मैले केही लेखेर प्रकाशित भएपछि। ढिलो चाँडो म्यासेन्जरमा प्रायः एक सन्देश खस्थ्यो, ‘मेरो भाइ गज्जब लेखेछौ, अझै लेखिरहनू है।’ तर, अब यो ब्लग प्रकाशित भएपछि मलाई यस्तो कुनै म्यासेज आउने छैन। जसले लेख्न प्रोत्साहन गथ्र्याे। मेरा हरेक अप्ठेरा जंघारहरुमा जो पुल बनेर पार गराउँथ्यो उहाँबारे लेख्न खै कसरी सकिएला ?
सधैं हौस्याउने र आफ्नै भाइ सम्झेर माया गर्ने प्रिय दाजुबारे मुटु निचोरेर यी शब्द लेख्ने प्रयास गर्दैछु। माघ १ गते पोखरामा भएको यती एयरको जहाज दुर्घटनासँगै ७२ जनाको सास सेती नदी खोंचमा सधैंका लागि एकसाथ रोकिए। तीमध्ये एक थिए पोखराका एक होनहार पत्रकार त्रिभुवन पौडेल। जो मेरा लागि मनको प्रिय पात्र थिए। जसले सुखभन्दा अफ्ठेरा पलहरुमा सघाएका थिए।
नाता सम्बन्ध भन्दा पनि भावानात्मक निकटताले कोही मान्छेसँग मन कसरी जोडिँदोरहेछ। र, त्यही प्रिय मान्छे असमयमै सधैंका लागि हामीबाट कहिल्यै नफर्कने गरी धेरै टाढा हुँदा मन कसरी रुँदोरहेछ त ! यो सब त्रिभुवन दाजुको असामयिक निधनले बुझाउँदैछ।
एउटा हँसिलो र चम्किलो अनुहारसँग २०६५ सालतिर पोखरामा पहिलो भेट भएको थियो। पहिलो भेटबाटै खै! किन हो धेरै नजिकको मान्छे लाग्यो। आत्मीयता महसुस गराउनुभयो। सायद यति छिट्टै छाडेर जान रहेछ।
रेडियो गण्डकी नयाँ बजारको प्रांगणमा तत्कालीन क्रान्तिकारी पत्रकार संघ गण्डकी प्रदेशको भेलामा त्रिभुवन दाइसँग चिनजान भएको थियो। त्यसबेला गण्डकीका धेरै पत्रकार भेला भएका थियौं। म बागलुङबाट पोखरा पुगेको थिएँ। कतिसँग औपचारिक चिनजान भयो, कतिसँग पछि बिर्सने तवरले तर, पहिलो भेटमै त्रिभुवन दाइले आत्मीयता दर्शाउनुभयो। धेरै कुरा सोधखोज गरेर नजिक बन्नुभयो।
त्रिभुवन दाइसँग दोस्रो भेट गर्न कुनै भेलाको सहभागी हुनुपरेन। १ वर्षपछि आमाबाबासहित बसाइसराइ गरेर बागलुङबाट पोखरा आएको थिएँ। पोखरामा जम्काभेट भइहाल्यो उहाँसँग। पोखरै बस्ने गरी आएको भनेपछि नयाँ ठाउँमा केही गाह्रोसाह्रो पर्ला कि म छु है भन्नुभयो। ‘भाइ कहाँ बसेका छौं, रूम र जब खोज्दिनुपर्छ भने भन म मिलाईहाल्छु,’ सायद उहाँले मलाई सिर्जनाचोकनेर यही भन्नुभएको थियो, नयाँ सहरमा। हाम्रो परिवारको बन्दोबस्ती मिलिसकेको थियो, उहाँलाई दुःख दिन परेन। हामी मोबाइल नम्बर साटासाट गरेर छुट्टियौं। उहाँले १-२ पटक कल पनि गर्नुभयो।
