हरेक यात्राले नयाँ डोब छोडेर जान्छ। मेरो लागि हरेक यात्रा सुनौलो हुन्छ, अनि हरेक यात्रा नौलो पनि। म ‘सोलो’ यात्रामा निस्कँदा प्रकृतिलाई भेट्न भनेर निस्केको हुन्छु र प्रकृतिसँगको डेट’ मेरो लागि भावनायुक्त पनि हुन्छ। अति मृदुल, अति हृदयस्पर्शी, अति न्यानो, अति कोमल।
मेरो यो यात्रामा म जमिनको माटो हातमा लिएर सुँघ्छु, रूखहरूलाई अंगाल्छु, पत्थरहरूलाई महशुस गर्छु, खोला–झरनालाई स्पर्श गर्छु, पहाड र हिमालसँग संवाद गर्छु, फूलहरूलाई सुमसुमाउँछु, आकाशलाई निहाल्छु, बादललाई बोलाउँछु, सूर्यसँग मस्किन्छु, तारालाई जिस्काउँछु अनि चन्द्रमालाई अंकमाल गर्छु।
म प्रकृतिसँग हुँदा एउटा अबोध वालकझैँ व्यवहार गर्छु। न्यास्रिएर आएकी छोरी जसरी प्रकृतिको काखमा लुटपुटिन्छु। त्यतिखेर मलाई महसुस हुन्छ मैले मात्रै होइन प्रकृति पनि मेरो अनुपस्थितिमा न्यास्रिएको हुन्छ।
म जति प्रकृतिलाई छुन आतुर हुन्छु त्यति नै प्रकृति पनि मलाई छुन आतुर रहेको भान हुन्छ। प्रकृति र मबीच एउटा यस्तो दरिलो र प्रगाढ सम्बन्ध छ कि, हामी केही समय बोलेनौँ भने अथाव केही समय भेटेनौं भने एकअर्काको निमित्त तड्पिन थाल्छौ। न्यास्रिन थाल्छौ। त्यो न्यास्रो यो बह्माण्डमा गुन्जिन्छ अनि म चालै नदिई एउटा यात्रामा निस्किन्छु।
यसपालि पनि म त्यसरी नै एउटा यात्रामा निस्किएँ। ‘नेपाल फेस्टिवल मेल्वर्न २०२२’ कार्यक्रम सकेर कार्यक्रमको भोलिपल्ट बिहानै म न्यूजिल्याण्ड उडेँ। साउथ र नर्थ दुवैको आइटनरी बोकेर म सर्वप्रथम क्वीन्सटाउन गएँ।
क्वीन्सटाउनले मलाई पोखराको याद दिलायो। त्यो मनमोहक र रमणीय स्थानले मेरो मन लोभ्यायो। एक क्षण त मलाई म पोखराको लेक साइडतिर पो हिँडिरहेको छु जस्तो भयो। तीन–चार दिनको क्वीन्सटाउन बसाइले मलाई धेरै रमाइलो यादहरु दियो। प्रकृति र म एकअर्काको ध्यानमा लिप्त भयौं। हामी दुवै हरायौ कताकता एउटा नयाँ कल्पनामा, एउटा नयाँ मोडमा, नयाँ धुनमा, नयाँ तरंगमा र अन्त्यमा एउटा वास्तवितामा पनि।
त्यसरी प्रकृतिसँगको समिप्यताले क्षणभरमै मलाई तेजिलो बनाइदियो। क्षणभरमै मलाई प्रोत्साहन दियो। मेरो अनुहारमा सुख र खुसीको आभाष देखिएको थियो जुन आभाले केबल सकारात्मक पदमा मलाई डोहोर्याइरहेको थियो।
***
त्यो दिन मेरो क्वीन्सटाउनमा अन्तिम बसाइँ थियो। भोलिपल्ट म बसमा आठ घण्टाको क्राइसचर्चको यात्रा कोर्दै थिएँ। त्यो यात्रा सम्झेर नै म मनमनै उत्साहित थिएँ। अर्को गन्तव्यमा जानुभन्दा पहिला म अन्तिम दिन न्यूजिल्याण्डको साउथ भूभागस्थित क्वीन्सस्टाउनको त्यो बजारलाई राम्ररी निहाल्न चाहन्थेँ र त्यसैले पनि म साँझपख बजार घुम्न निस्किएँ।
म मोटलबाट निस्कदाँ थोपा थोपा वर्षा भइरहेको थियो। त्यहीँ थोपाथोपालाई मुखभरी महसुस गरेर म बिना छाता मस्त हिडिरहेँ।
