किशोर कुमारको गीत गज्जब लाग्छ। त्यो चारपाटे रिलवाला क्यासेटमा सुन्दा पनि उबेला संसार नै जितेको लाग्थ्यो। धेरैपछि पो थाहा भो, त्यस्तो घत लागेर सुनेका गीत किशोर कुमारको स्वरमा नभएर अभिजितको रहेछ भनेर।
साथीलाई होइन किशोर कै हो भनेर जितेर घराँ आएर हेर्दा तल सानो अक्षरमा लेखेको अभिजित बल्ल पो देखियो। किशोर कुमारको ओरिजिनल गीत त युट्यूवहरु आएपछि नि सुन्न थालियो। पछिसम्म ओरिजिनल चाँहि डुप्लिकेट मात्रै लागिरह्यो, सानैमा जो बानी परेको थियो। गीत, फिल्म अनि सिर्जना सुरूमा नै डुप्लिकेट नै त नभनौं मूल सर्जकको नसुन्दा, नहेर्दा अनि नपढ्दा ओरिजिनलको बानी पार्न हम्मे हुनेरहेछ।
सामाजिक सञ्जालको बाँध फुटिसकेपछिको समयको कुरो अब जोडम्। अनेक कोणमा खिचिएका फुटोसँगै अपरिहार्य भनेको जीवन र जगतका कुरा भए। सायद अनुहार, हर अनि बङ्गाईका कोणलाई न्याय ती तार्किक, च्वास्स पार्ने शब्दले गर्ने गहन बुझाईले काम गरेको हुँदो हो। अनि ती शब्द अनेक ठाउँबाट भेला पार्दै ज्ञानको पोका खोल्न आतुरहरू जुनै पनि सञ्जालमा ठोक्किन आइपुग्छन्।
ती सटिक शब्दमा सहमति राख्दा सम्म ठीकै हो, कुरो सहज, सम्बन्ध गाढा। यो लेखेको कुरो अलि चित्त बुझेन भनी के टोपल्नु अनि ज्ञानका भण्डारका बास्तविक रुप देखिने भए। अलिक अगाडि फिल्टर प्रयोग गरेर नभाको सुन्दरता फुटोमा देखाउनेका ज्ञानका घडामा परेको ह्वाङ्ग प्वाल नि देखिन्छ। हो सञ्जालका शब्द, बोली र विचार कुनै अर्थमा मान्छे चिन्ने मानक चाँहि हुँदा रहेनछन्।
शब्दबाट वाक्क भएपछि फुटो मान्छेका हैन ठाउँका, प्रकृतिका हेर्नपर्छ भनी इन्स्टाग्राम तिर लस्कियो। फोटोग्राफरको पीडा अनेक छन्। झरी बादल भन्न पाइएन, घाममा नि कुद्यो। चित्तबुझ्दो नआएसम्म भिडेको भिडेइ गर्यो। अन्तिममा केही आशलाग्दो आएपछि बल्लबल्ल पोष्टियो। त्यो दुःख गर्ने फोटो खिच्ने साथीको सिमित साथीबीच त्यो उत्कृष्ट सटले वाहवाही पायो, केही हल्लाबोल गर्यो। उता अर्को छट्टु साथीले यो राम्रो फोटोलाई नि आफ्नै बनाएर ठेल्यो, अर्को राम्रो फोटोलाई नि पोष्टियो। त्यो छट्टुलाई फलो गर्ने दरिलो संख्या भयो यहाँ निर नि ओरिजिनल फिक्का भो डुप्लीकेट कडा।
अब बानीका कुरा। साना एकएक लाइन च्वास्स पढ्ने अनि मनपर्ने बित्तिकै लाइक, कमेन्ट, शेयर गर्ने दिनचर्या भएका हामीलाई त्यो मनछुने लाइन समेटिएको ठेली पढ्ने धैर्यता नि भएन फुर्सत झन् कहाँ हुन्थ्यो। किताब पहिलोबाट दोस्रो पानो पल्टाउँदा पर्लय गाह्रो त छदैंछ। बानी, प्रविधि अनि समयले कोल्टे नक्कलीलाई नै गजब बनाएको ठम्याई एक्लै मेरो मात्रै त होइन होला। अहिले आएर केही सञ्जालले लाइक गर्ने मुन्छेका संख्या छेक्न थालेछ। अति भएर नै यसो गरेको त होला।
अनि अब अलिक जटिल कुरो। राम्राका नक्कल गर्नु, गर्न खोज्नु कुनै हिसाबले नराम्रो हैन। यो त दुनियाँको रीत नै हो। कुरो बिग्रिएको ठाउँ भनेको नक्कल गरेर मिलेसम्म आफ्नै हो भन्नु, त्यति भन्न स्थिति नभए प्रभावित भन्नु अनि मिलेसम्म सर्जकलाई हुत्याउनु/ पन्छाउनु। अब जबसम्म नक्कलले जित्दो छ, सर्जक हुने रहर किन जागोस्।
सर्जकलाई कुनै परिस्थितिमा पनि सम्मान गर्ने, रचनासँगै नाम टाँस्ने काम नियमले बाँध्ने सँगै अभ्यस्थ हुने स्थितिको सिर्जना जरूरी छ। जसरी गाढा रातो जेरीबाट सादा रङ नभएको जेरीले हाम्रा प्लेटमा ठाउँ पाएका छन्, ओरिजिनल जुनै स्थितिको ग्रहण गर्ने, नमन गर्ने बानी अब बन्नुपर्छ अन्यथा मिश्रणको प्रभाव जिब्रो हुँदै शरीरभरी पुग्दा सर्जक पनि कोमा मै पुग्ने भए।