कोरोनाको दोस्रो लहरले मानसिक रूपमा तनावग्रस्त पारेको छ। मधुमेह र उच्च रक्तचाप भएको वृद्ध आमाबुबा देखेर मन आत्तिन्छ। तीन महिनाकी छोरी जब मतिर हेरेर मुस्कुराउँछिन्, म धेरै उत्साहित पनि हुन सक्दिनँ।
घर-परिवार, आफन्त, समाज, मित्रबन्धु त्रसित र रोदनमा भएको आभाष भइरहेको हुन्छ। अनिश्चितताको कुनै निश्चित समयकालको अनुभूति/अनुमान पनि छैन। सक्षम नेतृत्वको अभावले वा श्रोत कमीले हामी आम नागरिकको नियती आफ्नो आस्थाको भरोषामा मात्रै टिकेको छ।
यी सबै आन्योलसँगै व्यवहारिकता पनि छ। केही सातापश्चात केही अति आवश्यक खाद्यान्न र तरकारी किन्न बाहिर जानुपर्ने भयो। म र बुबाले एकअर्कालाई बाहिर तरकारी किन्न जान रोक्न आ-आफ्ना तर्क दियौं।
'बुबा तपाईं बुढो भइसक्नुभयो, कोरोनाबाट तपाईंलाई धेरै जोखिम छ, बरू म जान्छु,' मैले सम्झाउन खोजेँ।
'तिमीले संसार हेर्न बाँकी छ, आफ्ना कर्तव्य पूरा गर्न बाँकी छ। मैले जीवन बाँचिसकेँ, त्यसैले म बाहिर निस्कनु उपयुक्त हुन्छ,' बुबाले मलाई बुझाउनुभयो।
बुबासँग म कहिल्यै जित्न सक्दिनँ। तर सोचमग्न भएँ, घरमा एक जनालाई पनि संक्रमण भयो भने हामी सबै जोखिममा हुन्छौं।
हामी मध्यमवर्गीय परिवार। मध्यस्तरको पेसा र किसानीले जीविका चल्छ। यही श्रोतबाट चामल, गहुँ, पिठो, दाल, मस्यौरा, मसला, नुन, तेल जस्ता खाद्यान्नसँगै अत्यावश्यक साबुन, सर्फ, मन्जन जस्ता सामग्री केही महिनालाई जतन गरेर राखेका हुन्छौं। विगतका अनेकौं अनुभवले गर्दा खाना पकाउने ग्यासका ३-४ वटा सिलिण्डर हुनु स्वभाविक हो।
अनुभवकै कुरा गर्दा मलाई लाग्छ हाम्रो घरमा सामान्य गाँस, बास र कपासका लागि ६ महिना जेनतेन गुजारा चल्न सक्छ। म नढाँटी आफ्नो कुरा भन्दै गर्दा ढुक्क छु कि गाउँदेखि सहरसम्म मध्यमवर्गीय परिवारको अहिलेको अवस्था यस्तैयस्तै हो।
तर गाँस, बास र कपासको सुनिश्चितताले हाम्रो त्रास व्यवस्थापन गर्न नसक्ने रहेछ। सुरैसुरमा केही डाक्टर साथीलाई फोन गरेँ। स्थिति साह्रै चिन्ताजनक छ भन्ने थाहा पाएँ। बेड, अक्सिजन, भेन्टिलेटर, आइसियु, एनआइसियु जस्ता सुविधाको कमी छ। अत्यावश्यक दबाइ पनि छैन।
निजी अस्पतालका केही साथीले आवश्यक परे सबै कुरा मिलाउन प्रयत्न गर्ने बाचा गरे। आइसियु, भेन्टिलेटरमा राख्दा दिनको २५ हजारदेखि चालीस हजार रूपैयाँ लाग्ने पनि थाहा पाएँ। मध्यमवर्गीय परिवारमा कसैलाई कोरोनाबाट बचाउन निजी अस्पतालमा राख्नुपर्यो भने त गरगहना मात्रै होइन, कमाएको सबै सम्पत्ति पनि सकिन सक्ने रहेछ।
सायद यसैले होला, बस्नलाई घर भए पनि, दुई-चार महिना पुग्ने दाल-भात भए पनि, बत्ती, पानी, इन्टरनेट जस्ता सबै सुविधा हुँदा पनि मध्यमवर्गीय त्रसित छन्।
निम्न वर्गीयले सायद त्यो त्रास अनुभव नै गरेका छैनन् किनकि उनीहरूलाई त कोरोनाले भन्दा पनि भोकमरीले मरिएला भन्ने पिर धेरै हुन्छ। त्यस्तै धेरै नगद प्रवाह भएका व्यवसायी र नगद प्रवाह व्यवस्थापन गर्न जटिल भएका व्यवसायीको आफ्नै पीडा छ। एक वर्षभन्दा बढी आफ्नो संगठन, कलकारखाना, उद्योगधन्दा जेनतेन गरेर यहाँसम्म ल्याएका कर्मठ ती हातहरू पनि काम्न थालिसकेका छन्।
गत वर्ष सारा संसार कोभिडले आक्रान्त भएका बेला, नेपाल अछुतो रहेन। हामी साक्षी छौं हृदयविदारक दृश्यको! बहालमा बसेका, दैनिक ज्याला-मजदुर, पेसाकर्मी, विद्यार्थीहरू काठमाडौं र अन्य कार्यक्षेत्रबाट हप्तौं हिँडेर भोक-प्यासमै आफ्नो घरगाउँ पुगे।
