आज मात्रै होइन, शताब्दीदेखि नै मानसिक स्वास्थ्य एउटा प्रमुख र गम्भीर सार्वजनिक चिन्ताको विषय बनेको छ। तर मानसिक स्वास्थ्य सम्बन्धीत विचार गर्ने, चर्चा गर्ने, बुझ्ने, चिन्तन गर्ने, मनन गर्ने र बोल्ने जिम्मा कुनै एउटा विशेषज्ञ, डाक्टर, मिडिया वा कुनै संघसंस्थाको मात्रै होइन। यो हामी सबैको जिम्मेवारी हो। सबैको कर्तव्य हो। यो एउटा गम्भीर विषय भएकोले पनि हरेकले हरेकको मानसिक स्वास्थ्यको बारेमा बुझ्नु आवश्यक छ।
यहीँ कुरालाई ध्यानमा राखेर नै अष्ट्रेलियामा हरेक सेप्टेम्बर १४ मा ‘आर यू ओके’ डे मनाउँछ। यसको उद्धेश्य भनेकै आफ्नो वरिपरी रहेको मान्छे तथा अरुको पनि मानसिक स्वास्थ्यको बारेमा चासो दिने हो।
यसरी उनीहरुलाई सोध्दा र सुन्दा आत्महत्या तथा डिप्रेसन जस्ता मानसिक तनावहरू धेरै कम हुने विश्वास छ। त्यसैले पनि यो अभियानलाई यहाँ सार्वजनिक स्वास्थ्य प्राथमिकताको रूपमा मान्यता दिइन्छ।
तर अहिले सेप्टेम्बर महिना होइन। मार्च महिना हो। आर यू ओके? भनेर सोध्न कुनै महिना कुर्नु नपर्ने मेरो मान्यता छ। संसारमा मनिसहरु सेकेण्ड सेकेण्डमा मानसिक तनावले ग्रसित छन्। आफ्नै परिवारभित्र झन् बढी छ। त्यसैले पनि हरेक मिनेट मिनेटमा आफ्नो परिवारभित्रको मान्छेलाई मात्रै भए पनि आर यू ओके? भनेर सोधिदिदाँ घरमा आधा तनाव कम हुने मेरो बुझाइँ छ।
मार्च महिना त्यहीँ माथि अन्तर्राष्ट्रिय नारी दिवस परेका पनि म आज नारीहरुको मानसिक स्वास्थ्यको बारेमा केही घटना प्रस्तुत गर्न चाहन्छु। उहाँ नारीपात्रहरुको जीवनमा ‘आर यू ओके’ भन्ने प्रश्न कति महत्वपूर्ण छ र यसले कसरी सकारात्मक भूमिका खेल्न सक्छ भन्ने कुरा दर्साउन चाहन्छु।
दृश्य एक
पात्रः ईश्वर कँडेल
केही दिन अगाडि फेसबुकमा एउटा स्टाटस पढेँ। स्टाटसमा लेखिएको थियो– ‘बिहे गरेको पनि आज ३२ वर्ष भएछ बुढी, तै पनि म घरमा छैन– सँधै चेपारे मात्र पारेँ मैले, सायद तिमिलाई धेरै झुक्कयाएँ पनि होला। न समयमा कहिल्यै घर आईपुगेँ, न कहिल्यै तिम्रो बारेमा सोचेँ, न कहिल्यै मायाँ गर्न जानेँ, न कहिल्यै तिमीलाई खुसी राख्न सकेँ....तै पनि जीन्दगी त बितिजाने रहेछ बुढी।
आज चाहिँ भन्छु– आई लभ यू माई लभ।
यो स्टाटस थियो चितवनवासी साहित्यकार ईश्वर कँडेलको। उहाँ मेरो चिनजान आफन्त भित्रै पर्नुहुन्छ। त्यसैले पनि स्टाटस देख्ने बित्तिक्कै उहाँलाई फोन गरेँ। सुरूमा त मेरिज एर्निवर्सरीको शुभकामना दिएँ। अनि स्टाटसमा आपत्ति जनाएँ। उहाँ एकदमै सरल व्यक्तित्व हुनुहुन्छ। क्रिटिसिजमलाई मनन गर्नुहुन्छ। सकारात्मक तरिकाले लिनुहुन्छ त्यसैले पनि उहाँसँग स्टाटसको बारेमा छलफल गर्दा मलाई सहज नै भयो।
मैले उहाँलाई भने– हजुरले आत्माग्लानी गरेर लेख्नुभएको स्टाटस पढ्दा रमाईलो त लाग्यो, अलिकति भावुक पनि बनायो तर कता कता फेरि चित्त बुझेन। उहाँलाई भने पनि –यदि यहीँ कुरा कुनै महिलाले लेखेको भए कति विरोध हुन्थ्यो। कति नराम्रो तरिकाले हेरिन्थ्यो। के एउटा महिलाले यसरी आफ्नो एर्निर्भसरीमा लेख्दा उनको श्रीमान् खुसी हुन्थ्यो त? तुरून्तै डिलिट गर्न लगाइन्थ्यो होला हैन र?
