कोरोनापछि...
आफ्नो उम्मेदवारी दर्ता गराएर बेलुका आफ्नै बासमा आराम गरिराखेको थिएँ। एक हुल युवाहरू मसँग पैसा माग्न आए। मैले विभिन्न कार्यक्रमहरू गर्दा पैसा बाँकी भएको हुनसक्ने आशंका गरेँ। हिसाब-खाता हेर्ने दाइलाई फोन गरेर बोलाएँ र लेनदेन 'क्लियर' गर्न भनेँ।
मेरो कुरा सुनेर लेखापाल दाइ जोडजोडले हाँस्नुभयो।
उनीहरूले बिस्तारै फेरि भने- खर्चपानी मागेको हो हामीले।
पछि मैले थाहा पाएँ, मैले चुनावमा मनोनयन दर्ता गरेको हुनाले रक्सी खान पैसा मागेका रहेछन्।
तिलाठीमा विगत एक दशकभन्दा बढी लामो समय बिताउँदा मैले शिक्षक तालिम, रासन, राहत वितरण, डिजिटल ल्याब स्थापना, सचेतना कार्यक्रम, स्वास्थ्य यातायात सेवा, सिकाइ केन्द्र स्थापना र कार्यान्वयन जस्ता विविध कार्यक्रम गरेँ। घरपरिवारको धार्मिक कार्यक्रमहरूमा पनि सहभागी भएँ। तर मसँग आजसम्म गाउँमा कसैले रक्सी खान पैसा मागेको थिएन।
आज माहोल अर्कै रहेछ।
मैले मेरो सिद्धान्त र दर्शनसँगै चुनावमा उम्मेदवारी दिनुको उद्देश्यबारे बताएँ र पैसा दिन असमर्थता जनाएँ।
यो घटनापछि तिलाठीमा प्रत्यक्ष रूपमा कसैले मसँग चुनावमा भोटका लागि पैसा मागेनन्। तर घुमाउरो तरिकाले बिना पैसा जितिँदैन भनेर घोचपेच गरिरहे। पालिकाका अरू गाउँ घुम्न थालेपछि त झन् पैसाको अपेक्षा सर्वत्र पाएँ।
चुनावको अचारसंहिता विपरीत ठूलो पोस्टर र डिस्प्लेजन्य वस्तुको प्रयोग जानीनजानी मसँगै लगभग सबैबाट दुरूपयोग भएकै हो। तर र्याली, जुलुस, सभा, सम्मेलनमा अर्थको दुरूपयोग, खानपानमा, विशेषगरी मासु-रक्सीको खुलेआम प्रयोग र भोटको किनबेचले चुनावको आचारसंहिताभन्दा पनि समाजको शिष्टता नै धमिलिएको पाएँ मैले।
राजनीतिक दलप्रतिको आस्था र त्यसमा जोड्ने प्रयास गर्नु नेता-कार्यकर्ताको बाटो सकारात्मक नै हो। तर भोटका लागि जात, धर्म, कुल, घराना, समुदाय केन्द्रित दृष्टिकोण सर्वमान्य गर्नुसम्म पनि सामान्यीकरण गरिसकेकै रहेछौं। यी सबै कुरामाथि टेकेर समाजमा द्वन्द्व गराउन पनि पछि नहट्ने रणनीतिहरूले त स्तब्ध नै बनायो।
दिनभरि पालिकाका क्षेत्रहरू भ्याएसम्म पुग्थेँ, आफ्ना विचार राख्थेँ। अरूलाई इमानदारीपूर्वक बुझ्ने प्रयास गर्थेँ। विस्तारै युवादेखि अवकाश प्राप्त पुस्ताले सरसल्लाह दिएर, प्रचारप्रसारमा खटेर बिना कुनै स्वार्थ मेरो उम्मेदवारीलाई समर्थन गर्न थाले।
