आमालाई धर्ती भन्नेहरूले बुवालाई कहिल्यै आकाश भनेनन्। बुवाले सन्तानको लागि केसम्म त्याग गर्छन् भन्ने कुरा बुवाको दु:खसँग नजिक हुनेहरूले मात्रै बुझ्छन्।
बुवाले नौ महिनासम्म गर्भमा बोक्ने र स्तनपान गराउने बाहेकका सबै कर्ममा आमाले बराबर त्याग गरेका हुन्छ एकाद अपवादबाहेक।
म आफ्नै बुवा सम्झन्छु, अरू साथीहरू बुवासँग बोल्न पनि डराउँथे तर मेरो बुवा यस मामलामा अपवाद हुनुहुन्थ्यो।
कहिल्यै पनि छोराछोरीलाई डर त्रास देखाउनु भएन। पाँच वटा छोराछोरीलाई कुनै दिन पनि हात उठाएर थप्पड लगाउनु भएन।
अरूले कुरा काट्ने ठाउँ राख्नुहुन्न, संस्कारी बन्नुपर्छ, राम्रोसँग पढ्नुपर्छ मात्रै भनिरहनु हुन्थ्यो। आफूले नपढे पनि छोराछोरीलाई पढ्नुपर्छ भनिरहनुहुन्थ्यो। आफूले पूरा पेट नखाएर भए पनि छोराछोरीलाई कुनै दिन भोको राख्नु भएन। आफूले जति दु:ख गरेर भए पनि छोराछोरीको खुसीमा आफूलाई हराउनु भयो।
बुवाका पनि कति रहर थिए होला तर छोराछोरीका अगाडि बुवाका कुनै रहर अंकुराउन पाएनन्।
बुवासँगैको एउटा घटना अहिले पनि स्मृतिमा घुमिरहन्छ।
घरायसी सामान ल्याउने बहानामा बुवासँगै सदरमुकाम तम्घास सँगै गएकी थिएँ। लामो हिँडाइले दुखेका गोडा, थाकेको शरीरको कुनै परवाह थिएन, बुवासँग पहिलो पटक सहरमा गएकी थिएँ।
बुवाको त्यतिबेलाको अवस्था देखेर अहिले सम्झन्छु आखिर बुवाले पनि सन्तानको लागि यतिसम्म गर्न सक्छन् र ? भन्ने कुरा।
बुवाले घरमा हुँदा खाना सधैं थपेर खानुहुन्थ्यो तर होटलमा आएपछि बुवाको आहारा एकाएक घटेको देखेँ।
बुवाले आफ्नो लागि आधा प्लेटमात्रै खाना मगाउनु भयो। अर्को आधा प्लेट खाना मेरो लागि मगाउनु भयो।
म केटाकेटी त्यो खाना पर्याप्त भयो तर बुवाको लागि कति भए होला ? अहिले सम्झँदा पनि विरक्त लाग्छ।
‘तँलाई खाना पुग्यो छोरी ?’ प्लेटको खाना सकिन लाग्दा बुवाले सोध्नुभयो।
म आफू अघाएको भनेँ तर बुवाले जति प्लेटमा थियो त्यति मात्रै खाएर उठ्नु भयो।
‘यति थोरै खानाले पुग्यो त बुवा ?’ प्रश्न गरेँ। तर बुवाले आफू अघाएको बताउनु भयो।
पछि होटलमा खानाको पैसा तिर्ने बेलामा बुवासँग पैसा थोरै भएको आफैंले देखेँ, ‘साँझ घरमा पुगिहालिन्छ, अहिलेलाई पुगिहाल्यो’ भन्नु भयो।
घरबाट यो सामान बुवालाई किन्न लगाउँछु भन्ने सोच बनाएर बजार आएकी म, बुवाको पर्सको हालत देखेर एकाएक विक्षिप्त बनेँ।
घरको लागि चाहिने सामान किन्नुभयो बुवाले, म सहर हेर्दै दंग थिएँ।
‘तँलाई के चहिन्छ छोरी ?’ भन्नुभयो।
म बुवाको अनुहार देखेर सन्तुष्ट भइसकेकी थिएँ।
एक प्लेटमा आधा मात्रै खाएर आधा प्लेट खानाको पैसा जोगाएर मेरो लागि केही किनिदिने विचार होला सायद भन्ने कुरा बुझिहालें। त्यो कुराले केटाकेटी बेलामै निकै ठूलो सवक सिकायो।
त्यो दिन मात्रै होइन त्यसपछिका कुनै दिन पनि मैले बुवासँग कुनै कुराको माग गरिनँ।
बुवाले कहिलेकाहीँ जे ल्याइदिनुहुन्छ कुनै दिन यस्तो उस्तो भन्ने शब्द उच्चारण गरिनँ।
पाँच कक्षामा सिलाएका ड्रेस लगाएरै एसएलसी उत्तीर्ण गरेँ।
अहिले सम्झन्छु छोरीको लागि खाऊँखाऊँ लाग्दालाग्दै गाँस काटेर मेरो खुसी किन्न तयार भएका मेरा बुवाको त्याग के आमाको भन्दा कम थियो र?
