कतिपय मुस्लिम देशका महिलालाई आफ्नो नाम घरबाहिर अरूलाई बताउन अनुमति हुँदैन। इस्लामिक देशहरूमा महिलाको अस्तित्व बुर्काभित्र जन्मिएर त्यहीभित्र बिलाउँछ, जसरी प्रकृतिका अवयवहरू स्वतः चलिरहन्छन्।
नारीको जन्म निम्नकोटीको हो भन्ने बरकतलाई व्यक्त गर्ने सजिलो माध्यम बनिरहेको यो कट्टरता उक्त समाजको घिनलाग्दो ऐना हो।
बाहिरबाट हेर्दा बुर्का लगाएका तमाम मुस्लिम महिलाहरूको 'आउटलाइन' एउटै लाग्छ।
यहाँसम्म कि ती महिलाका पाइतलाका गतिहरूमासमेत एकरूपता।
बुर्काहरूका कथा सुन्दा र पढ्दा मनमा झिल्का बल्छ। लाग्छ हाम्रो समाजमा पनि हामी महिलाहरू आफ्नो पहिचानहरूलाई बुर्कामै त छोपेर हिँडिरहेका छौं। महिलाप्रति गरिने तामसी प्रवृत्तिहरू हाम्रो समाजमा यत्रतत्र सर्वत्र छरिएका छन्। जसलाई महिला हिंसाका नामले चिनिन्छ। जो पेचिलो छ र अमिबाजस्तै लचिलो पनि छ।
अदृश्य बुर्काहरूभित्रका कतिपय कथाहरू आँखा वरिपरि नाँच्न थाल्छन्। कति सुनिएका, कति देखिएका, कति पढिएका र कति भोगिएकै कथाहरू।
हामीले ओढ्ने पर्दाहरूलाई देख्न भलै अरूले सक्दैन तर जसले ओढेका छौं उसलाई भने उकुसमुकुस भइरहेको हुन्छ।
बेलाबखत बाहिर आउने र नआउने महिला हिंसाका घटना हुन् अदृश्य बुर्काहरूका उदाहरणहरू।
हामी बाँचिरहेको समाजमा महिलाले पाउने शारिरीक हिंसाको कुनै लेखाजोखा नै हुँदैन भने शाब्दिक हिंसाहरू खेप्नु त नियति नै भइहाल्यो।
महिलाले हिंसा सहनु भनेको गणितमा हुने माइनस र माइनस बराबर प्लसको अवस्था हो। अर्थात् महिलाले जति सहनसक्यो पितृसत्ताले उति नै नम्बर बढाइदिन्छ।
तपाईं कस्ती बुहारी चाहनुहुन्छ ?
उत्तर आउँछ सुशील, आज्ञाकारी, घर व्यवहार चलाउन जान्ने।
तपाईं कस्ती श्रीमती चाहनु हुन्छ ?
खुद्रमुद्रामा धेरै तर समग्रतामा 'इमान्दार'।
तपाईं कस्ती प्रेमिका चाहनुहुन्छ , केवल आफूप्रति 'बफादार' ।
यी प्रश्नका उत्तरहरू हाम्रा समाजका स्थायी प्रतिबिम्बहरू हुन जो परिवेशअनुरूप केही फराकिला र थपिँदै जान्छन्। उत्तरहरूले पनि प्रश्नको विरोध नगरी प्रश्नहरूकै बिस्कुन सुकाइरहन्छन् र हिंसालाई प्रोत्साहन गरिरहन्छन्।
तर, यी मानकअनुरूप यदि बफादार भइएन भने, आज्ञाकारी भइएन भने र तपाईंले अपेक्षा गरेजस्तो सुशीलको कोटीमा कुनै महिला परिन भने के ?
अचानक राति एकजना साथीको फोन आउँछ ।
पति पत्नीबीचका आपसी खटनपटनका बारेमा प्रायः बताइरहन्थी तर फेसबुकमा भने रमाइरहेकै फोटा पोष्ट्याइरहेकी हुन्थी। लाग्थ्यो 'स्मूथ' चलिरहेकै होला सम्बन्ध।
भोलिपल्ट उसलाई भेट्न जाँदा निधारमा गहिरो घाउ थियो ।
ऊ रुन थाली ।
'के भयो , कसरी ?' मेरो प्रश्नमा अत्तालिन्छे ऊ ।
सधैं रिस उठेपछि श्रीमानले अपशब्दहरू भन्ने रहेछ, यसपटक भने उसले पनि लोग्नेलाई जवाफ फर्काइछ। लोग्नकोे उम्लिरहेको रिसको परिणाम उसका जीउभरिका घाउहरू थिए।
'कमसेकम आफ्नो माइतीलाई वा आफन्तलाई त भन्दा हुने नि!' मेरो प्रतिक्रिया।
सबैले महिलाले सहनुपर्छ नै भनेर पन्छिदिन्छन्। बग्ने मेसो पाएका आँसु किन थामिन्थे र !
