अन्य सरकारी कर्मचारीहरू अफिस छुट्टी भएर तिहार मनाउन घर जाँदै छन्। चाडवाडको समयमा सुरक्षा कायम राख्न घर पुगेका प्रहरीहरू भने छुट्टी नसकिँदै ड्युटीमा फर्किन थालिसकेका छन्।
टिभीमा तिहारे गीतहरू गुन्जिरहेका छन्। केही समयअघि दसैंताका टिभीमा दसैं गीतहरू घन्किएका थिए।
प्रहरीका दुःखसुख सम्बन्धी केही गीतहरू पनि बजेका थिए। ती गीतमा प्रहरीका अधिकृत-जवानहरूले रमाइलो गर्दैगर्दा एउटा दृश्यमा पुगेपछि मन टक्क अडियो।
गीतमा देखिएका प्रहरी अधिकृतले जवानलाई टीका लगाइदिँदै 'तिमीलाई टीका म लगाउँला, मलाई कसले लाउला?' भन्दै थिए।
त्यतिखेर मैले आफ्नो प्रहरी जीवनमा तालिमपछिको पहिलो दसैंको क्षण सम्झिएको थिएँ।
पूर्व क्षेत्रीय सशस्त्र प्रहरी गण, विराटनगरमा दसैं मनाउँदै गर्दा हामी गणपति (एसपी) को हातबाट टीका लगाउन अगाडि उभिएका थियौं।
गणपति सा'बले अगाडि उभिएका जुनियर अफिसरहरूतर्फ हेर्दै भन्नुभयो, 'ए यहाँ सबैभन्दा जेठो को हो?'
सबभन्दा जेठा सुवेदार मेजरको हातबाट आफूले टीका लगाउनुभयो। अनि अरूलाई लगाइदिनुभयो।
त्यो दृश्य बडो मार्मिक लागेको थियो। उहाँले पनि आफ्नो घर र परिवार मिस गरिरहेको अनुभूति हुन्थ्यो। हामी पहिलो पटक बाबुआमाबाट टाढा भएर ब्यारेकमा दसैं मनाउनु पर्दा झन् भक्कनिएका थियौं।
बाहिरी दुनियाँले नदेख्ने वा भनौं बुझ्न नसकेको प्रहरीभित्रको एउटा मार्मिक पाटो- अरू कर्मचारीहरू दसैंतिहारको छुट्टीमा घर जाँदै गर्दा, त्यो समयमा घर गएका प्रहरीहरू भने जागिरमा फर्किँदै गरेका हुन्छन्।
प्रहरीले प्रत्येक चाडपर्वमा अझ बढी जिम्मेवारी महसुस गर्नुपर्ने हुन्छ।
घटस्थापनाकै दिन अदालत बन्द हुन्छ। सायद चाडवाडका बेला न्याय केही दिन ढिलै भए पनि त्यति फरक नपर्ने भनेर होला। तर चाडवाडमा सुरक्षा अलि ढिलै भए पनि दिउँला, त्यति फरक नपर्ला भन्ने छुट सुरक्षाकर्मीलाई हुने कुरा भएन।
अझ यही चाडवाडका बेला सबै जना खानपिनमा मस्त भएर रमाइरहेका बेला ब्यारेकमा पाक्दै गरेको खाना छाडेर तिनै खानपिनबाट आफूलाई सम्हाल्न नसकिरहेकाहरूलाई सम्हाल्न प्रहरी कुदिरहनुपरेको हुन्छ।
यस्तो बेलामा कहिलेकाहीँ आफ्नै प्रहरीलाई सम्हाल्न कमान्डरलाई गाह्रो परेको क्षणहरू पनि छन्।
२०५५ सालमा म इलाका प्रहरी कार्यालय, बेलबारीको इन्चार्ज हुँदा दसैंको नवमीको रात गेटमा आएर एक जना व्यक्ति कराउन थाले। जाँडले मस्त मातेका ती व्यक्ति प्रहरीलाई तथानाम गाली गर्दै थिए। गेटमा खटिएका सेन्ट्रीले उसलाई घर जान सम्झाए। ती स्थानीय व्यक्तिको स्वर झन् बढ्यो।
माओवादीको चहलपहल बढिरहेको बेला प्रहरी चनाखो त थियो नै, अझ मध्य दसैंले छोपेको त्यस रात सायद घरको यादले सताएका ती सेन्ट्रीलाई आफू घरमा मस्त भएर आएर उल्टै दसैंबिहीन भएर ड्युटीमा खटिएका प्रहरीलाई गाली गरेको सहन गाह्रो भयो क्यार।
एकछिनमा सेन्ट्रीले कराएर 'सुवेदार मेजर सा'ब, अति भो, हान्दिऊँ हजुर?' भन्दै राइफल कक गरेको सुनियो। सुवेदार मेजर र म आफैं दौडेर गेटमा गयौं। अनि सेन्ट्रीलाई सम्झाएर ती स्थानीय जँड्याहालाई घर पठाएको अझै सम्झिन्छु।
आफू दसैंमा मस्त हुदा आफ्नो चाडवाड बिर्सेर ड्युटीमा व्यस्त प्रहरीको भावनामा खेलवाड गर्न खोज्दा झन्डै दुर्घटना निम्त्याउन खोज्नेहरूले प्रहरीलाई चाडवाडमा सधैं व्यस्त बनाइदिन्छन्।
म अर्को घटना पनि सम्झिन्छु।
मैले भर्खरभर्खर जागिर सुरू गरेको थिएँ। त्यो बेला एक जना २७ वर्ष जागिर खाइसकेका सई सा'बले सुनाएका थिए- सर, २७ वर्षमा दुईपटक दसैं घरमा मनाएको छु। २५ वर्ष त ब्यारेकमै दसैं। त्यसैले अब त ब्यारेककै दसैं रमाइलो लाग्छ।
तीन वर्षअगाडि प्रहरीकै भाइ कवि नवराज पराजुलीले 'प्रहरी' शीर्षकको कविता सुनाए।
उनको कविताको एउटा अंश थियो-
दसैंमा अरूका आमाबुवाका हातहरू उनीहरूका छोराछोरीका निधारसम्म पुग्ने क्रममा आशिषहरू बाटोमै अपहरण नहून् भनेर म दसैंभरि बाटोमै उभिरहन्छु...