सहयोगी संख्या वृद्धि भएको देख्दा उत्साह पलाएको थियो। घरदैलो गर्दा चिया/जुस, नास्ता र कैयौं पटक खाना नखुवाई जानै नदिने आतिथ्यता पाएँ। दिनमा २० कप बढी चिया, अधिक मरमसला, चिल्लो, पिरो भएको खाना र विभिन्न स्रोतको पानीले पेट संक्रमण नै भयो। तर यसबारे केही नभनी औषधिको सहारामा चुनावी अभियानमा जुटिरहेँ।
धेरैले सम्मानको भाव देखाउँदै नतिजा जे आए पनि हतोत्साहित नभइ पाइला चाल्नु नै साहसको प्रतीक भएको स्मरण गराए।
कतिले 'तपाईंजस्तो मान्छे पाउनु हाम्रो अहोभाग्य हो, तपाईं त मेयर वा सांसद नै हुनुपर्ने मान्छे' भन्थे।
कोही 'हाम्रो भोट चाहिँ पक्का भयो। तर खुलेर हिँड्न नसकेकामा बुझिदिनुहोला' भन्थे।
अनि केहीले 'मजस्तो राम्रो उम्मेदवारले ढिलो गरेको' गुनासो गरे।
विस्तारै मैले मूल्यांकन गर्न थालेँ।
मैले अलि लामो समय सरसल्लाह गर्ने जमर्को गरेको भए, पालिकाको परिवेश विभिन्न दृष्टिकोणबाट बुझ्ने प्रयास गरेको भए, गाउँहरू धेरैपटक अवलोकन गरेको भए र आफ्नो चरित्र चिनाउने प्रयास गरेको भए मसँग सहयोगी हातहरू धेरै हुने रहेछन्।
साँच्चै नै मैले समुदायलाई मेरो दृष्टिकोण चिनाउन र पालिकाको हरेक परिवेश चिन्न ढिलो गरेकै रहेछु। हुन त दशकौंदेखि मैले आफूलाई सामाजिक कार्यमा संलग्न गराए पनि र लगभग एक वर्षदेखि गाउँमै बसे पनि सामाजिक अभियन्ता र राजनीतिज्ञलाई हेर्ने दृष्टिकोण फरक हुँदो रहेछ।
राजनीतिक विषयवस्तु सामाजिक विषयवस्तुभन्दा फरक मात्रै नभइकन, यसको दायरा पनि फराकिलो हुँदो रहेछ। समय यदि पछाडि फर्किने भए, सामाजिक क्रियाकलापसँगै म आफ्नो राजनीतिक चित्रण प्रस्तुत गर्थेँ र अत्यधिक रूपमा राजनीतिक संलग्नता जनाउँथेँ। स्वतन्त्र भएर कुनै राजनीतिक दलको प्रतिनिधित्व नगरिकन पनि राजनीतिक चरित्र दर्शाउन सकिने रहेछ भन्ने यही क्रममा बुझेँ।
भोट खेर जान नदिन जित्ने दललाई भोट दिनेहरूलाई मैले मनाउन सकिनँ।
'तपाईंको कुरा ठीक हो, पहिलो प्रयास हो, निरन्तर केही समय अझै प्रयास गर्नुस्' भने सल्लाह पनि पाएँ।