केही बेरको हिडाइँपछि म क्वीन्स्टाउनको मेन सिटी आइपुगेँ। सानो थियो क्वीन्सटाउन बजार। गल्ली धेरै थिएनन्। तर बीचमा सानो खोला थियो। मेरो लागि त्यो नै बजारको आकर्षण भइदियो। त्यो खोलाले मेरो जन्मस्थान याद दिलायो। सानोमा त्यस्तै खोलामा खेलेर हुर्केकि म त्यो खोलालाई छुन मन लाग्यो अनि निर्धक्क छोए।
म खोलासँग रमाउँदै थिएँ, उता मौसम झन् झन् महदोश बन्दै गइरहेको थियो। बजार घमाइलो पनि थिएन र अँध्यारो पनि भएको थिएन। त्यसमा पनि ह्वार् ह्वार होइन, थोपा थोपा पानी परिरह्यो। जमिन पनि त्यो थोपा थोपाले रोमाञ्चित भइरेको थियो। आकाश पनि मस्किदै थियो भने बस्ती त झन् लाडिरहेको थियो।
म पानीसँग खेल्दै थिएँ। एक्कासी मेरो पछाडि एउटा मान्छे उभएिर ‘हेलो’ भन्यो।
म हत्त न पत्त फर्किएँ।
म झस्केर फर्केकोमा उसले तत्कालै ‘सरी’ भनिहाल्यो। उसले मलाई एउटा फोटो खिचिदिन आग्रह गर्यो।
मैले पनि त्यसरी नै अघि भर्खरै सबैलाई फोटो खिच्न आग्रह गरिरहेको थिएँ। अरूले त्यसरी मेरो आग्रह मानेकोमा खुसी लागेको थियो। त्यसैले पनि उसको आग्रह तुरून्तै मानिहालेँ।
बजारको बीचमा रहेको सानो खोलाको अगाडि बसेर ऊ पोज दिन थाल्यो। म फरक फरक एंगबाट उसको फोटो खिच्न थालेँ। कुनै टाढाबाट कुनै नजिकबाट। आफ्नो फोटो देखेर ऊ दंग थियो।
ऊ फोटो हेर्दै थियो म त्यहाँबाट निस्किएँ। उसले फेरि मलाई बोलायो र सोध्यो– तिम्रो पनि फोटो लिनुपर्छ भने म लिइदिन्छु।
तर मैले भर्खरै कसैबाट फोटो खिचाइसकेको थिएँ, पर्दैन भनेँ।
उसले मलाई आफ्नो राम्रो फोटो खिचिदिएकोमा फेरि धन्यवाद भन्यो।
म मुस्काराएर टाउको मात्रै हल्लाएँ।
मोबाइल खल्तीमा हाल्दै उसले सोध्यो– फस्टटाइम इन क्वीन्सटाउन?
म एक्साइटेड भएर भनेँ- एस्।
उसले पनि एक्साइटेड भएर भन्यो-मेरो पनि पहिलो पटक हो यहाँ।
‘ओ नाइस’ भनेर म विस्तारै आफ्नो मोटलको बाटोतिर हिड्न थालेँ।
ऊ पनि म भएको तिर नै आयो र भन्यो – सफ्ट रेन, आइ लाइक इट, नाइस।
मैले पनि उसको कुरामा सही थप्दै भनेँ– एस, आइ लाइक इट टु, ह्वीसकेरी रेन।
ऊ आफ्नो आँखीभौँ उचालेर मुन्टो मात्रै हल्लायो। मलाई थाहा छैन यदि ह्वीसकेरी रेनको अर्थ डिस्नेरीमा छ कि छैन तर त्यतिखेर दिमागमा त्यहीँ शब्द आयो र मैले त्यहीँ भनिदिएँ। र उसले त्यसको पनि सोध्दै सोधेन।
म बजारलाई निहाल्दै विस्तारै हिँडिरहेको थिएँ। ऊ पनि मसँगै हिँडिरहेको थियो।
न म रोकिए, न त ऊ नै रोकियो।
ऊ पनि एउटा प्रकृतिप्रेमी जसरी वरीपरीको वातावरणलाई निहाल्दै थियो। म जसरी हिँडिरहेको थिएँ, ऊ पनि त्यसरी नै हिँडिरहेको थियो वा भनौं ऊ जसरी हिँडिरहेको थियो म पनि त्यसरी नै हिँडिरहेकी थिएँ। त्यसैले पनि उसको पदचापले मलाई केही असर गरिरहेको थिएन।
अलि पर गएपछि ट्राफिक लाइटमा हामी दुवै अडियौं। त्यहीँ मौकामा उसले मलाई तिमी कुन देशबाट भनेर सोध्यो।
