मानिसहरूको मृत्युको प्रमुख कारण भनेकै धूम्रपान, मद्यपान र सुर्तीजन्य पदार्थको अत्यधिक सेवन हो।
विभिन्न अध्ययन अनुसार करिब २० प्रतिशतले धूम्रपान तथा मद्यपानको सेवनबाट ज्यान गुमाएका छन्।
मानिसहरू विभिन्न कारणले सुर्तीजन्य पदार्थको सेवन गर्छन्, कसैको घरायसी कारणले, कसैले खराब साथीको संगतले त कसैले आर्थिक अभावको कारणले पनि विभिन्न बहानामा सेवन गर्छन्।
यसले पछि ठूलो रूप लिन्छ। लगातार धुम्रपानको सेवनले एक किसिमको लत बस्नु त छँदैछ, यसले पछि छोड्न धेरै गार्हो हुन्छ।
बानी बस्दै जाँदा शरीरमा विभिन्न किसिमका रोग निस्कनुका साथै अत्यधिक सेवनले मानिसको मृत्युसमेत हुने गरेको छ। चिनी धेरै खाए तीतो हुन्छ भनेझै अत्यधिक सेवन गरे यसको परिणाम क्यान्सर अनि मृत्यु हुन्छ।
धेरै मानिसको सोचाइ के हुन्छ भने ‘बरू मरिन्छ, तर लागेको बानी छाड्न सकिन्नँ।’ होइन, छोड्न चाहे मानिसहरूले पक्कै छोड्न सक्छन्।
यसको निरन्तर सेवनले परिवार बिग्रन्छ, साथीभाइ, इष्टमित्र बिग्रन्छन्, समाजमा नकारात्मक असर गर्छ, भएको इज्जत पनि जान्छ र अन्त्यमा मृत्युसमेत हुन्छ। त्यसैले आम नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू! मद्यपान, धूम्रपान र सुर्तीजन्य पदार्थबाट हामी सधैं टाढा बस्ने गर्नुपर्छ। एउटा चुरोट किन्ने पैसाले बालबालिकालाई कापी किन्न पुग्छ। घरमा तरकारीहरू किन्न पुग्छ। त्यसैले आजैबाट धूम्रपान र सुर्तीजन्य पदार्थबाट टाढै रहौं।
सरकारका तर्फबाट पनि गाउँगाउँका बस्तीमा धूम्रपान, मद्यपान र सूर्तीजन्य पदार्थको सेवनबाट टाढै रहौं भन्ने खालका प्रचारप्रसार गर्नु जरूरी देखिन्छ। सरकारले तोकेको मापदण्डअनुसार बिक्री–वितरण गर्नुपर्छ र व्यवसायलाई मर्यादित बनाउनुपर्छ।
सरकारले २०६८ सालमानै सुर्तीजन्य पदार्थ (नियन्त्रण र नियमन गर्ने) ऐन र नियमावली ल्याइसकेको छ। उक्त ऐन अनुसार सार्वजनिकस्थलको एक सय मिटर दूरी वरपर चुरोट, बिँडी, तमाखु, सुल्फा, कक्कड, खैनी, गुट्खाको प्रयोग र बिक्री वितरणमा रोक लगाएको छ।
ऐनको उपदफा ४ मा ‘कसैले पनि फुटकर रूपमा चुरोट, बिँडी वा सिगारको खिल्ली बिक्री वितरण गर्न नपाउने,’ उल्लेख छ। तर, विडम्बना अस्पतालका गेट, पार्कलगायत सार्वजनिक स्थानमै चुरोटलगायत सुर्तीजन्य पदार्थ बेच्न राखिएका छन्। फुटकर रुपमै चुरोट खरिदबिक्री भइरहँदा सम्बन्धित निकाय मूकदर्शक बनेका छन्।
ऐन, नियमावली मात्र होइन्, सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन निर्देशिका, २०७१ समेत जारी गरिसकेको छ। तर, ऐन, नियमावली र निर्देशिकासमेत जारी भइसकेको अवस्थामा यसको कार्यान्वयन हुन सकेको छैन।