मेरो यो कुरामा उहाँले पनि सहमति जनाउनुभयो। मैले उहाँलाई स्टाटस कपी गरेर यस विषयमा लेख्छु भने। उहाँले स्टाटस कपी गर्न सहजै स्वीकृति दिनुभयो। मैले भने नारी दिवसको सन्दर्भमा लेख्दैछु लेख अलि कडा हुनसक्ला त्यसैले नाम उद्धृत गर्दिनँ नि। तर उहाँको नाम लेख्दा पनि केही फरक पर्दैन। मलाई कुनै आपत्ति छैन भन्नुभयो। सरल व्यक्तित्वको धनी उहाँले मलाई झन् सरल पारिदिनुभयो।
उहाँसँगको फोनवार्तापछि फेरि त्यहीँ स्टाटस पढेँ। अनि त्यो स्टाटस यदि एउटा महिलाले लेखेको भए कस्तो हुन्थ्यो होला भनेर सोचेँ। र यस्तो हुँदो रहेछ यदि त्यहीँ स्टाटस एउटा महिलाले लेखेको भएँ-
‘विहे गरेको पनि आज ३२ वर्ष भएछ बुढा, तै पनि म घरमा छैन– सँधै चेपारे मात्र पारेँ मैले, सायद तपाईँलाई धेरै झुक्कयाएँ पनि होला। न समयमा कहिल्यै घर आईपुगेँ, न कहिल्यै तपाईँको बारेमा सोचेँ, न कहिल्यै मायाँ गर्न जानेँ, न कहिल्यै तपाईँलाई खुसी राख्न सकेँ....तैपनि जीन्दगी त बितिजाने रहेछ बुढा। आज चाहिँ भन्छु– आई लभ यू माई लभ।’
अनि फेरि सोचेँ- यदि श्रीमतीको यस्तो स्टाटस देख्दा एउटा श्रीमानको रूप कस्तो हुन्थ्यो होला? टाढा किन जाने यदि श्रीमतीले नै यस्तो स्टाटस सार्वजानीक रुपमा लेखेको भए ईश्वर कँडेलको मानसिक हालत के हुन्थ्यो होला? उहाँले सजिलै पचाउन सक्नुहुन्थ्र्यो त? उहाँलाई श्रीमतीको यस्तो हर्कत र यस्तो सार्वजनिक व्यवहार इज्जतिलो लाग्थ्यो होला?
