लगभग १५ वर्ष पहिलेको कुरा होला, सिंगापुरको 'आइडिया' नामक संस्थाले नेपालका युवाहरूबारे एक अध्ययन गरेर प्रतिवदेन तयार पारेको थियो। संस्था विभिन्न क्षेत्रका युवासँगको छलफलपछि उक्त प्रतिवेदन आगामी प्रक्रियाका लागि अनुमोदन गर्न चाहन्थ्यो। यसनिम्ति ललितपुरको एउटा होटलमा कार्यक्रम गरेको थियो।
उक्त कार्यक्रममा मलाई पनि सहभागीका रूपमा बोलाइएको थियो। कार्यक्रमका प्रमुख वक्ता थिए गगन थापा।
अध्ययन सिलसिलामा जनकपुरबाट काठमाडौं आएको मजस्तो एक विद्यार्थीलाई त्यो बेलै चर्चामा आइसकेका गगन थापासँग भेट्न पाउनु ठूलो कुरा थियो। म हौसिएको थिएँ।
मलाई अझै याद छ, कार्यक्रममा गगन थापाले त्यो प्रतिवेदनमा टिप्पणी गर्दै सबै सहभागीलाई अनुरोध गरेका थिए, 'तपाईंहरू सबैले यो पढ्नुस् र आफ्नो प्रतिकिया दिनुस्। ताकि हाम्रो देश र परिवेशका बारेमा कसैले फरक प्रतिवेदन नबनाओस्। गलत सन्देश नजाओस्।'
उनले त्यो प्रतिवेदन पढेर आएका थिए र बुँदागत धारणा राखे।
त्यही कार्यक्रममा उनले काठमाडौंको एक विद्यालयमा अध्ययनरत विद्यार्थीसँग भएको छलफलको एक अंश पनि सुनाएका थिए।
गगन थापाका अनुसार आठ कक्षामा अध्ययनरत एक विद्यार्थी आएर उनलाई भने- 'दाइ, तपाईंसँगको यो मेरो अन्तिम भेट हो।'
गगनलाई अचम्म लाग्यो र सोधे, 'किन अन्तिम भेट भनेको, केही समस्या छ?'
विद्यार्थीले जवाफ फर्काउँदै भनेछन्, 'म आठ कक्षामा पढ्छु। अब पाँच वर्ष म आफ्नो पढाइमा व्यस्त हुनेछु र भेट्न भ्याउँदिनँ। तर यदि तपाईं आगामी पाँच वर्षसम्म नेपाली राजनीतिमा यसरी नै जुझारू भइरहनुभयो भने तपाईंलाई अरू राजनीतिज्ञले टिक्न दिने छैनन्। तपाईंलाई निस्तेज पार्ने छन्। तपाईं कमजोर भइसकेर औसतझैं भएपछि तपाईंलाई किन भेट्ने? अडिरहनुभयो भने अड्नकै लागि मात्र तपाईं अरूजस्तै भइसकेको हुनुहुनेछ। अनि तपाईं नेपालको औसत राजनीतिज्ञजस्तै हुनुभयो भने म तपाईंलाई किन भेट्ने?'
यो कुरा आशलाग्दा युवा नेताप्रतिको एक प्रतिनिधित्व अभिमत, सरोकार र चिन्ता थियो।
आठ कक्षामा अध्ययनरत ती विद्यार्थी सायद गगन थापा १५ वर्षपछि कहाँ पुग्छन् होला भनेर विश्वस्त थिएनन्।
अर्को घटना सुनाउँछु।
जुन बेला गगन थापा पहिलोपटक प्रतिनिधिसभा सदस्यका रूपमा सदन पसे, टेलिभिजनमा समाचार हेर्दै मेरो एक मित्रकी आमाले भन्नुभयो, 'यो बाबुलाई प्रधानमन्त्री बनाइदेओ न हौ, देशमा केही हुन्थ्यो कि!'
