केही दिनअघि नवनियुक्त सहरी विकास मन्त्री प्रभु शाहको गाडीले सर्वधारणलाई ठक्कर दियो। अर्का नवनियुक्त प्रदेश प्रमुख डा. राजेश अहिराज बाटोमा दुर्घटित भएर बसेका सर्वसाधारणलाई अस्पताल पुर्याए।
यी दुवै घटना सवारीसँग सम्बन्धित थिए। त्यसो त प्रदेश २ मा सवारी साधनले ठक्कर दिएर दिनहुँ दर्जनौं मानिस दुर्घटनामा पर्ने गरेका छन्। साइकल र मोटरसाइकल ठूला गाडीबाट ठोक्किने। सर्वसाधारणलाई प्राइभेट वा सरकारी गाडीबाटै ठक्कर दिने घटना यस प्रदेशमा नौलो रहेन।
विशेषगरी जनकपुरको मात्रै कुरा गर्दा पनि आश्चर्य लाग्दछ। महेन्द्र राजमार्गसँगै जोडिएको धनुषा जिल्लाको ढल्केबारबाट २० किमि दक्षिण लागेपछि ६ लेनको चौडा दुईतर्फी बाटो हुँदै पिडारी चोक आउँछ।
यसै चोकबाट बल्ल जनकपुर क्षेत्रको वृतान्त सुरुआत हुन्छ। ढल्केबारबाट जनकपुरसम्म जाँदा आउँदा गाडीका गति तीव्र हुन्छ। एकपछि अर्को गाडीहरु तछाडमछाड गर्दछन्। यस्तोमा झन् सडकमा गाडा, टयाक्टर र मोटरसाइकलले सडकनै आफ्नो झैं गरी चलाउँछन्।
सडक कस्तो छ भने, पिडारी चोकबाट जनकपुर बजारका पुरै बाटा बाटाहरु खाल्टाखुल्टीले भरिएका छन्। सार्वजनिक सवारीमा रामानन्द चोक उत्रेर दक्षिण लागेपछि सडकका छेउछाउहरु पानको थुकले रातै देखिन्छन्।
चोकमा छाडिएका गाइवस्तु र साँढेहरु सडक नै मेरै होकी झैं गरी ढल्की ढल्की बसेका हुन्छन्। अटो रिक्सा र मोटरसाइकलहरु मान्छेलाई नै हान्ने झैं गरी नजिकै नजिकै कानमै ठोक्किने गरी हर्न बजाइरहेका हुन्छन्।
मिथिलाञ्चलको पावन नगरी मानिएको यस पवित्र भूमि वरिपरी बाटाका छेउछाउमा सुर्ति, गुटका खोलहरु, प्लास्टिक र पानीका बोतलहरु यत्रतत्र छरिएका छन्। पसलका छेउछाउमा मान्छेहरुले जाडो याममा बिहान बेलुका आगो फुकेर तापेपछि त्यो सरसफाई नभएर त्यसका खरानीहरु उडेर बाटो कालो बनाएको छ।
अञ्चल अस्पताल नपुग्दै बाह्र बिघा भन्ने खुल्ला चौर छ। जहाँ राजनीतिक पार्टीहरुले आमसभा गर्दछन्। त्यसचौरभित्र ठूलाबडाहरुको भीआइपी कार, सर्वसाधारणहरुको मोटरसाइकल, टेम्पो पार्किङस्थल बनेको छ।
त्यस चौरभित्र कागजका टुक्रा, प्लास्टिक र सिसाका बोत्तरहरु यत्रतत्र भेटिन्छन्। रक्सीले मातिएर लडेका, बिरामी भएर लडेका र घरबासको ठेगाना नभएर बेसहारा भएर लडेका मान्छेहरु त्यही भेटिन्छ। तर त्यस पर्खालको बाहिरपटिृ पेटीमा खुद्रा व्यापारीहरुले छपक्कै ढाकेको।
रामानन्दचोकबाट अस्पताल लाइन जाँदै गर्दा हजारौं क्लिनिकहरु देखिन्छन्। प्रत्येक क्लिनिकहरुमा बिरामीहरुको भिडभाड हुन्छ। प्रत्येक क्लिनिकले चलाएको औषधि पसलहरुमा व्यापारीलाई भ्याइ नभ्याई हुन्छ।
