राजीव गुरूङ उर्फ दिपक मनाङ्गे युवा तथा खेलकुद मन्त्री नियुक्त हुनासाथ एक मित्रको म्यासेज आयो- ‘हिजो दिपक मनाङ्गेलाई गुन्डागर्दी, ज्यान मार्ने उद्योगमा पटक पटक पक्राउ गरेर थुन्ने प्रहरी अधिकृत र जवानहरू अझै जागिरमै होलान् नि, उनीहरूले दिपक मनाङ्गेलाई भेट्यो भने सलाम गर्लान् र?’
मैले जवाफ फर्काएँ, ‘आफू पदमा रहेसम्म आफूभन्दा उच्च पदमा रहेकालाई सलाम गर्नैपर्छ।’
ती मित्रलाई भन्न त भनेँ, तर मनमा विभिन्न आइरह्यो, ‘साँच्चै, कुनै दिन आफैंले दिनरात खोजी गरेर खोरमा थुनेका दिपक मनाङ्गे प्रवृत्तिका मन्त्रीलाई कसरी गर्लान् नि सलाम?’
मलाई बि.स २०५३-५४ सालतिरको त्रिशंकु संसदमा सत्ताको खेलले भटाभट भएका मन्त्रीको अनुहार र ती अनुहार सांसद हुनुभन्दा अगाडि तिनका हैसियत र पृष्ठभूमिका बारेमा जानकार प्रहरी अधिकृतले सुनाएका किस्सा याद आयो।
जब राजिव पराजुली राज्य मन्त्री भए, तब एक जना इन्स्पेक्टर मित्रले सुनाएका थिए, ‘यो ठेकेदारले म वीरगञ्जमा पोस्टिङ हुँदा मलाई चाकडी गर्न दिएको टी-टेबुल अझै मेरो घरमा छ। प्रहरीमा बडो धाउँथ्यो, अब त हाम्रै पो सलाम खाने भएर आयो।’
केहि समयपछि मिर्जा दिलसाद बेग विज्ञान तथा प्रविधि राज्यमन्त्री नियुक्त भएको समाचार सुनेपछि पुराना डिएसपी सा'बले त्यही साँझ आफू कपिलवस्तुमा पोस्टिङ हुँदाका किस्सा सुनाउनुभयो, 'आफ्नो तस्करीको बाटो बन्द नहोस् भनेर प्रहरीलाई महिनावारी खुवाउन खोज्ने तस्करले पनि अब प्रहरीको सलाम खाने भो नि।’
उतिखेर पनि संसदीय अंक गणितकै खेल थियो, अहिले फेरि त्यही खेल दोहोरिन थालेको छ। यस्ता खेलमा दाउ पार्ने यी यस्तै खेलाडी हुन्, जसका पछाडि हिजो प्रहरी लागेका हुन्थ्यो। आज पनि प्रहरी तिनकै अघिपछि लाग्नुपर्ने भो, फरक यत्ति हो, हिजो यिनीहरूबाट अरुको सुरक्षाको लागि, तर अहिले अरूबाट यिनीहरूको सुरक्षाको लागि।
भनिन्छ, सत्ताका यस्ता खेलाडी मन्त्री भएपछि सर्वप्रथम यिनीहरूको विशेष ध्यान प्रहरी तिरै जान्छ रे, अर्थात प्रहरीले गर्ने सलाम (जय नेपाल) तिर।
प्रहरीले मलाई सलाम गर्छ कि, गर्दैन? सम्मान गर्छ कि, गर्दैन? भन्ने तर्फ नै बढी चासो राख्ने गर्छन् रे। एकताका एउटा प्रसंग बडो चर्चित थियो, जब तत्कालिन त्रिशंकु संसदकै पालामा गुन्डागर्दीमा नामुद खोभारी राय राज्यमन्त्री थिए, तत्कालिन आइजीपी अच्युतकृष्ण खरेलसँग एउटा बैठकमा भेट हुँदा तत्कालीन राज्यमन्त्री खोभारी रायले एक्कासी ‘ए आइजीपी सा'ब, तपाईंलाई मन्त्रीका अगाडि कसरी बस्नुपर्छ भन्ने थाहा छैन? यही हो, तपाईंको अनुशासन?’ भनेर थर्काएछन्।