त्यस्तै भारतमा काम गर्ने नेपालीहरू घर फर्किँदाको बिचल्ली देखेर स्तब्ध भएका थियौं। हामी संघर्षरत थियौं, आधारभूत आवश्यकता, सामाजिक-आर्थिक स्थिरता, मानसिक सुस्वास्थ्य सुनिश्चित गर्न। डर, चिन्ता र निराशाको चक्रब्यूहले हामी घेरिएका थियौं। धेरै संघसंस्था र युवा सञ्जाल/समूहहरू आफ्ना सहयोगी हात बढाउँदै अगाडि आए। आ-आफ्नो क्षमताअनुसार खाना, पानी र दबाइ वितरण गरेर सरकारको काम (जुन अपेक्षाभन्दा कम थियो) लाई परिपूरक गरे।
गत वर्ष जसले जति गर्न सके, त्यो आफैंमा सराहनीय छ। जब पहिलोचोटि कुनै महामारी फैलिन्छ वा प्रकोप आउँछ, त्यो खालको प्रणाली अनिश्चित वा अव्यवस्थित हुन्छ। प्रणाली सिद्धान्त अन्तर्गत यस्तो आनिश्चित बेलामा हाम्रो क्षमता अनुकूल कार्यउन्मुख हुनु नै उत्तम हो। तर यही सिद्धान्तले के भन्छ भने, केही समयपछि हामीले हाम्रो कामलाई विश्लेषण गर्दै, स्थितिको संवेदनशीलता बुझ्दै, तदनुसार प्रक्रिया अनुकूलन गर्दै अगाडि बढ्ने अपेक्षा गर्नुपर्छ। यो त्यही हो जहाँ हामी हाम्रो उत्तम अभिप्रायको बावजुद असफल भएका छौं।
प्रत्येक वर्ष यो देशमा अनेकौं प्रकोप आउन सक्छन्। बाढी, पहिरो, आगलागी, शीतलहर मौसमी नै भइसकेको छ। हाम्रो काम भने त्यही रहन्छ- राहत माग्ने, राहत बाँड्ने। नागरिक समाज, युवा, विद्यार्थी, निजी क्षेत्र, गैरसरकारी संगठन, नागरिक अगुवा, बौद्धिक वर्ग र सरकारी निकाय सबै एउटै दिशामा दौडिरहेका छन्। आज महामारी आउँदा पनि हामीले त्यही शैली दोहोर्याएका छौं।
गत वर्षको तुलनामा यसपालि कोरोना संक्रमित र मृत्यु संख्या उच्च छ। कोभिडको दोस्रो लहरलाई ध्यानमा राख्दै चिकित्सा पूर्वाधार पर्याप्त रूपमा अद्यावधिक र तयार गरिएको भए धेरै व्यक्तिको जीवन बच्ने थियो।
कोरोनाको पहिलो लहरमा विकसित देशका तुलनामा यहाँ कम मृत्यु भएको तथ्यांकको फाइदा उठाउन सरकार पछि परेन। यही तथ्यांकमा टेकेर सरकारले यसलाई आफ्नो उपलब्धि भन्यो। यसबीच विकसित र प्रगतिशील मुलुकले दोस्रो र तेस्रो लहरलाई व्यवस्थापन गरे। दुर्भाग्यवस् हावा गफले धेरै नेपालीले भने ज्यान गुमाउनुपरेको छ।
गत वर्ष नेपालीको प्रतिरक्षा क्षमताले कोरोनाबाट जोगाएको र यसपालि प्रतिरक्षा क्षमता कमजोर भएर मृत्यु दर बढेको पनि होइन। अधिकांश मृत्यु सही समयमा उपचार अभावले भएको हो।
इतिहास हेर्ने हो भने, यस प्रकारको भाइरसले मानव जीवनलाई कमसे कम ३-४ वर्ष क्षति पुर्याउन सक्छ। 'हर्ड इम्युनिटी' र खोपले सायद न्यूनीकरण गर्छ तर त्यो अवधिसम्म हामी आम नेपालीलाई जोगाउन हरेक निकायसँग सहकार्य गर्ने कुशल नेतृत्वको विकल्प छैन।
त्यसैले कुनै पनि तह र स्तरबाट बनाएको योजना र कार्यान्वयनका चरणहरू एकात्मक दृष्टिकोणमा सीमित नगर्नु उचित हुनेछ। अनिश्चित प्रणालीसँगै जटिल प्रणाली भए पनि छिटो र दिगो समाधान आवश्यक हुनाले सहकार्यको कुनै विकल्प छैन।
वर्तमान समस्या समाधानको उच्चित चरणहरू हामीले योजना र कार्यान्वयनको सही विश्लेषण गर्न सक्यौं भने यसको दिगो प्रभाव हुनेछ। अहिलेको प्राथमिकता आधारभूत आवश्यकता पूर्ति, मेडिकल सेवा, स्रोतको पहुँच हो। तर हामी दीर्घकालीन दिगो दिशातिर पनि उन्मुख हुनुपर्छ, भविष्यमा कुनै पनि आपतकालीन परिस्थितिसँग जुध्नका लागि!