नेपालमा दशौं शताब्दीपछि विभिन्न चाडबाड मनाउन थालिएको पाइन्छ। खासगरी लिच्छवीकालपछि हामीकहाँ विभिन्न चाडपर्वहरु मनाउन थालिएको हो। यस्ता चाडबाडहरु हामीकहाँ प्रायः सबै महिनामा पर्दछन्। बिना चाडको महिना पाउन मुस्किल छ।
हामीकहाँ चलिआएका विभिन्न चाडपर्वहरुमध्ये तीज पनि एउटा महत्वपूर्ण पर्व हो। आदिकालदेखि चल्दै आएको यो पर्व भाद्र शुक्ल द्वितियादेखि पञ्चमीसम्म ४ दिन मनाइने प्रचलन थियो। अहिले भने यसरी ४ दिनमा तीजलाई खुम्चाउन नसकिने अवस्था छ।
सुरुमा यो पर्व नेपालमा प्रायः क्षेत्री/बाहुनले बढी मनाउने र आदिवासी, जनजातिले त्यति महत्व नदिने गर्दथे। तर अहिलेको मिश्रित बसाइका कारण सबैको साझा पर्वका रुपमा यसलाई लिने गरिएको पाइन्छ। नेपाली बृहत् शब्दकोशले तीजलाई नारीहरुले समृद्धिका निम्ति धार्मिक परम्पराअनुसार शिव-पार्वतीको उपासना र पूजा गर्ने दिन भनेर परिभाषित गरेको छ।
भविष्य पुराणमा यसलाई हरितालिका भनिएको छ। पार्वतीको विवाह विष्णुसँग हुन लागेकोमा उनीसँग विवाह हुन नपरोस्, महादेवसँग विवाह होस् भन्ने पार्वतीको चाहनालाई सघाउन उनका सखीहरुले उनलाई हरण गरेर जंगलमा लुकाएको हुनाले यसलाई हरितालिका भनिएको हो भन्ने पनि पाइन्छ।
उनले जंगलमा खाएको कुरा कालान्तरमा हामीले दर भनी खाने गरिएको, तृतीयामा आर्य पार्वती र अनार्य शिवको बिहे भै शिवजी समेत ताण्डव नृत्य गर्ने गरेकोले यस दिनको सम्झनामा नेपाली चेलीहरुले तीजको नाचगान गर्न थालेका हुन् भन्ने कहावत पनि पाइन्छ।
यसो त उहिल्यैदेखि मानी आएका पर्वमा तीजलाई नारी विशेषको पर्व र यस अवसरमा गाइने गीतलाई स्वास्नी मानिसहरुले गाउने पर्वगीतका रुपमा हेरिएको छ। तीजकै अवसरमा गाइने हुँदा यस्ता गीतलाई तीजेगीत पनि भन्ने गरिएको छ। वर्षदिनसम्म मेलापाता, घाँस-दाउरा गर्दै दिन गुजार गरिरहेकी नारीले आफ्ना कथा, व्यथा र सामाजिक विकृति एवम् विसंगतीलाई यही तीजको अवसर पारेर गीतका रुपमा अभिव्यञ्जना दिने गर्दछन्।
गीतमा उनीहरुले प्रयोग गर्ने शब्दशक्ति अभिधाभन्दा निकै पर लक्षणा र व्यञ्जनास्तरको हुन्छ। यसैकारण यस्ता गीतहरु यथार्थपरक र सुधारोन्मुख हुन्छन्। व्यंग्यात्मक शैलीका यस्ता गीतहरुमा सक्कली नेपालीपन पाइन्छ। नेपाली चेलीहरुको अन्तरमनको पीडाको प्रतिनिधित्वका हिसाबले यी गीतहरु अब्बल मानिन्छन्।
नारी-पर्वका रुपमा मान्यता
तीजले नारीको मुख्य पर्वका रुपमा मान्यता पाएको छ। नेपाली महिलाका निम्ति व्रत, उपवास र शिवजीको उपाशनाको पर्व पनि हो। शिव पुराणमा शिवजीको महिमा वर्णन गरिएको छ। हिमालय पर्वतकी पुत्री पार्वतीले श्री महादेव स्वामी पाउँ भनी कठोर तपस्या गरी महादेवसँग उनको विवाह भएको कुरा शिव पुराणमा उल्लेख गरिएको छ।
