केही वर्षअघि हल्याण्डको रोटरडमस्थित पाकिस्तानी पसलमा आउजाउ चलिरहँदा एक जना इरानी नागरिकलाई भेटेको थिएँ।
उसले त्यहाँ बस्दै गर्दा ‘युरोप में जवानी बर्बाद’ भनेको थियो।
के रहेछ भने विवाह गरेको ६ महिनामै उसले आफ्नो धर्मपत्नीलाई छाडेर सन् १९९८ मा युरोप पसेको रहेछ।
युरोपमा उसले शरणार्थी आवेदन दिएको करिब १६ वर्षसम्मको पर्खाइमा उसले शरणार्थी दर्जा पाएको रहेनछ तर लामो बसाइको प्रक्रिया रेगुलाइजेसनबाट उसले त्यहाँ स्थायी बसाइको अनुमति पाउने निर्णय भैसकेपछि पत्यासलाग्दो कार्डको पर्खाइमा दिक्क मानेर उसले भनेको शब्द हो। ‘जवानी बर्बाद’ ऊ विवाह गर्दा २४ को थियो उसकी श्रीमती १९ की। अब ३५ र ४० को उमेरमा उनीहरूको भेट हुनेछ। मानौं ४० कटेसी रमाउने छन्।
म त्रिभुवन विमानस्थलमा आउ-जाउ गर्ने क्रममा विगत १ दशकदेखि विमानस्थललाई नजिकबाट हेर्दछु। आज एक दशकभन्दा बढी भो। म विदेशिने क्रममा त्यहाँ दिनको तीन सय मान्छेहरू विदेशिन्छन् भनिन्थ्यो।
त्यति घुइँचो थिएन विमानस्थल। अहिले त्यो क्रम फेरिएको छ। घुइँचो त्यति नै छ दिनको एक हजार होइन तीन हजारसम्म युवायुवतीहरू विदेशिएको मैले पाएको छु।
तर मेरो दिमागमा तीन वटा दृश्यले नमिठो गरी छाप छोडेको छ।
पहिलो एक जना २० वर्षीय युवा विदेशिँदै गर्दा उनको ६३ वर्षीय आमा जो एकल महिला टाउको पछाडि छाडेर रोएको दृश्यले म भावुक बनेको थिएँ।
मैले धेरैबेर रोकिएर ती आमालाई हेरिरहेँ।
मैले आमाको स्नेह नपाएको हुनाले मेरो मनलाई त्यो रूवाइले छियाछिया पारेको थियो।
दोस्रो कर्णाली भेगका एक जना युगल जोडी जो भर्खरै विवाह गरेका थिए, उसको उमेरले हेर्दा करिब करिब १८ देखि २० का देखिन्थे। दुबै जना एक जना विदेशिँदै गर्दा त्यो कलिली केटी जसले भर्खरै निधारमा सिन्दुर भरेकी छे।
उसको रूवाइको क्रन्दन देख्दा मैले आफ्नो जवानीको उमेर सम्झिए जतिबेला म आफ्नो ती उमेरमा परस्त्रीसँग लालच कस्तो हुन्थ्यो भन्ने मनमा उब्जियो।
तेस्रो थियो एक जना बच्चा। जो भर्खरै तीन वर्षको हुँदो हो। उसको बाबु विमानस्थल गेटबाट भित्र छिर्दैथियो त्यो बच्चा आमाको काखमा उफ्रिरहेको थियो बाबुसँगै जान।
उसको आमाले आफ्नो आँखाको आँसु पुछ्दै बच्चालाई सकिनसकी बोकिरहेकी थिइन् कि बच्चा उसको काखमा बुरूक्क बुरूक्क उफ्रिरहेको थियो। म ती तीनै जना पात्रहरूलाई चिन्दिनँ तर तिनको अवस्थाले मेरो दिमागमा नमिठो छाप छाडेको छ।
यो त दृश्यमात्र मैले देखेको।
आज देशभर प्रत्येक वर्ष ५ लाख युवायुवती नेपालको श्रम बजारमा काम गर्न तयार भैरहेका छन्।
उनीहरूले भनेजस्तो काम नपाउने देखेपछि आठ कक्षा पढ्दै गर्दा प्रत्येक युवायुवतीको अहिलेको सपना भनेको अमेरिका, अष्ट्रेलिया र नत्र भने युरोप त्यही पनि भएन भने खाडीसम्मको सोचबाहेक यो देशलाई हामीले यस्तो खालको वा उस्तो खालको योगदान गर्नुपर्दछ भन्ने कुनै सपना छैन।
लोक सेवा वा अन्य क्षेत्रमा मात्रै अहिले कुनै न कुनै शारीरिक वा मानसिक रूपमा कमजोर जो विदेशमा काम गर्न सक्दैनन् जस्ता खालका युवायुवतीको मात्र ध्येय देखिन्छ किनभने भ्रष्टाचार नगरी नेपालको कुनै पनि सानोदेखि उच्च तहको सरकारी वा अर्धसरकारी जागिर खाएर करिब २० वर्षसम्म सेवा गर्दा पनि उसले एउटा घडेरी जोड्न सक्दैन इमानदार भएर।