क्लिनिकका अगाडि ठूला-ठूला अक्षरहरुले आफ्ना आफ्ना डाक्टरहरुको नाम लेखिएका छन्। ती डाक्टरहरुले आफूले प्राप्त गरेका डिग्रीहरु एमडी, एमबिबिएस, टियु, केयु, बंगलादेश, पाकिस्थान, भारत आदि देश उल्लेख गरिएको हुन्छ।
विभिन्न रोगको उपचार हुनेदेखि बडेबडे डाक्टरका विशेषज्ञहरु क्लिनिकमा भए जस्तो लाग्दछ। घरैपिच्छे क्लिनिक र अलि ठूला घर देखियो भने त्यहाँ प्राइभेट अस्पतालहरु देखिन्छन्।
दर्जनौं प्राइभेट अस्पतालहरु रहेको यस जनकपुरमा ती अस्पतालहरुमा भिडभाड हुन्छन्। तर अस्पतालहरु साह्रै फोहोरा र अस्पतालका भित्ताहरु पान खाएर थुकेका हुनाले रातो रंगले पोतिएको जस्तो देखिन्छ।
अञ्चल अस्पताल अगाडि फोहोरोको थुप्रो छ। त्यसैगरी आँखा घुमाइयो भने हजारौँ डाक्टरको नाम र क्लिनिकहरु छन्। अञ्चल अस्पताल त्यति भिडभाड हुँदैन। त्यहाँको चौरमा सरकारी बोर्ड लगाएर गाडीहरुमात्र देखिन्छन्।
तर अस्पतालभित्र डाक्टरहरु भेटिदैंन। कुनै इमरजेन्सी बिरामी डाक्टरको सम्पर्कमा क्लिनिकमा आएका हुन्छन् र क्लिनिकबाट सम्बन्धित डाक्टरको सिफारिसमा डाक्टरले काम गर्ने प्राइभेट अस्पतालमा पठाइने रहेछ।
अस्पतालहरुले बिना लगानी नाम चलेका डाक्टरहरुलाई सित्तैमा शेयर दिएर राखिएको हुने रहेछ। यति धेरै डाक्टर भएको ठाउँमा राजु सदा कसरी उपचार नपाई मरे? यो प्रश्न आफैंभित्र मडारिन्छ।
भारतबाट आएका हंसपुर नगरपालिका ७ प्रसाही बस्ने १६ वर्षिय राजु सदाको यसै प्रादेशिक अस्पतालमा जेठ २८ गते भर्ना भएपछि मृत्यु भएको थियो। कोरोनाको आशंका गरेर उनलाई यहाँका चिकित्सक, नर्स र कुनै स्वास्थ्यकर्मीले छुँदै छोएनन्।
अत्यन्तै क्रुर अमानवीय, अवहेलना सहेर पखाला लाग्दा समेत जीवनजल नपाएर पीडाले छट्पटिएर मृत्यु भएको थियो। प्रदेश सरकारले यसै विषयमा ५ सदस्यीय छानवीन समिति बनाएपनि त्यो त्यसै सेलायो।
उनको मृत्युपछि कोरोनाको रिपोर्ट नेगेटिभ आएको थियो। त्यसैले यी डाक्टरका उपाधी खाले बोर्डहरुले गिज्याउँदो रहेछ।
राजनीतिक चेतना भने उच्च छ। चिया वा पान पसलमा पनि राजनीति गफ चुट्न मान्छेहरु माहिर छन्। तर आफ्नो क्षेत्र सुधार गर्न समाज सेवा गर्न भने उनीहरु लाज मान्छन्। हरेक कुरामा सरकारलाई दोषी ठान्छन्।
सबैभन्दा धेरै नेता, कार्यकता, डाक्टर, इन्जिनियर भएको यस क्षेत्रमा यदि भ्रमण गरियो भने नाक थुनेर भ्रमण गर्नुपर्ने हुन्छ। जनकपुर भन्ने बित्तिकै राम-जनकको भूमिबाट अब फोहोरोको क्षेत्रमा परिणत हुँदैछ।
सडकका लापरवाही, अव्यवस्थित सडकका कारण हुने दुर्घटनाले पनि यस क्षेत्र सबैभन्दा बढी दुर्घटना हुने क्षेत्रमा रहेको छ।