लामो लकडाउनको फाइदा भनौं, नेपालमा कोरोना संक्रमण केही कम हुन थालेको छ। प्रयोगशालामा कोरोना परीक्षण गर्न आउनेहरूको चाप हलुका हुँदै गइरहेको छ।
महिनौंपछि हिजो साँझ हामीले प्रयोगशालाका सम्पूर्ण सहकर्मी बाहिर चउरमा बसेर खाजा खाँदै भलाकुसारी गर्ने निधो गर्यौं। प्रयोगशालामा चौबीसै घन्टा सँगै बस्ने भए पनि एकअर्कासँग भलाकुसारी गर्ने फुर्सद मिलेको पछिल्लो दुई महिनामा पहिलोपल्ट थियो।
हामी चउरमा गोलो परेर फलफूल खाँदै पालैपालो आ-आफ्नो अनुभव बाँड्न थाल्यौं। यही क्रममा एक जनाले अघिल्लो दिनको आफ्नो अनुभव सुनाए।
त्यस दिन बिहानै एक जना ३५-४० वर्षका व्यक्ति कोरोना परीक्षणका लागि आवेदन फारम भरेर दस्तुर तिर्न आएका रहेछन्। उनले हातमा दुई हजार रूपैयाँ लिएर आएका थिए।
पैसा तिर्न लाग्दा जब रिसेप्सनमा बस्नेले 'यहाँ त हजार रूपैयाँ मात्र हो' भने ती व्यक्ति अचम्ममा परे।
उनले भनेछन्, 'अन्त त दुई हजार, चौबीस सय लिन्छन्, यहाँ त सस्तो रहेछ! यहाँको रिपोर्ट भरपर्दो त हुन्छ नि होइन? कतै एन्टिजेन टेस्ट त होइन?'
उनको यस्तो प्रश्नले सस्तो शुल्कका कारण हाम्रो विश्वसनीयतामा शंका उठेको प्रस्ट देखिन्थ्यो।
जवाफमा रिसेप्सनमा बस्नेले भने, 'सरकारले नै पिसिआर परीक्षण शुल्क हजार रूपैयाँ तोकेको तपाईंलाई थाहा छैन?'
त्यसपछि ती व्यक्तिले केही भनेनन्। बरू कति दिनमा रिपोर्ट आउँछ भनेर सोधेछन्, अनि आफैं भनेछन्, 'मलाई भोलि दिउँसोसम्म रिपोर्ट चाहिएको थियो। आउँछ नि त्यति बेलासम्म?'
रिसेप्सनमा बस्नेले हाँस्दै जवाफ दिए, 'भोलि दिउँसोसम्म होइन, तपाईंको रिपोर्ट भरेसम्म आउँछ। हामी तपाईंकै मोबाइलमा रिपोर्ट पठाइदिन्छौं। यदि इमरजेन्सी छ भने तपाईं जुनसुकै समय आउन सक्नुहुन्छ।'
यो सुनेपछि ती व्यक्ति निकै खुसी भएछन्।
चउरको भलाकुसारी क्रममा यो घटना थाहा पाएपछि अरूले पनि यस्तै अनुभव सुनाए। यो हामी सबैले कुनै न कुनै बेला भोगेकै घटना थियो। यसलाई लिएर छलफल भने पहिलोचोटि गर्दै थियौं।
मलाई यो घटनाले सोचमग्न बनायो। कुनै चिज सस्तो र सहजै उपलब्ध भयो भने हाम्रो निम्ति त्यसको औचित्य किन कम हुन्छ? किन हामी त्यसको गुणस्तरमा शंका गर्छौं? महँगो शुल्क लिनेहरूले चाहिँ बढी मोल राखेर ठगी गरिरहेका हुन सक्छन् भन्ने किन सोच्दैनौं?
कसैले सस्तो र छिटोछरितो सेवा दिँदा अन्त पनि त्यस्तै सेवाको निम्ति पहल गर्नुको सट्टा हामी त्यसलाई उल्टो तरिकाले किन हेर्छौं?
कतै हाम्रो यस्तै सोचले सेवाप्रदायक वा बिक्रेताहरूमा उपभोक्तासँग अत्यधिक मूल्य असुल्ने प्रवृत्ति बढेको त होइन?