मैले धेरै पहिले देखि सुन्दै आएको ‘ध्रुम्रपानले लिन्छ ज्यान’ साच्चीकै मैले नजिकबाट नियाल्न पाएँ।
म सानै हुँदा जिज्ञासु हुँदैं हेर्थें, बादलजस्तै धुवाँको मुस्लो बुवाको नाक र मुखबाट उडिरहेको। चुरोटको खिल्लीलाई ओठको चेपमा अडाएर बेलाबेलामा उहाँ लामो सास लिनुहुन्थ्यो। उहाँ दिनमा दर्जनौं पटक बढी चुरोट तान्नुहुन्थ्यो। तर मेरो बाल मस्तिष्कलाई के थाहा त्यो चुरोट मिश्रित गन्ध मेरो आमाका लागि अभिसाप बन्छ भनेर।
मेरी आमा चुरोट नपिउने भए पनि बुबाले खाएको चुरोटको धुँवाकै असरले क्यान्सरसँग लड्दा लड्दै ४२ वर्षको कलिलो उमेरमै बित्नुभयो। त्यसको २ वर्षपछि बुबाले पनि सोही कारण हामीलाई छाडेर जानुभयो।
आमा-बुबाको उपचारका लागि लाखौं खर्च भयो। पुर्ख्यौली एउटा घडेरीसमेत बेच्नुपर्यो तर उहाँहरूलाई बचाउन सकिएन। हो, त्यहाँदेखि म चुरोट र सुर्तीजन्य पदार्थबाट टाढै रहेँ।
आफू सुर्तिजन्य पदार्थबाट टाढा रहे पनि आफूजस्ता अन्यलाई कसरी बचाउन सकिन्छ भनेर दिन रात घोत्लिन्थेँ।
मैले सानै उमेरमा भोगेजस्तो पीडा कसैले भोग्न नपरोस् भन्ने मेरो एकमात्र चाहना छ। जो कोहीले मेरो अभिभवाकले जस्तो अकालमा ज्यान गुमाउनु नपरोस्। आज म ललितपुर महानगरको नगर प्रहरी प्रमुख छु।
सरकारले विभिन्न कानुन तर्जुमा गरे पनि कार्यान्वयन नगरेको ठहर गर्दै महानगरपालिकाले ललितपुरलाई धुम्रपान निशेधित नगर बनाउने योजना अघि सारेको छ।
महानगरको योजनालाई मेरो यो कार्यले केही हदसम्म सहयोग पुर्याउनेछ।
तपाईँ र म एक दुई जनाले छोडेर यो तत्काल निर्मूल हुने होइन तर बिस्तारै यसलाई जनचेता फैलाउँदै लगियो भने भावी पुस्तालाई बचाउन सकिन्छ। त्यसैले यसको सुरूवात आफैंबाट गरेको हुँ।
यसका लागि मैले आफ्नो दायाँ हातमा ‘नो स्मोकिङ’ को ट्याटु खोपाएको छु।
यसअघि आफ्नो बायाँ हातमा ट्राफिक व्यवस्थापन र ट्राफिक नियम पालना गराउनुमा सबैभन्दा पहिले आफू सुरक्षित हुनुपर्ने भन्दै ‘ट्राफिक नियम पालना गरौ’ भनेर ट्याटु खोपिसकेको छु।
आज फेरि अर्को हातमा ट्याटु खोप्दा धेरैले मलाई हात बिगारेको भनेर कराए, गाली गरे।
हाम्रो शरीरमा सानो काँडा बिझ्दा त दुख्छ भने सियोले लगातार १ घन्टासम्म घोँच्दा कति दुख्यो होला?, कल्पना गर्नुहोस्।
तर मैले किन हात बिगारेँ भन्दा मसँग जोडिन आउने जो कोहीले पनि धुम्रपान हानिकारक छ भन्ने हेक्का होस्। यसबाट दुई-चार हुँदै सयौं जना सुरक्षित हुनसक्छन् र बालबच्चाले अभिभावकविहिन हुनुपर्नेछैन।
