अष्ट्रेलियाले बोर्डर खोले लगत्तै इन्टरनेशनल स्टुडेन्टहरु अष्ट्रेलिया आउनेको लर्को लागिरहेको छ।
मेरो सम्पर्कमा आउनेहरुलाई मैले सिधैँ भन्ने पनि गरेको छु आउने भए आउँदा हुन्छ तर ब्याच्लर सकेपछि मात्रै। म किन यो भन्छु भन्दा यसको कारण छ। कारणहरू मैले भोगेको, देखेको, सुनेको, पढेको र बुझेको यीनै धेरै अनुभवहरु हुन्। तर आज त्यो कारणहरुको बारेमा लेख्दिनँ। यसको बारेमा लेख्न अर्को छुट्टै दिन र छुट्टै स्तम्भ चाहिन्छ।
तर आज एउटा रमाईलो प्रसंगको चर्चा गर्छु। एउटा टिनएजर्र भाइ र उसको परिवारको रहरको कुराहरु सुनाउँछु।
मध्यमवर्गीय परिवार अनि अठार वर्षको उहाँको छोराको कुरा हो। मेरो सम्पर्कमा उहाँहरु आउनुभयो। अष्ट्रेलियाको बारेमा आफूले जानेको बुझेको थोरबहुत जानकारी दिएँ। अनि जानकारी दिएपछि अन्तिममा उहाँहरुलाई प्रश्न गरेँ (सायद सुरुमै सोध्नुपथ्र्यो होला यो प्रश्न) किन छोरालाई यति सानैमा अष्ट्रेलिया पठाउँन लाग्नुभयो?
भाइको आमा बोल्नुभयो–वाध्यता। विदेश पठाउनु पर्ने वाध्यता।
मध्यमवर्गीय परिवार उहाँहरू। प्लस टुको परीक्षा दिने तयारीमा बसिरहेको छ छोरा। काठामाडौंको नाम चलेको महँगो कलेजमा ऊ पढ्छ। सम्भवतः मोटरसाइकल वा स्कुटी पनि छ होला। तर उहाँ भन्दै हुनुहुन्थ्यो छोरालाई अष्ट्रेलिया पठाउनैपर्ने वाध्यता छ भनेर।
एकक्षण लाग्यो मान्छेलाई नदेखिएका, नसोचेका अनेकौं बाध्यताहरुले घेरिरहेको हुन्छ सायद त्यही वाध्यताले घेरियो कि बा उहाँहरुलाई पनि। उहाँहरुको हकमा आर्थिक पाटोलाई सुधार्न छोरा अष्ट्रेलिया पठाउन लागेको पटक्कै थिएन। उहाँको जिज्ञासामा कलेज, उपयुक्त विषय, सेमेस्टरको पैसा इत्यादि केही थिएन त्यसैले पनि नेपालको शिक्षा गतिलो नभएर अष्ट्रेलिया पठाउन लागेको कारण वा वाध्यता उहाँहरुलाई सुहाउँदैनथ्यो।
मैले अड्कल लगाएँ उहाँहरुको वाध्यता–पक्कै पनि अल्छी, भनेको नटेर्ने, चुरोट, गाँजा, जुवा, ताँस, साथी संगत, प्रेम–विछोड, गुण्डागर्दी र अन्य त्यस्तैमा लागेकोले छोरालाई अष्ट्रेलिया पठाउन बाध्य भएर वाध्यता भयो भन्नुभयो जस्तो लाग्यो।
अनि डराईडराई पनि सोधेँ– कस्तो वाध्यताको कुरा गर्नुभएको हो र? बाबु त्यस्तो नपढ्ने अनि केही कुलत अथवा नराम्रो काममा त लागेको छैन नि ? अनि...
