खासगरी योग्यको गुट हुँदैन। अयोग्यको गुट हुन्छ। योग्य आफैंमा विचार, क्षमता र बौद्धिकताका गुट हुन्। कुन विचार, कुन समूह र कुन सिद्धान्त उपर्युक्त हुन्छ। त्यो योग्यलाई थाहा हुन्छ त्यसैले योग्यको समूह हुनसक्छ, गुट हुँदैन।
समूहमा सबै फरक क्षमता, कमजोर मानसिकता लगायत सबै किसिमका विचार र सिद्धान्त अट्न सक्छन् । तर गुटमा एकै उद्धेश्यका स्वार्थ र असक्षमताले भरिएका तिकडम चलाउने हुन्छन्।
गैर आवासीय नेपाली संघको स्थापनादेखि हालसम्म यीनै गुटको हावीले योग्य विचार भएका मान्छे पाखा लगाइए। स्थापनाकालदेखि २ दशकबीचमा जोडिएका विदेशमा नाम, दाम, इज्जत प्रतिष्ठा कमाएका, विदेसिएका नेपालीका मर्म र मुद्दा बुझ्ने सूर्य सुवेदी, भीम सिरिज, कुमार बस्नेत, इन्द्रा बनलगायत सयौं मान्छे संस्थाबाट बाहिरिए।
हालसम्म संस्थाको नेतृत्व गरेकामध्ये अधिकांश केवल आफ्ना व्यापार र ब्यवसाय कसरी फस्टाउँने भन्ने मनसायमा केन्द्रीत रहे।
करोडौं नेपाली भावनाको प्रतिनिधित्व गर्ने संस्था र यसको नेतृत्वले भावी पुस्ताका कानुनी कठिनाई र नेपालको संविधानमा विदेसिएका दोस्रो र तेस्रो पुस्ताका लागि के कोर्ने भन्ने हेक्का राखेनन्।
ती संस्थाका व्यापारीले विदेसिएका नेपालीको भावनाको भोटलाई आफ्नो सान मान र प्रतिष्ठाको भरपुर उपयोग गर्दै सरकारसँग बार्गेनिङमा उत्रिए। आफ्ना लागि विदेशमा कुनै माध्यमबाट कमाएको पैसा जोहो गर्ने उपयुक्त बाटो बनाए।
उक्त धन होटल, अस्पताल, बैंक, पर्यटन, ऊर्जा लगायत क्षेत्रमा लगानी गरेर आफ्ना ब्यवसायिक फाइदा लिए।
यद्यपी राज्यलाई कर तिरेको बारेमा सार्वजनिक गर्न चाहेनन्। न उनीहरुले भित्र्याएको रकमको विप्रेषण विवरण राज्यसँग नै छ। व्यक्तिगत रूपले अर्बौ रकम बिदेशबाट भित्रिए पनि राजयसँग त्यसको हिसावकिताव छैन। लगानी भित्रिएकै हो भने उक्त रकमको हिसाव किताव राज्यसँग किन नहुनू ?
त्यसैले कसैको व्यक्तिगत ब्यापारीक लाभ पुर्याउन विदेसिएका मान्छेले त्यस्ता चरित्रका ब्यापारीलाई नेतृत्वको ओहोदामा पुर्याएर उनीहरूको जयजयकार गरेर अब हुने वाला पनि छैन।
दुई दशकदेखि विदेसिएका नेपालीका सन्तान पनि विदेशीसरह भइसकेपछि उनीहरूको लागि आफ्नो मातृभूमिमा टेक्दा हुने कानुनी अड्चनका मुद्दाहरू कसले लिएको छ भन्ने कुरा हेक्का हुनुपर्दथ्यो। खाली देशमा लगानी भित्र्याउने नाममा खोक्रा आदर्श र आडम्बरी कुरा गर्ने नेतृत्वलाई मन्दिरमा लाम लागेझैं लागेर भोट हाल्नु दुर्भाग्य मात्र होइन भविष्यका आफ्ना सन्ततीमाथि घात हो।
अझैंसम्म पनि यो प्रथा कायमै छ। आफ्नो स्वार्थका लागि विदेशमा रहेका केही नेतृत्वले आफ्नो माउ पाटीसँग समन्वय गराएर ती व्यापारीलाई लाभ दिइरहेका छन्। उनीहरुले आफ्ना बालबच्चाको भविष्य र नेपालमा भविष्यमा पर्ने कानुनी अड्चनका बारेमा ज्ञान छैन। एनआरएनमा अहिलेसम्म आइपुग्दा त्यस्तो नेतृत्व रहेन जसले दोहोरो नागरिकताको विषयलाई जर्बजस्त उठाओस्।