भएको के रहेछ भने, तकालिन राज्यमन्त्री खोभारी रायको अगाडि आइजीपी आफ्नो कुर्सीमा बस्दा उप्परखुट्टी लगाएर बसेका रहेछन्। आइजीपी खरेलले पनि ‘तपाईंले मलाई अनुशासन सिकाउनु पर्दैन’ भनेर जवाफ दिएछन्। जस्तो पृष्ठभूमिको मान्छे पनि मन्त्री भएपछि आफूलाई बडो योग्य, सुशील अनि विद्वान ठान्ने परिपाटी छ।
अब दिपक मनाङ्गे मन्त्रीले पनि प्रहरीलाई अनुशासनको पाठ सिकाएको समाचार आउने नै छ। एउटा मिठो संयोग, ‘जुनबेला दिपक मनाङ्गेलाई काठमाडौं प्रहरीले धुइपत्ताल खोजि गर्थ्यो, त्यसबेला अहिले गण्डकी प्रदेश प्रहरीका प्रमुख काठमाडौंको एउटा प्रहरी युनिटका इन्चार्ज (इन्स्पेक्टर) थिए।
दिपक मनाङ्गेले कुनै प्रसंगमा भनेका रहेछन्- ‘गुन्डा प्रहरीसँग डराउँछन्, प्रहरी नेतासँग र नेता गुन्डासँग।’
सायद यही सर्प, बिच्छी र भ्यागुताको कथा बुझेरनै होला कति प्रहरीसँग डराउने? भन्दै उनी नेता हुने बाटो रोजे र अहिलेका सत्तारूढ कम्युनिष्ट पार्टी (एमाले) को बलमा सत्तामा पनि पुगे।
अब उनी पदीय हिसाबले सलाम खाने स्थानमा त पुगे नै, तर उनलाई सलाम गर्नुपर्ने नियतिबाट गुज्रिएका प्रहरीको मनोदशा लिएर धेरैको मथिंगल घुमिरहेको देखिन्छ।
यो सलाम भन्ने कुरा पनि बिचित्रको छ- सत्तामा बेलाबखत पुगेकाहरू यसलाई बडो मिठो चिज ठान्छन् र यसको लागि लालायित हुन्छन्, अरू त अरू कुनै दिन गृह मन्त्रीका सल्लाहकार भएर काम गरेका एक जना विद्वानले दंग परेर सुनाउनुहुन्थ्यो- ‘म वामदेवजी (उपप्रधानमन्त्री तथा गृह) को सल्लाहकार हुँदा त प्रहरीको सलाम यति खाइयो कि, मेरो त हात जहिले निधारमा हुन्थ्यो।’
पछि उनीसँग छुट्टिएर फर्कदासँगै रहेका प्रहरी जवानले सोधेका थिए, ‘६ महिना गृह मन्त्रीको सल्लाहकार हुँदा खानुभएको सलामले त हात सधै निधारमा भनेर गफ दिनु भो, सरहरूले दिनमा सयौं पटक हाम्रो सलाम खानुहुन्छ होला, हात त झन् पुरै निधारमा टासिएको हुनुपर्ने नि सर।’ केहि समय सल्लाहकार रहेका बौद्धिक वर्गको त सोचाइ यो छ भने प्रहरीमा थुनिँदै, अनि त्यही प्रहरीबाट लुक्दै र भाग्दै गुन्डागर्दीबाट राजनीतिमा आइ मन्त्री भएकाले झन् के ठान्दा हुन्?
