म तीन वर्षको लामो समयपछि स्वीडेनबाट नेपाल फर्कने चाँजो मिलाउँदै थिएँ।
कोभिड-१९ ले कयौं परिवारका सदस्यहरूलाई चुँडेर लग्यो। टाढा विदेशको बसाइमा त कोरोनाले साह्रै पीडा दिँदो रहेछ। एकातिर आफ्ना आफन्तलाई नेपालमा केही होला भन्ने त्रास, अर्को आफैं बिरामी हुँदा कतै कसैसँग भेट नै नहोला भन्ने डर।
मेरो उमेरका साथीहरू, उनीहरूका आफन्तजनहरू, कति धेरैले यो संसारबाट बिदा लिए। मर्ने डर सबैलाई हुन्छ। कोही आफैं मर्न चाहे पनि त्यो डर भने उत्तिकै हुन्छ।
सामान्य मानिने रुघाखोकी पनि कोरोना नै हो कि, फ्याट्ट मरिने पो हो कि भन्ने डर मजस्तो पूर्ण स्वस्थ व्यक्तिलाई पनि हुँदो रहेछ भन्ने कोरोनाले थला पारिसकेपछि थाहा भयो। मर्नसम्म त ठिकै हुन्थ्यो तर मरेपछि पनि मुखसम्म हेर्न नपाइने गरी सधैंका लागि बिलाएरै जानुपर्ने! मरेपछि आमाबाबु नदेखुँला या त आमाबाबुले मलाई नदेख्लान् भन्ने पिर।
कोभिडले लाखौंलाई दुःख दियो र दिँदैछ। सास रहुन्जेल आश भनेझैं दु:खलाई सुखमा परिणत गर्दै छोटो बसाइका लागि म नेपाल आउने पक्का भयो। साना दुई छोरा र श्रीमती छोडेर म मातृभूमि फर्किएँ।
मेरो नेपाल बसाइमा एउटा अर्को ठूलो खुसी थपिँदै थियो।
सानैदेखि मन र मस्तिष्कभित्र रहन सफल मह जोडी (मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य) सँग मेरो पहिलो भेट स्वीडेनमा भएको थियो।
मैले मदन दाइ र हरि दाइको हात स्पर्श गर्दै भनेको थिएँ, ईश्वरलाई स्पर्श गरे झैं लाग्यो।
त्यो खुसीको सीमा नै थिएन। मैले सायदै मह जोडीको कुनै सिरियल, फिल्म, गीत या कमेडी र किताबहरू छुटाएको छैन। मह जोडीको कमेडीले मलाई कम्तीमा पाँच वर्ष लामो आयु थपिदिएको छ भने सन्देश र ज्ञानले भरिपूर्ण बनाएको छ।
मह जोडीसँग जोडिएको हाँस्यव्यंग्य जहिले पनि देश र समाज निर्माणमा र जनमानसमा लामो समयसम्म छाप बस्ने गरी निर्माण भएको मैले पाएको छु। मेरो आइडल अनि करोडौं नेपालीको मानसपटलमा गहिरो छाप बस्न बस्न सफल छ मह जोडी।
मेरो पाँच वर्ष बढेको आयुमा अर्को ठूलो खुसी देखिएको दिन थियो हरिवंश आचार्यले मैले पठाएको 'रिक्वेस्ट' स्वीकार गरेर फेसबुकमा साथी भएको दिन।
नेपाल आउँदा जसरी पनि भेटेर भलाकुसारी या नजिकैबाट हेर्न पाए कस्तो हुन्थ्यो भन्ने चाहनाले एउटा मेसेज पठाएको थिएँ, 'हरि दाइ म नेपाल आउँदैछु। मिल्छ भने भेटेर भलाकुसारी गर्न चाहन्छु।'
हुन त म लाखौं प्रशंसकजस्तै एक पात्र थिएँ हरि दाइका लागि। तर उहाँ मेरा लागि करोडौंमध्येका एक हुनु हुन्थ्यो। त्यति व्यस्त मान्छेले केही प्रतिक्रिया दिनुहोला भन्ने सोचेको पनि थिइनँ।
तर हरि दाइले, 'भाइ नेपाल आउँदा मेसेज गर्नू, म कल गरौंला' भनेर नम्बर दिनुभयो।
मलाई विश्वास नभएर हरि दाइ नभएर अरू नै कोही मान्छे हो कि भन्ने पनि लाग्यो।
हतारहतार नेपाल आउनेबित्तिक्कै हरि दाइलाई मेसेज पठाएँ। बेलुकीपख हरि दाइको फोन आयो। दाइको आवाज सुन्न पाएर म नर्भस र खुसी एकैचोटि भएँ। उहाँ आफैंले दिनुभएको समयमा, लगभग सभा एक घन्टा हामी बसेर कुरा गर्यौं। उहाँसँग धेरै कुरा गर्ने अवसर पाएँ।
त्यो खुसी मेरा लागि जन्मभूमि नेपाल र मेरो आमाबुवा जत्तिकै ठूलो थियो।
सामान्य सर्ट र पेन्ट लगाए आउनुभएका हरि दाइ कति सरल हुनु हुँदोरहेछ भनेर म दंग नै परेँ। म ठूलो या सम्पन्न मान्छे भन्ने देखाउने हाउभाउ उहाँमा पटक्कै थिएन। बोलीमा नरमपन उत्तिकै।
मलाई उहाँसँग धेरै कुरा गर्ने मन थियो। सायद त्यो पनि उहाँले सजिलै बुझिदिनुभयो। मलाई बोल्न दिनुभयो अनि आफू धेरै सुनिरहनुभयो। हरेक जिज्ञासाको जवाफ पूर्णरूपमा दिनुभयो। एक घन्टाभित्रै यस्तो महशुस भयो, म हरि दाइसँग वर्षौंदेखि भेटिरहेको छु र कुराकानी गरिरहेको छु।
मलाई उहाँ वास्तविक जीवनमा पनि कमेडी नै हुनुहुन्छ र आफ्नो जीवन खुसीखुसीमा जिउनुभएको छजस्तो लाग्थ्यो।
'चिना हराएको मान्छे' पढेर बल्ल थाहा भयो, जीवनमा मैले भोगेका कयौं दुःखभन्दा बढी दुःख उहाँले गर्नुभएको रहेछ।
मलाई एउटा जिज्ञासा थियो- केमा लुकेको होला हरिवंश आचार्यको वास्तविक खुसी?