श्रीमतीले समय दिइनँ, घर ढिला आएँ, घरै आइनँ, अबेर आएँ, चेपारे पारेँ, झुक्काएँ, तपाइँको बारेमा कहिले सोचिनँ, माया गर्न जानिनँ, खुसी राख्न सकिनँ..............यस्ता यस्ता हरेक शब्दले श्रीमानलाई पीडा दिदैनथ्यो त? पक्कै पनि उहाँको मनमा उथलपुथल हुन्थ्यो नै। यदि अपवाद छोड्ने हो भने र उस्तै पुरूष हुने हो भने यहीँ एउटा स्टाटसको कारणले सम्बन्ध डिभोर्ससम्म पनि पुग्न सक्थ्यो।
बैंकर रविना देशराजले जहाँ पुरूषहरुको कयौँ श्रीमती राखिरहेको बेला महिलाहरुको पनि बहुविवाहको सुविधाको बारेमा आफ्ना साधारण एउटा धारणा राख्दा पुरै सोसल मिडियामा सिकार भएर तथानाम आरोपहरु खेप्नुपर्यो भने यदि यस्तो स्टाटस आयो भने यहाँ कति महिलाहरु समाजबाट नै बहिष्कृत हुन्छन्।
उस्तै परे समाज कालो मोसो दल्न पनि पछि पर्दैन। तर एउटा पुरूषले यसरी सार्वजानिक रुपमा यस्ता शब्दहरु लेख्दा केही विरोध हुँदैन । कोही कतै पनि चुक्क बोल्दैनन्।
हो, मैले त्यो स्टाटसमा एउटा पुरूषको दम्भ देखेँ र लेख्न बाध्य भएँ। फूलभित्र ढुंगा राखेर वा भनौँ काँडै काँडाको गुलावको फूल एर्निभसरीमा उपहार दिएको जस्तो भयो। त्यसरी श्रीमतीप्रति प्रेम र इज्जत दर्साएको भन्दा पनि वेइज्जत गरेको लाग्यो।
स्टाटसमा आफूले जीवनभर अन्याय गरेको भनेर दर्साउँदै गर्दा फेरि पनि श्रीमतीप्रति अन्याय गरिएको देखेँ मैले। त्यसरी सार्वजनिक रुपमा माफी मागेर आफ्नो ‘इगो’ लाई सन्तुष्ट मात्रै गरेको महसुस गरेँ। माफ गर्नुहोला तर मैले भन्नैपर्छ त्यो स्टाटसमा एक श्रीमतीलाई म्यानुपुलेट तरिकाले प्रस्तुत गरिएको छ।
यस्तो स्टाटसबाट समाजको अन्य पुरूषहरू गलत तरिकाले प्रेरित हुनसक्छ। आफ्ना हरेक गल्ती, अव्यवहारिकता, अपरिपक्तालाई हल्का रुपमा लिन थाल्छन् र यसरी सार्वजनिक रूपमा माफी माग्न म्यारिज एर्निवर्सरी कुर्न थाल्छन्। यसरी माफी माग्दा ३६४ दिनको पाप धुने विश्वास पनि गर्न थाल्छन्।
हतारले फोनमा सोधिनँ तर यहीँ लेख मार्फत उहाँलाई सोध्न चाहन्छु– हजुरले यो स्टाटस लेख्नुभन्दा अगाडि श्रीमतीको ठाउँमा बसेर सोच्नुभएको थियो? हजुरले लेख्नुभएको हरेक शब्दले उहाँलाई कति चोट पर्ला भनेर विचार गर्नुभएको थियो? के हजुरले श्रीमतीको अगाडि पनि यसरी नै आत्मालोचना गर्नुभएको छ? के यो स्टाटस लेख्नुभन्दा अगाडि उहाँको स्वीकृति लिनुभएको थियो?
यतिका ३२ वर्षसम्म घरमा ढिलो आउँदा, चेपारे पार्दा, झुक्काउँदा, केयर नगर्दा, माया नगर्दा, कहिले उहाँलाई ‘आर यू ओके’ ? भनेर सोध्नुभएको थियो? यो स्टाटस लेखेपछि पनि उहाँको मनमा केही प्रश्नहरु होला। अतित सम्झनुभयो कि। केही मानसिक आघात पर्यो कि भनेर हजुरले ‘आर यू ओके’ भनेर सोध्नुभइसक्यो त?
