चिकित्सा शिक्षा आयोगले मेडिकल र पारामेडिकल विषयमा लिएको प्रवेश परीक्षाले विशेष चर्चा पाएको छ।
मित्र जीवन क्षत्रीले सेतोपाटीमा विद्यार्थी आन्दोलनमाथि केही प्रश्नहरू उठाएका छन्।
प्रवेश परीक्षाले चर्चा पाउनुका निश्चित कारण छन्।
एक, पहिलो पटक चिकित्सा शिक्षा आयोगले एकीकृत ढंगले प्रवेश परीक्षा लिएको थियो र यसले एकैपटक धेरै विकृतिलाई तह लगाइदिएको छ।
दुई, पारामेडिकल विषयमा देशभरको सीट क्षमताभन्दा थोरै विद्यार्थी पास भएका छन्।
तीन, विद्यार्थी संगठनले पुनः परीक्षा माग गरेका छन्।
माथि उठाइएका तीन कुरामा क्रमैसँग छलफल गरौं।
विगतका वर्षमा विश्वविद्यालयले प्रवेश परीक्षामा धाँधली गर्ने, लाखौं रूपैयाँमा प्रश्नपत्र बेच्ने, चिकित्सा शिक्षा पढ्ने विद्यार्थीको मोलमोलाइ गरेर भर्ना गर्ने र तोकिएको भन्दा बीसौं लाख धेरै पैसा लिएर विद्यार्थी पढाउने लुटको धेरै हदसम्म अन्त्य गरिदिएको छ।
त्यसैले एकीकृत प्रवेश परीक्षाको थालनी सही तरिकाले भएको छ।
अर्को, विद्यार्थीको पढाइको वास्तविक स्तर मापन गरिदिएको छ। मेहनत गरेपछि मात्रै प्रवेश परीक्षामा नाम निस्कने रहेछ, मेहनत नगर्ने हो भने घुस खुवाएर, सोर्स लगाएर निस्किने रहेनछ, देशभर रहेका कलेजको कोटा संख्यासँग चिकित्सा शिक्षा आयोगले लिने प्रवेश परीक्षाको कुनै साइनो नहुने रहेछ। अब्बलहरूले नाम निकाल्ने रहेछन्, नाम निकाल्न नसक्नेलाई अरु क्षेत्रमा जाने बाटो खुला रहेछ। चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा पास नगरीकन नेपाल र विदेशमा कहीँकतै पढ्न पनि नसकिने, कुनै विद्यार्थीले विदेशमा पढे पनि त्यसको नेपालमा मान्यता नहुने रहेछ भन्ने वास्तविकता स्थापित गरेको छ।
तेस्रो सन्दर्भमा चाहिँ चिकित्सा शिक्षासम्बन्धी सही जानकारी अभावमा विद्यार्थी आन्दोलनले त्रुटि गर्यो। मैले विद्यार्थी आन्दोलन कसरी त्रुटि गर्यो भन्ने कुराको चर्चा लेखमा गर्ने नै छु। यद्यपि हामीले विद्यार्थी आन्दोलनलाई तुरुन्तै सच्याइसकेका छौं र अब अहिलेका मागलाई लिएर अगाडि नबढ्ने निष्कर्षमा पुगेका छौं। यद्यपि विद्यार्थी आन्दोलनमाथि प्रश्न उठिसकेपछि त्यसको जवाफ दिन उचित हुने देखेर मैले यो लेख तयार गरेको छु।
एजेन्डाको उठान कसरी भयो?