मेरा आफ्ना आमाबुवा र आफ्ना छोराछोरीहरू दसैंभरि मेरो बाटो हेरिरहन्छन्...
उनले प्रहरीका पीडा ओकलेका बखत मैले तिनै सई सा'बलाई सम्झिरहेथेँ।
जब म प्रहरीमा थिएँ, ब्यारेकबाहिर लहरै बाँधेर राखिएका खसी र बोकाहरू गन्दै यो फूलपातीलाई, यो नवमीलाई भनेर उज्यालो अनुहार बनाउँदै औंलाले देखाउँदै गरेका प्रहरी जवान देख्दा बाल्यकालको दसैं सम्झना आउँथ्यो।
हामी पनि यसरी नै बुवाले दसैंका लागि भनेर किनेका खसीबोका चराउन लैजान रहर गर्थ्यौं। मन त्यसैत्यसै ऊबेलाको दसैंमा पुगिन्थ्यो। अनि गस्तीमा जान लागेका टोलीलाई 'हामीले आफ्ना दसैं छाडेको नै सर्वसाधारणको दसैं रमाइलो होस् भनेर हो नि' भन्दै ब्रिफिङ गर्दै पठाएका ती क्षण सम्झन्छु।
प्रहरीप्रति झन् माया र सम्मान बढेर आउँछ।
अनि सर्वसाधारणले यति बुझिदिए हुन्थ्यो जस्तो लागेर आउँछ- प्रहरीले हाम्रो दसैंतिहारका लागि आफ्नो दसैंतिहार छाडेको छ।
सायद पटाका पड्काउन रोकेकामा कतिले प्रहरीलाई गाली गर्दै होलान्। प्रहरीको आँखा छल्दै पटाका पड्काइरहेका होलान्।
यसरी पटाका पड्किँदै गरेको बखत मलाई पुराना दिनहरू याद आउँछन्।
२०५१-५२ सालतिरको लक्ष्मीपूजामा विराटनगरभरि ड्यामड्याम पटाका पड्किरहँदा हामी प्रहरीहरू नेपाल-भारत सिमानाको जोगबनी भन्सारको ढाट र अन्य नाकामा एम्बुस थापेर भारतीय डाकाहरूलाई कुरेर बस्थ्यौं। किनकि प्रत्येक लक्ष्मीपूजामा विराटनगरका केही व्यापारीले लक्ष्मीपूजाका कारण खुला राख्ने गरेको सेफ (सन्दुक) डकैतको घटना त्यही दिन बढी हुन्थ्यो। जसका लागि सहयोगी वातावरण त्यही ड्यामड्याम गरेर पड्किने गरेको पटाखाले नै सिर्जना गरिदिन्थ्यो।
त्यसैले गाली खाँदै भए पनि प्रहरीले यस्ता पटाका पड्काउन रोक्दै सिमानामा एम्बुस थापेर आफ्नो तिहार अरूका लागि तिलाञ्जली दिएका हुन्छन्। सायद अहिले पनि प्रहरीले त्यसरी नै आफ्ना तिहार अरूको रमाइलो तिहारका लागि माया मारिरहेका होलान्।
तिहारको यस्तो रमझममा म फेरि तीन वर्षअगाडि लन्डनमा उही प्रहरीका भाइ कवि नवराज पराजुलीले भट्याएका 'प्रहरी' कविताकै अंश सम्झिरहेछु-
तिहारमा अरूका दिदीबहिनीहरू उनीहरूका दाजुभाइको सुरक्षाका लागि हातको दुबोबाट तेल चुहाउँदै दाजुभाइको वरिपरि घेरा लगाउँछन्...