पोखरामा मैले रेडियो तरंगमा रिपोर्टिङ सुरू गरेँ। पत्रकार सम्मेलन लगायतमा त्रिभुवन दाइसँग पनि भेट हुन थाल्यो। नजिक भएर कुरा गर्ने र फर्कंदा आफ्नो गाडीमा लगेर छाडिदिने गर्नुहुन्थ्यो। पुरानो चिनजानको व्यवहार उहाँको प्रत्येक भेटमा पाएँ। उहाँको बहिनीको बिहे आयो। त्यसमा निम्तो पाउने करिब १० जना पोखराका पत्रकारमा मलाई पनि राख्नुभएछ। गएँ। बहिनीलाई उहाँले रुँदै विदा गरेको हिजोजस्तै लाग्छ।
बहिनीको बिहेपछि फेरि त्रिभुवन दाइले आफ्ना दाजु उत्तमको बिहेमा पनि डाक्नुभयो। नजिकको साथी सर्कलभित्र परिसकेको थिएँ। उहाँले आफ्नै बिहेमा छुटाउने कुरै थिएन, दुर्भाग्य त्यसबेला म भने परदेशमा भएँ। तै बिहे हुने पक्का हुनासाथ ‘भाइ मिल्छ भने आऊ है मेरो बिहेमा रमाइलो गरौंला,’ भन्ने सन्देश मेसेन्जरमा पठाउनुभयो। मैले उहाँको बिहे मिस गरेँ। ७५ सालमा घरजम गरेका दाइले यति छिटै बुढी आमा, ४ वर्ष दाम्पत्य जीवन बिताएकी जीवनसाथी प्रतिभा र ३ वर्ष हिँड्दै गरेका पुत्र इभानलाई चटक्कै माया मार्नुपर्ला भन्ने कसलाई के थाहा ?
सबैसँग घुलमिल र नजिक हुने बानीले नै त्रिभुवन दाइले नेपाल पत्रकार महासंघ कास्की शाखामा २ पटक सचिव र १ पटक उपाध्यक्ष जित्नुभयो। नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशको संस्थापक बनेर अब्बल काम गर्नुभयो। कास्की शाखाको आफ्नै सुविधासम्पन्न भवन निर्माण गर्न नेतृत्वदायी भूमिका निभाउनुभयो। त्यही भवनको तेस्रो तलामा तला थपेर गण्डकी प्रदेशको कार्यालय निर्माण छोटो समयमा सफल पार्नुभयो। उहाँको मेहनत र खटाई देखेर सबै लोभिन्थे। त्यसै भएरै गएको वर्ष फेरि केन्द्रीय सदस्यमा ल्यान्डस्लाइड भिक्ट्री मार्नुभएको थियो।
२०७१ सालमा नेपाल पत्रकार महासंघ कास्की शाखाको कार्यसमितिमा त्रिभुवन दाइ सचिवमा सर्वाधिक मतले निर्वाचित हुँदा म पनि सदस्य चयन भएको थिएँ। रामकृष्ण ज्ञवाली दाइ अध्यक्ष हुँदाको बखत हो। संस्थाको काम र निर्णय प्रक्रियामा विभिन्न विवाद र अप्ठेरा आउँथे। तर, सबैलाई मिलाएर लैजाने काम सचिव त्रिभुवन दाजुले गर्ने गर्नुहुन्थ्यो। त्यसैले पनि हाम्रो कार्यकाल सफल भयो। संस्था कसरी चलाउने, सचिवले कस्तो भूमिका निभाउने, सबैसँग मिलेर र मिलाएर लैजाने छुट्टै किसिमको खुबी दाजुमा थियो। उहाँको त्यो क्षमतालाई सबैले सह्राना पनि गर्ने गर्थे।
२०६९ तिर होला पोखरा नजिकै घर भएका अर्जुन गिरी (जो अहिले प्रेस चौतारी कास्कीका अध्यक्ष छन्।), पाल्पा घर भएका हिमाल लम्साल (अहिले नागरिक दैनिकको काठमाडौंका सिनियर रिपोर्टर) र बागलुङबाट आएको म पोखराको पत्रकारितामा सक्रिय थियौं। छोटो समयमा ३ जना व्यक्तिगत रुपमा धेरै नजिक भयौं।