आधा पेट खाएर पनि बुवाले छोरी खुसी होस् भन्ने चाहनु भएको रहेछ भन्ने कुरा अहिले थाहा पाउँदै छु।
बुवा-आमाले धेरै दु:ख गरेर पाँच वटै सन्तानलाई पढाउनु भयो।
सबै छोराछोरी आफ्नो ठाउँमा स्थापित भइसके तर यो खुसीमा दैव बैरी भइदियो। आधा पेट खाएर मेरो खुसी किन्न तम्सिनुभएको बुवाको लागि अहिले कुन खुसी किन्न सक्ने थिइन होला र म ? तर विडम्बना मेरो बुवा साथमा हुनुहुन्न।
मेरो खुसीमा गाँस काटीकाटी त्याग गर्ने बुवाका हरेक खुसीमा तयार हुने छोरी छ तर साथमा बुवा हुनुहुन्न।
जे चिज आफूसँग छैन त्यसको महत्व बढी हुने रहेछ। सायद भाग्यमा धेरै समयसम्म बुवासँग बस्न नजुरेको भएरै होला बुवासँग कहिल्यै डर लागेन, कहिल्यै पिटाइ खाइएन, ठूलो स्वरमा गाली खाइएन।
यो काम गर भनेपछि एक वचनमा काम गरियो, फलानाका छोराछोरी भन्ने नाम गाउँमा, स्कुलमा समेत नाम राखियो।
घरीघरी बुवाको निकै याद आउँछ, जब समाचार पढ्छु, बुवालाई घरबाट निकालेका, छोराको पिटाइले बाउको मृत्यु भएका, बाउलाई थाहा नदिइकनै बाउको सम्पत्ति हत्याएका, बाउको वृद्ध भत्ता समेत खाइदिएका, त्यही भत्ताका लागि छोराले हत्या गरेका...... आखिर बुवा हुनेहरू किन यति अघ्रेलो ठान्छन् बुवालाई?
कति जन्मको त्यागले यो मानव चोला पाएका छौं, हाम्रा जन्मदाता हाम्रा भगवान होइनन् र ? यिनीहरूकै अपमान किन गर्छन्? मनले धेरै कुरा खोतल्छन्।
बुवाको धेरै याद आउँदा प्राय: वृद्धा आश्रममा जान्छु। आश्रममा गएपछि चाँडो घर फर्किन मनै लाग्दैन। सायद आफ्नो भाग्यमा बुवा नभएर पनि होला आश्रमका सबै बुवाहरूमा आफ्नै बुवाको प्रतिविम्ब देख्छु।
सबै बुवाहरूलाई आफ्नै बुवालाई जस्तै गर्ने माया एकाएक कहाँ-कहाँँबाट बर्सिएर आउँछ पत्तै पाउँदिनँ।
बुवाहरूका कुरा सुन्दा कतिबेला आँसु बग्छन् केही भेउ पाउँदिनँ।
बुवा बिनाका विरक्त लाग्दा दश साल बितिसके तर पनि स्मृतिमा दश मिनेट जस्तै लाग्छ।
अझै पनि कताबाट बुवाले केही भन्नुहुन्छ कि भन्ने लागिरहन्छ।
जब चाडवाड आउँछन् त्यो बेलामा बुवाको याद अझ धेरै आउँछ।
साथीहरू बुवासँगै उभिएका फोटो राख्छन्, बुवाको जन्मदिनका फोटो राख्छन्, कुशे औंसीका दिन बुवालाई खुसी पारेका फोटो राख्छन् , बुवाआमाका वैवाहिक वर्षगाँठका फोटो राख्छन् सामाजिक सञ्जालमा त्यतिबेला हृदय छियाछिया हुन्छ।
कतिपटक बुवाको धेरै याद आउँदा बाथरूममा एक्लै बसेर रोएकी छु। आँसु कस्लाइ देखाउनु छ र ? भन्छ मनले।
एक्लै रोएपछि आफैंले आफैंलाई चित्त बुझाउँछु।
अहिले जस्तो स्मार्ट फोनको जमाना थिएन, बुवाको गतिलो फोटोसम्म छैन मसँग।