'मैले पुनः किन प्रयास गर्ने र? प्रतिस्पर्धा गर्ने हेतुले सीमित भएर मैले उमेदवारी दिएको होइन नि' भनौं कि जस्तो लग्थ्यो। तर मौन रहेँ। कुनै पनि उम्मेदवारको हातजीतले समुदाय विकासको गति र दिशा निर्धारण गर्ने हो। चुनावको उद्देश्य पनि यही हो। संविधानको रक्षा गर्दै, कानुनको पालना गर्दै पूर्ण निष्ठा साथ सिद्धान्त र दर्शनको मार्ग अपनाइ जनताको हितका लागि काम गर्ने जनप्रतिनिधि चुनिनु हो।
मैले विकासको एजेन्डा बोकेर चुनावमा उमेदवारी दिएर घरदैलो गर्दा पनि विरलै कसैले मेरो एजेन्डाबारे जिज्ञासा राखेको थियो। यसरी मतदाताहरूसँगको प्रत्यक्ष भेटघाट र अन्तर्क्रियाले मेरो र उहाँहरूबीचको सोचमा भिन्नता भएको पाएँ।
सामान्यतया मतदाताले प्राथमिकता साथ उम्मेदवारको शक्ति, सम्पन्नता, चुनावी खर्च क्षमता र अन्तमा विकास एजेन्डा/उम्मेदवारको नियतलाई मूल्यांकन गर्ने गर्ने रहेछन्। सुरूमा त मलाई यसले धेरै नै पिरोलेको हो। तर गहिरिएर विश्लेषण गर्दा स्वाभाविक नै लागेको हो। जे होस्, चुनावमा उम्मेदवारी दिनुअघि रणनीति पनि समाजको 'मेन्टल मोडल' अनुरूप नै बनाउनु पर्ने महसुस भयो।
चुनावका बेला शून्य समयमा चहलपहल एकदमै धेरै हुँदो रहेछ। मैले अवलोकन गरेको परिवेशअनुसार भन्ने हो भने राजनीतिक खेलको 'क्लाइमेक्स' हो शून्य समय। अरू राजनीतिक दलजस्तो मसँग असंख्य कार्यकर्ता थिएनन्। दुरूपयोग गर्नलाई अकुत सम्पत्ति पनि छैन। फेरि आर्थिक बल प्रयोग गर्ने, भोट किन्ने नियत छँदै छैन!
गाउँका बुद्धिजीवी र युवाहरूले राजनीतिक लोभमा सीमित भई सामाजिक द्वन्द्व गराइछाडे। त्यसबखत समाजमा केही अनैतिक हुनसक्छ भनेर गाइँगुइँ सुन्दा विश्वास लागेको थिएन। तर चुनावको पूर्व सन्ध्यामा सुनियोजित द्वन्द्व देख्दा, हामी र हाम्रो समाजको निन्दनीय काम देखेर मन साह्रै मन खिन्न भएको थियो।
अरूले जे सुकै गरून्, आफू त सुत्नुपर्यो भन्ने सोचेको मात्र थिएँ, मेरो मोबाइल फोनको घन्टी बज्यो।
'सर, हाम्रो टोलका मान्छेहरूले हजुरलाई भेट्न खोज्दै हुनुहुन्छ' भनेर फोन आयो। सीपमूलक तालिम पाएको एक विद्यार्थीले मलाई फोन गरेका रहेछन्।
मेरो टिमका साथीहरूलाई फोन आएको जानकारी गराएँ।
'त्यस टोलको सबै भोट बिकाउ हुन्, त्यही भएर पैसाको डिल गर्न' बोलाएको आशंका गरियो।
म धेरै असमन्जसमा परेँ। रातको समय, फरक गाउँ, जाऊँ कि नजाऊँ!
अन्तिममा आठ-दस जना जाने निर्णय गर्यौं। म बाटोभरि प्रार्थना गरिरहेँ, कसैले मसँग पैसाको कुरा नगरोस्!
