यसै शीर्षकमा केही समयअघि एउटा लेख पढेको थिएँ। आज मलाई पनि यसै विषयमा लेख्न मन लाग्यो किनकि यो हरेक विवाहित महिलाको जीवनमा घटेको तर धेरैले नबोलेको र बोल्न नखोजेको विषय हो र यो विषयमा अझ धेरै छलफल हुनु जरूरी छ।
दृष्टान्त १: ऊ घरको ढोकाभित्र छिर्छ। गमक्क परेर सोफामा बस्छ। ऊ आएको खबर भुसको आगो सरी घरभरि फैलन्छ। घरकी बुढी हजुरआमादेखि बच्चासम्म सबै हक्कानिँदै स्वागत सत्कार गर्न आइपुग्छन्। मानौं, उनीहरू छिटो आएर खुट्टा ढोग्ने, नमस्कार भन्ने, हाल-खबर सोध्ने गरेनन् भने त्यहाँ प्रलय आउँछ। उसले के खायो, खाएन सबैको चासोको विषय बन्छ। उसको हाल खबर के कस्तो छ, निकै चिन्ताका साथ सोधिन्छ। उसको जिन्दगी कसरी व्यतित भइराखेको छ, केही बाधा ब्यवधानहरू छन् कि छैनन् भने त्यहाँ समाधानको पनि चर्चा हुन्छ।
दृष्टान्त २: ऊ घरभित्र पस्छ। ऊ त्यहाँ, त्यतिबेला आएकोमा कसैलाई रिस उठेको छ, ऊ किन भनेको समयमा आएन। उसले लिएर आऊ भनेको कुरा किन ल्याएन। उसलाई आदर सत्कार गर्ने कुरामा कसैलाई चासो छैन। ऊ पनि आत्तिएको छ। कसैले मलाई केही भन्छन् कि खोट लगाउँछन् कि, मबाट कमी-कमजोरी भयो कि भन्ने भयमा छ।
ऊ भोकै छ कि भनेर कसैलाई मतलब छैन, किनकि ऊ त अरूलाई खुवाउन र केवल अरूको बारेमा मात्र चिन्ता गर्न बनेको मानिस हो। उसका जिन्दगीका पलका तिता-मिठा घटना, अप्ठ्याराका बारेमा कसैले चासो राख्दैन। मानौं, उसका भावनाहरू सुनाउन र सुन्न लायक नै छैनन् या भनौं ती भावनाहरू नक्कली, बनावटी हुन्।
दृष्टान्त १ को ‘ऊ ‘ को हो भनेर सजिलै पत्ता लगाउनुभयो होला। हो, ऊ ज्वाइँ हो। हाम्रो समाजको आदर्श पुरूष हो। भगवान हो, महापुरूष हो। जसले आजसम्म कुनै गल्ती गरेको छैन र गर्नेछ भनेर कसैले सोचेको छैन जसलाई कसैले घृणा र प्रश्न गर्दैन।सबै ऊसँग दंग छन्। ऊ नबोले पनि हुन्छ, उसैलाई कोट्याएर बोलाउँछन्। ऊ नहाँसे पनि हुन्छ, ‘मैले केही बिराए कि हजुर’ भन्दै उल्टै पाऊ पर्छन्। यसो भनौं न, उसलाई जे गर्न पनि छुट छ। उसलाई कसैले गुनासो गर्दैन र उसको कमीकमजोरी औंल्याउँदैनन्।
दृष्टान्त २ को पात्र सोच्नुहोस् त को हो? भेट्टाउनुभयो? उसलाई भेट्टाउन गाह्रो छ किनकि ऊ त काल्पनिक पात्र हो, जो आजसम्म कहीँकतै देखिएको छैन, सायदै देखिनेछ र देख्नु पनि नपरोस्।
तर यो पात्रलाई 'उनी' बनाएर हेर्नुभो भने हरेक घरमा 'बुहारी'को रूपमा भेटिने पात्र हुन्। जसका खोटैखोट मात्र छन्। यो लेखमा नअटाउने उसका कमी-कमजोरीहरू छन्। ऊ बोल्न जान्दिन, बाङ्गो हिँड्छे, मीठो पकाउँदिन, समय व्यवस्थापन गर्न जान्दिन, परिवार मिलाउने ल्याकत छैन, पैसा कमाउँदिन तर बसी बसी खान्छे, पहिरन अचम्मको लगाउँछे , श्रीमानको टाउको दुखाछे, पैसा कमाए भनेर फूर्ति लाउछे, हेप्छे, बच्चालाई ठिकसँग हेर्दिन, सासू-ससुराको आदर गर्दिन। गल्तीका कुनै सीमा-रेखा नै छैनन्। ऊ मानौं, अवगुणले मात्र भरिएकी छे।
के यो 'ऊ' पात्रको कुनै अवगुण नै छैन? के ऊ अलौकिक हो? ‘ज्वाइँ’ तपाईं हाम्रै घरको भाइ- दाइ, छोरा, भतिजा, बुवा, काका हो। के उनीहरू बत्तीस नै लक्षणले युक्त छन्? घर भित्रको काम कति गर्छन्? बच्चाको हेरचाहमा कति समय खर्चंछन्? के कसैसँग मनमुटाव नै राख्दैनन्? झगडा र मुक्का-मुक्की गर्दैनन्? के सबैसँग मृदुभाषी छन्, सबैलाई समान व्यवहार गर्छन्? समय व्यवस्थापन कस्तो छ ? कार्यक्षेत्रमा कत्तिको अब्बल छन् ? कति कमाउँछन र कति बचत गर्छन्?
