी प्रेमिका भएर उनीहरु राजीखुसीले होटलहरुमा सम्बन्ध बनाउन पुगेका हुन्छन् वा पार्कमा बसेका हुन्छन्। सुरक्षित ठाउँमा कसैप्रति खलल नपुराइ गरिएको कुनैपनि सम्बन्ध वैध होइन र?
प्रश्न के हो भने वंश परम्परा जोगाउने आधारका नाममा हुने क्रियाकलापलाई हामीले वैध मान्ने हो कि वंश परम्पराको खाँचोका आधारमा बनाइएको सम्बन्ध जो हामीले देख्दै सुन्दै र भोग्दै आइरहेका छौं? समाजको पराम्परा र ढाँचाका आधारमा बनाइएका जुनसुकै सम्बन्धहरु हुन्, ती सम्बन्धहरु मात्र वैध ठानिन्छन्।
वास्तवमा ती ढाँचाका सम्बन्धहरुलाई हामीहरुले आधिकारिक मानेर भोग्दै आइरह्यौं। त्यही सम्बन्ध नै ‘वैध’ हो भन्ने ठान्यौं। त्योभन्दा बाहिर हुने अरु सम्बन्धहरु ‘अवैध’ भन्ने मानिदियौं, फरक यही नै हो।
वास्तवमा मनले मनसँग गरेको सम्बन्धहरु नै पवित्र ‘सम्बन्ध’ हो। त्यो नै ‘वैध’ हो। परम्परादेखि लादिएका वा घुसाइएका यस्ता खाले सम्बन्धहरुका बीचमा तित्तता हुँदाहुँदै पनि बाध्यतावश राखिएको सम्बन्धहरु नै अवैध हुन्। त्यसैले सम्बन्धहरुका नाममा भिराइएका विशेषणहरुलाई तोड्न आवश्यक छ। सम्बधको संसार अत्यन्तै सुन्दर र जटिल पनि छ, कतिपय सम्बन्धहरु यसैउसै पनि खारेज गर्न सकिँदैन।
यही तिहारमा मेरो दाइको छोरी एकजना बनाएका दाजुलाई टिका लगाउन गइन्। जस्तो कि दुइबीच जुन वंश परम्पराको सम्बन्ध छैन। मानौँ दुई फरक फरक वर्ण, समुदाय वा फरक देशका युवायुवतीबीच परिचित हुँदै एकअर्कालाई भाइबहिनी मानिदिए भने त्यो सम्बन्ध ‘अवैध’ हुनुपर्ने होइन र? किनभने यी दुइबीच न समाज परम्परा छ न वंश परम्परा छ।
तर यसलाई हामी ‘वैध’ मानिदिन्छौं किनभने यसको पछाडि भाइबहिनीको पवित्र सम्बन्ध हुन्छ जहाँ सेक्सको स्थान हुँदैन भनेर परिभाषित गरिदिएका छौं।
हरेक सम्बन्धका पछाडि सेक्सको परिभाषा छ भन्दा अत्युक्ति नहोला। गैर स्त्री पुरुषबीच भएको सम्बन्धलाई मात्र ‘अवैध’ मानिदिन्छौं। एउटा स्त्री वा पुरुषको शारीरिक सम्बन्ध अर्को स्त्री वा पुरुषसँग किन हुन्छ? यसको लागि हामीले सामाजिक संरचनालाई बुझ्नु पर्दछ।
यस समाजमा हरकोही व्यक्ति फरक फरक भूमिका हुन्छ। महिला छन् भने त्यो कसैको छोरी, कसैकी आमा, कसैको सासू, कसैको बुहारी, कसैको श्रीमती वा कसैको बहिनी हुन्छिन्। साथसाथै कसैको साथी वा शत्रु पनि।
यसैगरी पुरुष पनि अनेकौं भूमिकामा बाँधिएको हुन्छ। यी र यस्ता भूमिकाको आवश्यकता किन पर्दछ? किनभने मन र तनको अलग अलग आवश्यकताहरु हुन्छन्। यी आवश्यकताहरुको परिपूर्ति गर्नका लागि कुनै एक भूमिकामा रहेर कुनै एक चरित्रको साथ पूरा गर्न सकिँदैन। त्यसैले अनेकौं भूमिकामा रहेर अनेकौं चरित्रका साथ पूरा गर्नुपर्ने हुन्छ।