दृश्य दुई
नामः गोप्य
मेल्वर्नमा एक जना दिदीले मलाई भन्नुभएको थियो– विगत पाँच वर्षदेखि हामी छुट्टाछुट्टै बेडरूममा सुत्छौ। कारण विभिन्न छ, धेरै छन्। तर हरेक वर्षको तीनचोटि फेसबुकमा मेरो श्रीमानले हाम्रो कडा फोटो राख्नुहुन्छ मानौँ कि अझै पनि हामी नवविवाहित जोडिजस्तै प्रेम गछौँ र हनिमुन फेजमा छौं।
कडा फोटोहरु आउने दिनः
१) फेब्रुअरी १४– प्रेम दिवस
२) जुन– जन्मदिन
३) डिसेम्बर– म्यारिज एर्निभर्सरी
उहाँले यो पनि भन्नुभयो कि, मेरो मोबाइलबाट पनि उहाँले नै आफ्नो फोटो, हाम्रो फोटो, सबै स्टाटस लेख्नुहुन्छ। त्यसपछि रातभरी कति लाइक, कति कमेन्ट आयो भनेर हेरेर बस्ने हो। उहाँको मोबाइल मैँले छुन पाउँदिनँ। पासवर्ड त परै जाओस् के छ के छ। मेरो मोवाइल चाँहि उहाँको पेवा हो। मेरो भन्दा उहाँकै हातमा बढी हुन्छ।
फोटो अपलोड गरेको दिन त झन् मेरो मोवाइल नै आफैँ लिएर सुत्नुहुन्छ। मोबाइल दिएन भने झगडा होला भन्ने पीर बरु आफू आइप्याड हेरेर सुत्छु। मेरो म्यारिज लाइफमा धेरै समस्या छ। यो उमेरमा छुटिटएर बस्ने आँट छैन। तर म विस्तारै डिप्रेसनमा जाँदैछु।
उहाँको श्रीमान् पढेलेको हुनुहुन्छ। आफ्नै बिजनेस चलाउनुहुन्छ। धेरैलाई सहयोग पनि गर्नुहुन्छ। सबैको लागि एकदमै असल हुनुहुन्छ। आँखामा राख्दा पनि नबिझाउने भन्छन् नि हो, त्यस्तै हुनुहुन्छ। सबैसँग नौनी व्यवहार गर्नुहुन्छ। उहाँलाई बाटोमा वा कुनै कार्यक्रममा भेटे भने मलाई, नानी आर यू ओके? भनेर सोध्नुहुन्छ। उहाँलाई म लगायत समाजको हरेका व्यक्तिको मानसिक स्वास्थ्यको बारेमा चासो छ जुन राम्रो हो तर घरमा भएको श्रीमतीकै मानसिक स्वास्थ्यको कुनै वास्ता छैन जुन एकदमै नराम्रो पनि हो।
घरमा श्रीमती मानसिक तनावले दिनदिनै ग्रसित भएको उहाँलाई हेक्का नहुनु तर ट्रेनमा एकछिन भेटेर गफ गरेको मान्छेको मानसिक स्वास्थ्यको बारेमा पुरै ज्ञान हुनु एकदमै घातक कुरा हो। उहाँ श्रीमतीसँग एकछिन बसेर नबोल्नू, श्रीमतीको मनस्थिति बुझ्ने समय नहुनू, आर यू ओके डियर भनेर सोध्ने रहर नहुनू तर फेसबुकको म्यासेनजरमा देश विदेशका व्यक्तिहरुलाई आर यू ओके भनेर सोध्न फूर्सदै फूर्सद हुनु झन् खतरनाक हो।
त्यसैले पनि मैले दिदीलाई सिधैँ भनिदिएँ– दिदी तपाइँलाई चित्त दुख्ला तर दाइ पाखण्डी हो। घरमा हजुरलाई न्याकेर बाहिर आर यू ओके भन्दै हिड्नेहरु आफैँ एकप्रकारको मानसिक रोगी हुन्। आफू काउन्सिलिङमा जाँदा उहाँलाई पनि लिएर जानुस्।
