टन्टलापुर घाम चर्किरहेको छ। सडक किनारामा गिट्टी कुट्ने काम सदाझैं आज पनि निरन्तर चलिरहको छ। पसिना बगिरहेको छ। छायामा बस्न र हावा खान फुर्सद छैन। एकछिन छाया बस्न सोच्यो कि नुन,रोटी पुग्दैन कि भन्ने शंका हुन्छ। छाया देख्न नपाई चर्कोघाम सहनुपर्छ। त्यति नगरे पुग्दैन।
यो मजदुरको दैनिकी हो। घामपानी, झरी, असिना केही भन्न पाइँदैन। अनि त्यस्तै पुसको कठ्याङ्ग्रिँदो चिसो त्यसमाथि कुहिरो बास बसेको हुन्छ। सिमसिमे पानीझैं शित परिरहेको हुन्छ। पातलो एकसरो ठाउँ-ठाउँमा फाटेको र मैलो कपडा लगाएको हुन्छ। जाडोले थुरथुर शरीर काँपेको हुन्छ। बिहानदेखि नै खुट्टा फाट्न सुरू हुन्छन्। घाम झुल्कियो कि कुटोले ढुंगा कुट्दा हातका औंला फाट्छन्। घाम सेक्ने फुर्सद हुँदैन। फुर्सद सोच्यो कि बेलुकीको नुन-रोटी अपुरो हुन्छ। नुन रोटीको यो कहालीलाग्दो जीवनको संघर्ष आँखाभरिको बेदनाको पानी चुहाए पनि सुन्न कसैलाई फुर्सद छैन।
बेग्रल्ती चलिरहने मोटर गाडीहरूले उडाएको धुलो, धुवाँले शरीर धुलाम्मे मैलो हुन्छ। ओठमुख फुटेका हुन्छन्। धुलाम्मे शरीर फूँ–फूँ गरी लाज छोप्नु पर्छ। पिँठ्युमा मजेत्रोले झुन्ड्याइरहेको अबोध बालक पनि यस्ता दृश्य देखिरहन्छ। अबोध बालक भोकाउँछ, अनि रूँन सुरू गर्छ। पसिना बगेको शरीर लपलप हुन्छ। बालक आहारा मेटाउन नुनिलो स्तनपान गर्छ। थकित–थकित अनुहार र चकित दृश्यहरूले हर्षले हाँसिरहनुपर्ने आँखाका नानीहरू घोर पीडाले आँखाभरि वेदनाको पानी बगाइरहन्छ। कैयौं पैदलयात्री हाँसोका खित्का छोड्दै रमिरहेका हुन्छन्। कोही कोही त टेडो आँखा लाउन भ्याउँछन्।
अगाडि, ढाका टोपी, कोटपाइन्टमा सजिएको महङ्गोे मान्छे बसिरहेको हुन्छ। पछाडि मोटरको ढालामा टाउकोमा कालोपट्टि कसेको जिन्दावाद र मुर्दावादको नारा लगाउँदै नथाकी कुर्लिरहेका हुन्छन्। नेपालको राष्ट्रिय झण्डाधारी मोटरको अगाडि र पछाडि तिखो साइरन बजाउँदै धुलो र धुवाँ उडाउँदै मोटर कुदिरहेका हुन्छन्।
हतार–हतार पिर्के सलामी र रिबन काट्ने प्रतिस्पर्धामा कुदिरहेको गाडीले सडकको धुलो र धुवाँ उडाएर जान्छन् कहिलेकाहीँ त सडकबीच भागमा रहेको खाल्डोको पानी समेत उछिट्याएर जान्छन्।
खराब ध्वनि, धुलो र धुवाँको मुस्लोले सधैं जिस्किरहन्छ। दैनिकजसो वेदनाको घामपानीले पटक–पटक हिर्काउँछ। न रून सकिन्छ, न हाँस्नै। न बाँच्न अनि न मर्न। खाली चोट, वेदना व्यथामाझ माझिनुपर्छ। पीडा र रोगले कहिले यता पछार्छ, कहिले उता दौडाउँछ। कहिले महामारीजस्तो रोगले त कहिले भोको शरीरले रूवाउँछ। कलेँटी परेका ओठहरूमा हाँसोका छिटा छैन। बरू दुःखका अनगिन्ती बाछिटा हुन्छन्। कलेँटी परेका ओठले मुस्कानको लालीहरू खोज्नु त छैन बरू भोको पेटले आहार खोजेको हुन्छ।
