‘अहिले त शिक्षा आयोगमा धेरै नै कोटा खुलेको छ। तयारी त राम्रै होला नि तिम्रो?’
‘अलि अलि त पढिराछु तर खासै राम्रो तयारी भने छैन सर।’
‘किन त? कति बोर्डिङ स्कुलको जागिर खाएरमात्र बस्छौ, तिमी त विद्यालय तहको मेहनती,जेहेन्दार छात्रा, पहिले नै आयोगमा नाम निकाल्नुपर्ने,अब नि बेला त बितेको छैन,अवसर नि सधैं सधैं आउँदैन। राम्रोसँग कस्सिएर तयारी गर। तयारी पुगे सम्भावना बढी छ यो बेला नाम निस्कने। मेरो लागि भए पनि पढिदेऊ न है।’
‘पढ्ने त आफ्नै लागि हो नि हैन र सर?’
‘आफ्नै लागि भए पनि एउटा शिक्षकको आफ्नो असल,जेहेन्दार विद्यार्थीप्रतिको चाहना पनि हुन्छ नि। त्यो तिमीले पूरा गरेर देखाउनुपर्छ।’
‘हवस् सर। सानो बाबु नानी, घर परिवारप्रतिको जिम्मेंवारी, दिनमा जागिरजस्ता कारणले गर्दा समय व्यवस्थापन गरी एकचित्त भई पढ्न साह्रै गाह्रो भएको छ। सरले मेरै भविष्यको लागि भन्नुभएको हो, त्यो म महसुस गर्न सक्छु। आफ्नो पनि स्नातकोत्तर तह उत्तीर्ण भइसकेपछि मा.वि कोटामा नाम निकाल्ने रहर नभएको पनि कहाँ हो र? तर पनि खै भाग्यले साथ नदिएको हो कि, मेहनत नपुगेको हो कि, इच्छाशक्ति नभएको हो बुझ्नै सकेको छैन सर।’
‘हरेस खानु हुँदैन नानी, एकपटकमा नभए पटक पटक मेहनत गरी दिँदा एकदिन ढिलोचाँडो आफ्नो लक्ष्यमा अवश्य पुग्न सकिन्छ। अबदेखि मेरो लागि भए पनि बिहान सदाको झैं केही समय छिटो उठेर भए पनि पढ्ने गर है। तिमीजस्तो शिक्षकको खाँचो छ यहाँ। तिमीजस्तो मान्छेले गरेर देखाउनु पर्छ।’
विद्यालय तहमा पढ्दा जेहेन्दार छात्रा भएको हुँदा शिक्षकहरूले आफ्नो विद्यार्थीको सफलता देख्न चाहनु एक असल शिक्षकको विशेषता नै हो।
उहाँको मेरो लागि भए पनि पढिदेऊ है भन्ने शब्दले मनमा धेरै कुरा खेलिरहे।
घर,परिवार, इस्टमित्र, शिक्षकहरू आदि सम्पूर्णको आफूप्रतिको चाहना साथै आफ्नो पनि लक्ष्य मा.वि तहको शिक्षक हुने भएको हुँदा अब त जति नै अप्ठ्यारो परिस्थिति परे पनि पढ्छु भनी लाग्दछु।
एकछिन किताब निकाली बसी पढ्न लाग्दा साना छोरा छोरी ममी मलाई भोक लाग्यो, बहिनीले दिसा गरिन् धोई दिनु न,मेरो कपडा लगाई दिनु न आदि जस्ता उनीहरूका आवश्यकता पूरा गर्नु पर्दा केही मिनेट पढेको कुरा पनि छिनभरमै बिर्सनु कुनै नौलो कुरा भएन।
प्रतिस्पर्धाको समयमा नाम निकाली सरकारी जागिर खानु अब फलामको चिउरा चपाउनु बराबर नै भएको छ।
धेरै युवा पिढी बेरोजगार छन्। प्राइभेट जागिरमा कम तलबमा बढी खटिनु पर्ने, समयमा तलब नपाउने साथै बढी दबाबमा काम गर्नुपर्ने जस्ता कारणले प्राइभेट जागिरप्रति धेरैको वितृष्णा बढ्दै गइरहेको छ।
मानिसले लोक सेवाभन्दा शिक्षक सेवामा नाम निकाल्न सजिलो हुन्छ भने पनि हालको समयमा व्यापक पाठ्यक्रम र प्रतिस्पर्धीहरू उच्च हुनाले सानोतिनो मेहनतले सफलता हासिल गर्छु भन्नु सपनामात्र हो।
सफलता हासिल गर्न निरन्तर लगनशील भई विषयवस्तुको गहिराइमा डुबेर अध्ययन गर्नु अति नै जरूरी छ।
बिहान बेलुका चुलो चौको, घर सरसफाइ, दिनभर जागिरको थकान, साना केटाकेटीको सबै आवश्यकता पूरा गराई, घरको सबै धन्दा सकेर, अनि केटाकेटीलाई सुताएर आफ्नो इच्छा पूरा गर्न अब त समय व्यवस्थापन गरी एकाग्र भएर पढ्छु भनी लाग्यो थकित शरीर अनि तनाव ग्रस्त मस्तिष्कले के सम्झनु?
