सानै उमेरमा अन्तर्राष्ट्रिय जगतमा चम्किएका नेपाली राष्ट्रिय टिमका पूर्व कप्तान सन्दीप लामिछाने यतिखेर इन्टरपोलको खोजी सूचिमा टाँगिएका छन्।
क्यारेवियन प्रिमियर लिग खेल्न वेष्टइन्डिज पुगेको बेला उनी १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोपमा मुछिए। त्यसपछि खेललाई बीचैमा टुंग्याउँदै उनी त्यहाँबाट सम्पर्कबिहिन भए।
नेपाल क्रिकेट संघ क्यानले उनलाई निलम्बन गर्यो। प्रहरी प्रसाशनको सम्पर्कमा नरहेका लामिछानेविरूद्ध इन्टरपोलले डिफ्युजन नोटिससमेत जारी गरेको छ। अनुसन्धानमा बाधा पुगेपछि नेपाल प्रहरीले इन्टरपोलको डिफ्युजन नोटिस जारी गरेसँगै उनी चाडै प्रक्राउ पर्ने सम्भावना छ।
राष्ट्रिय क्रिकेट टिमका कप्तान रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।
भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।
उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। लामिछानेविरूद्ध पुर्जी जारी भएपछि काठमाडौं प्रहरीले उनलाई पक्राउ गर्न विभिन्न नाकामा पत्राचार गरेको छ। यस्तै जहाजबाट नेपाल फर्किनेबित्तिकै पक्राउ गर्न भनेर अध्यागमनको कालोसूचीमा पनि राखेको छ।
उनीविरूद्ध जाहेरी परेपछि क्यानले नै उनलाई सम्पर्क गरेको थियो। क्यानका कार्यवाहक सचिव प्रशान्तविक्रम मल्लसँग सेतोपाटीले गरेको कुराकानीमा सन्दीपले आफू निर्दोष रहेको र आफूलाई सहयोग गर्न आग्रह गरेका थिए।
त्यसको भोलिपल्ट गत शुक्रबार सन्दीपले सामाजिक सञ्जालमार्फत् घटनाको विषयमा बोलेका थिए। उनले आफू निर्दोष रहेको र आफूविरूद्ध परेको उजुरीको सामना गर्न नेपाल आउने बताएका थिए।
त्यसका लागि आफू केही दिनमै नेपाल फर्किने बताएका थिए। उनले आफूले क्यारेबियन प्रिमियर लिग टिम जमैका छाडेको पनि बताएका थिए। इएसपिएन क्रिकइन्फोले भने सन्दीपलाई टिमबाट निकालेको उल्लेख गरेको थियो। साथै तत्काल नेपाल फर्काउने सिपिएलले बताएको थियो।
सन्दीपलाई काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएसँगै क्यानले राष्ट्रिय टिमबाट निलम्बन गरेको थियो।
तर लामो समयसम्म पनि प्रहरी प्रशासनको सम्पर्कमा नरहेर एकाएक गायव भएका सन्दीप कता लुकेर बसेका छन् वा कानुनबाट बच्न कुनै उपाय खोज्दै छन् कि भन्ने प्रश्न उठ्न थालेको छ।
खेलकुदको माध्यमवाट छोटो समयमा मुलुकको पहिचानसँगै समृद्धि कमाएका सन्दीपमाथि लागेको संगीन आरोप प्रमाणित भएमा उनी लामो समय जेल सजायको भागिदार बन्न सक्छन्, जसको परिणाम हो-उनको खेल जीवन समाप्ती।
हुन त भन्न कुनै अप्ठयारो मान्नु पर्दैन। नेपालमा सन्दीप भन्दा धेरै राम्रा स्पीनरहरु राज कुमार प्रधान, सन्जम रेग्मी, शक्ति गौचनहरू नभएका होइनन् तर उनले जुन एक्सपोजर पाए र त्यसलाई खेल कौशलले भजाए यसले छिट्टैनै उनलाई अन्तर्राष्ट्रिय क्रिकेटको उचाइमा पुर्यायो।
सानै उमेरमा शान, मान र दाम कमाएपछि कतै सन्दिपमा घमन्डले सीमा नाघेर मैले जे गर्दा पनि हुन्छ भन्ने सोच पलायो कि! मनोविज्ञानलाई नियाल्ने हो भने पछिल्लो घटनाले त्यस्तै केहि छनक भने देखाएको छ।