मेरो प्रश्न पूरै नसकिदै एकदमै निर्धक्क भएर आमाले नै भन्नुभयो– कहाँ हुनु, पढ्नमा त सिपालु छ छोरो। अलिअलि अल्छि त छ तर भनेको चाँहि मान्छ। अनि चुरोट त परै जाओस् सुपारी पनि चपाउँदैन यसले।
म फेरि मेरो पुरानै कुरामा आएँ– अरू कुनै वाध्यता छ अहिल नै पठाइहाल्नु पर्ने। बरू ब्याचलर्स सम्म सकाउन दिने कि उसलाई नेपालमा। त्यतिन्जेलसम्म अलि परिपक्क पनि हुन्छ। उसले दुनियाँदारी अनि त्यसको चालचलन पनि अलिअलि बुझ्छ कि? अलि परिपक्क भएपछि आउँदा उसैलाई सजिलो हुन्छ भनेर भनेको मात्रै। तर भन्नै नमिल्ने वाध्यता छ। अष्ट्रेलिया अहिले नै आइहाल्नुपर्ने छ भने त मेरो भन्नु केही छैन। बरू केही महिना उसलाई यहाँ उपयुक्त हुन सक्ने सिप सिकाउँनु होला।
मैले यत्तिनै सुझाव दिएको थिए।
भाइको आमा फेरि बोल्नुभयो- त्यस्तो भन्नै नमिल्ने वाध्यता चाँहि होइन। यसलाई के को कमी छ र यहाँ पनि। यसको बाउले सात पुस्तालाई पुग्ने सम्पत्ती कमाइदिएका छन्। यसको हरेक रहर पनि पुरानै गरिदिएका छौ। तर मान्छेलाई के के कुराले वाध्य बनाउँदो रहेछ नि।
उहाँको त्यो बाध्यता मैले अझैँ पत्ता लगाउन सकिनँ। अनि कुरा कोट्टाउने रहर पनि गरिनँ।
तर उहाँले आफ्नो वाध्यता सुनाउने रहर गर्नुभयो अनि मैले पनि नाइँ भनिनँ।
‘तिमी त आफ्नै मान्छे पर्छौ के लुकाउनू। जेठानीको एउटा छोरो सिड्नीमा छ जाने वित्तिक्कै काम गरेर महिनाको नेपाली तीन लाख जति कमाउँछ रे। खाली भेट्यो कि आफ्नै छोराको कुरा। यो तिलहरी छोराले किनिदिएको। घरमा छोराले पठाएको पैसाले रंग लगाएको। छोराले तपाइँहरु दुःख नगर्नू म पैसा पठाउँछु खुरुखुरु चार लिटर दूध किनेर खानु भनेको छ। मेरो त यो कुरा सुनेर कानै पाकिसक्यो। त्यसलाई देखाउन भए पनि छोरालाई अष्ट्रेलिया नै पठाउनु छ। त्यही माथि छिमेकी, आफन्त, यसकै साथीहरु, गाउँका तल्लो वर्गीय, जातजाती (उहाँको भाषामा), टोलकै सबैको छोराछोरी अष्ट्रेलिया गइसक्यो। अब यसलाई यहाँ राख्न पनि आफैँलाई लाज लागिसक्यो। त्यही लाज ढाँक्न पनि छोरा विदेश नपठाइ भएको छैन। यही छ वाध्यता हाम्रो।
अनि त्यही माथि मलाई मेल्वर्नको क्रिक्रेट स्टेडियम पनि हेर्नु छ। साथीहरुले फोटो खिचेर ट्याग गर्छन्। उताको नेपथ्यबाट कोही बोलेको जस्तो लाग्यो।
अनि भाइको आमाले यो कुरा छोडौं बरू बाबु यही छ बोल्नुहुन्छ एकछिन भन्नुभयो। मैले हुन्छ भन्न नपाउँदै उताबाट कति छिटो बाबुले– हेलो नमस्ते भनिहाल्यो।
अनि बाबुलाई त नेपाल बस्न मन लागेन रे नि त। बरू पढ्नै आउने हो भने मास्टर्स पढ्न आउँदा अलि सजिलो हुन्छ कि भनेर फेरि सुझाव दिन खोजेँ।
उसले मेरो कुरा यत्तिनि मनन नगरी–ह्या यहाँ बसेर केही काम छैन। राजनीतीक अवस्था उथलपुथल छ। अस्ति भर्खरै गएको साथीले आमाबुबालाई आईफोन पठाइसक्यो। अर्को साथीले त झन् पैसा पनि पठाइसक्यो रे। कामधाम केही नहुने देशमा बसिदैन।
अठार वर्ष पुग्दै गरेको एउटा युवाले कामधाम केही नहुने देश भनेर आरोप लगाएको र राजनीतिक परिवेशलाई दोष दिएको कुराले एकछिन म छक्क परेँ।
अनि फेरि उसलाई भनेँ –तिमीलाई थाहा छ? पछि सेमेस्टरको पैसा तिर्न नसकेर तिनै साथीहरुले त्यो आइफोन बेचेर भए पनि पैसा पठाइदिनुस् न बाआमा भन्छन् नि।
खै त्यो त थाहा भएन, राष्ट्र बैंकमा डलर घट्यो रे अब डलर कमाउन आउने हो अष्ट्रेलिया। यसो भनेर ऊ गलल हाँस्यो। उसको हाँसोसँगै छेउमै रहेका बुबाआमा पनि गलल नै हाँस्नुभयो। मैले पनि उहाँहरुको हाँसोमा हाँसो मिसाइदिएँ।
आजकालका टिनएर्जरलाई छोइसाध्य छैन। कुरा पनि कति कहाँबाट आउने हो जस्तो लाग्यो।
फेरि एकछिन पछि उसको बुबासँग बोलेँ। उहाँले भन्नुभयो–ह्या जाओस् जाओस्। हामीलाई ग्राजुएसनमा घुम्न बोलाउला नि त त्यहाँ। पछि कामधन्दा नभएर साउदी जानुभन्दा त अहिले उमेरमा नै अष्ट्रेलिया जाओस्। कमसेकम हामीलाई पनि त बोलाएर राख्छ।
मैले यो विषयमा केही भन्न नपाउँदै उहाँले फेरि सोध्नुभयो –बरु त्यहाँ कस्तो काम पाउँछ अनि घण्टाको कति दिन्छ?
