हरेक धर्मले खुसी हुन सिकाउँछ। परिवार, आफन्त, छिमेकी, साथीभाइ सबैसँग मिलेर रमाउन सिकाउँछ। त्यसैले पनि हरेक धर्मको आफ्नै चाडपर्व हुन्छ। अनि त्यो चाडपर्वले सबैलाई जोडेर नै राखेको हुन्छ।
चाहे हिन्दुको दशैँ र तिहार होस्, चाहे मुश्लिमको इद वा क्रिश्चियनको क्रिसमस र इस्टर। यी सबै चाडपवले बिदा मनाएकै हुन्छ र वर्षभरीको थकान मेटाएर हाँसो छरेकै हुन्छ।
पारिवारीक जम्काभेट, किनमेल, उपहारको आदनप्रदान, विभिन्न परिकारको भोज, नाचगान, गफगाफ, ध्यान प्रार्थना यी सबै सबैको चाडपर्वको विशेषता हो र यो नै चाडपर्वको परिभाषा पनि।
यतिखेर क्रिस्चियनको महान चाड क्रिसमसको रौनक आएको छ। जसरी हाम्रो तिहारमा घर सडक झिलिमिलि हुन्छ त्यसरी नै अहिले क्रिसमसले पनि सबैतिर झिलिमिलि पारेको छ।
यतिखेर सरकारी छुट्टि छ यतातिर। सपिङ गर्नेको भीड छ। रूख किन्ने र सजाउने, परिवार र साथीहरूलाई भेट्ने, अर्थपूर्ण उपहारहरू खोज्ने, दिने-लिने, अनि दान गरेर पुण्य पनि कमाउने, अनि मिठोमिठो पकवान बनाउनमा धेरैजना व्यस्त छन्।
त्यस्तै तास, रक्सी, नाँच गान, मुभी टाइमको तयारी पनि भव्य हुँदैछ। सबै जना आफ्नो व्यस्त जीवनबाट विश्राम लिएर परिवारसँग रमाउँदै छन् यतिखेर। यसरी क्रिसमसको दिन घरभरी रमाइलो हुन्छ। हाम्रो दशैँ जसरी शहरका गल्ली र बजारहरू सुनसान हुन्छन्।
म हिन्दु परिवारमा जन्मेकी एक हिन्दु हुँ।
मलाई वर्षभरी आउने हिन्दु चाडपर्वको एकदमै महत्व लाग्छ।
चाडपर्व मनाउँदा म खुसी हुन्छु। चाडपर्वको दिन वर्षभरीको तनाव बिर्सिएर परिवार, आफन्त, साथीभाइसँग खुब रमाइलो गरेर मनाउँछु। बिदा लिएर घरमा यसरी चाडपर्व मनाउँदा मनमा शान्ति छाउँछ। विभिन्न परिकार बनाउन जाँगर चल्छ। घरै समारात्मक उर्जाले भरिएको महसुस हुन्छ।
त्यहीँ महसुस क्रिसमस मनाउँदा पनि मलाई हुन्छ। ममा चर्च गएर ढोग्नुपर्छ भन्ने प्रेसर छैन। क्रिसमसको दिन जिजस क्राइष्टको अगाडि मैनबत्ती बाल्नुपर्छ भन्ने बाध्यता छैन। तर मेरो सुरमा यदि मेरो क्रिस्चियन साथीसँग चर्चमा गएर एउटा मैनबत्ती बाल्दा र यदि जिजसलाई नमस्कार गर्नुपरेमा मलाई समस्या हुन्न।
विगतमा मैले त्यसो गरेको पनि छु। जसरी दशैँमा मेरो क्रिश्चियन साथीहरू घरमा आएर टिका लगाएका छन् र देवी दुर्गाको अगाडि ढोगेका छन् भने त्यसरी नै म पनि चर्च गएर त्यहीँ साथीसँग उसको घरमा क्रिसमस मनाउँछु।
दशैँमा उनी मेरो घरमा आएर दशैँ मनाउँदा खुसी भईन् र म क्रिसमसमा उसको घर गरेर क्रिसमस मनाउँदा खुसी भएँ। यसो गर्दा न उनी क्रिस्चियनबाट हिन्दु भईन् न म हिन्दुबाट क्रिस्चियन भएँ। भयो त हामी खुसी मात्रै। खुसी भन्दा धर्म ठूलो हो र? जुन धर्मले खुसी खोस्छ त्यो वास्तवमा धर्म नै हो त?