राष्ट्रिय क्रिकेट टोलीको बन्द प्रशिक्षणमा रहेको कप्तान विदेश हिँड्न एक दिनअघि गाडी लिएर ‘मोजमस्ती’मा हिँड्नु र अकै होटलमा रात बिताउनुले पनि यो नियतीलाई अलिअलि बल पुगेको छ।
बन्द प्रशिक्षण अर्थात सामुहिक रूपमा बसोबास अनि नियमित प्रशिक्षण। त्यसका लागि व्यवस्थापक, प्रशिक्षक, सहायक प्रशिक्षक लगायतको जिम्मेवारी। यस्तो अवस्थामा कप्तान अर्थात नेतृत्वदायी भूमिकामा रहेका सन्दीपको गैर जिम्मेवारीपनले हदको सीमाना नाघेको र होटलमा रहेका व्यवस्थापक, प्रशिक्षकको पनि लापरबाही स्पष्ट रुपमा झल्किन्छ।
राष्ट्रिय टिमको बन्द प्रशिक्षणका दौरान घटना भएपछि बन्द प्रशिक्षणका क्रममा भएका कमजोरीको विषयमा छानबिन गर्न माग पनि उठिरहेका छन्।
यसरी बन्द प्रशिक्षणको नियम कप्तान स्वयंले नै तोडेको र उनीमाथि नाबालिगलाई बलात्कार गरेकोजस्तो गम्भीर आरोप लागेको विषयमा क्यानले अहिलेसम्म छानबिन थालिहाल्न जरूरी ठानेको छैन। अर्कातर्फ बन्द प्रशिक्षणका दौरान खेलाडीको सबै जिम्मेवारी क्यान व्यवस्थापनको हुन्छ। पारिवारिक कारणले खेलाडी बाहिर जान पनि अनुमति माग्नुपर्छ।
क्यानले व्यवस्थापनको विषयमा छानबिन गर्न सकिने बताए पनि अहिलेसम्म कुनै औपचारिक छानबिन समिति गठन गरेको छैन।
भारतीय इन्डियन प्रीमियर लिगबाट झुल्कीएका र अस्ट्रेलियन बिग बासमा चम्किएका सन्दीपले त्यसपछि आफ्नो व्यवसायीकतालाई बिस्तार गर्दै क्यारेवियन क्षेत्रमा पकड जमाइसकेका थिए।
अस्ट्रेलियन भूमिमा मेलवर्न स्टार्स र होवार्ट हुरिकेन्सबाट उनले वाहावाही कमाइसकेका थिए। सानै उमेर गर्विलो प्रस्तुति र केही महत्वाकांक्षी स्वभावका कारण पनि उनी अस्ट्रेलियन लिग बिग बासमा चर्चाका पात्र बनिसकेका थिए।
विश्वमै क्रिकेटको उर्वरभूमि मानिने अस्ट्रेलियामा उनलाई यस पटक पनि बिग बासमा रोजाइको सूचिमा थिए। तर अचानकको घटनाक्रमले सन्दीप मात्र होइन यहाँका नेपालीलाई पनि निकै खल्लो र नराम्रो लागेको छ।
यदि सन्दीपले गल्ती गरेका होइनन् र आफूमाथि लागेको आरोप मिथ्या हो भन्दैछन् भने उनी किन भागेर हिँडेका छन्।
पछिल्लो पटक सामाजिक सञ्जालमा उनले मानसिक रूपमा तनावग्रस्त र बिग्रँदो स्वास्थ्य भन्नुको अर्थ के हो? अर्थात उनलाई कसैले नेपालमा बसेर गलत सल्लाह त दिइरहेका छैनन्? मन्ने आशांका उब्जिएको छ।
उनीमाथि लागेको यति संगीन आरोपको पृष्टि भइनसक्दै किन आत्तिएका छन्। कहिले सिंगापुर त कहिले थाइल्यान्ड भन्दै अनेकन समाचारहरु बजारमा आइरहेका छन्। यदि गल्ती गरेका छैनन् भने भागिभागि हिँड्नुको कुनै अर्थ रहँदैन।
हुन त उनी अली एटिच्यूड भएका खेलाडी पनि हुन्। उनलाई लाग्न सक्छ-मैले मुलुकको लागि यत्रो खेलेँ र नाम कमाएँ। तर मुद्दा इन्टरपोलका डिफ्युजन नोटिससम्म पुग्दै गर्दा उनले जे गरे त्यो ठिक हुँदै होइन।
उनी क्यारेवियन लिगबाट सिधै नेपाल फर्केर अनुसन्धानमा सहयोग गर्नुपर्थ्यो। सामाजिक सञ्जालमा आफू निर्दोष भन्दै हिँडने अनि देश बिदेश भाग्दै हिँड्नुलाई कतै उचित मानिदैन।
भोलि कुनै देशबाट इन्टरपोलले पक्राउ गर्दै गर्दा अन्तर्राष्ट्रिय जगतमा हुने बदनाम र मिडियाबाजीको जिम्मेबार स्वंय सन्दीप लामिछाने हुनेछन्।