मनमा अनेक कुरा खेल्न पुग्छन्,अनि सोच्दा सोच्दै किताब सिरानी राखी त्यही निदाउन पुग्छु।
सपनामा पनि उहाँ सरले भनेको कुरा झल्झली देखेर बिहान छिट्टै उठ्छु। अब एकछिन पढेर उठ्छु अनि खाना बनाउने काम गर्नु पर्ला भनि पढ्न लाग्दा साना केटा केटीहरूले भोक लाग्यो, यसो भयो उसो भयो भन्दा कसरी पढ्न सक्नू!
भयो अब एकछिन काम गरी पढ्छु भनी लाग्छु आफ्नै नियमित कार्यतिर।
बिहे भएपछि एउटी बुहारीले घरको प्रत्येक सदस्यलाई खाना बनाई खुवाउनु पर्ने, घर सरसफाइ, इस्ट मित्रको मान राख्नैपर्ने आदि जस्ता कार्य पूर्खौदेखि चलिआएको परम्परा नै छ हाम्रो समाजमा।
यी सबै काम सकी पढ्नु बस्दा साना अबुझ केटाकेटीले गरेको कचकच साथै थकानपनाले शारीरिक आलस्यताले एकाग्र भएर पढ्न कसरी सकिन्छ खै?
मेरो एक जना सहकर्मी साथीले भन्दै थिइन्, ‘पढ्ने रहर भए जाबो खाना बनाई, घरको सानो तिनो काम गरी छोरा छोरी हेर्दै पनि पढ्न नि सकिहालिन्छ नि भन्दै बस्छन् घरका’ती शब्दले ती थकित शरीर र तनावग्रस्त महिलाको मनमा कस्तो असर पर्ला कसले बुझ्ने?
आफ्नो घरको छोरा जागिर खाएर आएर मस्त मोबाइलमा मात्र व्यस्त भई घरमा पकाएको खाएर यस्तो पकाएको! भनी उल्टो दोष लगाई चुठेरमात्र बस्दा केही नहुने तर त्यही घरमा कुनै अर्काकी छोरी आफ्नै घरकी बुहारी जागिर खाई आई घरको चुलो चौको,सरसफाइलगायत सम्पूर्ण कार्य गर्दा अलिकति पनि दया माया नपलाउने घरको सदस्यहरू कलियुगका दानव रूपी मानिस हुन् भन्दा केही फरक नपर्ला।
आफूले त सहयोग गरेनन् गरेनन् बुहारीले घरको काममा आफ्नो श्रीमानलाई मिलेर काम गरौं यति सहयोग गर्दिनुन भन्दा बुढालाई काम गराउँछे, कस्तो ‘जोइटिंग्रे’ भएछ बूढीले जे भने त्यही गर्छ भन्दै समाजमा कुरा काट्नपछि नपर्ने सासू-ससुरा पनि हुने भएकै कारणले गर्दा नै हो केही छोरा बुहारी बाध्य भएर सहर झरी बस्नुपर्ने बाध्य भएको।
आफ्ना घरका अरू सदस्यलाई त झन् यो सघाइदिनु भन्नु त परको कुरा भयो। बुहारीलाई छोरी सरह वा घरको सदस्य जस्तै मानी इज्जत गरे पो आफूले पनि सम्मान पाउँछन् भनी कहिले बुझ्ने खै?
