चियासँग मेरो मोहनी कहिलेदेखि बस्यो ठ्याक्कै भन्न सक्दिनँ। तर थाहा पाउने भएदेखि चिया खाँदै आएको याद छ।
घरमा चिया पकाउन चियादानी हुन्थ्यो। बिहान र बेलुका गरी दिनमा दुई पटक त्यसै चियादानीमा चिया पाक्थ्यो। घरमा पाहुना थपिए चिया पनि थपिँदै जान्थ्यो।
सुरु-सुरुमा चिया गुलियोको लागि खान्थेँ। चियामा गुलियो कम भए चिनी थपी-थपी खाइन्थ्यो। घरमा हाम्रो परिवारका सदस्य सबैले चिया खान्थ्यौँ। साना-ठूला सबैले नै खान्थ्यौँ।
सबैलाई गुलियो चिया नै मन पर्ने। हरेक ३ दिन बिराएर १ किलो चिनी भित्रन्थ्यो हाम्रो घरमा। चिनीसँगै चियापत्ती अनि दूध पनि चियामा राख्ने भइहाल्यो।
चिया खाँदै जाँदा अम्मलै बसेछ क्यारे, चिया बिना अड्नै नसक्ने भइएछ। जतिबेला पनि चिया। घर छोडेर क्याम्पस पढ्न गइयो। डेरामा पनि चिया नै चाहिने।
त्यतिबेलासम्म दिनमा सरदर ३ कप चिया खानैपर्ने अम्मली भइसकेको थिएँ। घरमा वा डेरामा खाएको चियाले धितै नमर्ने। चिया खान चिया पसल जानैपर्ने बानी लाग्न थाल्यो। बिहान उठेदेखि बेलुका नसुतुन्जेल चिया।
पत्रकारिता सुरु गरे यता चिया सेवनको मात्रा गुणात्मक ढंगले बढ्यो। साथीभाइसँगको सम्पर्क मात्रै बढेन, विभिन्न कार्यक्रमहरूमा सहभागी हुँदा त चिया अनिवार्य हुन्थ्यो, यसले पनि चिया सेवन मात्रा बढाइदियो।
चिया सेवनको मात्रा अनपेक्षित ढंगले बढेछ। कहिलेकाहीँ त दिनमा १० कपसम्म चिया खाइन्थ्यो।
चिया अधिक सेवन गरेको दिन खाना मन नलाग्ने, राति निद्रा नलाग्ने जस्ता समस्या बाहेक यसले खासै हानी गरेको जस्तो शरीरले महसुस त गरेको थिएन। तर चिया खानु हुँदैन भन्ने धारणा पनि विकास हुँदै गइरहेको थियो।
चिया सेवनको यो मात्राले एक दिन समस्या निम्त्याउँछ भन्ने महसुस हुँदै गयो। परिणामस्वरुप चिया नखाने निधो गरेँ।
मलाई लाग्यो चिया खाने पैसा कुनै परोपकारी काममा खर्च गर्छु। दैनिक सरदर तीन कपसम्म चिया पिउँदै आएको थिएँ। बिहान, दिउँसो र बेलुका तीन पटकको चिया मूल्य दैनिक ६० रुपैयाँ। यो मूल्य मासिक १८ सय पुग्दो रहेछ। वर्षमा २१ हजार ६ सय चिया खाँदा खर्च हुनेरहेछ।
मैले सोचेँ, चिया खाएर बगाउने यो पैसा मैले कम्तीमा क्यान्सर पीडित, मृगौला पीडितलाई सहयोग गर्न सके उनीहरूको ज्यान बचाउन थोरै भए पनि सहयोग पुग्ने थियो। मेरो सोचाइलाई कार्यान्वयन गर्ने दृढ संकल्प गरेँ।
अंग्रेजी नयाँ वर्ष २०२१, जनवरी १ देखि चिया खान छाडेँ।
चिया खान छोडेको सुरु-सुरुमा निकै तल-तल लाग्थ्यो। कसैले चिया खाएको देख्दा खाउँ-खाउँ लाग्ने। केही समय चिया खाने समयमा तातो पानी पिउथेँ। बानी परिवर्तन गर्न निकै गाह्रो हुँदो रहेछ।
सामाजिक, राजनीतिक क्रान्ति गर्न बरु सजिलो रहेछ। मनको क्रान्ति गर्न निकै अप्ठ्यारो। एक दिन त साथीभाइ सँगै बसेर चियाको एक घुट्का लिएछु पत्तै भएन। पछि सम्झिएँ, ओहो! मैले चिया त छोडेको हो त। यस्ता घटना धेरै भए।
करिब २ हप्तासम्म कुनै कामलाई निरन्तरता दिएँ। त्यो बानीमा परिवर्तन हुँदो रहेछ। मलाई झण्डै २ हप्ता जति बानी परिवर्तन गर्न निकै हम्मे-हम्मे पर्यो। त्यसपछि त क्रमशः चियाको तलतल घट्न थाल्यो। अहिले भने चिया खाउँ-खाउँ लाग्दैन, बानी परेछ क्यारे।
गत जनवरी १, २०२३ मा मैले चिया खान छोडेको ठिक दुई वर्ष पूरा भयो। यस बीचमा मैले चिया खर्चबाट बचेको पैसा ५ जना क्यान्सर र मृगौला बिरामीलाई सहयोग गरेँ। मेरो सोचाइ वर्षमा १ जना क्यान्सर बिरामी र १ जना मृगौला बिरामीलाई सहयोग गर्ने भन्ने थियो।
तर अन्य बिरामीहरू पनि सहयोग माग्न आउने भएकाले उनीहरूलाई पनि फुटकर सहयोग गर्ने गरेको छु। अलि ठूलो सहयोग भने क्यान्सर र मृगौलाका बिरामीलाई गर्दै आएको छु।
कतैबाट सहयोग नपाएका तथा उपचारमा सम्पत्ति सकेका क्यान्सर र मृगौलाका बिरामीलाई यस्ता साना-साना सहयोगले पनि ठूल्ठूला काम गर्दा रहेछन्। परिवारमा थोरै सहयोगले पनि ठूलो खुसी भित्रने रहेछ। दुई वर्षको बीचमा मैले अनुभूति गरेको विषय हो यो।
चिया खानु ठिक कि बेठिक म त्यो बहसमा सहभागी छैन। चियासँग चिनी, चियापत्ती, ल्वाङ, सुकमेल, मरिच र दूधको पनि सम्बन्ध हुन्छ। मैलेजस्तै संसारभरका मानिसले चिया खान छाडे चिनी, चियापत्ती, ल्वाङ, सुकमेल, मरिच र दूधको बजारीकरणमा पनि समस्या होला।
यसको प्रत्यक्ष मारमा किसान पर्लान्। अनि चिनी, चियापत्ती, ल्वाङ, सुकमेल, मरिच र दूधका विचौलिया तथा व्यापारीहरू प्रभावित त हुन्छन् होला नै। त्योभन्दा ठूलो कुरा त मानव स्वास्थ्य हो भन्ने मेरो बुझाइ हो।
अनावश्यक मात्रामा चिया खाएर बगिरहेको पैसालाई क्यान्सर र मृगौलाका बिरामीलाई सहयोग गर्न सके धर्मकर्मको लागि चार धाममा धाइरहनु पर्दैन भन्ने मेरो विश्वास हो।