सन् १९३९ मा खिचिएको पपुवा न्युगिनीमा एउटा फोटो थियो जसमा एउटा सानो सुँगुरको बच्चाले चिम्वु महिलाको स्तन चुसिरहेको थियो। त्यो ताका पपुवा न्युगिनीमा सुँगुरलाई सम्पत्तिको मानक मानिने भएर साना सुँगुरहरु जो अरु सुँगुरसँग प्रतिस्पर्धा गरेर सुँगुर आमाको दूध खान सक्दैन, तिनीहरुलाई बचाउन नव आमाको दूध चुसाउने गरिन्थ्यो।
स्तनपान गराइरहेका महिलाहरुका केही ऐतिहासिक फोटोहरु हेर्दा कसैले स्तनपानलाई स्वभाविक प्रक्रियाको रुपमा स्वीकार गरेको देखिन्छ भने कसैले घरभित्र मात्र सीमित राखी नितान्त निजी विषय बनाएको देखिन्छ। स्तनपानलाई सामाजिकरुपमा सरल र स्वीकार्य बनाउन स्तनपान गराइरहेका आमाको फोटो राखी पोष्टकार्ड समेत बनाइएको पाइन्छ।
युरोपको कुरा गर्ने हो भने १८ औं शताब्दीसम्म शिशुहरु आमाको दूध वा वेट नर्स (धाइआमा) को दूध खाएर हुर्केको देखिन्छ। युरोपमा १८ औं शताब्दीमा आमाको दूधको सट्टा पिठो युक्त झोल र १९ औँ शताब्दीमा फर्मुला दूध उत्पादन हुन थालेको देखिन्छ। मध्ये १९ औँ शताब्दीसम्म पुग्दा फर्मुला दूधले आमाको दूध वा वेट नर्स (धाईआमा) लाई नै प्रतिस्थापन गरिदिएको देखिन्छ।
सन् १९७०-१९८० को दशकसम्म आइपुग्दा फर्मुला दूधले विकसित देशहरुमा मात्र नभई विकासोन्मुख तथा गरिब देशहरुमा पनि बजार विस्तार गरिसकेको देखिन्छ। नेपालमा फर्मुला दूधको प्रयोगको इतिहास बारेमा मैले अनुसन्धान गरेकी छैन तर विगतमा नेपालमा पनि कुपोषण हटाउने परियोजना(हरु)ले निशुल्क फर्मुला दूध बाँडेका रहेछन्।
मेरो ७५ वर्षकी आमाले पनि निशुल्क फर्मुला दूध प्राप्त गरेको सम्झनु हुन्छ। सम्भवतः यो कुरा मिरियम क्रान्ट्जले नेपाली बालबालिकाहरुलाई कुपोषणबाट बचाउन सर्वोत्तम पिठो तयार गर्नुभन्दा अगाडिको कुरा हुनुपर्दछ।
स्तनपानको कुरा गर्दा नेपालमा स्तनपान गराउने आमाहरुको संख्या घट्दो छ। नवजात शिशुका लागि आमाको दूध नै सर्वोत्तम आहार हो भन्ने कुरामा कुनै शंका छैन।
जन्मेदेखि छ महिनासम्म शिशुलाई आमाको दूध मात्र खुवाउने अनि दुई वर्षसम्म स्तनपान भन्ने कुरा सबै आमाहरुलाई कण्ठस्त छ। तरपनि विभिन्न कारणहरुले गर्दा सबै आमाहरुले चाहेर पनि स्तनपान गराउन सक्दैन वा असमर्थ छन्।
सामान्यतया नव आमाहरुले शिशु जन्मेको एक घण्टाभित्र दूध खुवाउन सक्षम हुन्छन् वा हुनु पर्ने हो। तर कतिपय आमाहरुको भने दूध नआउने वा कम दूध आउने समस्या हुने गरेको छ।