सम्मान खोज्नेले सम्मान दिन पनि जान्नुपर्छ भन्ने बुझ्न जरूरी छ अब। उसका पनि रहर, इच्छा आवश्यकता र चाहनाहरू होलान् उसलाई नि साथ र सहयोगको खाँचो छ भनी कहिले बुझ्नै खै?
समय धेरै परीवर्तन भइसकेको छ। महिलालाई हेर्ने दृष्टकोणमा पनि परिवर्तन आएको छ।
सबै घर परिवारको सोच एकै किसिमको पनि छैन। बुहारीलाई पनि छोरी सरह व्यवहार गर्ने कयौं घर छन्। उहाँहरूलाई उच्च सम्मान गर्नु नै पर्छ। अझै पनि परम्परागत तरिकाले बुहारीलाई दबाउनै पर्छ,यसले मात्र हामीलाई सम्मान गर्नुपर्छ,घरको सम्पूर्ण काम गरेर बाँकी रहेको समयमा मात्र आफ्ना रहर पूरा गर्नुपर्छ भन्ने सोच हुनेले यो सोच परिवर्तन गर्न अति जरूरी छ।
यस्ता कयौं परिवार अझै पनि समाजमा छन्। बाहिर आदर्शको नारा लगाएर घरमा दबाब दिने कयौं उदाहरण छन्।
विवाहित महिला जसले यस्तो परिवार सामना गरी सबै कुरा व्यवस्थापन गरी आफ्नो सरकारी जागिर खाई आत्मनिर्भर हुने इच्छा राखी पूरा गर्नु भएको छ उहाँहरूलाई उच्च कदर गर्नेपर्छ। किनकि सबै व्यवस्थापन गरी लक्ष्य हासिल गर्नु सानो कुरा होइन।
स्कुल छँदा सरले माकुराले घरको भित्ता चढ्न लाग्दा धेरै पटकको संघर्ष अनि प्रयासले मात्र सफलता पाएको कथा याद गर्दै घर परिवारले साथ नदिएर के भयो त आफ्नो इच्छा पूरा गर्न निरन्तर लागि पर्छु भनी नलागेको पनि होइन। यो सरकारी जागिर भन्ने भाग्यमा पनि लेखेर आउनु पर्दो रहेछ कि जस्तो लाग्छ।
घरपरिवारको जिम्मेंवारी पनि चटक्कै छाड्न नसकिने रहेछ। पारिवारिक जिम्मेंवारी, छोराछोरीप्रतिको उत्तरदायित्व,आर्थिक अभाव, जागिर प्रतिको समय व्यवस्थापन, पटक पटक परीक्षा दिँदा भएको सफलता र नैराश्यता , शारीरिक थकान आदि जस्ता कारणले आफ्ना रहर मनमै सीमित गरेर राख्नुपर्छ कि भन्ने हुँदो रहेछ।
यस्ता समस्या १,२ जना महिलाको मात्र नभई हजारौं महिलाको हो। होला कतिपय पुरूषले घरको सारा काममा सहयोग गरी साथ हौसला दिनु भएको छ होला। उहाँहरूको साथको उच्च कदर गर्नु नै पर्छ। किनकि बिनासाथ सहयोग महिला एक्लै आफ्ना सम्पूर्ण इच्छा, रहर पूरा गर्न असमर्थ छिन्।
यस्तै विविध कारणहरूले गर्दा कयौं महिलाले विवाहपछि पढाइ पूरा गरेका छैनन्, पूरा गरे पनि विविध समस्या झेल्नभन्दा जागिर नै नखाई घर गृहस्थीमा मात्र सीमित भएका छन्।
कुन महिलालाई हुँदैन होला र पढाइ सकेर राम्रो जागिर खाई आत्मनिर्भर हुने? सम्पूर्ण परिवारको साथ बिना उनको कयौं इच्छा, रहर मरिरहेका छन्। जबकि एउटी महिला भित्रभित्र पीडित हुन्छिन् ,तब उनी र उनको परिवार बिल्कुलै खुसी, सुखी हुन कदापि सक्दैन।
त्यसैले घरको सबै काम महिलाको मात्र हो भन्ने सोच त्यागी सम्पूर्ण परिवार मिलेर गरी एउटी महिलाको आत्मनिर्भर हुने इच्छा पूरा गर्न सम्पूर्ण परिवारले साथ, सहयोग र उत्प्रेरणा दिई खुसी अनि खुसी परिवारको निर्माणतर्फ लागौं।