विक्रम संवत् २०४४ को पुस–माघतिरको कुरा हुनुपर्छ, म नेपाल राष्ट्र बैंक थापाथलीस्थित, बैकिङ कार्यालयमा कार्यकारी निर्देशकको निजी सहायकका रूपमा कार्यरत थिएँ।
मेरो छोरा यस्तै तीन–चार महिना उमेरको थियो।
बैंकको जागिर दस–पाँचको थियो। घरमा बच्चा छाडेर कार्यालयमा दिनभरि बिताउन न मनले सहज ठान्थ्यो न तनले। अहिलेको जस्तो ५० जना महिला कर्मचारी भएको ठाउँमा बच्चा हेर्ने व्यवस्था हुनुपर्छ भनेर आवाज उठाउने कुरा वा स्तनपान बच्चाको अधिकार हो भन्ने नारा स्थापित भइसकेको थिएन।
कार्यालयमा बस्दा स्तनबाट आफैं दूध बगेर जान्थ्यो। यस्तो बेला अरूको अगाडि आफ्नो मुख रातो हुन्थ्यो। आजकाल जस्तो अगस्ट १ देखि ७ सम्म ‘विश्व स्तनपान सप्ताह’ मनाउने वार्षिक उत्सव पनि थिएन।
‘सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य अधिकार ऐन, २०७५’ को परिच्छेद ३, दफा १३ ले व्यवस्था गरेको प्रसूति बिदाको अधिकारभित्र नवजात शिशुका लागि स्तनपान प्रवर्द्धन र सहजीकरणका लागि ९८ दिन पूर्ण तलबी बिदाको व्यवस्था पनि थिएन।
आवश्यक परे चिकित्सकको रायअनुसार बढीमा एक वर्ष बेतलबी बिदा पाउने अधिकारको व्यवस्था कल्पनाबाहिर थियो। अहिलेको ऐनले सरकारी, गैरसरकारी, निजी लगायत सबै संगठित संघसंस्थाले महिलालाई उपर्युक्त अनुसार बिदा दिनुपर्छ।
शिशु जन्मेको दुई वर्षसम्म कार्यालय समयमा बच्चालाई स्तनपानका लागि कार्यालयले नै आवश्यक व्यवस्था गर्नुपर्छ।
अधिकार र कानुनको यस्तो व्यवस्था नभएको त्यो समयमा पनि मैले छोरालाई बिहान–बेलुकै सही, लगातर ११ महिना स्तनपान गराएँ।
यहाँ यो कुरा उठाउनुको कारण छ। त्यो के भने स्तन क्यान्सरको कुरा हुने बित्तिकै कतिपय मानिसहरू आफैं अनुसन्धान कर्ताजसरी फ्याट्टै भनिदिन्छन्– बच्चालाई दूध चुसाउने आमालाई स्तन क्यान्सर हुँदैन।
केही दिनअघिको कुरा हो, धादिङकी एक महिला मलाई भेट्न आउनुभएको थियो। उहाँका आठ जना छोरी र एउटा छोरासमेत नौ जना सन्तान हुनुहुँदो रहेछ।
अहिले करिब ६३ वर्षकी उहाँलाई ती सबै छोराछोरी जन्मिसकेपछि, आजभन्दा २०–२२ वर्षअघि, स्तन क्यान्सर भएछ र देब्रे स्तनको म्यास्टेक्टोमी गरिएको रहेछ।
उहाँले आफ्ना सबै छोराछोरीलाई स्तनपान गराउनुभएको रहेछ।
अर्को एउटा कुरा पनि जानकारीमा आयो। हाल स्तन क्यान्सरको उपचार गराइरहनुभएकी एक महिलाले आफ्नो एक बच्चालाई लगातार चार वर्ष स्तनपान गराउनुभएको थियो रे।
यी प्रसंग लेख्नुको कारण के हो भने स्तनपान गराउँदैमा स्तन क्यान्सर हुँदैन भन्ने कुरा पनि सही होइन रहेनछ।
अमेरिकन इन्स्टिच्युट फर क्यान्सर रिसर्चले सन् २०२० जनवरी ९ मा प्रकाशित गरेको एउटा रिपोर्टअनुसार स्तनपान गराउने आमाहरूलाई महिनावारी रोकिनुभन्दा अगाडि वा पछाडि स्तन क्यान्सर हुने सम्भावना कम हुन्छ तर क्यान्सर हुँदै हुँदैन भन्ने होइन।
स्तन क्यान्सर पुरुषलाई पनि हुन्छ। सन् २०१९ मा चर्चित अमेरिकी गायकहरू बियोन्सी नोवेल्स कार्टर र सोलेन्ज नोवेल्सका बाबु म्याथ्यु नोवेल्सलाई स्तन क्यान्सर भएको थियो। उनले उक्त कुरा सन् २०२० अक्टोबर २ मा एक अमेरिकी टेलिभिजन च्यानलको 'गुड मर्निङ अमेरिका' कार्यक्रममा भनेका थिए।
