मथुराबेसीबाट वाङ्लाको उकालो चढ्दै गुन्यू चोली लगाएकी, बर्की ओढेकी र पिँठ्यूमा सोली बोकेर माइत हिँडेकी युवती घुँघुरूको आवाज सुन्थिन्। घुँघुरूको धून जति चर्को सुनिँदै जान्थ्यो, उनले बाटो छाड्नपर्ने समय त्यत्ति चाँडै आउन थालेको महशुस गर्थिन्।
जब लठ्ठीमा बाँधेको घुँघुरूको छनछनले उनको बाटो उछिन्ने समय भएको जानकारी दिन्थ्यो, तब उनी बाटोको भित्तातिरको भागमा टाँसिएर अडिन्थिन् र बाटो छाड्थिन्।
घुँघुरो झन्काउने अग्ला र दरिला पुरूषको पिँठ्यूमा खाकी रङको झोला झुन्डिएको हुन्थ्यो। उनले बलियो र दह्रो देखिने लठ्ठी उचाल्दा र भुइँमा टेकाउँदा त्यसमा बाँधिएको घुँघुरूबाट झंकार छुट्थ्यो।
बाटामा अझै अगाडि अधबैंसे पुरूष दाम्लो समातेर भैंसी डोर्याइरहेका हुन्थे। पछिपछि उनका छोरा सिर्कनोले भैंसीलाई बेलाबेला हिर्काउँदै हिँडिरहेका हुन्थे। उनीहरूले पनि त्यही घुँघुरोको आवाजका भरमा ती पुरुषलाई बाटो छाडिदिन्थे। घुँघुरो घन्काउँदै उनी तेज गतिमा बढ्थे।
त्यो आवाज सुन्दा बाटो छाडिदिनुपर्छ भन्ने बटुवाहरूलाई थाहा थियो। सामाजिक दायित्व नै थियो त्यो। अभिभावकहरूले केटाकेटीलाई त्यही सिकाएका हुन्थे। त्यसैले उनलाई सबैले बाटो छाडिदिन्थे।
उनको यात्राको गति अरू बटुवाको भन्दा छिटोछिटो हुन्थ्यो। उनले गन्तव्य सकेसम्म चाँडै भेट्टाउनु पर्थ्यो। उनको यात्राले धेरै मानिसको सूचनाको समय निर्धारण गर्थ्यो। तीमध्ये अधिकांश सूचना सकेसम्म चाँडै प्रापककहाँ पुग्न जरूरी हुन्थ्यो।
ती पुरुष थिए हुलाक बोक्ने हुलाकी। सरकारी जागिरे। गाउँमा राम्रै इज्जत हुन्थ्यो। जिम्माल, मुखिया, पञ्च–भलादमी पछि उनको इज्जत पर्थ्यो। निरन्तर नगद आम्दानी हुनाले आर्थिक हिसाबले पनि तुलनात्मक रूपले अरू गाउँलेभन्दा सबल नै हुने।
तर अहिले हुलाकी त्यो युगका भइसके। त्यो युग भोग्ने धेरै मानिस अझै छन्। माथि वर्णन गरेको अर्घाखाँचीको एउटा दृश्य नेपालको पश्चिम भेगमा मात्र होइन, पूरै नेपालभरि नै देखिन्थ्यो।
फोकल्यान्डको युद्धमा ज्यानको बाजी थापेर जिउँदो शरीर घर पुग्छ कि पुग्दैन भन्ने धरमर हुँदै गर्दा गणेश राईले टेन्टभित्र बसेर लेखेका चिठी पठाउँथे। पूर्वी नेपालको उनको घरमा चिठी पुर्याउनेहरू त्यस्तै घुँघुरू बाँधेका लठ्ठी टेक्ने युवा हुन्थे।
अझ अघिल्ला पुस्ताका लाहुरेले विश्वयुद्ध लड्दै गर्दा पठाएका चिठी बोक्ने हुलाकी पनि उस्तै हुन्थे। त्यस्तै तेज गतिमा हिँड्ने। उनीहरूको हिँडाइ भेट्टाउन केटाकेटी त दगुर्नै पर्थ्यो।
ठूलो वर्णमाला पढ्ने केटाकेटीले पनि हुलाकीप्रति सम्मान जगाउँथे। अहिलेका केटाकेटीले ती हुलाकीको अस्तित्व भेट्दैनन्। भाव पनि बुझ्दैनन्। प्रविधि, परिस्थिति र यन्त्रले अवस्था नै बदलिदिएको छ।
विदेशबाट पठाएका चिठी धरहरासँगैको गोश्वारा हुलाक अड्डाबाट पूर्व, पश्चिम कता पठाउने हो भन्ने छुट्याइन्थ्यो। अहिलेका सन्देश बोक्ने इमेल, भिडिओ, फोटो, म्यासेजहरू समुन्द्रपारिका अपरेटिङ सर्भरले छुट्याएजस्तै। गोश्वारा कार्यालयको काम अहिले पनि उही हो। चाप भने स्वात्तै घटेको छ।
