२ प्याकेट दूध किनेर हजारको नोट दिँदा अलि अघि पसलले खुजुरा दिनुस् न, बिहानै यत्रो नोट कसरी फिर्ता दिनु भनेको स्मरणमा ताजै छ।
हजारको नोट सबैभन्दा ठूलो, त्यसलाई अझ दरो बनाउन विराजमान हात्ती। यो नोटलाई गोजीमा राख्न गिटी अनवरत फोर्ने हामी सबैलाई यो नोट पनि लुते लाग्न थालेको छ। विहान अटसमटस फुकेको हात्ती साँझै नपर्दै मुसा भएको छ। दुध पसले हाँस्दै, एक पोको दूध बेच्दै हजारको नोट सय जसरी हिसाव गरेर फिर्ता गर्दा महंगीले सेकाएको ढाड नमिठोसँग दुख्दोरहेछ।
दूध पसलबाट सुरु भएको दिनको खर्च तरकारी, तेल–खाने अनि भर्ने दुवै हँदै अड्डाका खाजा, नास्तासम्म पुग्दा नपुग्दै हात्ती अलप। अनि आजभोलि हात्ती भिमकाय, ठूलो भन्ने कुरो झुट नजिक पुगिराख्दा लाख कै नोट छाप्न पर्ने देखिएको छ, नोटमा ह्वेलमाछा नै राख्नपर्ने भो। हुनत ह्वेल हाम्रातिर देखिंदैन, डाइनासोर पनि उहिले नै अलप भइसक्यो।
निर्यात भन्दा आयात धेर भएपछि ब्यापार घाटा हुन्छ। यो हिसावलाई कति बुझियो, बुझिएन। दिनको तलबले ठीकैको रेष्टुरेन्टमा एक छाक मज्जाले खान नसक्ने अवस्थामा बाँच्नुपर्ने मूलुक अनि बासिन्दामा परिएको चाँहि साँचो हो। एकदमै महंगो देश अनि शहरका बासिन्दाले पनि एक दिनको कमाइले एकछाक खाँदा यतिधेर सोच्नपर्ने अनि खानै नसक्ने स्थिति छैन।
कर्मचारीको तलब बृद्धिलाई हेरम्। १५ प्रतिशतको बृद्धिलाई एक वर्षमा झण्डै दोब्बर पुगेको तेलको भाउले तलब बृद्धि भएको महशुस पनि नगराई महंगी एडजस्टमेण्ट पनि ठीक तरिकाले नहुने देखियो।
फेरि आइतबारको बिदा दिनुपर्ने स्थिति पो देखिदैंछ। करिब ११ प्रतिशतले इन्धन खपत कम भएको बुझिएको छ आइतबार बिदा दिँदा। महंगीले अरू ११ प्रतिशत कम हुने, वैकल्पिक उर्जाले स्थान पाउँदा डलरमा किन्ने तेलबाट केही छुट मिल्ने थियो।
बिदाका विषयमा सरकारी निर्णय– दिने र हटाउने दुवै हतार मानसिकताको उपज देखियो। ब्यवहारिक पाटामा गाली गर्ने हाम्रो पनि सुझबुझ उस्तै छ। बुढानिलकण्ठ बस्ने अभिभावकले जावलाखेलको स्कूलमा पढाउने अनि जाउलाखेल तिरकाले बुढानिलकण्ठ छोराछोरी दौडाउने। यो भागम्भागमा बच्चाले पाउने दुख बिर्से पनि तेल चाँहि धेरै नै धुँवा हुनेभो।
भान्सादेखि शयन कक्षसम्म सबै आयात गर्नेले तेलको प्रयोगमा मितब्ययी बन्ने कसरी? कार्यालयका हाकिम कुर्सी पछाडि हुने रुमाल, हाकिमलाई चाहिने ठूलो कोठा, गाडीबाट ध्यान जब सेवाग्राही तिर सोझिएला मोड तब सुरू होला। कुरोको चुरो महंगीको गति जेटको अनि तलब/कमाई चाँहि कछुवा गति हुँदा सारमा तलब यति बढ्यो उति बढ्यो भन्नु मिठो सपना देखेर रमाउनु मात्रै हो।
अनि पीडा त त्यतिबेला नि हुनेरहेछ जब सबैभन्दा ठूलो नोट नै बगलीमा हुँदा नि एटिएम खोज्न हतारिनुपर्ने हुँदोरहेछ। धेरै तलब दिने भन्ने संस्थानबाट जीवनभर सेवा गरेर निवृत्त हुँदा पाएको सबै पैसाले काठमाडौंमा एकआने हुन पनि नसकिँदो रहेछ, यो अर्को पीडा। अब लाखको नोट नछापी भो त हजुर?