दूध आएका महिलाहरुले पनि विगतका लैंगिक तथा यौन हिंसाका आघातले गर्दा पनि स्तनपान गराउन नसकेको उदाहरणहरु पनि छन्। स्तनको मुन्टोको आकार, चिकित्सकीय कारण वा शिशुको स्वास्थ्यको अवस्था जस्ता विभिन्न कारणले स्तनपानमा असर गर्छ।
हाल नेपालमा नवजात शिशुहरु र स्तनपानको कुरा गर्दा सहरी वा अर्धसहरी क्षेत्रमा कोही पूर्णरुपमा आमाको दूध खाएर हुर्किरहेका छन् भने कोही पूर्णरुपमा फर्मुला दूध खाएर अनि कोही आमाको दूध र फर्मुला दूध दुवै खाएर।
गाम्रीण भेगका महिला वा आमाको बारेमा धेरै टिप्पणी गर्ने हैसियत राख्दिनँ, मलाई बेलाबेलामा उजेली टेलिचलचित्रको अन्तिम दृश्य याद आउँछ। बच्चा जन्माउँदा मरेकी भाउजूको बच्चालाई उजेलीले बटुकामा दूध (सम्भवतः गाईको दूध) खुवाउछिन्।
सायद अहिले पनि कि त गाउँघरका अन्य आमाहरुको दूध वा गाईभैँसीको दूध खुवाइन्छ, आमाको दूध पर्याप्त नभएमा। (बेलाबेलामा पोषणको कमी भएका ग्रामीण भेगका आमाहरुलाई सर्वोत्तम पिठो वा अण्डा र घिउ दिइएको समाचार पनि पढ्न र सुन्न पाइन्छ।)
यस्तो अवस्थामा मेरो एउटै प्रश्न- स्वतन्त्र छनौटले भन्दा पनि विभिन्न कारणले स्तनपान गराउन नसक्ने आमालाई लेख समाचारमा स्तनपान नगरेका ५ वर्ष मुनिका बच्चाहरुको मृत्युदर स्तनपान गरेका बच्चाको भन्दा धेरै हुन्छ भनी पढ्दा कस्तो लाग्छ होला? स्तनपान नगराउनेमा आमा र बच्चाको बीचमा स्नेह बन्धन कमजोर हुन्छ भनी मातृत्वमाथि शंका गरेको सुन्दा कस्तो लाग्छ होला?
हुन त डाक्टरहरुले अन्तरवार्तामा आमाको दूध नआउने भन्ने कुरालाई भ्रम हो भनेको पढ्न र सुन्न पाइन्छ। सहर केन्द्रित समस्या भन्नु हुन्छ भने पनि मलाई आपत्ति छैन।
मेरो आफ्नै अनुभव, मैले पनि स्तनपान गराउन धेरै संर्घष गर्नु परेको थियो। दूध आउन कम्तीमा तीन दिन लागेको थियो।
वास्तवमा भन्ने हो भने मैले बच्चा जन्माएको अस्पताल 'ब्रेस्ट इज बेस्ट (स्तनपान सर्वोत्तम हो)' भन्ने मान्यता राख्ने अस्पताल थियो अनि फर्मुला दूधलाई निरुत्साहित गरिएको थियो। डाक्टर र नर्सको एउटै सल्लाह थियो- 'दूध आएपनि नआएपनि चुसाइराख्नुस्।'
भोकले बच्चा अति रुन थालेपछि हामीले फर्मुला दूध प्रयोग गर्यौं, शिशु जन्मेको करिब ७/८ घण्टापछि। कतिलाई लाग्न सक्छ यो अलि छिटो भयो, अझै कुर्न पर्थ्यो कि?