उसबेला हुलाकी झोला सार्दै र साट्दै गाउँ–घरसम्म खबर पुर्याउँथे। म स्कुल पढ्ने समय अर्थात् करिब पचास वर्षअघि नै नेपालमा आवा (आकाशवाणी) प्रविधि चलनमा थियो। हुलाकीको चिठीभन्दा चाँडै सन्देश गाउँसम्म पुग्न थालेका थिए। तर, अति जरूरी सन्देश मात्र आवाबाट पठाइन्थे। अरू सामान्य सन्देश चिठीमै हुन्थे।
आवा कार्यालय सदरमुकाममा हुन्थे। त्यस्ता कार्यालयका अपरेटरले ध्वनी संकेत तथा शब्दबाट अक्षर टिप्थे। त्यसरी टिपिएका आवा सन्देश गाउँघरसम्म पुर्याउने कर्मचारी पैदल नै हिँडेर पुग्थे। तराइतिर भने साइकल प्रयोग भएको पनि देखिन्थ्यो।
सरकारी अति जरूरी सूचना भने कहिलेकाहीँ प्रहरी कार्यालयका घोडाले बोकेर गाउँसम्म पुर्याउने अवस्था पनि हुन्थ्यो। आवा चलेको पनि एक दशकभन्दा बढी भएको थिएन। त्यसअघि त हस्तलिखित चिठी नै हुलाकीले बोक्ने अवस्था थियो। परेवाले बोक्ने सन्देश त किम्बदन्ती जस्तो लाग्छ। अस्तित्वमा भएकै भए पनि सर्वव्यापी प्रचलन थिएन।
त्यस समयको जीवनशैलीका कथा सुन्ने अहिलेका केटाकेटीले हामीलाई अनौठा प्रश्न सोधेर छक्क पार्छन्। ‘मोबाइल फोनको टेक्स्ट म्यासेजमा सन्देश नपठाएर हुलाकका चिठी हप्तौंहप्ता किन पर्खेर बस्थे?’
यस्ता प्रश्न हाम्रा कानमा ठोक्किनु सामान्य भइसक्यो। हातहातै स्मार्टफोनको जमानामा हुर्कने बच्चाले स्कुल-कलेज पढ्दै समाज विकासक्रम बुझ्न थालेपछि बल्ल एक शताब्दीअघिका मानिसका दैनिकी कस्तो थियो भन्ने बुझ्दै जान्छन्। त्यसपछि बल्ल ती प्रश्न अलि फेरिन्छन्।
हामीले बच्चा अवस्थामा हाम्रा अभिभावक तथा अग्रजलाई सोध्ने प्रश्न उनीहरूका लागि सायद त्यति अनौठा हुन्थेनन्। बितेको पाँच दशकमा भएको मानिसको सामाजिक परिवर्तन त्यसअघिको हजार वर्षमा भएको परिवर्तनभन्दा पनि तीव्र थियो।
हामी हुर्किँदै गर्दा गाउँघरमा सलाइ–लाइटरको पनि सहज पहुँच थिएन। ग्यास चुलो कल्पनामा पनि थिएन। राती सुत्ने बेलामा अँगेनामा खरानीले अगुल्टो पुरेर भोलिका लागि आगो जोगाएर राख्नुपर्थ्यो। त्यसरी आगो जोगाएर राख्ने चलन हजारौं वर्षदेखि चलिआएको थियो।
चलनमा धेरै आइनपुगेको भए पनि सलाइ–लाइटर बजारमा थिए। लाहुरेले लाइटर बालेर चुरोट सल्काएको देख्दा आधुनिकताको चरमचुली त्यही होलाजस्तो लाग्थ्यो। कम्प्युटरको अस्तित्व नै थाहा नभएको अवस्थामा अहिलेका 'आर्टिफिसियल इन्टेलिजेन्स' र 'डिप लर्निङ' का विषय त हाम्रा शिक्षकका दिमागमा पनि छिरेको थिएन।
हुन त हामीले पनि केही अनौठा प्रश्न नगरेका होइनौं। दिनभर घाममा सुकाएका ब्याट्री (सेल) हालेर साँझमा बुवाले रेडियो बजाउनुहुन्थ्यो। हामी रेडियोभित्र कसरी मान्छे अटाउँछन् भनेर प्रश्न गर्थ्यौं।
यी अनौठा प्रश्नको जवाफ उहाँहरूले दिन सक्नुहुन्थेन। गुरूको पाठ घोक्ने चेलो हुँदाको अवस्थामा मेरा बुवाहरूले कहिल्यै त्यस्ता प्रश्न गर्नुभएन। बाजेहरूका जमानामा जे थियो, त्यो हजारौं वर्षअघिदेखिकै कुरा थियो। त्यसैले बाजेहरूले उत्तर दिन अप्ठारा हुने कुनै प्रश्न सामना गर्न परेन। बच्चाहरूले पनि अग्रजले नबुझ्ने कुनै प्रश्न सोध्नै परेन होला सायद।