उनका अनुसार एक दिन उनले आफूले लगाइरहेको सेतो टिसर्टमा रगतको टाटो देखे। केही लाग्यो होला भनेर वास्ता गरेनन्। दोस्रो दिन पनि त्यस्तै देखेछन्। त्यस दिन पनि खासै वास्ता गरेनछन्। तेस्रो दिन उनकी पत्नीले पनि रगतको थोपा देखेपछि उनीहरू डाक्टरकहाँ गएछन्।
डाक्टरले स्तनको म्यामोग्राम, अल्ट्रा साउन्ड र निडल बायप्सी गरेपछि स्तन क्यान्सर भएको पक्का भएछ। तुरून्तै शल्यक्रिया गरी उक्त स्तन काटेर फ्याँकिएछ, अर्थात् म्यास्टेक्टोमी गरिएछ।
त्यसपछि उनको बिआरसिए जिन परीक्षण गर्दा बिआरसिए जिन-२ फेला परेछ। यसबाट उनमा स्तन क्यान्सर, प्रोस्टेट क्यान्सर, प्यान्क्रियाटिक क्यान्सर वा मेलोनोमा हुने धेरै सम्भावना देखिएछ।
सन् २०१३ को मे १४ मा अमेरिकाबाट प्रकाशन हुने पत्रिका द न्युयोर्क टाइम्समा हलिउडकी चर्चित अभिनेत्री एन्जेलिना जोलीले आफ्नो दुबै स्तनको म्यास्टेक्टोमी गरेको विषयमा उनको निजात्मक निबन्ध ‘माइ मेडिकल च्वाइस’ मा छापिएको थियो।
उक्त लेख नेपालको एक पत्रिकामा पनि सोर्स नखुलाइकन नेपाली अनुवाद छापिएको थियो जस्तो लाग्छ। उक्त लेखमा जोलीले आफ्नी आमाले दस वर्ष क्यान्सरसँग लडाइँ गरेको र ५६ वर्षको उमेरमा मृत्यु भएको कुरा लेखेकी थिइन्। आमाको मृत्युपछि जोलीका छोराछोरीले उनलाई पनि उनकी आमालाई जस्तै त हुने होइन भनेर चिन्ता व्यक्त गर्न थालेछन्। परीक्षण गराउँदा बिआरसिए जिन देखा परेछ। जोलीले रोग निरूपणको उपायको रूपमा आफ्ना दुबै स्तनको म्यास्टेक्टोमी गराइछन्।
बिआरसिए जिनले उनलाई स्तन क्यान्सर हुने सम्भावना ८७ प्रतिशत र ओभरीको क्यान्सर हुने सम्भावना ५० प्रतिशत छ भनेर डाक्टरहरूले भनेका रहेछन्। सोही लेखमा उल्लेख भएअनुसार बिआरसिए-१ को खराबी देखियो भने औसतमा ६५ प्रतिशतलाई स्तन र ओभरीको क्यान्सर हुनसक्छ।
एन्जेलिना जोलीले जस्तै अन्य सेलेब्रिटीहरू ब्रिटिस–अमेरिकन टेलिभिजन पर्सनालिटी श्यारन ओस्बर्न र अमेरिकन अभिनेत्री क्रिस्टिना एपलगेटले पनि एउटा स्तनमा ट्युमर देखिनेबित्तिकै दुइटै स्तन काटेर फालेका थिए।
मैले स्तन क्यान्सर बारेमा लेखे पनि म कुनै मेडिकल पृष्ठभूमिको वा जानकार व्यक्ति होइन। आफूलाई केही हप्ताअघि स्तन क्यान्सर पत्ता लागेपछि आफूजस्त अरू महिलाले यो समस्या भोग्न नपरोस् भन्ने मनसायले ब्लग लेखेकी हुँ। यो तस्रो ब्लग हो।
मैले लेखेका ब्लगले केही महिलालाई आफ्नो स्तनको स्वास्थ्यबारे सचेत गराए पनि अझै केहीले म्यामोग्राम गराउन जान डर मानेको पनि पाएकी छु। डर र रोगको सम्बन्ध अन्योन्याश्रित छ। कुरा के पनि हो भने रोग लागिसकेपछि त डाक्टरकहाँ नगई धरै छैन। त्यसको सट्टा अगाडि नै सचेत बन्न सके दुःख कम हुन सक्छ।
स्तन क्यान्सरको लक्षण पनि सबैलाई उस्तै र उही हुन्छ भन्ने छैन। मलाई रोगले आक्रान्त पारेपछि मैले एकजना वरिष्ठ स्त्रीरोग विशेषज्ञलाई पनि स्तन क्यान्सर भएको थाहा पाएँ। उनले पनि अचानक थाहा पाएकी रहिछन्।
डाक्टर स्वयंलाई त रोगबारे अचानक जानकारी हुन्छ भने हामी जस्ता आफ्नो स्वास्थ्यबारे धेरै सचेत नहुने व्यक्ति रोगले गाँजेपछि मात्रै थाहा पाउनु कुन अचम्मको कुरा भयो र!