यतिखेर म जस्तै नन–क्रिस्चियन कयौँ व्यक्तिले घरमा क्रिसमस ट्री ल्याएर सजाइरहेका छन्। आफू लगायत आफ्नो छोराछोरीलाई पनि शान्ता क्लाउस जसरी सजाएर सोसल मिडियामा राखिरहेका छन्। परिवारहरू छुट्टी मनाउन देश–विदेश गइरहेको छन्। विभिन्न कार्ड, मेसेज मार्फत क्रिसमसको शुभकामना दिइरहेका छन्।
तर केही वर्गहरुलाई भने यो अपाच्य भइरहेको छ। उनीहरुलाई यसरी हिन्दुहरुले क्रिसमस मनाएको मन परिरहेको छैन। उनीहरुको आँखामा यस्ता व्यक्तिहरु धर्मभ्रष्ट गर्ने मानिसहरु हुन्। हिन्दु धर्मलाई मासेर क्रिश्चियन धर्मको प्रसारप्रचार गरिरहेको ठान्छन्। क्रिसमसको झिलिमिलीमा रमाउँदा हामीहरूकोमा पश्चिमेली संस्कृतिलाई बढावा दिएको मान्दछन्। यसरी क्रिसमस मनाउँदैमा देशमा अब धेरै क्रिस्चियनहरू भित्रिने भयो भनेर चिन्ता लिन थाल्छन्। तर यो सारासर गलत अवधारणा हो।
दशैँ र तिहार मनाउँदैमा कोही हिन्दू नै हुने होइन, इदमा व्रत बस्दैमा कोही मुश्लिम हुने होइन तर क्रिसमस मनाउँदैमा कोही क्रिस्चियन हुने होइन। यसरी संशकित रहनु भनेको आफ्नै धर्म, संस्कार र संस्कृतिमा विश्वास नगर्नु हो।
यो संसारमा कोही कसैले कसैलाई बाँधेर राख्न सकिदैन। यदि कोही व्यक्ति हिन्दु, मुश्लिम वा क्रिस्चियन हुनु छ भने ऊ जसरी पनि हुन्छ। ऊ बिना कुनै चाडपर्व मनाएर धर्म परिवर्तन पनि गर्न सक्छ। तर एउटा चाडपर्व मनाउँदैमा उसले धर्म परिवर्तन गर्छ भनेर सोच्नु नै मुर्खता हो।
संसार बहुसांस्कृतिक, बहुपरिवेशतिर उन्मुख भइरहेको बेला यहाँ जो जसले जुन चाडपर्व पनि मिलोमतोमा मनाउन सक्छन्। यसरी अरूको पनि चाडपर्वमा सरिक भएर मनाउँदा उनीहरूको धर्म, अस्थित्व प्रतिको आदर सम्मान देखाएको बुझिन्छ जसले सबैलाई एकताको सुत्रमा बाँध्ने काम गर्छ।
यसो हुँदा संसारमा भाइचारा बढ्छ, धर्मको नाममा मारकाट हुन कम हुन्छ। एउटा धर्मले अर्को धर्मको चाडपर्व मनाउँदैमा कोही धर्मद्रोही हुँदैन। यदि यस्तो सोचाइ राख्यो भने यसले अराजकता मात्रै फैलाउँछ।
सन् २०२० अगष्टमा भारतको एउटा फोटो सोसल मिडियामा भाइलर भएको थियो। फोटो थियो-एउटा मुश्लिम महिलाले आफ्नो बच्चालाई कृष्णको लुक्स दिएर सम्भवतः बच्चाको स्कूलमा कृष्णअष्टमी मनाउन लिएर हिँडेकी थिइन्।
वास्तवमा फोटो गज्जवको नै थियो। त्यो फोटोले धर्मको नाममा रगत बगाउनेलाई राम्रो सन्देश र गतिलो झापड पनि दिएको थियो। उक्त फोटोलाई समर्थन गर्दै लेखक तथा राजनैतिज्ञ शशी थरूरले ट्विट गरेका थिएः
‘यशोदा का वही धर्म, जो उसके कान्हा की फरियाद है
मंदिर–मस्जिद–गिरजा–गुरद्वारे ये सब उसके बाद है’
अर्थात्,