म तिहारमा हातको बन्दुक र लठ्ठीबाट पसिना चुहाउँदै सडकको वरिपरि घेरा लगाउँछु...
अनि मेरा तीनैवटी दिदी मेरा फोटोको वरिपरि घेरा लगाउँछन्...
सायद धेरै प्रहरीहरूको प्रत्येक तिहार अर्काको दाजुभाइ र दिदीबहिनीको तेलको घेराको रक्षार्थ यसरी नै खाली निधार बित्ने होलान्।
मलाई अझै याद छ, मेरो प्रहरी जीवनको अन्तिम तिहार लमजुङको बेँसीसहरमा यसरी नै खाली निधार बितेको थियो। मेरो निधार खाली देखेर लमजुङ क्याम्पसका प्रमुखका श्रीमतीले टीका लगाइदिन खोज्नुभएको थियो। तर हामीले सर्वसाधारणको निधार भरी बनाउन हाम्रो निधार खाली हुन दिएका थियौं।
उसबखत परिस्थिति यस्तो थियो कि प्रत्येक साँझ कर्फ्यु लगाउँथ्यौं। सेना र प्रहरी मात्र होइन, जनता पनि आक्रान्त थिए। तिहारको रमाइलो देउसीभैलो खेल्ने बेलामा कर्फ्यु सुरू हुन्थ्यो।
२०६१ सालको भाइटीकामा हाम्रो निधार त खाली थियो नै, साँझ ८ बज्दै गर्दा खेल्दाखेल्दैको देउसी बन्द गरेर बजार नै खाली गर्दै गरेको दृश्य देख्न नसकेर नेपाली सेनाका क्याप्टेन र म भएर कर्फ्यु सुरू हुन लाग्दा देउसी बन्द गरेर हतारिएर घर जान लागेका सर्वसाधारणलाई रोकेर 'खेल्नुस् देउसी, हामी सँगै हुन्छौं' भनेर आश्वस्त पार्दै आफैं भट्याएका थियौं।
सेना र प्रहरीका युनिफाइड कमान्डको गस्ती टोलीले 'क्या हो, कर्फ्यु लागिसकेको थाहा छैन?' भन्दै कराउँदै देउसी खेलेको ठाउँमा आइपुगेको थियो। आफ्नै प्रहरी र सेनाका सिनियर अफिसर नै भट्याउँदै गरेको देखेर गस्ती टोली नै अचम्म भएको थियो।
त्यो क्षण प्रत्येक तिहारमा सम्झिन्छु।
उसबखत दिदीबहिनीहरूले आशा गरेका थिए, यसपालि त भाइ अनि दाइ पक्कै भाइटीकामा आइपुग्ने छन्।
तर म घर पुगेको थिएँ भाइटीकाको भोलिपल्ट।
म घर पुग्दै गर्दा दिदीबहिनीले हिजोको भाइटीकाको सामग्री हटाउँदै गरेको देखेँ। तेलको घेराको डोब र ओखरका टुक्राटाक्री अनि सयपत्री फूलका मालाहरू यत्रतत्र थिए। हिजोको पूजास्थल सफा गरिरहेका दिदीबहिनीहरू टक्क अडिएर मलाई हेर्दै टोलाएका थिए।
अनि त्यो सुकेको तेलको दोबले मलाई झन् खिन्न बनाएको थियो। त्यतिखेर लागेको थियो, किन बेक्कार आएछु भाइटीकाको भोलिपल्ट! बरू केही दिनपछि आएको भए यस्तो पीडा हुन्थेन कि!
आखिर प्रहरीको पनि त मन हुन्छ। उसको पनि परिवार छ। दाजुभाइ अनि दिदीबहिनीहरू छन्। उसलाई पनि रमाइलो गर्न मन लाग्छ। उसलाई पनि तिहार आउँछ।
तर उसको न दसैं हुन्छ न तिहार। उसले आफ्नो प्रत्येक दसैं र तिहार सर्वसाधारणको सुरक्षा र रमाइलोका लागि तिलाञ्जली दिन्छ। दिदीबहिनीसँग फोनमा टीका लगाउँदै भए पनि तिहारमा खुसी हुन खोज्छ।
प्रहरीले यस्तोमा सर्वसाधारणबाट केही अपेक्षा पनि गरेको हुँदैन। थोरै माया र अलिकति कृतज्ञता जनाइदिए पुग्छ।
सबैको तिहार रमाइलो रहोस्!
(श्रेष्ठ नेपाल प्रहरीका पूर्वप्रहरी अधिकृत हुन्। उनी हाल ब्रिटिस प्रहरीको ह्याम्प्सायर पुलि कन्स्टेबुलरीका सल्लाहकार छन्।)