फरक तवरले रिपोर्टिङसंगै अरु केही भिन्न काम पनि गरौं भन्ने निष्कर्षमा पुगियो। पत्रकारिताको सिकाइसँगै अरु गतिविधिमा लागियो। खासगरी हामी नयाँ पत्रकारको रिपोर्टिङ सिकाइका कार्यक्रम गर्ने भन्ने हामी ३ जनाले निर्णय त गरियो। तर, के कसरी गर्ने तथा स्रोत कसरी जुटाउने भन्नेमा हामी ३ जना अनभिज्ञ थियौं।
हामीलाई सहयोग कसले गर्ला त भनेर सोच्दा ३ जनाको दिमागमा पहिलो नाम अरु कसैको नभएर त्रिभुवन पौडेल दाइको आएको थियो। र, ३ जनाले एकैपटक दाइलाई भेटेका थियौं। हाम्रो प्रस्ताव सुनेपछि मन खोलेर सहयोग गर्नुभयो। त्यसपछि अरु अग्रज पत्रकारहरुले पनि सघाउनुभयो। तर, धेरै सहयोग त्रिभुवन दाजुको पाएका थियौं। आफ्नै गाडीमा राखेर पिकनिक स्पट खोज्न जानेदेखि लिएर सबै सामान पुम्दीभुम्दीको शान्ति स्तुपा नजिकै पुर्याउनु मात्रै भएन गाडी नै फोहोर हुने गरी जुठा भाँडा पनि बोक्नुभएको थियो। लगातार २ वर्ष गरिएको पत्रकारको पिकनिकमा त्यसैगरी सघाउनु भएको थियो।
त्यसपछि पोखराको पत्रकारिता विषयक छलफल पनि हामीले नियमित चलाइयो। त्यसपछि हामीलाई एउटा नामको संस्था आवश्यक देखियो। राइजिङ प्रेस क्लब भनेर पत्रकार केशव शरण दाइले नाम जुराइदिनुभयो। त्यसको एक सलाहकार भएर त्रिभुवन दाजुले धेरै सहयोग गर्नुभयो। त्यो संस्थाको अध्यक्ष अर्जुन, हिमाल कोषाध्यक्ष र म सचिव थियौं। ‘भाइहरुले गज्जब राम्रो काम गर, म के सहयोग गर्नुपर्छ भन’ भनेर सधैं धाप मार्ने त्रिभुवन दाइको अभाव जीवनभर खट्किने छ।
दोस्रो संविधानसभाको निर्वाचन अघि २०६९ सालको एक दिन त्रिभुवन दाइले पोखरा हटलाइन दैनिकको कार्यालयबाट फोन गरेर बोलाउनुभयो। त्यो पत्रिकाको उहाँ सम्पादक-प्रकाशक हुनुहुन्थ्यो। म भेट्न गएँ। कार्यालय नजिकै रहेको कफी सपमा बसेर अब काठमाडौं पनि बसेर पत्रिका निकाल्न लागेको सुनाउँदै पोखराबाट रिपोर्टिङ गर्न भन्नुभयो। मैले हुन्छ भनेँ।
सँगै उहाँले अलि फरक सामग्री आवश्यक रहेको बताउनुभयो। ‘कम्युनिस्ट पार्टीका धेरै नेताहरु भूमिगत रहेर राजनीति गरे, अबको नयाँ पुस्ताले त्यो के भन्ने बुझ्दैन। कस्तो थियो त्यो बेलाको भूमिगत राजनीति अरुलाई पनि थाहा होस्, हरेक हप्ता एक नेताको स्टोरी गर र मलाई पठाऊ है।’ मैले अलि अप्ठेरो मान्दै हुन्छ दाइ भनेँ।