सायद कुर्न पर्थ्यो। मेरो केही साथीहरुले १८ घण्टासम्म पनि बच्चालाई दूध आएपनि नआएपनि चुसाइराखेका थिए। कोहीले अझै धेरै समय कुरेका थिए।
जति आमाको दूधभन्दा अरु विकल्पमा गइन्छ, आमाको दूध उत्पादनमा समस्या हुन्छ भन्ने कुरा पनि थाहा थियो। स्तन थिचेर वा पम्प गर्दा पनि दूध आइरहेको थिएन। विदेशमा जस्तो वेट नर्स वा दूध बैंक जस्ता विकल्प थिएन, अहिले पनि छैन।
मेरो आमाले हामीलाई खुवाएर बचेको दूध सानिमाको छोरीहरुलाई खुवाउनु भएको देखेको वा सम्झना भएको कारणले म आफ्नो शिशुलाई आफ्नै दूध खुवाउनु पर्छ भन्ने सोच राख्दिन थिएँ। सकेसम्म पुग्ने गरी आमाको दूध खुवाउन पाए हुन्थ्यो भन्ने लागेको थियो। ती क्षणहरु साँच्चै निराशाजनक थिए।
दूध पुग्नेगरी नआएपछि स्तनपान र फर्मुला दूध मिलाएर खुवाएका थियौं। अनि म र मेरो बच्चा 'फेड इज बेस्ट (पेट भरी खुवाउनु सर्वोत्तम हो)' का समर्थक भयौँ। मेरो अनुभवले सिकायो- सक्नेले पूर्ण स्तनपान गराउँदछन्, विभिन्न कारणले दूध नपुग्नेले फर्मुला पनि खुवाउँछन् अनि दूध नै नआउनेले पूर्ण फर्मुला खुवाउँछन्। यसमा धेरै टिप्पणी गर्नु आवश्यक छ र?
'फेड इज बेस्ट' भनिरहँदा म आफै फर्मुला दूध प्रयोग गर्न मन पराउने मान्छे होइन। इतिहासको एउटा कालखण्डमा विशेष गरी विकासोन्मुख तथा गरिब देशहरुमा फर्मुला दूधको प्रयोग शिशुहरुको कुपोषण तथा बालमृत्युसँग जोडिएको छ।
फर्मुला दूध कम्पनीका बजार प्रतिनिधिहरु डाक्टर/नर्सको पोशाक लगाएर अस्पतालमा नव आमाहरुलाई शिशुलाई आमाको दूधको साथै फर्मुला दूध पनि दिँदा पोषणको हिसाबले धेरै फाइदा हुने भनी सम्झाउँथे अनि अस्पतालमा रहुन्जेलका लागि निशुल्क फर्मुला दूध पनि दिने गर्दथ्ये।
यसले गर्दा आमाको दूधको साथै फर्मुला दूध प्रयोग गर्दा आमाको दूध कम आउने अनि फर्मुला दूध पनि प्रयोग गर्नु पर्ने समस्या भई महँगो फर्मुला दूध किन्न बाध्य हुन्थे। फर्मुला दूधको महँगो मूल्यका कारण आमाहरुले पानी धेरै मिसाएर दूध बनाउने अनि पानी आफ्नै सफा नहुने कारणले शिशु तथा बालबालिकाहरु कुपोषितका साथै बालमृत्यु दर बढेको थियो।
अझै पनि आमाको दूधलाई प्रतिस्थापन गर्ने फर्मुला दूधलाई प्रतिबन्ध गर्न वा प्रयोग नगर्न विभिन्न अभियानहरु विश्वभरि नै संचालनमा छन्। अहिले पनि फर्मुला दूध उत्पादन गर्ने कम्पनीहरुलाई आक्रमक विज्ञापन गरी स्तनपानलाई प्रतिस्थापन गर्न गराउन मनाही गरिएको छ। यस्तो इतिहास थाहा भएका आमाहरुले स्वीकार्य विकल्प हुदाँ हुँदै फर्मुला दूध प्रयोग गर्थे होला त?
