गिजुभाइ अर्थात् शिक्षाको व्यवहारिक मानचित्र। नेपाली केन्द्रीय विभाग कीर्तिपुरमा दर्शनाचार्य तहका कक्षामा यी गिजुभाइलाई भेटेकी थिएँ।
दर्शनाचार्यको कक्षा के कस्तो हुने हो मनमा सधैं एक किसिमको हलचल भइरहन्थ्यो। जब कलेजमा प्रवेश पाएँ, त्यसपछि मेरा मनका तरंग सम्हालिन थाले। दर्शनाचार्य तहका कक्षाहरू कोरा किताबी ज्ञानभन्दा धेरै भिन्न थिए। जीवनमै नयाँ अनुभूति भइरहेको थियो।
लोककथामा अभिप्राय भन्ने एउटा विषय यिनै गिजुभाइ अर्थात् लोक संस्कृतिका प्राध्यापक मोतीलाल पराजुलीसँग सिक्ने अवसर पाएँ। मैले स्नातकोत्तरसम्म जुन तरिकाले शिक्षा लिएँ त्यो भन्दा बिल्कुल भिन्न थियो उनको पढाउने शैली।
मेरो दिमागमा भएको सरकारी स्कुलको बेथिति त्यतिखेर नै परिवर्तन भएको हो। गरे जे पनि हुने रहेछ। कसैले नगरे पनि आफूले गरौं भन्ने यिनका भनाइबाट पनि म सधैं प्रभावित नै भएँ। लोकजीवनको गहिराइ र त्यसप्रतिको निष्ठा तिनै कक्षाबाट हुर्किएको थियो। जसलाई मैले सम्हालेर विधावारिधिसम्म ल्याइपुर्याएकी छु।
'सक्नेले देशको मुहार फेर्नु, नसक्नेले रङ भए पनि फेर्नु' मोतीलाल गुरु यसरी हामीलाई अर्ती दिन्थे। उनले कक्षा मात्र पढाएनन्, देश पढाए। लोकजीवनको गहिराइ र गरिमा पढाए। किताब मात्रै पढाएनन्, जीवन पढाए। त्यसैले त गुरु र शिक्षकमा धेरै दुरी रहेछ।
वि.स. २०१३ साल माघ ६ गते पोखराको चापाकोटमा जन्मेका मोतीलाल गुरु नेपाली लोकसंस्कृतिका अनुसन्धानकर्ता र विश्वविद्यालयका प्राध्यापक थिए। पोखराको पृथ्वीनारायण क्याम्पसदेखि कीर्तिपुरसम्मका उनका प्राध्यापन पाइला ज्यादै गर्विला छन्। लोकसाहित्यको गहिरो ज्ञान र विद्यार्थीलाई सिकाउने कौशलका कारण उनी सबैका प्रिय गुरु थिए।
उनका नेपाली लोककथा (२०४९), नेपाली, रचनाकला (२०५३), धर्मात्मा राजा (२०५९), साधारण नेपाली (सहलेखन–२०६२), सोरठी नृत्य नाटिका (२०६३), नेपालमा प्रचलित नृत्य र नाटिकाहरू (२०६३), बुद्धिमान पुरुष (२०६५), बत्तीसमाराको कथा (२०६५) कालिनाग र राजकुमार (२०६५), मनचिन्ते औंठी (२०६५), नेपाली लोकसाहित्यको रूपरेखा (२०६८), नेपाली लोकनाटक (२०७०) नेपाली लोककथा सिद्धान्त र विश्लेषण (२०७१) जस्ता गहन कृतिहरू लोकसाहित्यका क्षेत्रमा छन्।
उनी विशेष गरी नेपाली लोककथाको विशाल संग्रहालय नै थिए। विश्व लोककथामा भएका सैद्धान्तिक प्रयोग नेपाली लोककथामा भित्र्याउन उनको भूमिका महत्वपूर्ण छ। २०५६ सालमा नेपाली लोककथामा अभिप्राय शीर्षकमा विद्यावारिधि गरेका मोतीलाल नेपाली लोककथाको एउटा मानक इतिहास हुन्।
उनी २०५८ सालमा महेन्द्र विद्याभूषण ‘क’, २०६१ मा सैनध्वज–नन्दकुमारी र शिक्षा पुरस्कार, २०६३ साझा प्रकाशनको लोकसाहित्य पुरस्कार र २०६८ मा अलिमियाँ लोकवाङ्मय पुरस्कारबाट सम्मानित समेत भइसकेका छन्।