त्यस्तै म एउटा विदेशी विज्ञापन एजेन्सीमा काम गर्दैगर्दा, मेरो अफिसका (विदेशी) प्रमुखले 'गगन थापालाई मोडलिङको अफर गरौं न' भनेका थिए।
यी सबै कुरा म किन सुनाइरहेको छु भने हालै गगन थापा नेपाली कांग्रेसका महामन्त्री चुनिएका छन्। अर्का महामन्त्री विश्वप्रकाश शर्मा भएका छन्।
कुनै पनि देशमा केही पुस्तापछि फेरि देशले एउटा सपना देख्न थाल्छ। यसपटक नेपाली कांग्रेसको परिणामले हामीलाई सपना देख्न हौस्याउँदै छ।
हुन त राजनीतिज्ञले सपना देखाएको यो पहिलोपटक होइन।
उपेन्द्र यादव र महन्थ ठाकुरको अगुवाइमा मधेसले पनि यस्तै सपना देख्न थालेको थियो। तर उहाँहरू आफ्नो 'जात' र 'आफन्त' मै सीमित हुनुभयो।
केपी ओलीले पनि सपना देख्न सिकाएका थिए। जहाज, रेल, ग्यासको पाइप र स्याटलाइटको सपना उनले निकै चर्कोसाथ देखाए। तर ती त सबै 'स्टन्ट' रहेछन्। आधारभूत सुशासनमा काम नगरेपछि ती सपनाको कुनै अर्थ रनहेछ। जनतालाई कैयौं वाचा गरेर पटकपटक मौका पाएका ओलीको त्यो मौकामा केही सीमित व्यापारिक घरानाले सम्पति बटुले। ओलीले राम्रो काम गरेनन्, रमाइला कुरा मात्र गरे। कामको चुनौती आउँदा हरेकपटक, 'मलाई काम गर्नै दिएनन्' भन्दै पन्छिन खोजे।
पूर्व प्रधानमन्त्री ओलीकै सन्दर्भमा सम्झिएँ, कतै उनलाई 'ज्ञानको विश्वविद्यालय' भन्दै चाकडी गरेर लाभको पद पड्काउनेहरूले जस्तै, हामीले गगन थापाबाट राखेको सपनाबारे त्यस्तै व्याख्या गर्लान् कि?
गर्लान्। नगर्लान् पनि।
तर हामी गगन थापामा कुनै 'भगवान' खोजिरहेका छैनौं। हामीसँग ३३ कोटी भगवान छँदै छन्। हामी त गगन थापामा एक 'हिरो' खोजिरहेका छौं। किनकी यो देशमा ३३ कोटी भगवान भए पनि हामीलाई उत्साही बनाउन सक्ने ३३ जना 'हिरो' पाउन गाह्रो छ।
'भगवान' भन्दा धेरै चुनौती पनि 'हिरो' लाई हुन्छ। भगवान सधैं पुजिन्छन्, कसैका लागि राम्रो-नराम्रो जे गरे पनि। तर आजका 'हिरो' ले नराम्रो प्रदर्शन गरे फ्लप हुन्छन्, तुरून्तै 'जिरो' हुन्छन्।
हामीले 'हिरो' को सम्भावना देखेका गगन थापा र विश्वप्रकाश शर्मा, तपाईंहरू फ्लप नहुनु होला।
यदि खेलाडीले प्रशिक्षकको कुरा नसुन्ने हो भने उसको प्रदर्शनमा सुधार हुँदैन। विद्यार्थीले गुरूको कुरा नसुन्ने हो भने उसको सफलता रोकिन्छ। कलाकारले निर्देशकको निर्देशन नबुझ्ने हो भने उसको अभिनय फितलो हुन्छ। तर नेपाली राजनीतिमा प्रायः नेताले आफूलाई पूर्ण सोच्छन्। सल्लाहकारका रूपमा आफ्नो वाहवाही गर्ने पछौटे राख्छन् जसले नेतालाई सुझाव दिने वा उनको निर्णयमा बिमती राख्ने ल्याकत नै राख्दैनन्। थापा र शर्मा त्यस्तै मान्छेने घेरिएर नबस्नुहोला।
यही सन्दर्भमा गुगलका सिइओ सुन्दर पिचाईको भनाइ सम्झिन्छु- 'तपाईं सधैं यस्तो संगतमा बस्न खोज्नुस् जहाँ तपाईंलाई चुनौती महसुस होस्। उपलब्धिहरू सुरक्षित राख्न र अघि बढ्न मेहनत गर्न परोस्।'
तर हाम्रा नेताहरू सधैं यस्तो माहौल खोज्छन् जहाँ उनीहरूमाथि कुनै प्रश्नै नउठोस्। आफ्नो भद्दा मजाकमा पनि सबै आत्मादेखि नै हाँसिदिऊन्!
दर्शनशास्त्रको एउटा पक्ष हो विश्लेषण। र आधुनिक विश्लेषणले कुनै पनि सम्भावनाको ठूलो तस्वीर हेर्न सुझाएको छ। हाम्रा राजनीतिज्ञहरू भने अझै सानै तस्वीरमा अल्झिएका पाइन्छन्। कसैकी जेठी सासू कुनै निकायको प्रमुख हुने, कसैका भाइ वैदेशिक विभाग प्रमुख हुने, कसैको परिवारका सदस्यलाई सरकारी सुविधाको पद चाहिने, कसैका साथीका लागि विधान परिवर्तन गरेर राजदूत बनाइनुपर्ने त कसैले आफ्नोबाहेक अरू कुनै थर वा जात नदेख्ने!