स्वीकार्य विकल्पको कुरा गर्दा सानो संख्यामा भएपनि मेरो आसपासका पर्याप्त दूध आउने आमाहरुले अफिस जानु अगाडि दिनभरिलाई पुग्ने दूध दोहोएर (पम्प गरी) सफा बोटमा भरी रेफ्रिजिरेटर वा फ्रिजमा राख्ने गरेका छन्। अनि परिवारका सदस्य वा बच्चा हेर्ने व्यक्तिले सो दूध भएको बोटललाई मन तातो पानीमा राखी विस्तारै हल्लाउदै तताए बच्चालाई आवश्यकताअनुसार खुवाइदिने पनि गरेको छ।
स्तनबाटै चुस्न नपाएपनि बच्चाले आमाको दूध नै खान भने पाएका छन्। यसरी ६ महिनासम्म पूर्ण आमाको दूधको प्रतिवद्धता पूरा गर्ने प्रयास गरेका छन्। अनि यो परिवारको सदस्यहरुको सहयोगले मात्र सम्भव भएको छ। किनभने यसमा केही प्राविधिक पक्षहरु पनि जोडिएका छन् – दूध राख्ने रेफ्रिजिरेटर वा फ्रिजको तापक्रमदेखि दूध तताउने तातो पानीको तापक्रम।
मजस्ता धेरै आमाहरुले बच्चा छ महिनाको भएपछि एक प्रकारले आनन्दको सास फेर्छन् किनभने छ महिना भएपछि बच्चा दूधमा मात्र निर्भर हुँदैन। मेरो बच्चाको कुरा गर्दा सर्वोत्तम लिटो खान र पचाउन सक्ने भएपछि विस्तारै फर्मुला दूध कम गर्दै लगेका थियौं। बच्चाको पचाउन सक्ने क्षमता हेरी लिटो बनाउन गाईभैँसीको दूध प्रयोग गर्यौं र फर्मुला दूध दिन बन्द गर्यौं।
स्तनपानको महिमा गाएर आमाहरुलाई स्तनपान गराउन नैतिक शिक्षा दिने धेरैलाई थाहा नहुन सक्छ, शिशुको उमेरसँगै स्तनपान चुनौतीपूर्ण बन्न जान्छ। दाँत आउने बेला धेरै बच्चाहरुले स्तनभरि घाउ हुने गरी टोक्ने गर्दछन्। वास्तवमा भन्ने हो भने त्यो समयमा बच्चाहरुले आमाको दूधमात्र होइन, धेरथोरै रगत पनि चुस्छन् भन्दा फरक नहोला।
दुई वर्ष पुग्दासम्म बच्चा धेरै बुझ्ने भइसक्ने हुनाले दूध छुटाउन अलि गाह्रो हुने गर्दछ। दूध सजिलै छोड्ने बच्चाहरु पनि हुन्छन् तर अधिकांश बच्चा र आमाका लागि दूध छुटाउने प्रक्रिया शारीरिक तथा भावनात्मक रुपमा निकै संघर्षपूर्ण छ। अनि दुई वर्षभन्दा माथिका बच्चालाई स्तनपान गराइरहँदा फेरि टिप्पणी सुरु हुन्छ, 'कति बुढो बच्चालाई दूध चुसाइराखेको? स्वास्थ्यको लागि राम्रो होइन!'
गर्भावस्था, प्रसूति, मातृत्व र स्तनपान सम्बन्धी हेरक आमाको कथा फरक छ। अझै, कोभिड-१९ महामारीमा आमा बन्ने र/वा मानसिक डर र त्रासको सामना गर्दै साना दुधे बालकलाई स्तनपान गराउने कोरोना संक्रमित आमाहरु देख्दा विश्व स्वास्थ्य संगठनको तथ्यांकले जे भने पनि आमाहरुले सजिलै स्तनपान गराउन छोड्दैनन् भन्ने कुराप्रति विश्वास जागेको छ।
अन्तमा, मातृत्व सामाजिक संजालमा देखिएजस्तो उत्सव मात्र पनि होइन, यो निकै कष्ठकर यात्रा हो। अँ साँच्चै, मलाई स्तनपान गराउँदा ध्यान नदिएका कारण बच्चाको नाकको आकार बिग्रियो भन्ने आरोप लागेको छ।
समयसँगै यस्ता टिप्पणीहरु सामान्य लाग्दै जाने रहेछ। बच्चा स्वास्थ्य रुपमा हुर्केको हेर्नु वा हेर्न पाउनु नै ठूलो कुरा हो प्रत्येक आमाको लागि। तसर्थ, स्तनपान गराउने आमा र स्तनपान नगराउने आमाहरुबीच तुलना नगरी मातृत्वका रंगहरुलाई स्वभाविक र सरल बनाउनु अति आवश्यक छ।