सलाम भनेको सानोले ठूलो पदलाई गर्ने मात्र होइन, ठूला पदकाले पनि साना पदमा भएकालाई गर्ने हो। फरक यत्ति हो, सानाले पहिले गर्छ र त्यो फर्काइएको सलाम चाहीँ ठूलाले साना पदलाई पनि गरेको मानिन्छ। त्यसैले सलामको महत्व बुझेकाले जसरी तल्लो पद्काले सलाम गर्छन्, त्यही हिसाबमा फर्काउँछन्। तर सलामको महत्व नबुझेकाले अहो! म त ठूला मान्छे भएँ, भनेर गमक्क परेर टाउको हल्लाउने गर्छन्।
सलामको महत्वबारे पूर्वमन्त्री (१९ पटक कार्यवाहक प्रधानमन्त्री) स्व. बल बहादुर राईले आफू भर्खरै आवास मन्त्री भएको बेला २०४८ सालमा सिंहदरबारस्थित आफ्नो कार्यकक्षको झ्यालबाट गेटमा उभिएका नेपाली सेनाका जवानलाई देखाउँदै भन्नुहुन्थ्यो, ‘मलाई मन्त्री भएपछि सबैभन्दा आनन्द लाग्ने कुरा त्यो गेटमा उभिएको सैनिकले म भित्र प्रवेश गर्दा खुट्टा बजारेर गरेको सलाम हो। कुनै दिन (वि.स. २०३१ साल टिम्बुरबोटे काण्डमा) त्यही सेनाले मलाई मार्ने सम्भावना थियो।’
उहाँले जसले सलाम गरे पनि अदबका साथ फर्काउनुहुन्थ्यो, सायद उहाँ आफू पनि नेपाली सेना (विस २००३ साल अघि) मा जागिरे भएकोले हो कि, सलामको महत्व बुझ्नु भएझैँ लाग्थ्यो। एकदिन बल बहादुर राईले मन्त्री क्वाटरमा आफूलाई सलाम गर्ने सुनुवार थरका पूर्व एसपी सा'ब लाई सम्मानका साथ चिनाउँदै भन्नु भएथ्यो, ‘हो उहाँ नै हो मलाई ३१ सालमा पक्रिने अनि मार्नबाट बचाउने पनि।’
ती पूर्व एसपी सा'ब ले भन्नु भएथ्यो, ‘भूपु नै भए पनि यस्ता देशमा प्रजातन्त्रका लागि लडेका महान व्यक्तिलाई सलाम गर्दा आफैंलाई सलाम गरे जस्तै आनन्द आउँछ।’
ती प्रसंग सम्झिँदा अहिले दिपक मनाङ्गे प्रवृतिका मन्त्रीलाई सलाम गर्नुपर्दा सुरक्षाकर्मी आफैंलाई अपमान बोध हुन्छ होला। तर पदलाई मान्नुपर्ने हामीले पदमा पुगेकालाई सलाम त गर्नेपर्यो।
कोही कोही सलाम नै खोज्ने पनि हुन्छन्, कोरोना प्रकोप अगाडि ठाउँ ठाउँमा सांसद अनि स्थानीय निकायका पदाधिकारीले कुर्सी र टेबलमा चढेरै भए पनि सुरक्षाकर्मी र स्कुले विद्यार्थीको सलामी खाइरहेको फोटो देख्न पाइन्थ्यो।
यस्तैमा एउटा घटना स्मृतिमा आउँछ, ‘विस २०५५ सालमा म धरान प्रहरीको इन्चार्ज हुँदा एक जना तत्कालिन राजपरिषदका सदस्य थुनुवा छुटाउन आउनु भो, मैले छाड्न अस्वीकार गरेँ, तब म संग झोक्किँदै भन्नु भो, ‘म राजालाई सल्लाह दिने राजपरिषद्को सम्माननीय सदस्य हुँ, यो पद भनेको तपाईँको आइजीपीभन्दा १३ पद माथि हुन्छ। मलाई सलाम गर्नुस्’, मेरो मनले सलाम गर्न मानेन, मैले गरिनँ। ‘आइजीपीलाई कम्प्लेन गर्छु,' भन्दै मेरो अफिस बाट झोक्किदै निस्कनुभयो।
आइजीपी सा'बलाई उहाँले कम्प्लेन गर्नु भयो कि, भएन? थाहा भएन किनकि, माथिबाट मलाई यस बारेमा कुनै सोधनी भएन। यो सलाम गर्ने भन्ने कुरा पनि बडो बिचित्रको छ- मनले गर्न पायो भने बडो आनन्द लाग्छ, तर तनले मात्रै गर्नुपर्यो भने बडो गाह्रो लाग्छ।
मन्त्री वा बाहिरका अन्य गैरपद पाएका तर सम्मान नपाएकालाई मात्र होइन प्रहरी वा सेनाभित्र पनि त्यस्ता पात्र हुन्छन्, जसलाई सलाम गर्न नपरे पनि हुन्थ्यो भन्ने हुन्छ। तर आमने सामने हुँदा गर्नैपर्छ। त्यतिखेर गरिएको त्यो सलाम भनेको काँधको फूलिलाई हो अर्थात तनको सलाम हो, मनको होइन।