दुई दशकसम्म भाविपुस्तालाई सोच्ने नेतृत्व आउन सकेन। विगत दुई दशकदेखि जोडिएका र बारम्बार यस्ता कानुनी अड्चनलाई बेलैमा सम्बोधन गरिनुपर्दछ भनेर केही कानुनज्ञाता सूर्य सुवेदीजस्ताले सचेत गराए। तर नेतृत्वले त्यस्ता मान्छेहरुलाई सत्तामा राख्नै चाहेनन्।
नेपाली नागरिकताको निरन्तरताको आवाज उठाउँदै आएका जर्मन निवासी रामप्रताप थापालाई ब्यापारीले संस्थाको नेतृत्व गर्नै दिएनन्। उनको लगातारको प्रयासका बाबजुद एनआरएन कार्ड र विदेशमा नागरिकता लिएका नेपालीलाई केहीहदसम्म कानुनी दायरामा ल्याएर व्यवसाय गर्न बाटो खुलाउने सफल रहे पनि पूर्ण हुन सकेन।
चौथो महाधिवेशनमा थापाले एनआरएनको अध्यक्षमा चुनाव जिते पनि नेपाल चेम्बर्स अफ कमर्स र राजनीतिक पार्टीको हस्तक्षेपका कारण उनलाई दश मिनेटमै हटाएर देवमान हिराचनलाई नेतृत्व सुम्पिएको थियो।
दोहोरो नागरिकताको मुद्दालाई नागरिकता ऐनमा सम्बोधन गरिने र गैर आवासीय नागरिकता बारेमा अध्यादेश ल्याउने नेपाल सरकारसँग समन्वय गरि पेश गरिने सम्झौता थापाले गरेपश्चात उनी नेतृत्वमा आएर ती अपुरा काम पुरा गर्ने मनसायका साथ छैठौं महाधिवेशनमा आउन चाहे। तर त्यतिबेला पनि शेष घलेलाई अगाडि सारियो।
घले एनआरएनको नेतृत्वमा पुगे पनि थोर बहुत रकम नेपाल भित्राए। तर त्यसको स्रोत राज्यसँग छैन। कसरी कुन माध्यमबाट भित्रियो भनेर कुनै तथ्याङ्कमा भेटिँदैन।
यसैगरी भिजन भएका धेरे नेतृत्व उपाध्यक्षसमेतबाट बाहिरिए। कोही महासचिवबाटै बिदा भए।
जसले विदेशी नागरिकता लिएका छैनन् र जसका सन्तान विदेशमा पढ्छन नेपाली नागरिक भएर तिनैहरु नेतृत्वमा आए जसबाट दोस्रो पुस्ताका नागरिकता सम्बन्धि झण्झटिला मुद्दालाई सम्बोधन गर्न हेक्का पुगेन।
यसरी व्यापारीको चंगुलबाट एनआरएनलाई मुक्त गर्न सकियो भने विदेशका विभिन्न कलेज तथा शिक्षण संस्थामा आफ्नो ज्ञान बाँडेका बुद्धिजिवीलाई अटाउने वातावरण बनाउन सकियो भने संस्थाको साखमात्रै होइन भावि पुस्ताको भविष्य सुनिश्चित हुन्छ।
भोलि पर्नसक्ने कानुनी झन्झट र अड्चनहरू हट्नेछन् अबको नेतृत्वले दोहोरो नागरिकता वा नागरिकताको निरन्तरताको एउटा मात्र मुद्दा उठाएर यस मुद्दालाई सम्बोधन गरिदिए पनि एनआरएन सबल हुन्छ। नत्र भने उही चोरबाटोबाट पैसा भित्र्याउने खेलमा मात्र एनआरएन सामेल हुन सक्छ।
आफू हारिने डरले राजनीतिक पार्टीको शरणमा पुगेका व्यक्तिले कहिलेसम्म संस्थाको नेतृत्व गरिरहने? यदि यस्तै हो भने एनआरएनको भविष्य डुब्छ। बेलैमा सहि पात्र चुनौं। आफ्ना सन्ततीको भविष्यका लागि नागरिकता जस्ता मुद्दाहरू सम्बोधन गरौं।
आजसम्म एनआरएनले कुन स्रोतबाट नेपालमा लगानी गरेको छ कसैलाई हेक्का मात्रै होइन थाहै छैन। यसर्थ अहिलेका पुस्ताले यस्तो नेतृत्वलाई समर्थन गर्ने कि अबको नयाँ नेतृत्व ल्याउन पहल गर्ने भन्ने मुख्य मुद्दा हो।
लेखक दोहोरो नागरिकतासम्बन्धि कार्यदल सदस्य हुन्।