त्यसैले बाँच्नको लागि सास लिनु जति जीवनमा यौनको आवश्यकता र अनिवार्य छ। एकजना पुरुष वा महिलाको क्षमता र व्यवहार उसको श्रीमान वा श्रीमतीले जति अरु कुनै सम्बन्धलाई जानकारी हुन्न। जन्म दिने आमा-बाबुलाई समेत हुन्न। त्यसैले एकअर्काबीच हुने तृष्णा वा आवेग अतृप्त यौन चाहनालाई बुझ्ने एउटा मुख्य मान्छे भनेको जीवनसाथी नै हो।
जीवनसाथीले एकअर्काका बेचैन चाहनालाई बुझिदिने हो भने सायद कोही भड्किदैनथ्यो होला। अन्यले अन्यसँग सम्बन्ध राखि हिड्दैनथ्यो होला र समाजले त्यो सम्बन्धलाई अवैध करार गर्न पाउँदैनथ्यो होला।
कुनैपनि ‘वैध’ सम्बन्धबाट जन्मेका ‘वैध’ सन्तानमाथि ‘वैध’ले गरेको बलात्कारमा समाजले आन्दोलन गरेको खासै छैन। घृणित समाचारहरु जस्तो कि बाबुले आफ्नै छोरी बलात्कार वा अन्य अंकल, मामा दाजुभाइले आफ्नै नातामाथि गरेको बलात्कार! वैधले वैधमाथि गरेको बलात्कारमा आन्दोलन हुनुपर्ने होइन र? तब एउटा बहसको सुरुआत हुन्छ अनि सम्बन्ध बिच्छेद, अंश, दाइजोमा बहस चल्नु पर्दछ।
मनबाट भएको सम्बन्ध हो वा परिवारको दवावमा बनाइएको सम्बन्ध हो वा वंश परम्परा धान्न बनाइएको सम्बन्ध हो, यी र यस्ता विषयमा बहस चलाइनु पर्दछ। तब बलात्कारका घटना घट्न कम हुन्छ। दाइजो वा अंशका लालचहरु घट्छन्। सम्बन्ध टिक्न र टिकाइरहन यौनको आवश्यकता पर्दछ भनेर खुल्ला छलफल हुनु आवश्यक छ।
खुल्ला छलफल भयो भने एउटी महिलाले नपुंसक श्रीमानबाट वर्षौवर्षसम्म प्रताडित हुनुपर्दैन र अन्यसँग सम्बन्ध गाँस्न उसको मनले चाहँदैन। घरेलु हिंसा भयो भने, शारीरिक दुर्वल श्रीमान् छ भने, प्रयाप्त समय घरमा दिएको हुँदैन भने, एकअर्काका सपनाहरु परिपूर्ति गर्न सहयोग हुँदैन भने, यी र यस्ता सयौँ कारणहरु एकअर्काका जीवनसँग गाँसिएका हुन्छन्।
विशेषगरी, एकअर्काका यौन चाहना मुख्य हुन्। यो व्यक्तिपिच्छे फरक फरक हुन्छ, यस कुरालाई गहिरोसँग बुझेर समय दिन सकियो भने कसैले पनि कसैसँग अवैध सम्बन्ध गासिरहनु आवश्यक हुन्न। हरेक सम्बन्धहरु ‘वैध’ हुन् वा ‘अवैध’ हुन्, यो करार दिनुभन्दा पहिला मनोवैज्ञानिक विश्लेषण गर्न जरुरी छ।
र, वैध र अवैध भन्नुभन्दा पहिलो राम्रो वा नराम्रो सम्बन्धको करार दिनु आवश्यक छ। कसैको कसैसँग सम्बन्ध ‘वैध’ हो कि ‘अवैध’ विशेषण भिराउनुभन्दा पनि ‘राम्रो’ हो कि ‘नराम्रो’ भन्ने महत्वपूर्ण हो।