‘नेपाल, तर अहिले चाँहि मेल्वर्नबाट आएकी’ भनेँ। मैले नसोधिकनै उसले म नेदरल्याण्डबाट आएको भन्यो।
विस्तारै अब कुराको सिलसिला सुरू भयो।
घुम्न जाँदाको यहीँ त मज्जा हुन्छ। नयाँ मान्छेसँग बोलिन्छ। नयाँ मान्छेसँग भेटिन्छ। अनि उसलाई त्यहीँ छोडेर अघि बढिन्छ।
न कुनै ईर्श्या, न कुनै बोझ, न कुनै द्वेष, न कुनै तिक्तता, न कुनै अपेक्षा, अनि न कुनै उपेक्षा उक्त व्यक्तिसँग।
हरियो बत्ती बलेपछि हामी दुवै बाटो काट्यौं। म फ्याङ्गटन रोडतिर जाँदै थिएँ। ऊ पनि त्यतै आइरहेको थियो।
‘डु यू लिभ नियरवाइ,’ मैले सोधेँ।
उसले फ्याङ्गटन रोडकै एउटा मोटेलमा बस्छु भन्यो। फ्याङ्गटन रोड चढ्दै गर्दा मेरो हातबाट सेल्फी स्टीक भुइँमा खस्यो। मैले भन्दा पनि उसले नै हत्तनपत्त टिपेर मलाई दिइहाल्यो।
खुसी लाग्यो। मान्छे खुसी हुन ठूलाठूला कुरा नै चाहिँदैन एउटा सानो मद्दतले पनि खुसी भइहाल्छन्। म त्यहीँ मान्छेहरूको स्वभावभित्र पर्छु। फेरि एकछिनमा फेरि अर्को ट्राफिक सिग्नल आयो। म रोडको अलि छेउमा थिएँ। कार हुइँकिएर जाँदा म अलि तर्सेको मात्रै के थिएँ ऊ केही नबोलि मेरो देब्रे साइडमा आएर बस्यो। अनि म पनि केही नबोलि सुस्त अलि वर सरेँ।
एउटा अन्जान व्यक्तिले त्यसरी केही पलको लागि पनि केयर गर्दा मलाई रमाईलो नै लागेको थियो। मन प्रफुल्ल नै थियो। कसलाई पो मन पर्दैन र कसैले तपाईँलाई एक पल भए पनि ख्याल गरेको, एकपल भए पनि निस्वार्थ मुस्कुराएको, एकपल भए पनि हार्दिकता देखाएको, एकपल भए पनि राम्ररी बोलेको र एकपल भए पनि साथ दिएको।
मलाई उसको व्यवहारले छोयो। मलाई ऊ यो यात्राको एउटा ‘वोनस र प्रकृतिको वरदान’ जस्तो लाग्यो।
हरियो बत्ती बलेपछि हामी दुवै नबोलि पारी कट्यौं।
कति कुराहरू बोल्नैपर्छ भन्ने छैन। कति कुराहरु महसुसमा नै प्रिय हुन्छ। अनि यो पनि जरूरी छैन कि, हामी चिनेको मान्छेलाई मात्रै महसुस गरौं। कति नचिनेको मान्छेलाई पनि महसुस गर्न सक्छौं। आखिर सबै व्यक्तिहरू अन्जानबाट त परिचित हुने हो।
सबैले सबैलाई चिनेर कहाँ जन्मेको हुन्छ र? यात्रामा भेटेका व्यक्तिसँगको नाता र सम्बन्ध त आफूले कोर्ने हो। कसलाई कुन सम्बन्ध दिने, कोसँग कुन सम्बधमा बस्ने। कुन सम्बन्ध लम्ब्याउने, कुन सम्बन्ध रोकिदिने त्यो नितान्त व्यक्तिले निर्धारण गर्ने हो।
हो, त्यो यात्रा रोमाञ्चित थियो, प्रकृति पुलकित थियो, उसको साथ रमाईलो पनि भइरहेको थियो। प्रकृतिले केही इशारा पनि गरिरहेको थियो तर सबभन्दा महत्वपूर्ण कुरा त्यो भेटलाई के बनाउने के गर्ने भन्ने नितान्त मेरो हातमा थियो। अनि मैले त्यहीँ गरेँ जुन मेरो लागि सही थियो।
विस्तारै हाम्रो गफ गर्ने विषय सकिसकेको थियो। कसले के कुरा गर्ने नै थाहा थिएन तर हिँड्न चाहिँ सँगै हिँडिरहेका थियौं।
यात्रा साह्रै शून्य भयो भनेर हाँसो गर्दै सोधेँ–नेदरल्याण्डको मान्छे न्यूजिल्याण्डमा कसरी?