कुमार संभव महाकाव्यमा कालिदासले पार्वतीको कठोर तपस्यालाई चर्चा गरेका छन्। पार्वतीले व्रत बसेर उनको मनोकामना पूर्ण भएकोले अरु महिलाहरु पनि आ-आफ्ना मनोकामनासहित (अविवाहित नारीले असल पति पाउँ भनी तथा विवाहित नारीले पतिको चीरायूका लागि) व्रत बस्न थालेको जनश्रृति पनि पाइन्छ।
व्रत वा उपाशना आफैमा नराम्रो पक्ष होइन। विज्ञानले समेत महिनामा एकदिन खाली पेटलाई राम्रै मान्दछ। श्री श्री आनन्दमुर्तीद्वारा निर्देशित आनन्दमार्गमा समेत उपवासको बारेमा चर्चा गरिएको छ र यस प्रकारको उपवास प्रत्येक एकादशीमा गर्नु उत्तम हुने तथा यसको आरम्भ र अन्त्य (उपवासको सुरु कसरी गर्ने र उपवास कसरी अन्त्य गर्ने) का बारेमा चर्चा गरिएको पाइन्छ।
यस अर्थमा तीजमा हाम्रा महिलाले बस्ने व्रतलाई सकारात्मक रुपमा लिन सकिन्छ। तर उपवासका नाममा गरिने चेलीबेटीको व्रतको एकोहोरोपना, व्रत बस्ने दिनभन्दा अघिल्लो दिनको मध्यरातमा दरका रुपमा खाने अपाच्य खाना कति ठिक, कति बेठिक त्यसको समीक्षा अलग प्रसंगमा गरौँला।
मौलिकता खोजौँ
हिजोका दिनमा जसरी तीजको सुरुआत भयो, आज यसले विगतको विरासत धान्न सकेको छैन। हुनेले मिठो मसिनो, नहुनेले पिठो मसिनो खाने पर्व थियो तीज। सात डाँडापारि विवाह गरी पठाएका चेलीबेटीलाई बाबा-आमा, दाजुभाइ लिन गएर घरमा जम्मा गरी मिठो मसिनो खाने खुवाउने दिन थियो तीज।
असल भाइचाराको गाँठो कसिलो बनाउने पर्व थियो तीज। चेलीलाई माइती लिन जानुपर्ने, घर पक्षले अरु बेला नभए पनि यो बेला माइत पठाउनै पर्ने पर्व थियो तीज। सायद यसैकारण माइतीको महत्वबोध बढी हुन्थ्यो ऊबेला नेपाली चेलीहरुलाई।
आज यो अवस्था रहेन। भाद्र शुक्ला द्वितियादेखि सुरु हुने तीज असारको हिलो फाल्दा नफाल्दै सुरु हुन्छ। सांगितिक तयारी हुनु स्वाभाविकै होला तर कम्तीमा पनि तिजे गीत गाउनलाई कृष्णाष्टमी कुर्नुपर्थ्यो, अनि मात्र यसको महत्व हुन्थ्यो।
कथित सहर बजारमा साउनको आरम्भसँगै भड्किला तथा उत्ताउला पहिरनसहित दिनहुँजसो पार्टी प्यालेसमा हुने भोज भतेर, नक्कली नै सही, प्रतिष्पर्धामा महिलाले पहिरने गरगहना, अनावश्यक र अस्वाभाविक श्रृंगारपटारजस्ता कुराले तीज महिलाको महान चाड हो भन्ने कुरालाई बिर्साइदिएको पाइन्छ।
हुने खानेहरुलाई त यसले राम्रै गर्ला अथवा नराम्रो गरे यसको फल उनैले भोग्लान्, जसले तिजै नआई तीज मनाउँछन्। तर हुँदा खाने नेपाली समाजका अन्य महिलाहरुलाई भने यो अनावश्यक तडक-भडक र देखासिकीले नकारात्मक असर पार्ने भयो। बुढी मरी भन्नुभन्दा पनि काल पल्केकोमा चिन्ता लिनु पर्ने भयो।