नागरिकताको फोटो धुल्याएर ठूलो फ्रेममा राखेकी छु। हरेक दिन बुवाको नाममा जल चढाउँछु, बुवाको तस्बिर अगाडि बत्ति बालिदिन्छु, आशीर्वाद माग्छु।
बुवाको फोटो हेर्दा पनि वरिपरि कतै भएजस्तै लाग्छ।
फोटोको फ्रेममा भएको बुवा त यहीँ कतै हुनुहुन्छ भन्ने लाग्छ, भने आफ्नै समिपमा भएका जिउँदा बुवाहरूको किन यतिधेरै अपमान गर्छन् सन्तानहरू ? आखिर बुवा त जिन्दगीमा एकचोटि पाएका होइनौं र हामीले?
क्यामेराको रिल जसरी बुवाका हरेक गतिविधिहरू दिमागमा एकपछि अर्को गरी घुमिरहन्छन्।
अस्ति भर्खर सोह्र श्राद्धको बेलामा बुवाको तिथि पारेर एउटा वृद्ध आश्रममा पुगेँ। आश्रममा लगभग चालिस जना बुवाआमा हुनुहुन्थ्यो।
आफ्नो क्षमताले भ्याएसम्मका खानेकुरा लगेर खुवाएँ। बुवाआमासँग दुई घण्टा जति सँगै बसेँ।
पहिले पनि तीन चार पटक त्यो आश्रममा गएकी छु। आफू गइरहने भएर होला बुवा आमा पनि आफ्नै छोरीलाई जस्तै माया गर्नुहुन्छ।
कुनै साइनो सम्बन्ध नभएकी अर्काकी छोरीलाई यति माया गर्ने बुवाआमाले के आफ्ना सन्तानलाई माया गरेनन् होला त?
मेरा आफ्नै बुवाआमा होइनन् र त यति माया लाग्छ भने त्यही कोखबाट जन्म लिएका सन्तान किन यतिविधि निष्ठुरी भएका होलान्?
आश्रममा एक जना आमा नब्बे सालमा जन्मेकी हुनुहुन्छ, उहाँसँग धेरै कुराकानी गरेँ।
ढाड सोझो पारेर उभिन पनि सक्नुहुन्न, यत्रो उमेरकी आमालाई आश्रममा पठाएर सन्तानहरू कसरी सुत्छन् होला?
यो उमेरकी आमाको लागि कति खर्च हुँदो हो? आमा त एकैछिन साइनो लाएपछि जो पनि पाइएला तर जन्मदाता माता कहीँ पनि पाइँदैन।
यी आमाका सन्तानलाई कसरी निद्रा आउँछ होला?
यत्रो उमेरका जिउँदा भगवानलाई अर्काको जिम्मा लगाएर कसरी चैन भएको होला सन्तानलाई? मन एकाएक ऐंठन हुन्छ।
आश्रममा धेरै क्षेत्रका बुवाआमाहरू हुनुहुन्छ, सबैका आफ्नै भोगाइ छन्, अधिकांश घरपरिवार भएकै हुनुहुन्छ। यी सबै कुरा देख्दा, सबैका भोगाइहरू सुन्दा मान्छे किन सन्तान जन्माउँछन् ? अझ छोरा किन जन्माउँछन् ? भन्ने पनि लाग्छ।
आखिर आश्रममा बस्नु नै थियो भने कोही नभएको भए एक चित्तले बस्न सजिलो हुन्थ्यो।
हुन त बुढापाकाले भन्थे, सन्तान नभए एकै शोक, सन्तान भए हजार शोक भनेर, व्यवहारमा ठ्याक्कै देखिन्छ। तातो, नरम खाने कुरा खाने, आराम गर्ने, न्यानो ठाउँमा बस्ने, नाति नातिनीको माया पाउने बेलामा डाँडापारिको घाम भइसकेका बाउआमाहरू आश्रममा बस्नु परेको छ।
चाडवाडमा यी बाआमाको मन कति रूँदो हो? आफ्ना सन्तानलाई के भन्दा हुन्?