मेरो देब्रे स्तनको माथिल्लो भागमा गाँठो देखिएको सात वर्ष भएको थियो। हालैका दिनमा स्तनको टुप्पो वरिपरि भएको गाँठो पलाएर स्तन लुछेको जस्तो गरेर दुख्न थालेपछि मात्रै थाहा पाएँ। आखिर, क्यान्सर बोकेको खराब सिस्ट पनि त्यही रहेछ।
डाक्टरका अनुसार स्तनको टुप्पोमा भएको गाँठो अझै डरलाग्दो हुन्छ रे।
लक्षण पनि मान्छेपिच्छे अनेक देखापर्दा रहेछन्। कसैको स्तनमा गाँठो देखापर्छ त कसैको काखीमुनिको भागमा गिर्खा आउँछ। कसैको स्तनको आकार वा रङमा परिवर्तन आउँछ त कसैको स्तनको टुप्पोभित्र पस्ने हुन्छ।
कसैको स्तन सुन्निने, कसैको स्तनबाट पिप या रगतजस्तो पदार्थ बग्ने इत्यादि हुने रहेछ।
यस्तो कुरा जचाउन जाँदा डाक्टरहरूले सोधेका प्रश्नहरूबाट अलिकति जानकारी भएको हो। आजकाल सामान्य ज्ञानका लागि हामी इन्टरनेटमा खोजी गरेर पनि स्तन क्यान्सरबारे धेरै कुरा थाहा पाउन सक्छौं।
अमेरिकामा स्तन क्यान्सरसम्बन्धी सार्वजनिक रूपमा चेतना जगाउने काम सन् १९७५ मा तत्कालीन राष्ट्रपति जेराल्ड फोर्डको पालामा सुरू भएको थियो। त्यति बेला, अमेरिकन क्यान्सर सोसाइटी र इम्पेरियल केमिकल इन्डस्ट्रिजको संयुक्त सहभागितामा ‘म्यामोग्राम’ लाई स्तन क्यान्सरको राम्रो साधनका रूपमा प्रवर्द्धन गर्न अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना फैलाउने महिना घोषणा गरिएको थियो।
उक्त कार्यक्रम सुरू गर्न राष्ट्रपति फोर्डकी पत्नी बेट्टी फोर्ड गुलाबी रङको रिबन लगाएर एक हप्ता कार्यक्रममा सहभागी भएकी थिइन्। त्यो समयदेखि अहिलेसम्म आइपुग्दा विश्वका धेरै देशहरूमा अक्टोबर महिनालाई स्तन क्यान्सर सचेतना महिनाको रूपमा मनाउँछन्। यो कार्यक्रम केही वर्षदेखि नेपालमा पनि चल्दैछ।
नेपालमा केही डाक्टरहरूले महिलाहरूलाई ‘अहिले तपाईंलाई केही भएको छैन, म्यामोग्राम गर्नु पर्दैन’ भन्ने सल्लाह पनि दिँदा रहेछन्। अमेरिकामा चाहिँ ४० वर्ष पुगेका महिलालाई वर्षको एकपटक म्यामोग्राम गर्न सल्लाह दिइन्छ।
परिवारमा क्यान्सरको इतिहास छ भने त झन् सतर्क हुन जरूरी हुन रहेछ।
अमेरिकामा भएका स्तन क्यान्सरसम्बन्धी अनुसन्धानअनुसार पहिलोपटक महिनावारी हुँदाको उमेर १२ वर्षभन्दा कम थियो भने त्यस्ती महिलालाई स्तन क्यान्सर हुने सम्भावना धेरै हुनेरहेछ।
अन्य धेरै जोखिमका कारकहरू पनि छन्। यसकारण समय–समयमा डाक्टरको सल्लाह लिनु जरुरी हुन्छ।
सबैभन्दा ठूलो कुरा, हामी आफ्नो स्वास्थ्यप्रति हेलचेक्रर्याइँ नगरौं, डाक्टरकहाँ जान नडराऔं। जँचाउन जान डराएर के गर्ने? रोग लागेपछि शरण पर्न त जान परिहाल्छ। त्यसैले समयमै सचेत होऔं।
(नोटः यो लेख मेडिकल सल्लाहका लागि होइन, व्यक्तिगत अनुभव र केही सूचनाहरूको संकलन मात्रै हो।)
यी पनि पढ्नुहोस्ः
क्यान्सरको आक्रमणमा परेकी म!
छातीबाट एउटा गह्रौं भारी बिसाएँ!
(अमृता लम्सालका अन्य लेखहरू पढ्न यहाँ क्लिक गर्नुहोस्)
ट्विटरः @AmritaLamsal