धुम्रपान गर्नेको संख्यामा कमि हुनासाथ क्यान्सरबाट ज्यान गुमाउनेको संख्या कमी गर्न सकिन्छ।
जब मैले हातमा ट्याटु खोपाएर घर पुगेँ। श्रीमतीले गाली गर्ने होला भनेर डराइरहेको थिएँ। किनकि, यसअघि पनि हातमा ट्याटु खोप्दा श्रीमतीलाई सम्झाउन मलाई निकै गाह्रो परेको थियो।
तर यसपालि म भन्दा खुसी उनी नै भइन्। किनकि, आजभन्दा ४० वर्ष अगाडि उनले मलाई मन पराउनुको एक मात्र कारण मैले चुरोट नपिउनु नै थियो।
म भन्दा जेठी र पढाइमा अब्बल उनको बिहे म सँग गर्न उनको परिवार राजी थिएन। तर उनले त्यतिबेला ‘उहाँले मलाई माया गर्नुहुन्छ। अर्को कुरा चुरोट खानुहुन्न, यस्तो मान्छे पाउन सकिन्नँ, म उहाँसँगै बिहे गर्छु’ भनेर जिद्दी नगरेको भए सायदै आज म कहाँ हुन्थ्यो त्यो मलाई थाहा छैन।
एकातिर बुबा आमाको बिछोड सहेको मलाई यही चुरोट नखाएकोले आफूलाई बुझ्ने श्रीमती पाएको छु। हाम्रो प्रेम सफल भएको छ।
मेरो ट्याटु खोप्ने भाइले भनेको थियो- सर एक पटक सोच्नुहोस् २०-२५ वर्षको केटोले त लहैलहै र रमाइलोको लागि यो चोट सहन सक्ला। तर, ५६ वर्षको बुढोले कसरी सक्नुहुन्छ, नगरौं। उसलाई थाहा थिएन मैले के लेख्न लागिरहेको छु।
मैले ‘यो मेरो रहर होइन, अरूको जीवन सुरक्षित पार्न आफूले ट्याटु बनाउन लागेको हुँ, जनचेतनाका लागि बनाउने ट्याटुको दुःखाई सहन सक्छु’, भने।
उसले के लेख्ने भनेर सोध्यो, मैले ‘NO SMOKING’ भनेँ। मैले यसो भन्नासाथ पसलमै बसेर चुरोट खाइरहेका अर्को भाइले हतार हतार चुरोट फाले। मसँग जाने नगर प्रहरी भाइबहिनी पनि मेरो कुरा सुनेर छक्क परे। किनकि, मैले हातमा यस्तो लेख्छु भनेर उनीहरूले समेत सोचेका थिएनन्।
त्यहाँ ट्याटु खोप्ने भाइ पनि खुसी हुँदै आफूले पहिलो पटक यस्तो चेतनामुलक काम गर्न पाएको बताए।
‘यहाँले यस्तो राम्रो काम गर्न लाग्नुभयो। यहाँ त मान्छेहरू श्रीमती, छोराछोरी र प्रेमि-प्रेमिकाको नाम लेख्न आउँछन्। तर तपाईले अरूका लागि आफ्नो हातमा ट्याटु खोपाउँदै हुनुहुँदो रहेछ। सलाम! उनको कुरा सुनेर खुसी लाग्यो।
हो, मैले आफ्नो हात बिगारेर ट्याटु बनाउँदै थिएँ। तर समाजका लागि केही गर्ने सोच राखेको मलाई यो सियोले घोचेको दुःखेको महसुस पनि भएन।
मैले ट्याटु खोपेकै दिन ललितपुर महानगरपालिकाका नवनियुक्त मेयर चिरीबाबु महर्जन र उपमेयर मञ्जली शाक्यको सपथग्रहण र पदबाहली कार्यक्रम थियो। कार्यक्रम दौरान स्यालुट गर्ने क्रममा हात दुखेर त्यति मजाले गर्न नसकेपछि सँगै भएका महानगरका एक जना सिनियर अफिसरले सोध्नुभयो। के भयो?
