योग्य मान्छेलाई उचित पद दिदा कस्तो फरक पर्न सक्छ भन्ने ट्रेलर दिएर गए कुलमान घिसिङले। १८ घण्टा लोडसेडिङ खेपेका नेपालीलाई उनले जादुको झप्पि नै दिए। २४ सै घण्टा बिजुली आउन थाल्यो, पूर्वाधारहरु बन्न थाले, उर्जा जगतले काचुली नै फेर्यो।
नेताहरुको खल्तीबाट विश्वविद्यालयहरुमा हुने नियुक्ति वा मनोनयनका विरुद्धको आन्दोलनका नायक डा. गोविन्द केसीले सुरु गरेको भण्डाफोर अभियानले मेडिकल क्षेत्रमा मात्र नभएर बेला बेलामा राजनीतिक रुपमा तरंग नै पैदा गर्ने गर्छ। लामो समयदेखि उनले देशको स्वास्थ्य क्षेत्र बचाउन आफ्नो लहड देखाए।
सो आन्दोलनले स्वाथ्य क्षेत्रको बेथिति हटाउन केही हदसम्म मद्धत गर्यो। राम्रा-राम्रा नीतिगत परिवर्तन आए पनि 'राइट म्यान' कार्यान्वयन गर्ने ठाउँमा नपुगेर होला वा पुगे पनि अहिलेको राजनीतिक भुमरीमा इच्छाशक्ति देखाउन नसकेर होला, रिजल्ट आउन अझै बाँकी नै छ।
कुलमानले देखाएको ट्रेलरबाट सुन्दर चलचित्र बनाउने हो भने अब हामी सबैले 'राइट म्यान इन राइट प्लेस' राख्न आवश्यक छ। एकजनाको आन्दोलनमा नैतिक समर्थन गरेर र सोसल मिडियामा फोटो राखेर यो आन्दोलनले पूर्णता पाउदैन, न त देशको स्थिति नै सुध्रने छ। हामीले गोविन्द केसी अनसन बस्दा उनको जीवन रक्षाको लागि आन्दोलनमा मात्र नगएर उनको उद्देश्यहरुलाई आफ्नो बनाइ आ-आफ्नो क्षेत्रमा लागु गर्न आवश्यक छ।
'युवाले आफ्नो स्थानबाट के गर्न सकिन्छ त?'
हामी सबै युवाले सर्वप्रथम त राम्रो मान्छेलाई उचित स्थानमा पुर्याउनु पर्छ र सहयोग गर्नुपर्छ। त्यो उचित स्थान चुनावमा 'राइट म्यान' लाई भोट हालेर होस् वा राजनैतिक नेतृत्वको अथवा पार्टीको झन्डा बोकेर भागबन्डाको आधारमा कुनै संस्था छिरेका व्यक्तिको भन्डारफोर गरेर।
हामी जस्ता शैक्षिक र शिक्षित युवा वर्गले नबोलीकन टिके प्रथालाई लाचार भएर अंगालेकोले नै आज हरेक क्षेत्रमा यस्तै नियुक्तिले प्रोत्साहन पाएको छ र शिक्षित र नैतिकवान व्यक्ति पछाडि परेका छन्। जसको परिणाम देशभरि बेथिति छ।
हामी सानोतिनो कुरामा राजनीतिले गर्दा बिग्रेको हो भन्छौ, र त्यो विषयवस्तुबाट टाढा भाग्ने गर्दछौँ। जबसम्म सबै क्षेत्रमा युवाहरु जाग्दैनन्, राजनीतिक नियुक्ति विरुद्ध असहयोग आन्दोलन गर्दैनन्, तबसम्म असल र क्षमतावान् व्यक्तिहरु झुक्केर पनि नेतृत्वमा पुग्ने छैनन्, र समग्रमा देश सधै पछाडि पर्नेछ।