उसले पनि हाँसो गरेर भन्यो, ‘जसरी नेपालको मान्छे न्यूजिल्याण्डमा त्यसरी नै।’
हामी दुवै हाँस्यौं।
मैले न्यूजिल्याण्ड नेपाल जस्तै लागेको पनि बताएँ। अनि यो सँगै ‘निरू इज लभिङ्ग न्यूजिल्याण्ड,’ भनेँ।
उसले पनि भन्यो-निकोल्स् अल्सो लभिङ न्यूजिल्याण्ड।
यहीँ बेलामा हामीले एकअर्काको नाम पनि थाहा पायौँ।
यतिनै खेर मैले याद गरिरहालेँ।
नेदरल्याण्ड, न्यूजिल्याण्ड, नेपाल, निरू एण्ड निकोल्स्।
कस्तो संयोग । ‘अल एन’ आर टुगेदर– मैले भनेँ ।
उसले पनि तुरून्तै याद गरिहाल्यो र मज्जाले हाँस्यो।
उसले औँला भाँच्दै दोहोर्यायो – नेदरल्याण्ड, न्यूजिल्याण्ड, नेपाल, निरू एण्ड निकोल्स्।
हामी खुलेरै हाँस्यौ। यो हाँसो परीपरीका हिउँको थुप्रोको त्यो पहाडले पनि सुनेको थियो। त्यो हाँसो, नजिकको त्यो निलो ताल, रूख, चराचुरूङ्गी, माटो, हावा र त्यो थोपाथोपा पानीले पनि सुनेको थियो। त्यो यात्रामा हामी दुवै खुसी थियौं।
हिँड्दाहिँड्दै रात झमक्क पर्यो। चिसो पनि बढ्दै गयो। मेरो मोटल आउन अब केही मिनेट मात्रै थियो। त्यतिनै खेर अघि थोपाथोपा परेको पानी एकैछिनमा ह्वार ह्वार्ती पर्यो। म दौडिँदै त्यहीँ नजिकको एउटा रूखमा ओत लागेँ ऊ पनि त्यहीँ आएर उभियो।
केही समयमा पानी अलि कम भयो।
मैले निकोल्स्लाई भनेँ - मेरो मोटल नजिकै छ। म लागेँ है। तर तिमीलाई भेटेर खुसी लाग्यो। यतिसम्मको साथको लागि धन्यवाद निकोल्स्!
ऊ अवाक भयो। सायद मैले त्यसरी बीच बाटोमा नै अचानक एक्लै हिँड्छु भन्ने उसले सोचेको थिएन होला। उसको आँखामा क्षणभरमा नै केही प्रश्नहरु उब्जिहाल्यो। म त्यो प्रस्टै देख्न सक्थेँ तर त्यसको जवाफ दिनु जरूरी थिएन।
मैले वाई भनेर त्यहीँ पानीमा दौडिदै गएँ।
म टाढा पुग्दा पनि उसले त्यहीँ उभिएर मलाई हेर्दै थियो। म दौडँदै थिएँ। मलाई झन् रमाईलो लाग्यो ऊ मेरो पछिपछि दौडिएन।
उसले मेरो मान राख्यो, झन् रोमान्चित भएँ। सायद उसले म पछाडि फर्केर हेर्छु भन्ने सोचेको थियो होला तर म एकपटक पनि पछाडि फर्किनँ। पन्छीझै उड्दै उड्दै आफ्नो गुडँमा आएँ, त्यो पलको आभास मात्र लिएँ।
यो एउटा सामान्य भेट देखिन्छ। तर मेरो लागि एउटा रमाईलो र आध्यात्मीक भेट थियो। त्यसैले पनि यो याद लेख्न जरूरी लाग्यो।
निकोल्स मेरो यात्राको एउटा महसुस मात्रै हो। विना छोएर मनमनै हुने महसुस। अब ऊ म भित्र त्यहीँ मिठो महसुस भएर रहिरहन्छ।
त्यो यात्रामा उसको देश र नाम मात्रै थाहा भयो तर पनि उसको बारेमा धेरै थाहा छ जस्तो लाग्यो। भोलिपल्ट बसमा रहँदा र उसलाई केही पल सम्झँदा। उसको अनुहार घुरमैलो याद छ। किनकि, उसलाई मैले त्यहीँ दुई देखि तीन पटक मात्रै मुन्टो उठाएर हेरेँ होला।
सायद केही महिनापछि उसको त्यो घुरमैलो अनुहार पुरै विर्सन्छु होला। तर त्यो संवाद, त्यो छोटो भेट, त्यो मुस्कान, केही माइलको त्यो हिँडाइ, त्यो थोपा थोपा वर्षा, त्यो ह्वार् ह्वार्ती वर्षा, क्षणभरमा नै अनगिन्ति उसको आँखामा उब्जेको प्रश्न अनि एन। अल्फाबेटको संगम सधै जिवित रहिरहन्छ ।
निकोल्स र मेरो यात्रा जे थियो उत्तम थियो। जहाँसम्म थियौं एकदमै ठिक थियो।
हाम्रो भेट सरल थियो अनि सरल नै बनाइराख्यौं जीवनभर। यहीँ नै मेरो यात्राको भविष्य थियो।