आरम्भमा कुनै पनि चाडपर्वहरु भड्किला थिएनन्। यी चाडपर्वहरु एकआपसमा मिलेर, हुने र नहुनेबीचको अन्तर कम गर्दै व्यक्तिगत रुपमा मनाइन्थे। एउटाको चाडलाई अर्कोले हस्तक्षेप गर्दैन थिए। जनै पूर्णीमामा लोग्नेमान्छेहरु बढी हावी हुन्थे तीजमा महिलाहरु। तर आज के महिला के पुरुष दुवैले तीजमा नाचगान गरेको देखिन्छ।
फेरि विगतका जस्ता सटीक सामाजिक चित्रण गरिएका, सुधारको अपेक्षासहित गाइएका पारिवारिक गीतहरु आज कहाँ सुन्न पाउनु? तीजे गीत सुन्दा लाग्छ यिनीहरु तीजमा छन् कि रत्यौलीमा। अर्थात् तीज, र रत्यौलीमा भेद छुट्टाउन नसकिने अवस्था आयो।
अस्वस्थ खाना
तीज वर्षायाम सकेपछि पर्ने पर्व हो। तीजमा किसानहरु खानेकुरा संग्रह नै गरी राख्थे। खासगरी दुग्धजन्य पदार्थ यो बेला बढी खाने, खुवाउने चलन थियो। दही, दूधका अलावा घीउ प्रशस्त चाहिने हुँदा तीजका लागि भनेर बकेर्नु भैँसी हुनेले साटफेर गरेरै वा किनबेच गरेर भएपनि लैनु भैंसी किन्थे।
तर आज यो कुरा एकादेशको कथा बनेको छ। तीज सुरु हुनुभन्दा महिनौँ अगाडिदेखि खाने र खुवाउने होडबाजी नै चलेको पाइन्छ। सबै पार्टी प्यालेस वा ठूला-ठूला होटलहरु तीजमय बन्दैछन्। तीज हो वा रत्यौउली छुट्टाउनै नसक्ने गरी क्यासेटमा गीत घन्काएर छिमेकीलाई समेत असर पर्ने गरी कृत्रिम नाचमा रमिता देखाउने कुचलन नै छ।
हरेकजसो अड्डामा महिला कर्मचारीहरु दर खान वा खुवाउन गएकोले गैर-हाजिर हुने गरेको वा पूरा समय सेवाग्राहीलाई नदिएको गुनासाहरु पनि सुन्नमा आउँछन। खानपानमा पनि तामसी भोजनलाई महत्व दिइएको पाइन्छ। हामीले पुरातनदेखि मानिआएको तीजको वास्तविक मर्म यो थिएन र होइन पनि।
माछा मासुसम्म त ठिकै होला, तारे होटलहरुमा खाने खुवाइने मादक पदार्थ (जाँड, रक्सी, बियर) समेतको लतले तीजको पहिचान खोसिएको अवस्था छ, मौलिकता गुमेको छ, जसलाई राम्रो मान्न सकिँदैन।
सुधार्न सकिन्छ
हो, भन्नलाई सजिलो छ अतीतजस्तो वर्तमान छैन। मानिसहरु क्रमशः बेफुर्सदिला हुँदैछन्। नेपाली चेलीहरु चुला-चौकाबाट माथि उक्लिसकेका छन्। आम्दानीको स्रोत बढ्दैछ। यसैले तीज मनाउन तीज नै कुर्नुपर्नै अवस्था छैन। तर संस्कृति, परम्परा, रीतिरिवाजमा सापेक्ष सुधार जरुरी छ, मौलिकता नै निमिट्यान्न पार्ने गरी होइन।
खुर्सानीमा पिरोको स्वाद हराउनु भनेको खुर्सानीको पहिचान गुम्नु हो, मौलिकता नरहनु हो। बस् हाम्रा मौलिक चाडबाड र रीतिरिवाजले पनि सुधारका नाममा मौलिकता गुमाउन हुँदैन। आफ्नो चिनारीलाई कायम राख्दै सापेक्ष सुधारसम्म गर्न सकिन्छ। खानपान, लवाइ खवाइमा सादकीपन अपनाई मौलिकता नभाचिने गरी तीज पर्व मनाउन जरुरी छ।
कथित् आधुनिकताका नाममा तीज मनाउँदा तीजको पहिचान नै गुम्ने स्थिति कदापि आउनु हुँदैन। चाडपर्व हाम्रा अमूल्य धरोहर हुन्, यिनको अस्तित्व निमिट्यान्न पार्नु हुँदैन भन्ने कुरालाई सबैले मनन गर्न जरुरी छ। चाहनु पर्छ, सुधार सम्भव छ।