हामी कुनै बेलाको विज्ञानको विद्यार्थी र अहिलेका वैज्ञानिक। सानो हुँदा 'रोनास्ट' (हालको नास्ट) का उपकुलपति को हुन् भनेर हाजिरीजवाफ प्रतियोगितामा उत्तर मिलाएर पुरस्कार जितेको याद ताजै छ। रोनास्टको बारे खोजीनीति गर्दै जाँदा विज्ञानको भूत चड्यो।
त्यही अनुसार विज्ञानको पछि लाग्दै नेपालको विकटबाट सुरु भएको हाम्रो शैक्षिक यात्रा एमआइटी र हार्बर्ड विश्वविद्यालयको आगनमा आइपुगेको छ। अब मेहनत गरेर नयाँ सीप सिकी देश फर्कने रहर छ। अनि देश सुहाउदो रिसर्च गरी देशको वैज्ञानिक विकासमा इँटा थप्ने महत्वकांक्षा छ।
तर आजकल जब यस्ता ठाउँमा भएका नियुक्ति देख्छौँ, बालापनमा पालेको सपना पर पर भाग्छन्। यो सपनाले हामी लेखक द्वयको मात्र नभएर, सारा युवा नेपाली र नेपाली वैज्ञानिकको प्रतिनिधित्व गर्छ।
एकैछिन अब 'राइट म्यान इन राइट प्लेस' भण्डाफोर अभियानमा लागौँ।
नास्ट हेरौँ
अहिलेका उपकुलपति छन्, डा. सुनिल बाबु श्रेष्ठ। 'रिसर्चगेट' नामक वेबसाइट अनुसार नेपालको सबभन्दा शिर्ष वैज्ञानिक संस्था हाक्ने नेतृत्वकर्ताको विज्ञान क्षेत्रमा उपलब्धि साह्रै दयनिय भेटियो। अहिलेसम्म उनले जम्मा दुई वटा अनुसन्धान प्रकाशित गरेका रहेछन्- एउटा सन् २००३ मा र अर्को १७ वर्षपछि २०२० मा।
२०२० मा प्रकाशित सोधका उनी न त प्राथमिक अन्वेषक हुन् न त लेखक नै। यी बाहेक उनको अन्य वैज्ञानिक उपलब्धि केही भेटिएनन्। उनको लिंक्डइन प्रोफाइल अनुसार उनी लामो समय स्वच्छ विकास परामर्शदाता भएको बुझिन्छ, तर नास्टको उपकुलपति हुने गरी के गरे त? साँच्चिकै भन्नुपर्दा नास्टको उपकुलपति हुनुपूर्व नेपालको वैज्ञानिक क्षेत्रमा उनको नाम सुनेको जस्तो लाग्दैन।
हुन त पब्लिकेसन तथा वैज्ञानिक उपलब्धि मात्र उपकुलपति हुने मानक नहोलान्। नेतृत्व क्षमता तथा कार्यदिशा पनि उत्तिकै आवश्यक छन्। सायद यी कुरा उनीसँग होलान् पनि। तर उनका पहिलेको कामहरुले यस्तो प्रमानित गर्दैन। यदि उनले विज्ञानको क्षेत्रमा पर्याप्त योगदान गरेका छैनन् भने यस क्षेत्रको समस्त विकासको लागि कार्यदिशा बनाउन सक्छन् भनेर कसरी विश्वास गर्ने?
यदि बनाइहाले पनि कसरी कार्यन्वयन गर्न सक्छन्? अर्को कुरा, उनको जत्तिकै नेतृत्व क्षमता तथा कार्यदिशा भएको एवम् उनको भन्दै धेरै राम्रा उपलब्धि भएका वैज्ञानिक प्रशस्त छन्। नास्टमा हाल कार्यरत वैज्ञानिकहरुको प्रोफाइल हेर्दा प्रायको उपलब्धि उपकुलपतिको भन्दा राम्रो देखिन्छ। यस्तो अवस्था ती वैज्ञानिकहरुमा के हिनताबोध उत्पन्न नहोला त?
आखिर सुनिल बाबु कसरी छानिए त नास्टका उपकुलपति? यो स्वायत्त भनेर लेखिएको संस्थामा के राजनीतिक नियुक्ति भएको हो त?