यो देशमा कुनै पनि काम सानोतिनो त हुँदैन। धनी र गरिवले किन्ने ठाउँ एउँटै हुन्छ। सीइयो र म्यानेजरले पनि आफूले खाएपछि अफिसमा कप माझ्नै पर्छ। त्यसैले पनि कामको आदार भएको यो देशमा उसले आफ्नो क्षमता अनुसार जस्तो पनि काम पाउन सक्छ।
यदि आउने वित्तिक्कै अफिसमा बसेर गर्ने काम पायो भने छुट्टै कुरा नत्र भने सामान्यता सरसफाई, हाउसकिपिङ, केएफसी, रेष्टुरेन्ट, कोल्स वा सुपरमार्केटमा काम पाउन सक्छ भनेँ।
अनि घण्टाको? उहाँले फेरि यो प्रश्न दोर्याएर सोध्नुभयो।
त्यस्तै सुरुवातमा ट्याक्समा अठार, बीस वा पच्चीससम्म पनि हुन सक्ला। यो सबै कम्पनीको आफ्नो पोलिसी अनुसार हुन्छ। अनि फेरि क्यास, एबिएन भन्ने हुन्छ हो त्यसमा काम गर्यो भने दश, एघार, पन्ध्र डलर पनि दिन सक्छ। मैले जे थाहा पाएको थिएँ, जति ज्ञान थियो त्यति भनेँ।
ए कमै पाएछ भने पनि घण्टाको नेपाली एक हजार भइहाल्दोरहेछ। बरू भाडै माजोस् तर जाओस्। के गर्नु छोरा पठाउनु पर्ने वाध्यता छ। आमाले जस्तै वुवाले पनि वाध्यताको पुराण सुनाउनुभयो।
फोन राखेपछि मलाई अचम्म र हाँसो दुवै लाग्यो। त्यतीका पढेलेखेको परिवारले यी सारा कुरा भनेपछि कमसेकम छोरालाई अष्ट्रेलिया पठाउन लाग्नु एउटा बाध्यता होइन, एउटा हाम्रो रहर हो भनेर त स्वीकार्नु। तर ठिक विपरीत रहरलाई वाध्यताको नाम दिएको छ।
छोरालाई विदेश पठाउनु उसको आमाबुबाको वाध्यता त्यहाँ कदापि थिएन। न त त्यहाँ छोराले देशको विग्रदो राजनीतिक र आर्थिक स्थितिको तर्क गरेर वाध्यता हो भन्न मिल्थ्यो। त्यो त उहाँहरुको रहर थियो वाध्यता होइन।
उहाँहरुले वाध्यता भन्दै आफ्नो रहरहरु सुनाउँदै गर्दा अनुभव भयो यदि कुनै अपवादहरु छोडेर हेर्ने हो भने आजकाल प्राय धेरै युवा र उसको परिवारले वाध्यता र रहरबीचको भिन्नता छुटाउँन जान्दैनन् वा जान्दा जान्दै पनि भन्न चाहँदैन।
छोराछोरी पढेन त्यसैले वाध्य भएर अष्ट्रेलिया पठाउँनुपर्यो। छोराछोरीहरु कुलतमा लागे अनि वाध्य भएर अष्ट्रेलिया पठाउनु पर्यो। छिमेकीको छोराछोरीले विदेश देखिसके त्यसैले वाध्य भएर हाम्रालाई पनि अष्ट्रेलिया पठाउनु पर्यो। देशको स्थिति राम्रो छैन त्यसैले वाध्य भएर अष्ट्रेलिया पठाउनु पर्यो।
साथीभाइहरुले जाने वित्तिक्कै आइफोन र पैसा पठाइसक्यो र आफूले पनि त्यस्तै गर्न वाध्य भएर अष्ट्रेलिया जानुपर्यो। एउटा जाबो घर काठमाडौँ वा रोड साइडमा पनि भएन त्यसैले घर जग्गा घरौटीमा राख्न वाध्य भएर पनि अष्ट्रेलिया पठाउनु पर्यो।