यस्तो माहौल खोज्नेमा पूर्व प्रधानमन्त्री हुन् वा वर्तमान प्रधानमन्त्री, कोही कम देखिएनन्।
यही बौद्धिक दरिद्रता गगन थापा र विश्वप्रकाश शर्माले नदेखाऊन् भन्ने हाम्रो चाहना हो।
गगन र विश्वप्रकाशका पनि जीवनका कैयौं अध्यायहरू छन्। सबै सराहनीय नहोलान्। सबै सफल नहोलान्। र कैयौं बिर्सनलायक पनि होलान्। तर महत्वपूर्ण कुरा सच्चिँदै र सुधारिँदै जानुपर्यो भन्ने हो।
त्यसैले गगन थापा र विश्वप्रकाश शर्मा, जुन बौद्धिक दरिद्रता अरूले देखाए, त्यो तपाईंहरूले नदेखाउनू होला।
अब तपाईंहरूको परिवार कांग्रेस हो र परिवारको विस्तारित सदस्य सम्पूर्ण देशवासी। कृपया अवसरका लागि एक सीमित परिधिमा आफूलाई नबाँध्नुहोला।
बाँध्नुभयो भने अघिल्लो पुस्ताकाले गरेको गल्तीले पोलेभन्दा बढी तपाईंहरूको गल्तीले यो देशलाई धेरै पोल्नेछ। किनकी तपाईंहरूबाट यो पुस्ताले विगतको भन्दा धेरै आश गर्दैछ। नेपाली कांग्रेसको निर्वाचित पदाधिकारी १५ जनामध्ये दुई जनाबाहेक १३ अनुहार नयाँ आएका छन्। पदाधिकारीको औसत उमेर तुलनात्मक रूपमा युवा भएको छ। योसँगै संस्कार पनि सुधारिएको आउनुपर्छ।
मेरा बुवा भन्नुहुन्छ- यो संसारमा कसैले पनि मैले मौका नै पाइनँ भन्न मिल्दैन। त्यो मौकाअनुसार अनुभव, योजना र क्षमता थियो कि थिएन भन्ने चाहिँ महत्वपूर्ण हो।
तर तपाईंहरूसँग मौका अनुसारको क्षमता, अनुभव र योजना पनि छ, त्यही विश्वासमा सबैले मन र मत दिएका हुन्।
शारीरिक चुनौतीसँग झेलिरहेका, नेतृत्व जिम्मेवारीमा रहेका नेताहरूमध्ये जेठा, पारिवारिक भावनामा बल्झेका र जातमा अल्झेका नेताहरूभन्दा तपाईंहरू दुई जना सशक्त र उदार भइदिनु होला। नेपालको औसत आयुभन्दा धेरै उमेरसम्म 'शासक' बन्न खोज्ने हाम्रो राजनीतिक नेतृत्वभन्दा तपाईंहरूसँग समयको अवसर छ। सदुपयोग गर्नुहोला।
नेतृत्व तब सफल हुन्छ जब उसले अर्को सफल नेतृत्व जन्माउँछ र सकारात्मकतातर्फ डोर्याउँछ। तर हामीकहाँ अधिकांश नेतृत्वले यो अवसर गुमाएको देखिन्छ। तपाईंहरू त्यो नगर्नुहोला।
तपाईंहरूको जीवनमा सबभन्दा ठूलो लगानी मतदाता र करदाताको छ। अरूले झैं स्वास्थ्य उपचार र चुनावका प्रायोजक रिझाउनेतिर नलाग्नु होला। तपाईंहरूको जन्मदिनमा प्रायोजित हेलिकप्टरबाट ठूलो केक नआओस्, तर तपाईंहरूको अन्त्येष्टिमा जनताले बर्खी बारून्।
यी सबैका लागि तपाईंहरूसँग मौका छ।
विश्वप्रकाश शर्मा, तपाईंले 'ऐना' कार्यक्रम सञ्चालन गर्दा देशको सामाजिक समस्या बुझ्नुभएको छ। अब तपाईं त्यो समस्या समाधानका लागि काम गर्न सक्ने ठाउँमा पुग्नुभयो। तपाईंसँग अवसर छ। त्यस्तो कार्यक्रम र त्यस्तो कथा बोल्ने कार्यक्रम सञ्चालकबाट विश्वास नउड्ने गरी काम गर्नुहोला।
अनि गगन थापा, तपाईंले नै सुनाएका ती आठ कक्षामा पढ्ने विद्यार्थीले जस्तो तपाईंमाथि विश्वास गर्न नसक्ने अरू विद्यार्थी नहुन् भन्ने गरी काम गर्नुहोला।
विश्व भनेको धर्ती र गगन भनेको आकाश हो। बीचमा हुन्छ क्षितिज। क्षितिजले एक सुन्दर दिनको बिहानीको संकेत दिँदैछ। विश्व र गगनले एकअर्कालाई साथ दिए यो संकेत यथार्थमा परिणत हुनेछ। यो अवसर हो, कृपया यो ऐतिहासिक अवसर खेर जान नदिनुहोला।
तपाईंहरू, यो अवसर र आगामी सपना देखेर म आज छाती ठोक्दै देशप्रति सकारात्मक हुँदैछु।
मजस्ता लाखौं छन्। कृपया निराश नबनाइदिनू है!
@manishjhanepal