म धरान प्रहरीमै हुँदा नै तत्कालिन जिप्रका उदयपुरका इन्चार्ज डिएसपी रमेश खरेल उपचारको क्रममा धरान आउनुभो। सिधै मलाई सम्पर्क गर्नुभयो। तर धरानमै रहेका मभन्दा माथिका उच्चाधिकारीलाई भेट्न रूचाउनुभएन। खाना खाने क्रममा मैले त्यो कुरा सम्झाउँदा उहाँले भन्नुभएको थियो, ‘म जानु त पर्ने हो, तर त्यस्ता मनले नखाएकालाई गर्नुपर्ने सलाम भारी लाग्छ, त्यसैले जान्न शिब सा'ब।’
सायद त्यहीँ भएर पछि काठमाडौं प्रहरी प्रमुख हुँदा तत्कालिन गृहमन्त्री वामदेव गौतमले आफूलाई भेट्न आएन भनेर गुनासो गरेको समाचार बाहिरिएको थियो।
कहिलेकाही काकतालीले राजनीतिक पदमा पुगेकाहरू आफ्नो धाक अनि रवाफ देखाउन अरूको अगाडि सुरक्षाकर्मीलाई सलाम गराउन र उभ्याउने प्रयास गर्दारहेछन्। विस २०५४ सालमा म वडा प्रहरी कार्यालय, महाराजगन्जको इन्चार्ज थिएँ, लोकेन्द्र बहादुर चन्द प्रधानमन्त्रीबाट हटेर सूर्यबहादुर थापा प्रधानमन्त्री हुनु भएको थियो। गृहमन्त्री बुद्धिमान तामाङ र गृह राज्यमन्त्री सिन्धुपाल्चोकका बिष्णु बिक्रम थापा हुनुहुन्थ्यो।
सुरक्षा कारवाहीको क्रममा सिन्धुपाल्चोकबाट सांसदको उम्मेदवार भएका व्यक्तिलाई पक्रिएपछि गृहराज्यमन्त्रीले मलाई फोनमा तत्कालै छाड्न आदेश दिए। मैले ‘सोधपुछ हुँदैछ हजुर’, भन्दै आनाकानी गरेपछि तथानाम गाली गर्दै मलाई धम्क्याएर फोन राखेको एकछिनमा नै काठमाडौं प्रहरी प्रमुखको फोन आयो।
मैले गृहराज्यमन्त्रीको आदेश नमानेको बारे सोधपुछ भो, मैले यथार्थ बताएँ, तब उहाँले सम्झाउँदै भन्नु भो, ‘परिस्थिति बुझ केटा (माया गर्दै),एकदम रिसाएको छ, यिनीहरूले रातारात आइजीपी चेन्ज गर्छन् तिमीलाई पनि यो चाँडबाडको बेला जुम्ला, हुम्ला पुर्याउला, आइजीपीलाई त रातविरात फोन गरेर आफ्नो निवासमा बोलाएर हैरान पार्न खोज्दोरहेछ। जाउ तिमी महाँकालस्थान गएर सलाम गर्दै भेट, बेकारमा लफडामा नपर।’
उहाँले मेरै हितमा कुरा गर्नु भएको थियो। तर यस्ता प्रवृत्तिका अगाडि उभिएर सलाम गर्न आत्माले मानेन, गइनँ। केही समयपछि भोजपुरको अनकन्टहार बोयाङ थानाको लागि मेरो सरूवा पत्र आयो। एउटा सलाम त्यति भारी हुन्छ।
अहिले सत्ताको खेलको जोड घटाउमा हुने/नहुने सबैले मन्त्री पद पाउन थालेका छन्। पदसँगै धेरै कुरा जोडिएर आउँछ। पावर अनि मान, सम्मान। पदमा पुगेपछि हिजो आफूलाई हत्कडी लगाउने हातले सलाम गर्न थाल्छन्, हो त्यही लोभमा बाटो-कुबाटोबाट सत्तामा छिर्न लालायित हुन्छन् खेलाडीहरू।
अहिले फेरि विस २०५० को दशक जस्तै खेल शुरु भएको छ। केन्द्रदेखि प्रदेससम्म। दिपक मनाङ्गेलाई हत्कडी लगाउने हा तले अब उनैलाई सलाम गर्ने दिन आए। हुनत उनी जननिर्वाचित सांसद हुन्, तर प्रहरी र सर्वसाधारणको नजरमा विगतले पनि पछ्याइरहने एक पात्र हुन्। त्यसैले त उनी मन्त्री हुँदा छापा र सोसल मिडियामा यसरी छाए।
अब उनका अघिपछि निलो बर्दी र टाटेपाङ्ग्रे पोशाकमा प्रहरी हुनेछन्। बेलाबखत उनलाई भ्रम पनि हुनसक्ला- ‘यी प्रहरी मेरो सुरक्षामा नै आएको त हो? कि पक्राउ गर्न?’