जति नै भोट आए पनि मैले पैसा कुनै हालतमा नदिने प्रण गरेको थिएँ। तसर्थ मलाई भोटको चिन्ता थिएन।
चिन्ता थियो त गुरु-विद्यार्थीबीचको सम्बन्ध धमिलो हुने सम्भावनाको।
मनमा अन्यौलता र डर बोकेर जाँदै गर्दा बाटोमा भएका सबै घरको बत्ती झपक्क बलिरहेको र सबै घरको अगाडि घरधनीको चहलपहल बाक्लिएको पाएँ। कुनै उम्मेदवार वा उम्मेदवारको कार्यकर्ताले पैसा बाँड्न आउँदा आफू छुट्टिने भय र लाभको आशमा थिए पालिकाबासीहरू। कोहीकोही चाहिँ विपक्ष समूह आए भने प्रतिकार गर्ने र आफ्नो समूह पैसा बाँड्न आए भने सहयोग गर्ने हेतुले पनि प्रतिक्षारत थिए। केही बुज्रुक र युवाहरू गोलाकारमा रहेको कुर्सी र बेन्चमा बसेर हाम्रो प्रतिक्षा गरिरहेको पायौं।
हामी पुगेपछि केही मान्छे थपिए र उपस्थिति बाक्लो हुँदै गयो। मनमा एकदमै धेरै डर र कौतुहलता बढिरहेको थियो। सकेसम्म छिट्टै त्यहाँबाट बिदा हुन पाए हुन्थ्यो भन्ने लागिरहेको थियो।
हामीले अभिवादन र परिचय गर्यौं। यही क्रममा हामीले तालिम दिएका ३ जना विद्यार्थीलाई देखेँ।
केही बेरको कुराकानीपछि एक जनाले तीन जना विद्यार्थीतिर इसारा गर्दै भन्नुभयो- यी केटाहरू तपाईंको प्रचार गरिरहेको थिए। तपाईंका बारेमा सुनेर हामीलाई तपाईंसँग भेट्न मन लग्यो। तपाईं जत्तिको राम्रो मान्छे आउनु हामी सबैका लागि सुखद हुन्छ।
उहाँले विद्यमान भ्रष्टाचारले गर्दा सबै पीडित भएको बताउनुभयो।
"तपाईंलाई भेटेर धन्यवाद दिन हामीले यहाँ आज बोलएका हौं। आज हामी एकदम खुसी छौं। हामी तपाईंलाई नै भोट दिन्छौं, ढुक्क भएर जानुस्' भन्नुभयो।
यो शून्य समयमा न म भोट माग्न गएको थिएँ, न मैले मागेँ। विद्यार्थीको अनुरोधमा टोलबासीलाई असमन्जस भएर भेट्न गएको म। आदर, सम्मान र मायाले उत्साहित भएर फर्किएँ।
चुनावको पहिलो प्रहर, उत्साह र उमंगसाथ अग्रजको आशिष लिई सबै मतदान केन्द्र पुग्ने निर्णय गरेँ। दिनभरि लगाएर सबै केन्द्रहरू पुगेँ र आफ्ना सहयोगी तथा शुभचिन्तकलाई भेटेँ।
आफूले कम मत पाएको आकलन पनि गरेँ। हरेक मतदान केन्द्रबाट उस्तैस्तै कुरा आयो- भोट बदर हुने डरले पालिकाभरि आफ्नो दलको प्यानलमा मतदान गर्न दुई दिनको शून्य समयमा सबैले अपील गरेका रहेछन्।
शून्य समयमा म पूरै मौन भए पनि धेरै घटना भित्रभित्रै हुने रहेछन्। शून्य समयमा समुदायमा दबाव उच्च भयो। मेरा नरम समर्थक पनि विचलित भई प्यानलको वकालत गर्न थाले। आफ्नै प्यानल बनाई सबै पदका लागि सहकार्य गर्न सुझाएको र मैले ध्यान नदिएकोमा पछुतो पनि लागिरहेको थियो। शून्य समय, चुनावको दिन र मतगणना हुने दिनको रणनीति र स्रोतहरूबारे पूर्वनिर्धारण र उचित परिचालन गर्न नसक्नुले ममा अनुभव वा ज्ञानको कमी भएको प्रस्ट भयो।