म आफैं स्वास्थ्य क्षेत्रको विद्यार्थी भएको भए पनि मेडिकल विषयमा सम्पूर्ण जानकारीको अभाव रह्यो। अन्य नेता साथीहरूले पनि पूर्ण जानकारी राख्न सकेनन् र हतारमा निर्णय हुन पुग्यो।
अखिल (क्रान्तिकारी)को कार्यालय, बागबजारमा बसेको संयुक्त बैठकमा संगठनका नेताहरूबाट के कुरा आयो भने मेडिकल माफियाको इशारामा चिकित्सा शिक्षा आयोगले थोरै विद्यार्थी पास गरायो, जस कारण हजारौं विद्यार्थी विदेश पढ्न जाने भए। नेपालका शिक्षालय खाली हुने, विद्यार्थीले विदेश गएर पढ्न दुःख पाउनुपर्ने र पैसा पनि विदेशिने भयो। त्यसैले पूरै सिटमा पढ्ने व्यवस्था मिलाउन माग गर्नुपर्छ भन्नेमा छलफल केन्द्रित भयो।
यसै विषयमा केही समय छलफल केन्द्रित रह्यो र चार लाइनमा चिकित्सा शिक्षासम्बन्धी वक्तव्यको भाषा तय भयो। चिकित्सा शिक्षा आयोगमा ज्ञापनपत्र बुझाउन जाने कार्यक्रम पनि तय गरियो। बाँकी कुरा सोधखोज गर्नतिर लागिएन।
मैले जीवन क्षत्रीसँग विगतमा कतिपय विषयमा सल्लाह पनि गर्ने गरेको थिएँ। यस पटक सल्लाह गर्नतिर लागिएन। विद्यार्थी नेताहरूले अगाडि सारेका विषयमा एकअर्कामा विश्वास गरियो। सामूहिक रूपमा निर्णय लिइएको हुनाले सार्वजनिक गरिएको निर्णयमा भएको त्रुटिको जिम्मेवारी पनि सामूहिक रूपले नै लिनुपर्छ।
साउन २८ गते बिहान सबै संगठनका अध्यक्षहरूसँग बैठक बसौं भन्ने भयो। दिउँसो बैठक बसियो। संयुक्त धारणा तय गरेर वक्तव्य निकालियो।
संयुक्त वक्तव्य निकालेपछि अनलाइनको समाचारमुनि कमेन्ट बक्समा विद्यार्थी संगठनमाथि आलोचना सुरू भयो। आलोचकहरूले मेडिकल प्रवेश परीक्षाका विषयमा रहेका कानुनी विषयहरू उठान गरेर विद्यार्थी संगठनहरूमाथि प्रश्न गरे।
अब के थाहा भयो भने हाम्रो वक्तव्यको दिशा सही छैन। कानुनी प्रावधानहरू जानकारी नराखीकन वक्तव्य गएको कुरा जानकारी भयो। अब त्यसलाई सच्याउनु आवश्यक थियो। नेताहरूसँग फोनमै कुराकानी भयो। अब ज्ञापनपत्रमा वक्तव्यको गल्तीलाई सच्याउने।
हामीले छोटो ज्ञापनपत्र तयार गर्यौं र विद्यार्थीहरु विदेश जाने सन्दर्भ हटायौं। पारामेडिकल विषयमा पुनः प्रवेश परीक्षाको मात्रै माग गर्यौं। साथीहरूले चिकित्सा शिक्षा आयोगका उपाध्यक्षसँग भेट्ने समय लिइसकेका थिए। यता ज्ञापनपत्र बनाउन ढिलाइ भइसकेको थियो। हामीले नयाँ कुरा अध्ययन र छलफल गरेर उपाध्यक्षसँग जाने समय पनि थिएन। त्यसैले अघिल्लो दिनको गल्ती सच्याएर ज्ञापनपत्र तयार गर्ने र सबै जना सानोठिमी भेट हुने सल्लाह भयो।