यी सबै काम-कर्तव्यहरूमा ‘ऊ’ सतप्रतिशत छैन र हुनै सक्दैन। तपाईं हाम्रा दाइ-भाइहरू बिहानै उठेर पुजाभाडा माझ्ने र घरमा कुचो -पोछा लगाउने गर्दैनन्। काका र बुवाहरु आफैं खाना पकाएर, पस्किएर, खाएर अफिस जान मुश्किल छ। बच्चाले दिसा- पिसाब गर्यो भने बच्चा श्रीमतीको काखमा थमाइदिने धेरै श्रीमानहरू छन्। भाइहरूलाई डेराको काम र कलेजको पढाइ ब्यबस्थापन गर्न हम्मे हम्मे पर्छ।
कार्यक्षेत्रमा भलै 'पुरूष हाकिम' हरू धेरै छन्, आफ्नो काममा महिलाहरू पुरूषभन्दा बढी नै लगनशील र कटिबद्ध हुन्छन् भनेर धेरै अध्ययनहरूले देखाएको छ।
त्यसो भए ‘ऊ’ भगवान जस्तो कसरी भयो? उसलाई गर्ने व्यवहार किन राजालाइ गर्ने जस्तो भयो ? किन ऊप्रति यति उदारवाद र अर्को लिङ्गप्रति यति धेरै वैरभाव?
हाम्रा यिनै एक्लै घर सम्हाल्न नसक्ने बुवा र काकाहरू कसरी आमा र काकीको पालनपोषण गर्न सक्षम हुन्छन् र ‘पालनहार’ बन्छन्? समय व्यवस्थापन गर्न नसक्ने, आफ्नो कार्य दक्षताका साथ गर्न नसक्ने दाइ-भाइ कसरी 'महापुरूष' कहलिन्छन्? बच्चाको पूरा हेरविचार गर्न नसक्ने ज्वाइँ कसरी नाति र नातिनीलाई नाम दिनसक्ने लायक बन्छ? हाम्रा यिनै ‘अपूर्ण’ बुवा, काका, दाइ-भाइ, मामाहरू कसरी 'पूर्ण' ज्वाइँ बन्छन्? यी पूर्ण होइनन्, यिनलाई उच्च कोटीमा हाम्रो पितृसत्ताले राखेको छ।
बिहे गरेर केटाको घरमा जानुपर्ने र सम्पत्तिको अधिकार माइतीबाट नपाउने विभेदका अरू कारणहरू हुन जस्तो लाग्छ।
बुहारीलाई ‘तँ’ र ज्वाइँलाई ‘हजुर’, ‘साब’ यही व्यवहारको उपज हो। जोप्रति कुनै समभाव नै छैन, सम्मान नै छैन, उसलाई किन आदरार्थीले सम्बोधन गरिन्छ? जसका जहिले पनि खोट औंलाइन्छन् र कहिले पनि बराबर स्थान र अस्तित्व छ भनेर स्वीकारिँदैन भने कसरी प्रेमपूर्वक बोलिन्छ? कसैको आत्मसम्मानको कदर गरिँदैन भने कसरी सौहार्दपूर्ण व्यवहार गरिन्छ? कमै घरमा समान व्यवहारले हेरिएको छ र कतिपय अवस्थामा त अमानवीय व्यवहारसम्म गरिन्छ जुन हरेक दिनका घरेलु हिंसाका घटनाबाट जगजाहेर नै छ।
मान्छे सर्वगुण सम्पन्न कहाँ छ? न बुहारी छ, न त ज्वाइँ नै हुनसक्छ। तर समाजले किन ज्वाइँ सर्वगुणले भरिएको देख्छ र बुहारीको गुण नै देख्दैन? मानौं कि बुहारीले उसका गुणहरू जोगाइ रहनुपर्छ, अझै गुणवान भन्दै जानुपर्छ, उसमा गुणहरू थपिँदै जानुपर्छ, उसलाई गल्ती गर्न छुट छैन, मानौं भगवान भन्नुपर्छ।
भगवान बनिन भने ऊ त मानिस नै रहन्न, त्यसपछि त तपाईंका नियमहरू उसलाई केही पनि लाग्दैन। मानव हो भने, ऊजस्तो छ, त्यस्तै स्वीकार्नुस्, जसरी ज्वाइँजस्तो भए पनि स्वीकार्दै आउनुभएको छ र स्वीकार्ने मात्र होइन, दोषहरू नजरअन्दाज गर्दै आउनुभएको छ।
यो लेखको उद्धेश्य आधा जनसंख्या भएका महिलाप्रति हुने असमान व्यवहार उजागर गर्नु हो र त्योभन्दा महत्वपूर्ण उद्धेश्य समतामूलक समाज बनोस् भन्ने हो। जहाँ कुनै नारीले भेदभाव महसुस गर्न नपरोस्, जहाँ महिलाहरू हरसमय खुसी, सुखी र शान्त रहून् र त्यो जब हुन्छ तब सह अस्तित्व स्वीकार गरिन्छ। कतै देख्नुभाको छ कमजोरी बिनाको मानिस? कमजोरी बिनाको मानिस भेट्टाउनुहोस् अनि मात्र सर्वगुण सम्पन्न बुहारी खोज्नुहोस्।