त्रिभुवन दाइले धेरै कुरा सुनाउँदै कसरी लेख्ने के के सोध्ने सबै मलाई बुझाउनुभयो। ‘माओवादी, एमाले र मसालका नेताहरुलाई भेटेर कुरा गर, पहिलो स्टोरी एमाले नेता खगराज अधिकारी (अहिले गण्डकी प्रदेशको मुख्यमन्त्री) लाई भेटेर लेख,’ भन्नुभयो।
केही हप्तामा मैले लेखेर पठाएँ। त्रिभुवन दाइ सम्पादक र गोविन्द आचार्य दाइ प्रधान सम्पादक भएर प्रकाशन भएको युगप्रवाह साप्ताहिकमा ‘भूमिगत जीवन’ स्तम्भमा मेरो स्टोरी छापिए। माओवादी नेताहरु झलकपाणि तिवारी, रामजी बराल (जीवन), गुप्त हमाल लगायतको स्टोरी गरेको थिएँ।
त्रिभुवन दाजुको सक्रिय पत्रकारितालाई व्यवस्थापकीय र संगठनको जीवनले अठ्याए जस्तो लाग्छ। नयाँ एंगलले लेख्न र स्रोतहरुमा उहाँको बलियो पहुँच थियो। पोखरा हटलाइन दैनिकमा सँगै काम गर्न आऊ पनि भनेर पटक–पटक भन्नुभयो। तर, त्यो संयोग भने जुरेन।
अहिले सोच्दैछु, उहाँसँगै काम गरेको भए अझै धेरै नजिकबाट संगत हुने थियो होला। र, फेरि यति नजिकको आत्मीयता कतै रहने पो थिएन कि भन्ने पनि ! अब सधैंका लागि यी बाटाहरु पुरै बन्द भए।
उहाँ र म एउटै संगठन तत्कालीन क्रान्तिकारी पत्रकार संघमा आबद्ध थियौं। संघ कास्कीको उहाँ संयोजक र म लगायत अरु साथीहरु सचिवालय सदस्य थियौं। डा. बाबुराम भट्टराई प्रधानमन्त्री र अध्यक्ष प्रचण्ड बागलुङमा पार्टीको प्रशिक्षण गरेर फर्केपछि पोखरामा पत्रकार सम्मेलन गर्ने कुरा भयो।
अवसर सबैलाई दिनुपर्छ भनेर त्रिभुवन दाइले पत्रकार सम्मेलनको सञ्चालन गर्न मलाई भन्नुभयो। मैले कार्यक्रम चलाएर सकिएपछि मेरो पिठ्युमा धाप मार्दै ‘भाइ राम्रो सञ्चालन गर्दा रहेछौ खुसी लाग्यो यार,’ भनेको हिजो जस्तै लागिरहन्छ। अब यसरी हौसला बढाउने त्रिभुवन दाइ मैले पाउने छैन। यस्ता अवसर मलाई मात्रै हैन अरु धेरैलाई दिनुभएको छ। हात समाएर धेरैलाई पारि तर्न सघाउनु भएकाले धेरैको प्रिय बन्नु भएको हो त्रिभुवन दाजु।
तत्कालीन क्रान्तिकारी पत्रकार संघ कास्कीमा एउटा पनि पुरस्कार थिएन। त्रिभुवन दाइ अध्यक्ष हुँदा कृष्ण सेन इच्छुकको स्मृतिमा प्रदान गर्ने गरी जनपक्षीय पत्रकारितामा योगदान पुर्याउनु भएका सहिदद्वय थमन परियार र महेश पहारीको सम्मानमा ‘थमन–महेश स्मृति पत्रकारिता पुरस्कार’ स्थापना गर्दा कम्ती पापड पेल्नुपरेन।
सबै जोखिम उठाएर शून्यबाट उहाँले सुरु गरेको मैले नजिकबाट देखेको थिएँ। सबै कुरा भन्नुभएको पनि थियो। सबै किसिमका जोखिम र अफ्ठेरा उठाएर सफल हुने गर्नुहुन्थ्यो। सबैसँग राम्रो सम्बन्ध गराउन सक्ने खुबी भएको उहाँले विरोधीलाई पनि सम्झाएर बुझाएर आफैसँग लिएर हिँड्ने क्षमता थियो।