जीवन क्षेत्रीले विद्यार्थी संगठनलाई आरोप लगाएजस्तै हामीले ज्ञापनपत्रमा सिट संख्याभन्दा थोरै विद्यार्थी उत्तीर्ण ‘गराइएका कारण’ भनेका छैनौं। गराइएको भन्नुको अर्थ नियोजित रूपमा थोरै उत्तीर्ण गराइनु हो। हामीले विगतमा भएको विद्यार्थी आन्दोलनको माग बमोजिम एकीकृत ढंगले परीक्षा भएकाले आयोगले लिएको परीक्षालाई निकै सकारात्मक रूपमा लिएका छौं। ‘सिट संख्याभन्दा थोरै उत्तीर्ण भएका कारण’ भनेका छौं। गराइएको र भएको भन्ने कुराको अर्थ फरक हुन्छ भन्ने कुरा जीवनजीलाई भन्नु नपर्ला।
हामीले चिकित्सा शिक्षा आयोगलाई कुनै दोष पनि दिएका छैनौं। मेरो व्यक्तिगत बुझाइ त के हो भने कक्षा ११ र १२ को पढाइको स्तर धेरै खस्किएको छ। कोभिडलाई देखाएर अनलाइन पढाइ र परीक्षाको थप नाटक गर्दै जाने हो भने देशको शिक्षाको गुणस्तर अझै धेरै खस्किनेवाला छ। शिक्षाको गुणस्तर यही अवस्थामा खस्किँदै गएमा अर्काे वर्ष अहिले जति पनि विद्यार्थीले नाम निकाल्न सक्ने छैनन्।
हामीले ‘स्वास्थ्य क्षेत्रको जनशक्ति उत्पादन र विद्यार्थीको पढ्ने चाहनामा असर पर्ने’ कारण उल्लेख गरेर पुनः प्रवेश परीक्षाको माग गरेका थियौं। ज्ञापनपत्र लिएर आयोगमा वास्तविकता बुझ्न जाऊँ भन्ने निष्कर्ष निकालिसकेपछि निकै सुझबुझका साथ यो माग गरेका थियौं।
हामीले आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरीलाई ज्ञापनपत्र बुझायौं र आधा घण्टा छलफल गर्यौं।
सार्वजनिक जानकारीका लागि– म त्यो छलफलमा केही पनि बोलेको होइन। किनभने म श्रीकृष्ण गिरीको अडान र भनाइबाट पूरै सहमत भइसकेको थिएँ। साथसाथै मलाई अघिल्लो दिनको वक्तव्यको गल्ती महशुस भइसकेको थियो। तै पनि मागपत्र लगेर गएपछि केही न केही त छलफल गर्नुपर्छ भन्नेतिर साथीहरूको जोड रहेको थियो, जुन मागपत्र लगेर गएपछि बेठीक होइन।
छलफल गर्नुपर्छ र छलफल गरेपछि नै हामीलाई वास्तविकता थाहा भएको हो। छलफलका क्रममा साथीहरूले उपाध्यक्षसँग जुनसकै हालतमा पुनः प्रवेश परीक्षा हुनैपर्छ पनि भनेका होइनन्। हामीले अन्यत्र मागपत्र लिएर गएपछि अल्टिमेटम दिएका दर्जनौं उदाहरण छन्।
चिकित्सा शिक्षा आयोगलाई हामीले कुनै अल्टिमेटम दिएका छैनौं। यसबाट के बुझिन्छ भने विद्यार्थी आन्दोलनले आफ्नो वक्तव्यको धारणाबाट आफूलाई सच्याइसकेको छ र मागपत्र पेश गरेपछि उपाध्यक्षको अडान र धारणाबाट चित्त बुझाएर फर्किएको छ।
डा. श्रीकृष्ण गिरीसँगको छलफलपछि आयोग बाहिर निस्किएका हामी सबैलाई के महशुस भइसकेको थियो भने हाम्रो मागको धरातल कमजोर छ। जीवन क्षेत्रीले लगाएको मेडिकल माफियासँग विद्यार्थी संगठन मिलेको भन्ने आरोप अखिल (छैठौं) को हकमा लागू हुन सक्दैन र त्यसलाई मैले पूर्ण रूपमा अस्वीकार गर्छु।