दिदीले मलाई आफ्नो श्रीमानको कुराहरु एकदमै विश्वास गरेर भन्नुभयो र उहाँको यो विश्वासलाई कायम गर्दै उहाँले भन्नुभएको अन्य धेरै कुराहरु यो मनमा अझैँ गोप्य नै छ। लेख्न मिल्नेजति लेख्नको लागि उहाँसँग मैले स्वीकृति मागेँ तर उहाँले अरुले पढ्दा म भनेर कसैलाई पनि शंका नहोस् भन्नुभयो। अनि वचन दिएँ दिदी कलात्मक ढंगले प्रस्तुत गर्छु ताकि पढ्दा तपाइँलाई मात्रै थाहा होस्।
दृश्य ३
पात्रः गोप्य
मेरै उमेरकी एउटा साथी छ नेपालमा। मलाई लाग्थ्यो उनले कहिले पनि बिहे गर्दैिनन् होला। एकदमै कडा स्वभाव अनि आफूलाई एकदमै फेमिनिष्ट हुँ भन्न रुचाउने थिइन् उनी। अन्याय र अत्याचार त सहनै सक्दैनथिइन्। आमालाई बुबाले एकदिन पिटेको देखेपछि बुबासँग नाता तोडेर जीन्दगी नबोल्ने कसम खाएकी केटी थिइन् उनी।
सेक्स र बच्चाको लागि मात्रै भनेर पनि विहे गर्छ र भन्ने उनको मान्यता थियो। यदि बच्चा जन्माएर यो सृष्टि चलाउने मेरो काँधमा आए म टेस्टट्यूब बेबी जन्माउँछु नी बरू भन्थी। एउटा नारीले विवाह पूर्व पनि बच्चा जन्माउन पाउनुपर्छ। एकल आमा हुन पाउँनुपर्छ र यो देशमा यस्तो ऐन आउनुपर्छ र उस्तो कानुनी लागु गर्नुपर्छ भन्ने जस्ता थुप्रै अभिव्यक्ति दिन्थीन्। यो दशकौं अगाडिको कुरा थियो।
बिचमा उनी केही कारणवश हराइन्। फेसबुकमा धेरै समयसम्म थिइनन्। उनीसँगै उनको अभिव्यक्तिहरु यत्तिकै सेलाएर गए। केही वर्षअगाडि उनको नयाँ फेसबुक आइडीबाट रिक्वस्ट आयो। प्रोफाइलमा बुढाबुढीको फोटो थियो। उनले अन्ततः विहे गरिछन्। देखेर खुसी लाग्यो। हेर्दाहेर्दै उनको दुई वटा छोरी पनि भयो। दुई छोरी सायद त्यस्तै १८ महिनाको ग्याप थियो।
फेसबुकमा बेलाबेलामा छोरीहरुसँग उनीहरुको प्रेमील फोटो आइरहन्थ्यो। म पनि प्रेमिल रियाक्सन दिइरहन्थेँ। एकदिन पनि त्यसरी नै रियाक्सन दिए उनीहरुको गुप्र फोटोमा। मेरो रियाक्सन देखेर उनले फोन गरिन्। म पनि फुर्सदमै थिएँ त्यो दिन अनि अलि लामो नै कुरा भयो। धेरै अन्तरंगको कुराकानी भयो।
त्यस्तो केटी कसरी विहे गर्न पुग्यौ यार भनेर सोधेँ?
उनले लामो श्वास फेरेर जवाफ दिइन्– खै, कुबुद्धि लागेर विहे गरेछु। फसेको यार म। बुद्धि भ्रष्ट भयो। खै कुन जुनीको पापले हो सजाय भोगिरा’छु।
फोटोहरु हेर्दा त त्यस्तो फसेको जस्तो देखिदैनथ्यो। साह्रै खुशी देखिन्थे। दुई सन्तान ईश्वरको वरदान साह्रै मिलेको परिवार बुझ्दथेँ म। त्यसैले पनि सोधेँ-आर यू ओके?