केही महिनाअघि युरोप भ्रमणमा आउनुभएको थियो। बेल्जियम, फ्रान्स, स्वीजरल्यान्ड लगायत घुमेर जानुभयो। विविध कारणबस हाम्रो भेट हुन सकेन। हजुरको समय नमिल्दा मैले लिएको एकतर्फी टिकट पनि फिर्ता गर्नुपर्यो। नेपाल फर्की हाल्नुभयो। अब अर्को पालि डेनमार्क, स्विडेन, नर्वे, पोर्तुगल, स्पेन लगायत घुम्ने गरी समय मिलाएर आउँछु भन्दै नेपाल फर्कनुभयो। तर, अब कहिल्यै हाम्रो भेट हुने छैन। मन धेरै नै कुँडिएको छ दाजु। ठूलो धोको बाँकी रह्यो।
माओवादी नेता कृष्णबहादुर महरा अर्थमन्त्री हुँदा त्रिभुवन दाइ प्रेस सल्लाहकार बन्नुभयो। बन्नुअघि नै मलाई हुन्छु होला भाइ भनेर कुरा भएको थियो। नियमित कुरा हुने भएकाले सबैमा अपडेट थिए। मेरो गाउँ बागलुङ सिगानाको मोटरबाटोलाई बजेट पार्न सहयोग गर्नुभयो।
त्यतिबेला अमेरिका भ्रमणमा रहँदा पनि फोन गरेर सम्झनुभएको त्रिभुवन दाइले अस्ट्रेलियामा रहँदा बिर्सने कुरै भएन। अरु त अरु चीन भ्रमणमा रहँदा पनि कुनै चिनियाँ सहरबाट फोनसमेत गर्नुभएको थियो। यो कुरा २०६९ तिरको होला। अनौठो लाग्ने एक नम्बरबाट फोन आयो। फोन गर्ने मान्छे त्रिभुवन दाइ हुनुहथ्यो। संसारको जुनसुकै कुनाबाट पनि सम्झेर फोन गर्ने हजुरले अब पनि एकपल्ट मात्रै भए पनि कल गर्नु है मेरो दाइ!
सन् २०१८ मा हाम्रो पछिल्लो भेट भएको थियो। त्यतिबेला फूलबारीमा घर बनाउँदै हुनुहुन्थ्यो। हजुर र केशवशरण दाइसँगै सुख र दुःखको धेरै कुरा भएको झलझली सम्झेको छु। ‘सानो दुःख र मेहनतले बनाएको हैन भाइ।’ ठडिँदै र चिटिक्क पर्दै गरेको घर देखाउँदै भन्नुभएको थियो। त्यो घरका हरेक इँटा, बालुवा, सिमेन्टमा त्रिभुवन दाइको रगत, पसिना र मेहनत परेको छ। हर तरहमा दाइको छायाँ छ। के गर्नु नियतिले पुरै जीवन त्यो घरमा जिउन दिएन।
त्यतिबेला कुनै एकदिन पोखरा न्युरोडको एक कफी सपमा हामीले केही घण्टा बिताएका थियौं। हामी बसिरहँदा दाइलाई तारन्तार फोन आएपछि साइलेन्ट मोडमा राख्दै भन्नुभएको थियो—‘यति वर्षमा भाइसँग भेट भएको छ, कति फोन आयो त नि, साइलेन्ट बनाउँछु मजाले कुरा गरौं।’ धेरै कुरा भएपछि बिट मार्दै भन्नुभएको थियो, ‘विदेश गएर पढ्यौं, अब केही पैसा कमाउ अनि देश फर्क, सँगै मिलेर बिजनेस गरौंला, सधैं अरुको देश बस्न हुँदैन यार।’
