परिवारका सदस्यहरूसँग नयाँ वर्ष मनाउन दुई दिन मात्र बाँकी थियो। करिब लामो बाटो कटाइसकेको थियो। झुलाघाटदेखि बझाङको यात्रा तय गरी जीप हुइँकिरहेको थियो। घरका सदस्यहरू बाटो कुरी बसेका थिए।
नयाँ वर्ष २०८० मनाउने सपना बोकेका बझाङ केदारस्युँ गाउँपालिका बाज र चौडीका यात्रुहरूको यात्रा झौलेकमै अन्तिम भयो। त्यहाँका भारतमा मजदुरी गर्ने मानिसहरूले अकालमै ज्यान गुमाउनु पर्यो। अहिले भने केदारस्युँमा दिउँसै रात परेको छ। पूरै गाउँमा सन्नाटा छाएको छ। नयाँ वर्ष मनाउने उल्लास भएको बेला बझाङ र बैतडी दुवै जिल्लाबासीमा विस्मात छायो।
नयाँ वर्षको आगमनले भारतमा मजदुरी गर्ने मानिसहरू स्वदेश फर्कने क्रम जारी छ। स्वदेशमै बसेर लालाबाला हुर्काउन र दुई छाक टार्न नसकिँदा हुलका हुल मानिस भारततिर हुइँकिन्छन्। चाडपर्व र निर्वाचन विशेष घर फर्के पनि पुनः भारत जाने नियति दोहोरिरहन्छ।
यस वर्ष पनि नयाँ वर्ष मनाउने भनेर बढीजसो बझाङका मानिसहरू झुलाघाट नाकाबाट हुलका हुल आइरहेका थिए। प्रायः भारतको पिथौरागडमा सडकपेटीमा गैटी र बेल्चा चलाउने, होटलमा भाँडा माझ्ने, भारी बोक्ने र फोहोरको डङ्गुर उठाउने काममा नेपाली मजदुर व्यस्त देखिन्छन्।
स्वदेशमा कुनै सम्भावना नदेखेका र राज्यले अभिभावकीय भूमिका निर्वाह गर्न नसकेका आम मजदुर कम्मरमा फेटो कसेर पिठ्युमा भारी उचालेर पराईको भूमिमा दिन गुजारा गर्दैछन्। लालाबालाको लुगाफाटो, विद्यालयको खर्च र आहाराको व्यवस्था मिलाउने यो कहालीलाग्दो कहानी सधैं दोहोरिरहन्छ। यो विषयमा म आफैंले पनि धेरै पटक लेखेँ। यो आवाज स्थानीयले सुन्दैन, काठमाडौंमा पुग्दैन।
पोको पन्तरो पारेर चैत २८ गते परिवारका सदस्यको खुसीका लागि विशु विशेष घर फेर्केका थिए केही केदारस्युँबासी। तर घर देख्न नपाउँदै झौलेक भिरमा सबै सपना चकनाचुर भए। यो कहाली न बझाङ जनप्रतिनिधिले देख्छ, न त बैतडीको जनप्रतिनिधिले। नेपाल त काठमाडौं पर्यो उनी मजदुरका लागि।
पछाडिको ढाला र पूरै छत घुम्टो जस्तै छोपिएर जिप शाहीलेक बजारबाट हुइँकिरहेको थियो। मैले यो दृश्य नजरअन्दाज गर्न सकिनँ। फोटो खिचिहालेँ। नयाँ वर्षमा मानिसहरूको स्वदेश फर्कनेहरूको लर्को लाग्ने भएकाले भोलि नै प्रहरी प्रशासनसँग यो विषयमा छलफल गर्ने, यात्रालाई सुरक्षित र सहज बनाउन सुझाव पेश गर्ने कुरा थियो।
तर संयोग यस्तो जुर्यो कि जुन जिप क्षमताभन्दा बढी नियम मिचेर बझाङ हुइँकिरहेको मेरो क्यामेरामा कैद भएको थियो, त्यही जिप दुर्घटनाग्रस्त भएर ६ जना केदारस्युँबासीले अकालमै ज्यान गुमाए र, सबै सपना झौलेकमै समाप्त भए।
सायद मेलै त्यतिखेर यो विषयलाई प्रहरी प्रशासनसम्म निवेदन गरेको भए प्रहरीले सोच्न बाध्य हुनेथियो कि? केवल मसँग प्रश्न र पश्चाताप मात्र बाँकी रह्यो।
पछिल्लो समय बैतडीमा सडक दुर्घटनाबाट ज्यान गुमाउनेको संख्या ह्वात्ते बढेको छ। यो विषयको चिन्ता र चासो घटना घटेको केही समयको वरिपरि रहने गर्छ। केही दिन अगाडि मात्र देहिमाण्डौं–गिरेगडा सडक खण्डमा जिप दुर्घटना हुँदा एकजनाले ज्यान गुमाउनु परेको थियो। सो जिप पनि क्षमताभन्दा बढी यात्रु र पुरानो थोत्रो भएकाले घटना घटेको विषय नसकिँदै अर्को ठूलो घटनाले सन्नाटा छाएको छ।
प्रश्न र मेरो पश्चातापसँगै एउटा अर्को सामाजिक प्रश्न पनि उठिरहेको छ कि झुलाघाटदेखि खोड्पे पुग्दासम्म झुलाघाट, गोठलापानी, शाहीलेक, देहिमाण्डौं, मुस्याचौर, सतबाँझ, पाटन र खोड्पेसम्म प्रहरी पोष्टहरू छन्। क्षमताभन्दा बढी र नियम नाघिरहेको जिपलाई नियमन गर्ने निकाय किन र कसरी चुक्यो यो अर्को प्रश्न रहिआएको छ। चाडपर्वको बेला अझ बढी दुर्घटना हुने सम्भावना भएकाले संवेदनशील भएर नियमन गर्नुपर्ने देखिन्छ।
प्रायः जसो ग्रामीण सडकहरू मनपरी रुपमा डोजर चालक नै इन्जिनियर भएर ग्रेड नमिलाइकनै सडक खन्नु, सडकको स्तरोन्नति नहुनु, सडक छेउहरूमा जथाभावी बालुवा, गिट्टी थुपारेर राख्नु, क्षमताभन्दा बढी मानिस र मालसमान बोक्नु, पुराना र थोत्रा साधनहरू चलाउनु, मापसे (लागुपदार्थ सेवन) र लापसे– लागुपदार्थ सेवनका कारण दुर्घटना हुने गर्दछन्।
यो विषयमा सबै सरोकारवाला निकाय, यात्रु, सवारी धनी र चालक समेत सवैको सचेतताले मात्र दुर्घटनामा न्युनीकरण हुने भएकाले सबैले सचेत बन्न र बनाउनका लागि आवश्यक परामर्श, कानुनी परामर्श, निरन्तर रुपमा सुरक्षित र सहज यात्रा सम्बन्धि सचेतनामूलक कार्यक्रम र कुशल नियमन गर्नु सवैको दायित्वलाई बिर्सनु हुँदैन।
नत्र भने जसरी हिजो झौलेकमै अकालमै जीवनका सारा सपनाहरू चकनाचुर भए पुनः यसो नहोला भन्न सकिन्न।