यही सस्तो शुल्कका कारण कतिपय व्यक्तिले हाम्रो रिपोर्टलाई अविश्वास गर्दै अरू ठाउँमा दोहोर्याएर परीक्षण गर्न गएका छन्। तीमध्ये केही व्यक्तिले फोन गरेर 'अर्को ठाउँमा पनि जचाएको, उही रिपोर्ट आयो' भनेर पनि भनेका छन्।
यस्तो सुन्दा मलाई हाम्रो शिक्षा र स्वास्थ्यमा भइरहेको व्यापारीकरणको निम्ति कतै हामी आफैं जिम्मेवार त छैनौं भन्ने लाग्छ। हाम्रो यो सोचको फाइदा सत्तामा बस्ने नेताहरू र ती नेताहरूले पुल्पुल्याएका व्यापारीहरूले उठाइरहेका त छैनन् भन्ने लाग्छ। सत्तामा पुग्ने नेता भनेका पनि हामीबीचकै कोही त हौं, जसले हाम्रो समाजको मनोभाव राम्ररी बुझेको छ।
चाहे त्यो सरकारी अस्पताल होस् या सरकारी स्कुल, हामीले तिरेको करको पैसाबाट चल्ने यी संस्थामा हाम्रो विश्वास कम छ। आफूलाई चाहिँदा सरकारी अस्पताल वा सरकारी स्कुल हाम्रो पहिलो रोजाइमा पर्दैन। यहाँसम्म कि, पसलहरूमा नेपाली सामान सस्तो र उही गुणस्तरको वा त्योभन्दा कमसल भारतीय सामान महँगोमा बिक्री भइरहेको छ भने हामी महँगो मूल्य हाल्न राजी हुन्छौं।
हामीकहाँ महँगो सामान किन्ने, महँगो सेवा लिने र अनावश्यक फुर्ती लगाउने होड छ। यही होडको शिकार हाम्रो नयाँ पुस्तासमेत हुँदैछ। यसले हामीलाई सही-गलत छुट्टयाउन नसक्ने बनाइदिएको छ। पैसाको पछाडि दौडिने र कुनै पनि सामान वा सेवा महँगो छ भने त्यो पक्कै राम्रो होला भन्ठान्ने प्रवृत्ति विकास भएको छ। हामी आफ्नो यस्तै सोचको शिकार भइरहेका छौं र दिनरात ठगिइरहेका छौं।
यही क्रममा एक जना शुभचिन्तक दाजुको प्रतिक्रिया सुनेर त म झनै अचम्ममा परेँ।
उनको भनाइ थियो, 'यदि तिमीले भनेझैं तिमीहरू कोरोना परीक्षण गर्न सक्षम हो भने तिमीहरूलाई सरकारले लाइसेन्स किन नदिएको? खोइ हामीले त बायोटेक्नोलोजिस्टहरूले पनि कोरोना जाँच्छन् भन्ने पहिले कहिल्यै सुनेका थिएनौं। न कुनै ल्याबको रिपोर्टमा बायोटेक्नोलोजिस्टको हस्ताक्षर हुन्छ। जे होस्, ल्याबमा काम गर्न पाएछौ बधाई छ।'
यो प्रतिक्रियाले मलाई फेरि अर्को कुरा सोच्न बाध्य बनायो। हामीकहाँ स्कुटरको लाइसेन्सले बाइक चालाउन पाइँदैन, किनकि अनुगमन गर्न ट्राफिक निकाय छ। अहिले मेडिकल लाइसेन्सले कोरोना जाँच्नु भनेको बाइकको लाइसेन्सले बस चलाउनुजस्तै हो।
यसको मतलब उनीहरूलाई आउँदै आउँदैन भन्न खोजेको होइन। तर, अहिलेको समय अनुमतिपत्रको परिधिमा परिमार्जन गर्नु आवश्यक छ।
अब रह्यो कुरा हामी बायोटेक्नोलोजिस्टहरूको क्षमताको।
त्रिभुवन विश्वविद्यालय र कीर्तिपुर नगरपालिकाको सहकार्यमा सञ्चालित बायोटेक कोरोना प्रयोगशाला पछिल्लो एक वर्षदेखि हामीले एक दिन पनि बन्द नगरी चलाइरहेका छौं। यस अवधिमा एउटा पनि गलत नतिजा निकालेको उदाहरण छैन। अर्को कुरा, नेपालका प्राय: प्रयोगशालामा सुरूआती दिन या त प्रत्यक्ष बायोटेक्नोलोजिस्टहरू नै आबद्ध थिए या बायोटेक्नोलोजी डिपार्टमेन्टमा सिकेकाहरू।
विडम्बना के भने, काम गर्ने बायोटेक्नोलोजिस्टहरू भए पनि हस्ताक्षर भने लाइसेन्सधारीहरूको हुन्थ्यो। त्यसैले, एक वर्षसम्म उनीहरूको योगदानको कदर भएन। बरू विस्तारै बायोटेक्नोलोजिस्टहरू नै यो कामबाट किनारा पारिए।
हाम्रो देशमा आफूलाई नपरी कोही बोल्दैन। अनि आफूलाई पर्दा अरूले पनि त्यही सोच्छन् र बोल्दैनन्। त्यसैले परिवर्तन चाहन्छौं भने अरूलाई सरापेर होइन, आफ्नो सोच बदलेर परिवर्तनको सुरूआत गरौं।
कोरोना परीक्षण सस्तोमा पनि गर्न सकिन्छ र सस्तोमा गर्दा गुणस्तरमा सम्झौता गर्नुपर्दैन भन्ने हामी त्रिभुवन विश्वविद्यालयका बायोटेक्नोलोजिस्टहरूले प्रमाणित गरेर देखाएका छौं। हाम्रो यो कामबारे जति धेरैले थाहा पायो उति फाइदा। खाली एउटै कुरा- सस्तोमा परीक्षण गर्यो भन्दैमा हाम्रो रिपोर्टमा शंका मान्नुपर्दैन?
(लेखक कीर्तिपुर नगरपालिका र त्रिभुवन विश्वविद्यालयद्वारा सञ्चालित बायो-टेक कोरोना प्रयोगशालामा कार्यरत छन्।)