मैले सधैं झैं हवस दाइ भनेर छिट्टै भेट्ने बाचा सहित विदाईका हात हल्लाएका थियौं। अब दाइका ती कोमल हातहरुसँग फेरि हात मिलाउन पाइने छैन। गम्लाङ अंगालो हाल्न पाइने छैन।
त्रिभुवन दाइ ! तपाईं जम्मा ३७ वर्ष बाँच्नुभयो। तर, धेरै चिज गर्नुभयो। छोटो समयमा धेरै राम्रो काम गर्नुभयो तपाईंले। त्योभन्दा पनि धेरैको मनमा प्रिय बनेर बस्नुभयो। पत्रकारिता, राजनीति तथा समाजसेवाको क्षेत्रमा पोखराले हजुरको नाममा गर्व गर्नेछ। त्योभन्दा अझै माथि मानवीयताको हिसाबले मनकारी मान्छे थियो त्रिभुवन भन्ने बन्नुभयो। आजको स्वार्थी समयमा यस्ता दयालु र सहयोगी पाउन कठिन हुँदै गएको छ।
भौतिक रुपमा त्रिभुवन दाइ नभए पनि तपाईंले छाडेर गएका मिठा सम्झना र यादहरु बाँचुन्जेल मन मस्तिष्कमा रहने छन्। प्रिय त्रिभुवन दाइ हामीले त तपाईंलाई अब देख्ने छैनौं। तपाईंले त माथि आकाशबाट हेरिरहनु भएको छ होला कि ! साँच्चै कुन लोकमा, कुन भुवनमा हुनुहुन्छ त्रिभुवन दाइ ?
मरणपछि मानिस कुनै लोकमा जाँदैन, कुनै भुवनमा हुँदैन भन्ने भौतिकवादी विचारमा विश्वास गर्ने तपाईं पनि हो र म पनि। तर पनि मन मान्दोरहेनछ। र सोध्न मन लाग्दोरहेछ—कुन लोकमा हुनुहुन्छ, कुन भुवनमा हुनुहुन्छ त्रिभुवन दाइ ?
पछिल्लो समय त्रिभुवन दाइ प्रेस सेन्टर नेपालको उपाध्यक्ष हुनुहुन्थ्यो। अधिवेशनबाट केन्द्रीय समिति मात्रै चयन भयो। पहिलो बैठकले पदाधिकारी चयन गर्यो। केन्द्रीय समितिमा म पनि परेको जानकारी सहित ‘मेरो भाइ बधाई छ,’ भन्नुभयो। मैले धन्यवाद भनेपछि, ‘तिम्रो योगदान छ, दाइ रहेको कमिटीमा तिमी नपरेर भयो त।’ भन्ने तपाईंले लेखेको सन्देश अझै सुरक्षित छ। प्रेस सेन्टरका संगठनात्मक गतिविधि बारेमा हजुरले जनवरी ८ मा कल गर्दा लामो कुरा भएको थियो। कुरा भन्दा पनि त्यतिबेला मलाई धेरै सम्झाइबुझाई गर्नुभएको थियो।
‘प्रेस सेन्टरको युरोप भेला गर्ने तयारी गर। माघमा हुने राष्ट्रिय सम्मेलनमा सहभागी बन्न आऊ,’ यस्तै धेरै कुरा भए। मैले हुन्छ भनेँ। त्यो हाम्रो अन्तिम कुराकानी रह्यो। तपाईं चढेको जहाज दुर्घटना हुनुभन्दा केही घण्टा अघि मैले पठाएको संगठन सम्बन्धीको मेरो म्यासेजमा माघ १ बिहानै लभ रियाक्ट सहित ‘ओके मेरो भाइ’ भन्ने अन्तिम सन्देश छाडेर विदा हुनुभयो।
जुन सन्देश मैले यता परदेशमा सिन गर्दा तपाईं यो संसारमा नरहेको दुःखद खबर संसारभर फैलिरहेको थियो। तपाईंले ‘ओके मेरो भाइ’ भन्नुभयो, आज म तपाईंसँगको बिछोडलाई ओके मेरो दाइ भन्न सक्दिन र भन्दिनँ। जे भयो, ओके भएन त्रिभुवन दाइ !