आफ्नो वैज्ञानिक अनुसन्धानलाई थाती राखेर गरेको अनुसन्धानले यस्तो फेला पर्यो- सुनिल बाबु परेछन् नारयणकाजीका आफन्त। तत्कालीन शिक्षामन्त्री परेछन् नारयणकाजी श्रेष्ठका विश्वासपात्र गिरिराजमणी पोखरेल। अब सरकार परिवर्तन हुन लायो, सायद यिनको पनि म्याद सकियो होला। तर फेरि कसका साला आउने छन्। भण्डाफोर अवश्य हुनेछ।
रिकास्ट हेरौँ
केही दिन अगाडि त्रिभुवन विश्वविद्यालय अन्तर्गतको व्यावहारिक विज्ञान तथा प्रविधि अनुसन्धान केन्द्रमा एक नियुक्ति भयो। व्यावहारिक अनुसन्धान गरी विज्ञान र समाजलाई जोड्ने लक्ष्य राख्ने यो संस्थाको निर्देशकमा डा. रामनाथप्रसाद यादव आउनु भएछ।
हामीलाई हेर्न मन लाग्यो, कसरी यस्तो संस्थाको निर्देशक हुन सकिन्छ त? लाग्यो उहाँले विज्ञानलाई व्यवहारिक बनाउन पक्कै धेरै योगदान दिनु भएको होला। तर थाहा भयो, अहिलेसम्म उहाँको एउटा अनुसन्धान कृति बाहिर आएको छैन। उहाँको अनुभव हेर्दा विरगंज क्याम्पसमा पढाएको मात्र देखियो।
तर अनुसन्धान नै नगरेका यिनले कसरी त्यति लामो इतिहास भएको तथा अनुसन्धान-केन्द्रित संस्था हान्क्लान्? त्रिभुवन विश्वविद्यालय उपकुलपति धर्मकान्त बास्कोटाले केको आधारमा गरे यो नियुक्ति? कि यी पनि कसैका साला, भिनाजु, सम्धी, वा घरबेटी परे? होइन भने यो प्रश्नको उत्तरको प्रतिक्षामा हामी रहिरहने छौँ।
यी त केही उदहारण मात्र हुन्, आफू विज्ञानको विद्यार्थी भएकोले आफ्ना आँखा अगाडि देखिएका। तर यस्ता नियुक्ति सर्वत्र भइरहन्छन्। जब राजनीतिक पार्टी फोहोरी 'म्युजिकल चेयर' खेल्छन्, पात्र मात्र परिवर्तन हुन्छन्। तर यो 'म्युजिकल चेयर' को मुखदर्शक भएर बस्यौँ भने सबै कर्मठ नेपालीका सपनाहरु तुहिनेछन्।
अब हामी युवा जाग्ने बेला घर्की सकेको छ, तर ढिला अवश्य भएको छैन। अब गोबिन्द केसी झैँ आ-आफ्नो क्षेत्रमा पहरेदार गर्ने बेला आएको छ। अब सबैलाई मापदण्डको सीमा हेरौँ, सबैले भण्डाफोर गरौँ। देशलाई पनि बचाऊ, आफ्ना सपना पनि बचाऊ।
खोजौँ प्रत्यक नियुक्तिमा- यो राजनीतिक नियुक्ति हो कि खुल्ला? खुल्ला, साँच्चिकै खुल्ला हो कि नाटक मन्चन मात्र? यसरी छानेकाको पढाइ कति छ? के छ त अनुभव र उपलब्धि? के हो त कार्यनीति? के कार्यनीति माटो सुहाउँदो छ त?
हाम्रा करबाट चलेका यी र यस्ता संस्थामा अस्वस्थ नियुक्तिलाई बन्द गरौँ, अनि यस्ता नियुक्तिबाट आएकाहरुलाई बहिस्कार गरौँ, असहयोग गरौँ।
हामी सबै सिपाही बनि हर क्षेत्रमा 'राइट म्यान' हरुलाई ल्याऊ र सारा नेपालीले खोजेको एक 'सुन्दर नेपाल' तयार पारौँ। हामीले यो अभियान समयले भ्याएसम्म आगामी दिनमा हरेक युनिभर्सिटी र शैक्षिक क्षेत्रमा गर्दै जाने आठोट लिएका छौँ।
(लेखक द्वय म्यासाचुसेट्स इन्स्टिट्युट अफ टेक्नोलोजीमा कार्यरत वैज्ञानिक हुन्।)