मतगणना भएको केही दिन बित्दै गर्दा पालिकाको माहोल नरम हुँदै थियो। विस्तारै एकअर्कासँग गफ गर्ने माहोल बन्दै गएको थियो। यसै क्रममा विभिन्न राजनीतिक दलका युवा नेता तथा कार्यकर्ताहरू मतगणना स्थलबाहिर एकै ठाउँमा बसी चटपटे, आलु चप र प्याजको कचौरी खाँदै गफ मार्दै थिए।
मलाई देखेपछि नास्ता खान आग्रह गरे। विस्तारै १६ देखि २५ वर्ष उमेरका दस जना जति युवा पनि हाम्रै नजिक आएर बसे। खाजा खाएपछि तिनैमध्ये एक परिपक्व युवाले एक वर्षअघि एसइई परीक्षा दिएका भाइलाई खैनी माड्न भने। ती १७ वर्षे युवाले त्यहाँबाट टाढा गएर खैनी माडेर ल्याए। मैले नदेख्ने गरी दाइलाई दिएर गए।
दाइले यही घटनाको उदाहरण दिँदै भने- तपाईंलाई यो गाउँमा मान्छेले सम्मान दिन सक्छ तर जसरी तपाईंलाई अनभिज्ञ बनाई उसले मलाई खैनी माडेर दियो, भोटमा पनि यही नै भइरहेको छ। सम्मान, प्रतिष्ठा, इज्जत पाउने इच्छा हो भने जे गर्नुभएको छ त्यही गर्नुस्। तर तपाईं साँच्चै अर्को चुनावमा जित्ने मनसायले उम्मेदवारी दिने हो भने, पैसा खर्च गर्ने मनसायले आउनुहोस्।
'अनि चुनावमा गरिने अनियन्त्रित खर्चले नै त भ्रष्टाचार बढाउने हो नि, होइन र?' मैले प्रश्न गरेँ?
'जित्ने हार्ने सबैले पैसा खर्च गरेको छ। भ्रष्टाचार जित्ने प्रतिनिधिले मात्रै होइन, हार्ने प्रतिनिधिको मिलोमतोमै गर्ने हो। यो यथार्थ कसैसँग लुकेको छैन,' उनले भने।
यत्तिकैमा केही युवाहरूले उनले भनेको कुरामा प्रतिकार गरे र भावुक हुँदै सबै बिकाउ नहुने बताए।
वादविवाद जारी रह्यो। अनपेक्षित रूपमा दुई समूहको वार्तालाप सुनिरहेँ। पछि ती युवाहरू मलाई भेट्न आए।
उनीहरूले भनेअनुसार उनीहरू गाउँबाहिर विभिन्न स्थानमा कोही प्लस-टु र कोही स्नातक तहमा पढ्दै छन्। उनीहरू यसपालि चुनावमा मलाई नै भोट दिन भनेर गाउँ आएका हुन्। उनीहरूले ममा आश पनि देखेका छन्।
अरूले जे भने पनि चुनावमा पैसा, मदिरा वा कुनै प्रलोभन नदेखाई अर्को चुनावमा आउन सुझाए।
'तपाईं हाम्रो लागि प्रेरणा हुनुभएको छ, यसलाई नधमिल्याउनु होला' भन्दै बिदा मागे।
ती युवाहरूमा ऊर्जा मात्रै होइन, देश बनाउने भाव पनि पाएँ मैले।
मैले पनि बाचा गर्दै भनेँ, 'चुनावको नतिजाले दिग्भ्रमित हुन्नँ म, ठूलो उद्देश्य बोकी यस क्षेत्रमा आउने अठोट गरेको हुँ।'
समाप्त...
भाग १- राहत वितरणले सिकाएको पाठ
भाग २- अनि मैले 'एम्बुलेन्स' बनाएको गाडी बेचिदिएँ
भाग ३- यो त सुरूआत मात्रै हो!
भाग ४- 'छोरा गतिलो अफिसमा काम गर्छ भनेको त गाउँमै भौंतारिने भयो'
भाग ५- एक स्वतन्त्र उम्मेदवारको चुनाव अनुभव
(शैलेन्द्र झाका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @sailjha