खै के ओके , के नओके। जे हुनु भैसक्यो। यी दुई वटीलाई स्याहार्न हम्मेहम्मे भएको बेला अर्को सन्तान पनि चाहियो रे नकचरोलाई। छोरो पाउनुपर्छ भन्दै रातदिन टोकसो छ यार।
अहिलेको जमानामा पनि यस्तो सोच्ने केटा मान्छेहरु छन् र भन्या। पढेलेखेको, देशविदेश घुमेर शेष भएको जस्तो देखिन्छ त। कस्तो रहेछ। तिमी त विद्रोही स्वभाव को पो हो विद्रोह गरन। कुरा गर । सम्झाउँ– मैले भनेँ।
कहाँ केही चुक्क बोल्न पाउँछ कि क्या हो। मलाई तँ फ्याङ्लो आईमाई रे। तेरो कुनै तुक छैन। बोल्ने मात्रै हो गर्न केही सक्दैनस्। हुती नभएकी भनेर उल्टै गालीगलौज गरिरहन्छ। मेरो त पुरै मोरल डाउन भएको छ यार। कस्तो थिएँ, कस्तो भएँ। केही गर्नै मन लाग्दैन आजकाल। त्यहीँ माथि रातदिन तँ केही गरेर खान सक्दैनस् भनेको सुन्दा सुन्दै आफूलाई त्यस्तै सोच्न थालिसकेँ। उही राम्रो, उही गतिलो, उ नै सबैभन्दा सर्वश्रेष्ठ रे।
तिमीलाई हातपात पनि गर्छ? मैले त्यतिकै सोधेँ।
उनी एकछिन केही बोलिनन् अनि फेरि पिलपिलपिल रून थालिन्। उनको आँशुले नै बताइसकेको थियो कि उनी कती पीडामा छिन् भनेर।
‘शारीरिक पीडा त बिर्सिइन्छ तर मलाई मानसिक पीडाले पो वर्वाद पार्यो।’
उनको ठ्याक्कै यहीँ शब्द बोलिन्।
उनले त्यो दिन अरू पनि धेरै कुरा भनिन्। छोरा पाउनकै लागि आफू हरेक दिन कसरी ओछ्यानमा लास हुनुपरेको कुरा पनि गरिन्। घरी फकाउने, घरी तर्साउने, घरी हँसाउने, घरी रूवाउने, घरी रानीजस्तो व्यवहार गर्ने अनि घरी नोकर्नी जस्तो श्रीमानको यस्तो स्वभावको बारेमा पनि उनले भनिन्। तर विडम्बना उनी जस्तो कडा स्वभावकी, विद्रोही नारीले पनि यो कुरा बाहिर ल्याउन चाहदिनन्। उनी यो पीडा घरभित्रै दवाएर राख्न चाहन्छिन्। फोन राख्ने बेला उनले भनिन्– तिमीले धेरैको कथा लेख्छौ। यो मेरो पीडा पनि एकदिन लेख। कसैलाई भडक नहुने तरिकाले। मैले मात्रै मेरो कथा बुझ्ने तरिकाले।
मैले भनेँ– पक्कै पनि तिम्रो ‘नार्सिसिस्टिक व्यक्तित्व’ भएको लोग्नेको बारेमा म एकदिन लेख्छु।
आज त्यहीँ मौका मिल्यो। साथीको वेदनाको सम्मान गर्दै केही कलात्मक ढंगबाट यो घटनालाई पनि यहाँ प्रस्तुत गरेँ दृश्य ३ बनाएर।
यस्ता कथाहरु, दृश्यहरु र पात्रहरु कयौँ छन्। यस्ता कथाहरुको अन्त्य दृश्य तीनमा मात्रै हुँदैन। घरका लोग्नेहरु सारालाई ‘आर यू ओके’ भनेर सोध्न जान्दछन् तर घरको श्रीमतीलाई आर यू ओके भनेर सोध्न आउँदैन।
यदि घरमा श्रीमानले आफ्नो श्रीमतीलाई आर यू ओके भनेर मनदेखि नै सोधेर उसको कुरा घण्टौँ सुनिदिने हो भने हरेक घरमा आधि महिलाको मानसिक समस्या कम हुने गर्छ। यसो गर्दा उचित मात्रमा एउटा नारीप्रति सम्मान पनि हुनेछ।
डिस्केल्मरः अन्तिममा महत्वपूर्ण कुरा नारीले पनि यहीँ प्रश्न ‘आर यू ओके’ भनेर पुरुषलाई गर्न जरुरी छ। पुरुषको पनि मानसिक स्वास्थ्यको बारेमा बुझ्न जरुरी छ। भलै यो लेखले विभिन्न घटना देखाएर नारीको मानसिक स्वास्थ्य र समस्याको बारेमा बढी चर्चा गरिएको छ तर वास्तवमा पुरूषको मानसिक स्वास्थ्यको बारेमा पनि हेक्का राख्न उत्तिक्कै आवश्यकता देखिन्छ।