जति नै सम्पन्न र धनी भए पनि खुसी बन्न नसक्नेहरू जहिल्यै दुखी नै भइरहन्छ। देश-विदेश जति घुमे-डुले पनि नेपाल र नेपाली भन्ने शब्दले नै ममा सबभन्दा ठूलो खुसी पैदा गराउँछ।
खुसी शब्दमा धेरै कुरा अटेको हुनुपर्छ। हुन त दुःख भन्ने शब्द पनि त्यस्तै होला। अलि सकारात्मक सोच राखे दु:ख खुसीकै लागि जन्मिएको हो भन्ने बुझ्न सजिलो हुन्छ। दु:ख भन्ने शब्दै खुसीभन्दा पहिले जन्मिएको हुनुपर्छ। बच्चा जन्मेपछि रून्छ र आमा पनि जन्माउने पीडामा रोएकी हुन्छिन्। जब शिशु र आमाको मिलन हुन्छ, त्यो सबै दु:ख खुसीमा परिणत हुन्छ। गहिरिएर हेर्ने हो भने जन्मिएको केही मिनेटभित्रै, भित्री मस्तिष्कदेखि आमा र बच्चाको खुसी देख्न सकिन्छ।
हरिवंश दाइको खुसी के हो? भित्री मस्तिष्कदेखि नै तपाईंलाई के कुराले खुसी बनाउँछ?
उहाँले भन्नुभयो-
'मानिसका चाहना अथाह हुन्छन्! आफ्नो सफलता के हो भनेर नजिकैबाट नियाल्न छाडेर अरूको सफलता मात्र हेर्ने या अरूसँँग आफूलाई दाँजिरहने बानी भएका मानिसहरू कहिल्यै खुसी रहन सक्दैनन्। म हिजो शून्य थिएँ आज सय भएको छु। तर म हजार भइनँ या करोड भइनँ भनेर चिन्ता गर्न थालेँ भने म दुखी नै रहन्छु। म मेरो हरेक सफलतालाई खुसी मान्छु।
तर मेरो खुसी मेरो काममा मिल्छ। पैसा खर्च गरेर, बार-डिस्को गएर या महँगो गाडी किनेर मलाई खुसी मिल्दैन। पाँच करोडको गाडी चढेर या मेरो सामान्य गाडी चढेर पनि त्यही गन्तव्यमा पुगिने हो। त्यही समयमा पुगिने हो भने त्यो महँगो र सस्तो गाडीले दिने खुसी एउटै हो। जहाँ गए पनि, जे गरे पनि आखिर राम्रो निद्रा लाग्ने भनेको त पातलो डसना भएको खाटमा हो नि। जीवनमा संघर्ष गरिरहनुपर्छ र राम्रो हुँदै गयो भने गर्दै जाने हो। तर कमाउने नाउँमा निद्रै नलाग्ने गरी चिन्ता लिएर काम गर्न थालेँ भने जहिल्यै पनि दुखी नै रहन्छु। मेरो खुसी मैले आज कलाकारिताबाट जे जति पाएको छु, त्यसमै सन्तुष्ट हुनु हो। म त्यसमै खुसी पनि छु।'
हरिवंश दाइका कुराबाट जीवन सरल रूपमा जिउनुपर्छ, आफ्नो सफलता आफूले चिन्नुपर्छ र त्यसमै खुसी हुन सिक्नुपर्छ भन्ने बुझेँ। सम्पत्ति कमाउने, धनी बन्ने सपना बोकेर दिनरात दुखी जीवनयापन गरिरहेका कयौंलाई हरिवंश दाइको यो सरलताले प्रभावित बनाओस्।
हरिवंश दाइको, मह जोडीको यो खुसी र सरलता यस्तै देख्न पाइरहियोस्!
यो प्रेरणाका लागि हरिवंश दाइ प्रति विशेष आभार!
(लेखक थापा सिन्धुलीका हुन् र हाल स्वीडेनमा विद्यावारिधि गरिरहेका छन्।)
ट्विटर @DipRajThapa2