आफन्तले गाडी चढिसक्यो आफू अझैँ माइक्रोमा नै त्यसैले पनि वाध्य भएर अष्ट्रेलिया त जानैपर्यो एउटा गाडी किन्न। एक तले मात्रै घर भयो अब दुई तले बनाउन ऋण खोजेर भए पनि अष्ट्रेलिया पठाउँन वाध्यता नै भयो।
यस्ता यस्ता धेरै रहरले, विलासिनताको भावले मान्छेलाई सधैँ वाध्य बनाइरहन्छ अनि वाध्यताको ओढ्ने ओढेर वास्तविक वाध्यता के हो नै भुलिदिन्छन्।
यदि वास्तवमा वाध्यता नै हुन्थ्यो भने पन्ध्र बीस लाखभन्दा पनि वढी खर्च गरेर, नक्कली कागजपत्र बनाएर, ऋण काँढेर मिटर ब्याजमा अष्ट्रेलिया नै आउँदैनथ्यो होला। विलासी जीवन विताउने, स्वतन्त्रताको अधिक उपयोग गर्ने, सेवासुविधाहरु लिने सोचले जान लागेको मुलुक वाध्यता भन्दा पनि बढी रहर हो।
साँचो वाध्यताले पहिलादेखि नै व्यक्तिको मन चालिस डिग्रीको घामको रापले पोलिसकेको हुन्छ। वाध्यताले पहिलादेखि नै रहरहरुमा ठेला उठिसकेको हुन्छ। वाध्यताले व्यक्ति पहिलादेखि नै खाली पेटमा सुतिसकेको हुन्छ, बाध्यताले पहिलादेखि नै पानी र प्याजसँग भात खाइसकेका हुन्छन्। वाध्यताले सरकारी कलेजको रजिष्ट्रेसनको शुल्क भर्ने पैसा पनि अपुग हुन्छ। अनि सबैभन्दा महत्वपूर्ण कुरा वाध्यताले कुनै देश रोजी छोडी गर्दैन। त्यसैले पनि उहाँहरु जस्तो अभिभावक र विद्यार्थीहरु वाध्यताले अष्ट्रेलिया आउन खोजेको होइन। अरूलाई देखाउन, मनको रहर पुरा गर्न र विलासी जीवन पुरा गर्न आउन वा पठाउन खोजेको हो।
भाडा माझ्ने रहर, भाडा मझाउने रहर, ट्वाईलेट सफा गर्ने रहर, टुवाइलेट सफा गराउने रहर, होटलको बेडहरू मिलाउने रहर, सपिङ सेन्टरको सामानहरु पुछ्ने रहर, ट्रेन स्टेशन सफा गर्ने रहर, फार्ममा गएर सुन्ताला र स्याउँ टिप्ने रहर, टिपाउने रहर इत्यादि।
यी सबै रहरले निम्याएको यो एउटा वाध्यता मात्रै हो। भिसा सकिसकेपछि पनि बसिरहने, कामको दुःख भयो भन्दै पनि बसिरहने, बीसौँ वर्ष पीआरको चक्करमा पनि डुलिरहने, सन्तानको खुसीको लागि भनेर बुढेसकालमा पनि गरुङ्गो सामान उठाइरहने, देशको औधि माया लाग्छ तर जानै सकिदैन भन्दै चालिसौँ वर्ष विताउने।
यो सबै रहरहरु हुन्। कुनै वाध्यता होइन। यहाँ कसैले कसैलाई केही चिजमा वाध्य बनाउँदैन। रहरले मानिस आफैंलाई बन्दि बनाइरहेको हुन्छ अनि दोष वाध्यतालाई दिन्छ।