यशोदाको त्यहीँ धर्म हो जसमा उसको कृष्णाको विलाप छ
मन्दिर–मस्जिद–चर्च–गुरूद्वारा यी सबै त्यस पछिका हुन्।
यसले के पुष्टि गर्छ भने ती आमालाई छोराको खुसी बढी प्यारो भयो। यदि छोरालाई कृष्णष्टमीमा कृष्ण बनेर खुसी दिन्छ भने त्यो खुसी कुनै मन्दिर–मस्जिद–चर्च–गुरुद्वारा भन्दा ठूलो भयो।
फोटोमा पनि त्यो बालक त्यसरी कृष्णको पोसाकमा हिँड्दा निकै खुसी देखिन्थ्यो। उसलाई न कुनै पीर, न कुनै डर न कुनै सुर्ता। ऊ यी धर्मका चंगुलबाट धेरै पर थियो। उसलाई कृष्णअष्टमीमा आफ्नो पनि पोशाक देखाएर खुसी हुनु थियो। उसको खुसीमा विरोध जनाउनुपर्ने त्यस्तो त केही थिएन तर उक्त फोटोको विरोध भयो।
शशी थरूरकै पोष्टमा धेरै नकारात्मक कमेन्ट आए। यदि त्यो पोशाक एउटा हिन्दु बालकले लगाएको भए विरोध हुँदैनथ्यो तर एउटा मुश्लिम बालकले लगाउँदा बिरोध भयो।
‘हिन्दु धर्मको शक्ति कृष्ण भगवानको पोसाक कुनै फेसन होइन। जसले पनि लगाएर बाटोमा हिँड्ने।’
‘हिन्दू संस्कृति, आस्था र परम्परा फेन्सी ड्रेस प्रतियोगिता होइन कि एक व्यक्ति कृष्णाको रूपमा ‘ड्रेसअप’ हुनेछ र अन्य कृष्णाहरूसँग प्रतिस्पर्धा गर्न कार्यक्रममा देखापर्नेछ।’
‘यो देशमा मात्रै मानिसहरूले हिन्दू संस्कृतिलाई धर्मनिरपेक्षताको नाममा लुट्ने स्वतन्त्रता पाउँछन्।’
यस्ता यस्ता वा यो भन्दा सुन्न नसकिने कमेन्टहरु जताततै आउन थाले। त्यतिखेर वास्तवमा नै मलाई लाग्यो स्वयंम् भगवान कृष्णा नै अपमानित भइरहेका छन्। उनीहरुले त्यो बालकलाई होइन स्वयंम् कृष्णा भगवान र उनका पोशाकलाई नै अपमान गरिरहेका थिए। कृष्णाको पोसाक लगाएर कृष्णाष्टमी मनाउन गएको त्यो अबोध बालकले बिना कारण यति धेरै क्रिटिसिजम खेप्नुपर्दा हिन्दु धर्मलाई केही व्यक्तिहरुले कता पुराउँदै छ भन्ने मलाई चिन्ता पनि लाग्यो। संसारको धर्महरुमा सबैभन्दा लिवरल धर्म हो हिन्दु भनेर प्राउड गरिरहेकी म ती कमेन्टहरु हेरेर एकछिन स्तब्ध भएँ।
जसरी त्यो बालक हिन्दु पोसाकमा सजिएर मुरली बजाउँदैमा हिन्दु भइहाल्ने होइन त्यसरी नै यो क्रिसमसमा क्रिसमस ट्रीको अगाडि फोटो सेसन गर्दैमा क्रिस्चियन हुने पनि होइन। यो सबै आफू खुसी हुनको लागि गरिने सेलिब्रेसन हो जुन हामीले हाम्रो जीवनलाई समृद्ध बनाउन, आफ्नो परिवार र समुदायमा आफूलाई जगाउन, र अरूसँग अर्थपूर्ण अनुभवहरू सिर्जना गर्ने गर्दछौँ।
क्रिसमसको अवधारणासँग सम्बन्धित भावनाहरू अरूलाई प्रेम र दयालु व्यवहार गर्ने अरु धर्महरूसँग पनि मिल्दोजुल्दो छन्। त्यसैले धेरै नसोचिकन मन लाग्नेहरु सबैले सबैको चाढपर्वहरु हर्षोल्लासपूर्वक मनाऔँ।
मेरी क्रिसमस।