ए ए ! समाज सुन न् , जड त होइन नि महिला प्रत्येक सम्बन्धमा सहनुपर्छ भनेर कति जडताको अपेक्षा गरिन्छ उसँग। र, के आमा बुवाका लागि इज्जतसम्म मात्रै सीमित हुन्छे र छोरी ?
महिलाको ओहदालाई तल राख्न, दबाउन, होच्याउन र पुरूषभन्दा जुनसुकै हालतमा पनि 'तल्लो' दर्जामा रहनुपर्छ भन्ने ध्येयको पृष्ठपोषणका निम्ति यस्ता मानक समाजमा सदियौंदेखि गतिशील भइरहेका छन्। श्रीमानका घरमा आएपछि परिवारको लेगेसीलाई कायम राख्ने, कूलघराना सम्हाल्ने र छोरो जन्माउने यन्त्र बनिदिनु पर्ने।
मृदुभाषी बन्नुपर्ने, मन बहलाउन श्रृंगार बनिदिनुपर्छ, भलै उसका श्रीमानका अन्य सम्बन्धहरूमा श्रीमतीले आँखा चिम्लिनुपर्ने। रिस नउठ्ने रोबट बनिदिनुपर्छ जसको रिमोट परिवारका सदस्यहरूले बोकेको हुनुपर्ने। तर आफ्ना लागि संवेदनाविहीन मौनता साँध्नुपर्ने। आफ्नो पेटलाई थाति राखेर अर्काको स्वादमा रमाउन सिक्नुपर्छ। आफ्ना इच्छाहरूलाई कैद गरेर भोटेताल्चा ठोक्न सिक्नुपर्छ । अहँ, अझ अरूले नै बन्धकी बनाइदिन्छन्।
के महिलाको आत्मसम्मानको केही मूल्य छैन। कहिल्यै त उसलाई चर्को बोल्न मनलाग्ला, कुनै क्षण त उन्मुक्त हाँसो हाँस्न मन पर्ला। कहिले त डाको छाडेर रुन मनलाग्ला रे।
‘यौन सम्पर्क राख्न नदिएको निहुँमा पत्नीको हत्या’ , ‘चार वर्षीय बालिकालाई ७० वर्षको पुरूषले गर्यो बलात्कार’। ‘निर्मलाहरू’ हुनेक्रमहरू दिनानुदिन बढिरहेको छ। यो समाज यस्ता घटनाहरूप्रति मूकदर्शक बनिरहेको हुन्छ। समाचारपत्रमा यस्ता हेडलाइनहरू कहिले डेड होलान् थाहा छैन। महिलाको आफ्नो शरीरमाथिको अधिकारलाई कानुनले पनि नुनचुक छर्के झैं लाग्छ। यदि कुनै महिलाले उसको लोग्नेले उसको अनुमतिबेगर नै यौनसम्बन्ध राख्छ भनेर उजुरी गर्न गए के हुन्छ र के होला।
संस्कार र परम्पराका नाममा घरका कुनाकुनामा रहेका महिलाप्रति विभेदका त्यान्द्राहरू कसैगरी बढारिँदैनन्।
हाम्रो समाजमा कति यस्ता बुवा आमाहरू छन् ? जसले छोरी पठाउँदा मारे पाप, पाले पुण्यको सट्टा यो भनेको हुन्छ 'हेर छोरी तँलाई केही अप्ठ्यारो परे हामी छौं। यो ढोका तेरो लागि झन् बढी चौडा भएको छ।’
यदि तिनका ज्वाइँले खुसुक्कैमात्र पनि यो सुने कति घरमा हिंसा कम होला र कति छोरीलाई आगोको रापले पोल्दैन होला? कमसेकम ‘पराया घरमा’ छिद्रबाटै भए पनि उनीहरूले खुला आकाशको अनुभूति गर्न सक्लान्।
कहिलेकाहीँ लाग्छ किन आमा र बुवालाई आफ्नी छोरीलाई गुणवानका साथै सीपयुक्त र सशक्त बनाउन आवश्यक ठान्दैनन् ? केले रोक्छ एउटा पुरूषलाई आफ्नी श्रीमतीलाई यो भन्न कि ‘तिम्रा केही इच्छा छन् भने पूरा गर, म घरका काममा सघाउँछु’। उत्तरहरू जायज होलान् तर प्रश्नहरू ....।