आफ्ना जन्मदाता बाउआमालाई यो हालतमा पुर्याउने सन्तानले कुन उल्लासले चाडवाड मनाउँदा हुन् ? मनमा धेरै कुरा खेल्छन्।
पचास वर्ष नपुग्दै मेरो बुवा बित्नुभयो तर आश्रमको बुवा नब्बे वर्ष भइसक्दा पनि तगडा हुनुहुन्छ। म फर्कने बेलामा वरसम्म छोड्न आउनुहुन्छ। राम्रोसँग जाऊ है नानी, फेरि आऊ है भन्नुुहुन्छ।
मलाई आफ्नै बुवाले बिदाई गरेजस्तो लाग्छ। बुवाको मुखमा हेरेर हुन्छ बुवा पनि भन्न सक्दिनँ।
मलाइ यति माया लाग्छ भने यी बुवाका सन्तानले कुन आत्माले आश्रममा पठाए होलान्?
आश्रमको बुवा मेरो भइदिए..... यत्रो उमेरसम्म बुवाको माया पाउने थिए भन्ने पनि सोच्छ मनले।
आखिर किन मेरो बुवाको मात्रै आयु यति छोटो दियौ भगवान .? भगवानसँग प्रश्न गर्न मन लाग्छ। मनमा जति आँधी आए पनि बुवा परलोकको यात्रामा गइसक्नु भयो।
आश्रमका बुवाहरू देख्दा आफ्नो बुवा नभएको बिर्सन्छु। बुवाहरूका कुरा, उहाँहरूका भोगाइ र अनुभव साँच्चिकै विश्वविद्यालय हुन भन्दा फरक पर्दैन। जिउँदा देवता मानिएका बुढा बा-आमालाई आश्रममा पठाउने सन्तानले कुन नैतिकताले आफ्ना सन्तानलाई संस्कार सिकाउँदा हुन्?
मेरो लागि यति धेरै त्याग गर्ने बुवाको लागि आफूले केही गर्न सकिएन।
पढेर नाम राख्नुपर्छ भन्नुहुन्थ्यो बुवाले। पढेर नामै निकालें बुवा तर त्यो खुसी तपाईंलाई सुनाउन पाइनँ।
बुवा मेरो नाम निस्कियो भन्दा बुवाको खुसीको सीमा कहाँ पुग्थ्यो होला? आफू आमा बनेपछि थाहा पाउँछु सन्तानको खुसीको लागि कति त्याग गर्नुपर्छ भन्ने कुरा।
आफूले त्यति दु:ख गरेर पढाएका सबै छोराछोरीले राम्रोसँग पढे, जागिर खाए भन्दा बुवाको अनुहार कति उज्यालो हुन्थ्यो होला तर त्यो खुसी सुन्ने अवसर दैवले लुटिदियो।
अहिले सम्झन्छु आफ्नो सानो बच्चाले स्कुलमा सानै उपलब्धी हासिल गर्दा पनि दंग हुने म, मैले केही राम्रै उपलब्धी हात पार्दा बुवा कति खुसी हुनुहुन्थ्यो होला?
जसले बुवालाई धेरै माया गर्छ उसकै बुवालाई किन चाँडो खोस्छ दैवले? बाटोमा अलपत्र परेका, आश्रममा टोलाएका, सन्तानले घरवारविहीन बनाएका बुवा देख्दा लाग्छ, यी सबै बुवा मेरा आफ्नै भइदिए?
म बुवालाई सबै खुसी दिन्थें। मेरो बुवा खोसिदियौ, जसले बुवालाई देखिसहन्न उनीहरूका बुवा नब्बे वर्षसम्म तड्पाइ तड्पाइ पीडामा राखिरह्यौ। तिम्रो लिला अपरम्पार छ विधाता।