क्षेत्रीले अखिल (छैठौं) को सम्पूर्ण चरित्रलाई राम्रोसँग चिनेका छन् पनि। अन्य विद्यार्थी संगठनले पनि आफूमाथि लागेको आरोपको उचित जवाफ दिने नै छन्।
चिकित्सा शिक्षा जनताको स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको संवेदनशील विषयको गुणस्तरमा सम्झौता गर्न सकिने कुरा होइन, थिएन, सकिँदैन। नेपालको प्रवेश परीक्षा पास गर्न नसकेका कुनै पनि विद्यार्थी विदेश गएर पढ्ने र पढेर फर्किए पनि उसले मेडिकल काउन्सिलको परीक्षा दिन पाउने विषय कानुनले बर्जित गरिसकेको रहेछ। सुरूमा हामीलाई यो कुरा जानकारी हुन सकेन। कुरा यहीँबाट बिग्रियो।
नेपालको विद्यार्थी आन्दोलनले मेडिकल शिक्षासम्बन्धी सम्पूर्ण जानकारी थाहा पाउन नसक्नुले कमजोरी रहेको देखिए पनि हामीले चिकित्सा शिक्षा आयोगसँगको छलफलपछि त्यो विषय सच्याइसकेका छौं र अब त्यही विषयलाई आन्दोलन, संघर्ष वा मागका रूपमा उठाउने कुनै सोचाइ बनाएका छैनौं।
जीवन क्षत्रीले विद्यार्थी आन्दोलनसँग प्रश्न उठाएजस्तै वर्षभरी परीक्षा लिइरहने, सजिलो प्रश्नपत्र बनाउने, शैक्षिक कार्यक्रम लम्ब्याउने जस्ता विषय हामीले उठाउन खोजेका होइनौं। यदि कुनै तरिका छ भने एक पटक प्रवेश परीक्षा लिएर पुनः उत्तीर्ण गर्ने विद्यार्थीलाई पढ्ने वातावरण मिलाऊँ भनिएको हो। ज्ञापनपत्रमा पनि पढ्ने वातावरण मिलाउन माग गरिएको छ। सजिलो प्रश्नपत्र बनाउन, सधैभरी परीक्षा लिइरन वा शैक्षिक कार्यक्रम लम्ब्याउन माग गरिएको छैन। यदि ज्ञापनपत्रमा त्यस्तो आशय झल्किन्छ भने त्यो आसय विद्यार्थी आन्दोलनको होइन, यो विषयमा पनि विद्यार्थी आन्दोलनको मागमा पुनः सच्याइ रहन्छ।
विद्यार्थी आन्दोलनलाई प्रतिगमनको बाटो हिँडेको आरोप क्षत्रीले लगाएका छन्। अब उनले आफ्नो आरोपलाई फिर्ता लिनु उपयुक्त हुन्छ किनभने विद्यार्थी आन्दोलनले आफ्नो त्रुटिलाई सच्याइसकेको छ। त्रुटि सच्याइसकेपछि पनि प्रतिगामीको आरोप खेप्नु अन्याय नै हुन जान्छ। उनले मेडिकल शिक्षामा भइरहेको लुट, भ्रष्टाचार आदि विषयमा आवाज बुलन्द गर्न जुन चुनौती दिएका छन्। त्यसलाई विद्यार्थी आन्दोलनले गम्भीर रूपमा लिनुपर्छ र लुट, भ्रष्टाचारविरूद्ध तथा चिकित्सा शिक्षाको गुणस्तर र सम्पूर्ण जनताले स्वास्थ्य सेवा प्राप्त गर्ने विषयमा आन्दोलनलाई अगाडि लैजानुपर्छ।
चिकित्सा शिक्षामा मौलाएको माफियाकरणले देशको स्वास्थ्य क्षेत्रलाई नै गम्भीर असर पुर्याएको छ। चिकित्सा शिक्षामा भइरहेको लुट, भ्रष्टाचार, माफियाकरणविरूद्ध लामो लडाइँ लड्न सम्पूर्ण न्यायप्रेमी शक्तिहरू एकजुट हुनुपर्छ। त्यस विषयमा निरन्तर सचेत पहल र निरन्तर संघर्षको आवश्यकता छ।