स्नातकोत्तरदेखि विद्यावारिधिसम्मका विद्यार्थीलाई फकाइफकाइ काममा लगाउने उनको कला विशेष थियो। सामान्य विषयवस्तुलाई पनि केलाइकेलाइ गहिरो रूपमा पढाउँथे। उनी विद्यार्थीका खुबी सजिलै जान्दथे। कुन विद्यार्थीलाई कस्तो काम दिँदा राम्रो हुन्छ भन्ने कुरामा सधैं सचेत र चनाखो थिए।
क्षेत्रकार्यबिना लोकसंस्कृतिको अध्ययन गर्न सकिँदैन भन्थे। तसर्थ, उनी कुशल क्षेत्रकर्मी पनि हुन्।
घामपानी भोक, तिर्खा नभनी नेपालका गाउँगाउँ, बस्तीबस्ती चहारेका मोतीलालले लोकजीवनबाट साँच्चिकै ज्ञानको मोती संकलन गरेका थिए। लोकजीवनप्रति उनको गहिरो प्रेम थियो। कतिपय ठाउँमा विद्यार्थीसँगै झरी, बादल खेप्दै, उकाली, ओराली झैल्दै कार्यक्षेत्रमा पुग्थे।
एउटा परिपक्क, प्राध्यापक डाक्टर यसरी विद्यार्थीका पाइलामा पाइला मिलाएर हिँड्दा उनमा प्राध्यापक हुँ भन्ने घमण्ड कत्ति पनि थिएन। न त फिल्डमा गएर चुपचाप बस्थे। को मान्छेलाई कसरी कुरा गर्ने? कहाँ कसरी भेट्ने? त्यहाँ पुगेर के खोज्ने? चित्र, तस्वीर र भिडियो, अडियो कसरी लिने सबैमा सहभागी हुन्थे। सातुको फाँक र मकैका मुठ्ठी अनि बोतलको पानी बाँडेर खाने उनी हाम्रा गिजुभाइ अर्थात् मोती गुरु।
मोतीलाल लोकसाहित्यमा मोतीकै खानी थिए। त्यो खानी सायद राज्यले चिन्न सकेन। उनको स्वाभिमानले कसैको झोला बोक्न दिएन। जीवनमा ठूलो अपेक्षा पनि कहिल्यै राखेनन्। जे थियो लोककथा र लोकजीवन मात्र उनको संसार थियो। जोसँग पोखे ती उनका सहकर्मी र शिष्य थिए। जो आफैंभित्र अटाएँ। आफ्नो संसर्गमा आउनेको तिर्खा मेटाउने प्रयासमा डटिरहे।
मिजासिलो स्वभाव, नम्र बोली, सहयोगी भावना, मुसुक्क हाँस्ने र कम बोल्ने गुण। गुरुमा लोकसाहित्यको क्षेत्रमा सधैं केही गरौं भन्ने उच्छाल थियो। सधैं लोकसंस्कृतिकै केही न केही योजनामा हुन्थे। विद्यार्थीमा त्यही प्रेरणा मिलाइमिलाई भर्थे। सक्दिनँ भनेको काम हाँसीहाँसी गराउनु पनि एउटा गुरुमा हुने खुबी हो। यस्तो अनुभव धेरै शिष्यका होला।
लोकसाहित्यलाई सैद्धान्तिक र व्यवहारिक रूपमै माथि उठाउन विभिन्न खोज, अनुसन्धान गरेको छन्। नेपाल प्रज्ञा प्रतिष्ठान, लोकवार्ता परिषद् नेपाल लगायतका विभिन्न संघ, संस्थाले आयोजना गरेका गोष्ठी, कार्यशालामा उपस्थिति कार्यपत्र प्रस्तुत गर्ने तथा गहन छलफलमा सरिक हुन्थे।
बेलायत, अमेरिका, जर्मनी जस्ता विकसित राष्ट्रमा जसरी लोकसंस्कृतिको खोज अध्ययन अनुसन्धान भइरहेको छ नेपाललाई त्यो स्थानमा पुगेको हेर्ने उनको रहर भने अधुरो नै रह्यो।
दर्शनाचार्य तह अध्ययन गर्ने क्रममा गुरुसँग भेट्ने सौभाग्य पाएँ। उनीसँग नपढेको भए म कहिल्यै पनि लोकसंस्कृति, लोकसाहित्यको विद्यार्थी बन्थिनँ। सोच्छु, गुरुले त संसार छोडेर गए पनि केही अंश विद्यार्थीमै छाडेर जाँदा रहेछन्।
गुरुको अवसानबाट दुखी हुँला तर विचलित अवश्य छैन। यस क्षेत्रमा अझै डटेर लाग्ने सके भने गुरुप्रति उच्च सम्मान हुनेछ।
कोरोनाको दोस्रो लहरले नेपाली लोकसाहित्यको झर्रझराउँदो मोतीलुङ चुडालिँदियो। अस्ताए नेपाली लोकसाहित्यका गिजुभाइ। हार्दिक श्रद्धासुमन।