यसै प्रसंगमा एउटा रमाइलो प्रसंग याद आयो, विस २०४८ सालमा नेपाली कांग्रेसका प्रखर चिन्तक सिके प्रसाईको निधनपछि उहाँको शवयात्रामा भाग लिन भर्खरै प्रधानमन्त्री भएका गिरिजाबाबु हेलिकप्टरमा झापाको माइखोला आउनुभएछ। उहाँ हेलिकप्टरबाट ओर्लिएर शव राखिएको ठाउँमा फटाफट हिड्न थाल्नुभएछ। उहाँको पछिपछि तत्कालीन पूर्वक्षेत्रीय प्रहरी कार्यालयका डिआइजी गोविन्द कर्म थापासहित प्रहरीले पछयाउन खोज्दा सामान्य कदका डिआइजी थापाले ६ फिट उचाइका गिरिजाबाबुलाई भेट्न सक्नुभएनछ।
श्रद्धाञ्जली कार्यक्रम सकिएपछि प्रधानमन्त्री काठमाडौं फर्किनु भो, पछि साँझ डिआइजी थापाले आफ्ना सहकर्मीसँग गिरिजाबाबुलाई भेट्न नसकेको प्रसंग निकाल्दा मेची एसएसपीले भन्नुभएछ, ‘सर, ३० वर्ष पञ्चायतविरूद्ध लड्नुहुँदा कति पटक प्रहरीले उहाँलाई खोजी गर्यो, पक्राउ गर्यो, त्यो छाप अहिलेसम्म पनि गएको छैन होला, त्यसैले आफ्नो अगाडि-पछाडि, दायाँ बायाँ प्रहरी देख्दा उही पुरानो कुरा सम्झिँदै झस्किएर ‘ए.. प्रहरी मलाई पक्रिन पो आए कि’ भनेर झुक्किएर छिटो छिटो पाइला चाल्नुभएको होला' भनेर हँस्यौली गरेको प्रसंग पछिसम्म चलिरहन्थ्यो।
३० वर्ष पञ्चायतविरूद्ध नेतृत्व गरेका गिरिजाबाबुको हकमा यी रमाइला हँस्यौली भए पनि वर्षौसम्म प्रहरीसँग आँखा मिचौली खेलेका दिपक मनाङ्गेका हकमा हकिकत हुन्सक्ला। अर्थात, आफ्ना वरपर प्रहरी देख्दा मेरो सुरक्षाको लागि होकि, गिरफ्तारीको लागि? भन्ने झस्कानाबाट बाहिर आउन समय लाग्ला।
हिजो राजनीतिक परिवर्तन र प्रजातन्त्रको लागि लडेकालाई आफूले पक्रिए पनि ती पात्रहरू सत्तामा आउँदा आफूले सलाम गर्नुपर्दा गौरव नै लाग्थ्यो। एक जना तत्कालिन डिआइजीले भन्नुहुन्थ्यो, ‘पदमा रहेका धेरैलाई सलाम गरियो, तर पदमा नरहेका गणेश मान सिंहलाई सलाम गर्दाजस्तो मनमा आनन्द कहिल्यै भएन, जबकि, गणेशमानजीले हामीले गरेको सलाम कहिल्यै फर्काउनु पनि भएन।’
जे होस् जनताले निर्वाचित गरेका, सत्तारूढ पार्टीले योग्य ठानेका सांसद दिपक मनाङ्गे मन्त्री हुनु स्वाभाविकै भए पनि हिन्दी फिल्ममा मात्रै देखिएका यस्ता दृश्य नेपालमा दोहोरिरहँदा हिजो यस्ता प्रवृतिलाई हत्कडी लगाउने हातहरू आज तिनैलाई सम्मान र सलाम गर्दैगर्दा मनमा के ठान्दा हुन्? किनकि, मनदेखि गरेको सलाम र तनले मात्रै गरेको सलामको अनुभूति फरक हुन्छ क्यारे।