यस्तै वेदनाले रूवाइरहन्छ बारम्बार। यही छ गिट्टी कुट्ने भुइँमान्छेको दैनिकी। कहिलेकाहीँ त ओत र आहारा खोज्दाखोज्दै सिकारीको पासोमा अल्झन्छन् कति नारी। कति चिचिला चुँडिन्छन् अल्पायूमै। कोदालो कुट्दा कुट्दै धेरैलाई सरसफाइको कमी र अव्यवस्थित खानपानले बिमारले समातिसकेको हुन्छ। क्यान्सर हुने, पाठेघर खस्ने, दम लाग्ने, पत्थरी हुने, बच्चाहरूमा कुपोषण हुने, किड्नी खराब हुने जस्ता भयानक रोगहरूबाट ग्रसित भएर अल्पायूमै शरीर छोड्न बाध्य हुन्छन्। नुन रोटीसँगको यो कहालीलाग्दो दैनिकी सङ्घर्षको कथा दोहोरिरहन्छ।
हतासमा देखिएको राज्यको प्रतिनिधिले कहिल्यै देख्दैन, देख्ने कोसिस समेत गर्दैन, देखिहालेछ भने पनि बुझ्दैन। दुःखेको मन र चर्केका छाती देख्ने आँखा कता छन्? खै कतै देखिँदैनन्। राज्यको आँखा नपुग्ने विडम्बना।
सत्यघटनामा आधारित विषयलाई उठाउन जरूरी ठान्दछु। यो प्रतिनिधिमूलक कथा हो। यस्ता थुप्रै समाजमा कहालीलाग्दा दर्दनाक पीडादायक कथाहरू छन्। कतै जातीय विभेद, छुवाछुत, छाउपडी यत्रतत्र छन्। गरिबी छन्। सडकपेटीमा काम गर्ने मजदुरहरूका आफ्नै कथा छन्। ओत लाग्ने ठाउँ नभएका मानिसहरूका आफ्नै कथा छन्।
फोहोरको डङ्गुरमा हात रोपेर रोटीका टुक्रा खाने गरिबका आफ्नै कथाब्यथा छन्। उपचारको अभावमा संसारबाट बिदा लिने परिवारको बिचल्लीको आफ्नै ब्यथा छ। गरिबसँग न गरी खाने खेत छ, न ओत लाग्ने ठाउँ छ। गरिबी ब्याप्त छ। अन्याय टड्कारो छ। जोताहा किसानहरू मंसिरमा धान फलाउँछन्, पुसमा भोकै पर्छन्। मजदुर गरिब किसानका लागि लोकतन्त्र कहाँ छ? सबै उस्तै छ। सपना उही छन्। समृद्धिका प्यासहरू उनै हुन्। फेरियो त फगत राजनीति फेरियो। नेता फेरिए। यो परिवर्तनले न जनताको भोको पेट भरियो न आङमा जाडो छल्न कपडा मिल्यो। न त ओत लाग्ने छाप्रो। स्वाभाविक प्रश्न छ कि- यो कसको लोकतन्त्र हो ? जनताको, मजदुर किसानहरूको कि दलहरूको ?
सबैको निदान राज्य हो। यो भूमिका ग्रहण गर्ने राज्य आवश्यक हुन्छ। गरिबको राज्यसँगको प्रत्यक्ष पहुँच हुँदैन। राज्य यिनलाई आफैं चिन्दैन। लोकतन्त्र र समाजवादको सुँगा रटाई मात्र भयो लोकतन्त्र ‘व्यवहार’ हो भन्ने कसैले ठानेनौं।
यो सकस कहिलेसम्म रहन्छ? विकासको मृगतृष्णा कहिलेसम्म ? परिवर्तनको मृगतृष्णा कहिलेसम्म?
कसैको तर्क राजनीतिक प्रणालीसँग जोडिन्छ। कोही नेतृत्वलाई नै बेठिक ठान्छन्। सक्तो गाली गर्छन्। समस्या कहाँ छ? के साँच्चै हाम्रो भूगोल, हाम्रा हिमाल, नदीनाला र वनजंगल बेकामे छन्? के हामी बन्जर छौं? के हामीसँग सम्भावना नै छैनन्?
अनुसन्धानका प्रतिवेदनहरू बताउँछन् ग्रामीण किसानमध्ये २९ प्रतिशतसँग निजी जमिन छैन। कुल खेतीयोग्य जमिनको २० प्रतिशत जमिन बाझो छ। यसरी हेर्दा प्राय: नदी किनारामा बालुवा छान्ने र गिट्टी कुट्नेहरू भूमिहीन छन्। एकातिर खेतीयोग्य जमिन पनि बाझो छ, अर्कोतिर भूमिहीनहरूसँग गरिखाने खेत छैन। भूमिहीन समस्याको समाधानले मात्र पनि धेरै सडक छेउमा गिट्टी कुट्ने बाध्यकारी मजदुरीबाट विस्थापित भई आधुनिक कृषि प्रणालीमा स्थापित हुनेछन्। आयात हुने वस्तुहरु आफ्नै बारीबाट आपूर्ति हुनेछन्। देशको आर्थिक स्थिति सुधार हुनेछ ।