मैले सर्टको टाँक खोलेर भर्खरै खोपाएर आएको भनेर भन्नासाथ उहाँले हत्तपत्त छोप्न लगाउनु भयो। किन? भनेर सोधेँ। उहाँले भन्नुभयो ‘अब म चुरोट खाने मान्छेलाई हात बिगारे यस्तो लेखेपछि के होला?’, दुबै जना हास्यौं।
यो ट्याटु हेर्दा सामान्य लाग्ला तर, यसको पालना गर्दा अल्पायुमै ज्यान गुमाउने खतरा कम हुन्छ। आफू बच्नुका साथै अरूलाई पनि बचाउन सकिन्छ। धन र जनको क्षति कम हुन्छ।
अब म जाने हरेक कार्यक्रममा मेरो हातमा बनाएको ट्याटु देखाउनासाथ दुई चार जनाले मात्र ‘सितारामको हातमा ‘नो स्मोकिङ’ र ‘ट्राफिक नियम पालना गरौं’ भन्ने छ भनेर मात्र सम्झिए भने पनि उनीहरू केही हदसम्म सुरक्षित रहन सक्छन्।
महानगरलाई नमूना नगर बनाउने र नगरबासीलाई सुरक्षित बनाउने उद्धेश्य लिएर सेवा सुरू गरेको छु।
ललितपुर महानगरपालिकाले हाल पाटन दरबार परिसर, पुल्चोक गाःहिटी (महानगरपालिका भवन अगाडिको पार्क), जावालाखेल र लगनखेललाई ‘नो स्मोकिङ जोन’ घोषणा गरिसकेको छ।
सोहीअनुरूप आम सर्वसाधारणलाई विनम्रतापूर्वक नमस्कार गरेर प्रतिबन्धित क्षेत्रमा सुर्तीजन्य पदार्थको प्रयोग नगर्न आग्रह गर्ने अभियान सुरू गरिएको छ।
यसअघि म सेवा अवधिमा रहँदासम्म विभिन्न नयाँ नयाँ उपाय अपनाएर ट्राफिक शिक्षा, स्वास्थ्य सचेतना दिएँ। मान्छेहरूले मलाई चटकेसम्म भने। तर, हाम्रोमा अझै पनि चेतना पुगेको छैन।
जबसम्म ट्राफिक चेतना र स्वास्थ्यको ख्याल हरेक नेपालीमा पुग्दैन तबसम्म दुर्घटनामा कमि हुन्न।
व्यवस्थित ट्राफिक अनुशासनको निर्माण र नागरिकहरूले स्वास्थ्यको निमय पालना गर्दा मुलुकमा मानवीय र भौतिक क्षतिमा कमी आउने मात्र होइन मुलुक सभ्य, व्यवस्थित, सुन्दर र समृद्ध बन्छ।
त्यसैले पहिला आफू नियम पालना गर्ने अनि अरूलाई भन्न सहज हुन्छ भनेरै मैले हात बिगारेको हुँ। सबैभन्दा पहिला आफू, परिवारका सदस्यहरू, साथीभाइ तथा कक्षा लिने ठाउँमा विद्यार्थी र अरूलाई देखाउन सहज हुन्छ भनेरै मैले यो निर्णय लिएको हुँ। आफू स्वस्थ्य रहौं। अरूलाई पनि स्वस्थ्य बनाऔं।