महिलालाई प्रश्न गर्न बर्जित हुन्छ। अर्थात् प्रश्न गर्ने महिला पितृसत्ताले खिचेको मानकमा खरो उत्रिदैनन् र आक्षेपहरूका सहारा लिएर उसलाई पिंधमा पारिन्छ। अर्थात् महिलाको आवाज सुरिलो छ र सुरिलै रहनुपर्छ आवाज ठूलो भयो भने पितृसत्तालाई चर्राउन थाल्छ। मलाई किन घरमा भाइ र दाइभन्दा फरक व्यवहार भन्ने प्रश्न ऊ सोध्न समेत पाउँदिन। किनभने यसको उत्तर ‘रेडिमेड’ हुन्छ ‘बालुवामाथि पानी हाल्नु’।
यसरी, महिलालाई बन्धकी बनाउने भाष्यहरू पितृसत्ताको कारखानामा उत्पादन भइरहेका हुन्छन्, जसका मोडेल र डिजाइन समयानुकूल परिमार्जित पनि भइरहन्छन्।
वर्षौदेखि देख्दै र भोग्दै आएको महिलाका लागि समाजले निश्चित सीमारेखा सृजना गरिदिएका छन्। ती कहिले खुम्चिन्छन् त कहिले फराकिला हुन्छन्।
हिन्दुधर्मले महिलालाई पूजनीय बनाएको छ तर धर्मका नाममा कूटनीतिक तवरले सञ्चालित भइरहेको भेउ पाउँदैनौं हामी महिला।
एकातिर महिला देवी अर्कोतिर दासी रे।
हाम्रा नजिकका पुरूष नातेदारहरूले आफ्नो हातलाई कुनै न कुनै बहानामा हाम्रा पिँठ्यूसम्म पुर्याएको अनुभव हामी धेरै महिलासँग छ।
महिलाका क्लिभेजहरू देख्दा पुरूषका नजरहरूले र्याल काडेको देखेर कतिपटक झसंग भएका हुन्छौं हामी ? तर हामीलाई प्रतिवाद गर्ने अनुमति हुँदैन। किनभने पुरूषले हेर्न पाउनुपर्छ तर त्यो हेराइको अर्थ महिलाले नबुझेझैं गर्नुपर्छ भन्ने मान्यतालाई स्थायित्व पनि महिलाले नै दिनुपर्छ।
बलात्कारको ग्राफले अब हामी आफू र आफ्ना छोरीहरूलाई कसरी सुरक्षित राख्ने भन्ने इमोसनल पक्षलाई बढी हिट गर्छ। जसलाई छोरी हुने अभिभावकले बढी बुझ्छन्।
तर प्रश्न अर्को पनि खडा हुन्छ, हाम्रो समाजले कति लघुताभाषले भरिएको पुरूषलाई निर्माण गरिरहेको छ। यही लघुताभाषका कारण हिंसा बढिरहेको छ भन्ने कुराको हेक्का कसले र कसरी राख्ने? के समाजमा पुरूषत्वलाई पनि हामी खुल्न दिँदैनौं ? यो पनि थाहा छ यो पुरूषत्वले पुरूषलाई नै महिलाको बुर्काभन्दा बढी उकुसमुकुस पारेको छ भित्रभित्रै।
त्यसैले कतिपय फ्रस्ट्रेसनहरूलाई ओकेल्न आफ्नो लिंगलाई हतियार बनाएर या त बलात्कार गर्छ या त जन्मँदा लिएर आएको लिंगको सत्ताको खरानी जीउभरि पोतेर जीवनभर हिँडिरहन्छ।
हो पुरूष, महिलामाथि प्रभुत्व जमाउन सक्ने अवस्थाले तिम्रो पुरूषत्वको मानक निर्धारण गरिदिने समाज वरिपरि छ। जहाँ, आफ्नो सत्ताको स्खलन भएमा आफू नपुंसक हुने त्रास बढी छ तिमीलाई। त्यसैले हिंसा गर पुरूष, नत्र तिमी नपुंसक कहलिने छौ!