तर उतिबेला पनि 'आकाशमा तारा कति छन्? सूर्य किन उदाउँछ? किन अस्ताउँछ? राती किन अँध्यारो हुन्छ? मान्छे छोरा र छोरी कसरी हुन्छन्? मरेपछि हामी कहाँ जान्छौं? जस्ता प्रश्न सोधिए कि! अहिलेका केटाकेटी त यस्तै प्रश्नसँग गुगलमा खेलिरहेका हुन्छन्।
फेरि हुलाकीमै फर्किन्छु।
बेलाबेला चर्चा हुने हुलाकी सडक त्यही पहिले हुलाकी हिँड्ने मूल बाटोको प्रसंग हो। स्थानीय अगुवाले हरेक दसैंमा मर्मत गरेर घोडा हिँड्न मिल्ने फराकिलो घोडेटो बनाउने चलन थियो। हुलाकी हिँड्ने मूल सडकलाई मोटर हिँड्ने बनाउने कुरा राजा महेन्द्रको पालामा चल्यो। पछि अन्तर्राष्ट्रिय सहयोगमा आर्किटेक्टहरूले डिजाइन गरेको महेन्द्र राजमार्ग बन्यो।
म सानो छँदा हुलाकी सडक फराकिलो पारेर मोटरबाटो बनाउन जनश्रम गर्न गाउँले गएको सम्झना छ। तर त्यो क्रम धेरै दिन चलेन। धेरै ठाउँमा भएन पनि होला।
उस समयमा सरकारले नै हुलाक व्यवस्थापन र अन्तर्राष्ट्रिय जिम्मेवारीसहित सञ्चालन गरेको हुन्थ्यो। तर अहिले चिठीबाट पठाइने खबर प्रविधिले आफ्नो बनाइसकेको छ। निजी कुरियर कम्पनीले छिटोछरितो दिने सेवाले गर्दा सरकारी हुलाक व्यवस्था ओझेलमा परेको छ। यो अवस्थामा हुलाक व्यवस्था अनावश्यक भएको त होइन भन्ने पनि लाग्छ।
बेलायतमा हरेक मूल गल्ली (स्ट्रिट) मा रोयल मेल (हुलाक) का राता बाकस भेटिन्छन्। पहिले सरकारी स्वामित्वको रोयल मेल नीजि कम्पनीमा परिणत भइसकेको छ। बेलायतको हुलाक व्यवस्था हेर्दा पोस्टक-कोडको महत्व बुझ्न जरूरी छ।
लन्डनमा सन् १९५७ बाट पोष्टकोडको अवधारणा सुरू भए पनि हाल चलनमा रहेको आधुनिक पोष्टकोड सन् १९५९ देखि लागू भएको हो। बेलायतको आधुनिक प्राविधिक विकासमा पोष्टकोडको ठूलो महत्व बुझेर नेपालले अवलम्बन गर्न जरूरी छ।
सामान्यतया ६ अक्षर–अंकको पोष्टकोड र घर नम्बरले हरेक घरको ठेगाना निर्धारण हुन्छ। त्यस्तो पोष्टकोड विकास गरेर सूचना-तामेली इन्कार गर्ने बहाना हटाउन सके नेपालको अदालतका ३० प्रतिशत मुद्दा कम हुन सक्छन्।
न्यायक्षेत्र मात्र होइन, यसबाट विकास योजना र कानुन नियमनमा पनि सहयोग हुन्छ। इन्टरनेट जमानामा अनलाइन अर्डरजस्ता डेलिभरी पनि यही पोष्टकोडकै भरमा चलेका हुन्छन्। नेपालमा पनि मोबाइल फोनको सुविधाले पार्सल पुर्याउन सहयोग गरे पनि पोष्टकोड अभावले अर्डर गर्ने र डेलिभरी गर्नेबीच समस्या बढाइरहेको छ। साथै सामान लेनदेनक प्रमाण अभावले अन्य अप्ठ्यारा पनि पर्न जान्छन्।
'नेभिगेटर' मा पोष्टकोड र घर नम्बर हाल्नासाथ निर्धारित घरको ढोकामा पुगिने दावी पनि हामीकहाँ बेलाबेला सुनिन्छ। तर नेभिगेटर जडित अत्याधुनिक मोटर मन्त्री, उच्चतहका कर्मचारी र धनाढ्यले मात्र चढ्लान्। त्यो नेभिगेटर पनि पोष्टकोडबिना प्रयोग हुँदैन। यसमा भने गफ दिनेको ध्यान नगएको हो वा आवश्यकतै नबुझेको हो?
ठूला एयरपोर्ट, पानीजहाजका अफिस र ग्यास पाइप घरघर पुर्याउने गफ सुनाउनुभन्दा वैज्ञानिक पोष्टकोड व्यवस्था गर्नु जरूरी छ।