नेपालको कानुन, संविधान र सरकारले हरेक नागरिकलाई बेइमानी बन, बेइमानी गर तब न तिमी योग्य नागरिक हुन सक्छौं नत्र सक्दैनौ भनेर सिकाएको हुन्छ। कसरी भने एउटा मन्त्रालयको पहिलो श्रेणी अफिसर (सचिव)को मासिक तलब ७० हजार जति छ। अब काठमाडौंको ठाउँमा कोठाभाडा २० हजार र खाने खर्च र यातायात ३० हजार जोड्दा पनि मासिक बच्ने भनेको २० देखि ३० हजारसम्म हो। वर्षमा उसको २ देखि ३ लाखसम्म हो। त्यो पैसा इमानदारीपूर्वक काम गरेर कमाएको पैसा हो। त्यो पैसाले देशमा एकजोर ४ आनाको घडेरी जोडेर घर बनाउन उसले आफ्नो जीवन देशको सेवामा इमानदारीपूर्वक समर्पित गर्दासम्म पाउँदैन भनेपछि स्वाभिमानी रूपले बाँच्न नेपालको कानुन, नियमहरूले उसलाई बेइमानी हुनैपर्दछ। भन्नै पर्दछ मैले खानेपानी विभागमा खरिदारसरहको जागिरले काठमाडौंमा धानिनँ नसकिने निर्क्यौल गरेर विदेशिएको हुँ।
यदि स्वाभिमान गिराएको भए आज देशमा खरिदार र सुब्बाहरुले अथाह कमाएका छन्। बिदेशिएका ती युवाहरूलाई ‘पलायन’बादी भन्दै गर्दा हामीले देशभित्र जागिर खाने वा नखाने हरेक युवाहरू जो व्यापार व्यव सायमा भएका वा नभएका हरेकलाई ‘बेइमानी’ ‘भ्रष्टचारी’ र व्यापार व्यवसाय गर्नेहरूलाई ‘बिचौलिया’ भन्दा फरक पर्दैन।
बिचौलिया अर्थात् दलाली त्यो पनि किनभने म स्वयं यसको भुक्तभोगी छु। विदेशबाट केही गर्ने उद्धेश्यले फर्केपछि हामीले एउटा फर्म दर्ता गराएर तीन जना युवाले ८० लाखको कुखुरा फर्म बनायौं तर वाणिज्य बैंक कावासोती आजभोलि भन्दै हामीलाई ६ महिना झुलाएपछि अन्तिममा घुसको डिल गरेपछि हुने नाफा जति घुसमै दिनुपरेपछि भो छाडिदिऊ भनेर आफ्नो ३० लाख डुबाएर फेरि उही बाटो फर्केपछि भोगेको देखेको कुरा। यी भोगिएका उदाहरण हुन्। यस्तो खालको वातावरण भएपछि झापाका प्रेम आचार्य र चितवनका कुखुरा व्यवसायी शंकर कँडेलहरू मर्दैनन् देशमा ? इमानदार भइयो भने प्रेम आचार्य र शंकर कँडेल भइन्छ। आज प्रेम आचार्यले उठाएका सवालहरू देशमा थिग्रिएर बसेको छ। दुई दिन हल्लाखल्ला हुन्छ सकिन्छ। तर त्यो परिवारले भोग्नुपरेको यावत कठिनाइहरू कसले बुझिदिने? युवाहरु देशमा प्रेम आचार्य र शंकर कँडेलहरू हुनुभन्दा बरू ‘जवानी बर्बाद’ गर्न तयार छन्।
सोचौं त एक जना युवाले आफ्नो पेट र परिवार पाल्न स्कुलदेखि बिदेशिने योजना बनाउँछ उसको दिमागमा कहिले प्लस टु सकौंला र कन्सल्टेन्सीमा गएर आइएलटिएस, टोफेल, जीआर र जीम्याटहरू कसरी पास गर्ने ? आफ्ना मान्छे कुन देश छन्, त्यो देश कसरी पुग्ने? भन्ने दिमागमा खेलेको हुन्छ। त्यसको लागि उसले आफ्नो जवानी बर्बाद गर्न तयार हुन्छ। जवानी बर्बाद गर्दैगर्दा उसले के के गुमाउँछ।
पहिलो देश, जिल्ला, परिवार, आफन्त, आमा, बुवा, छोराछोरी खासगरी आफ्नो धर्मपत्नि वा श्रीमान जोसँग उसले दिउँसोभरि काम गरी बेलुका आनन्दले सुत्न पाउने चाहना।
ती युवा युवतीबीचको भावना। मनोकांक्षा। चाहना। यी सबैको तिलान्जली दिन बाध्य हुनुपरेको छ युवायुवतीलाई त्यो दुर्भाग्य हो कि होइन? त्यसले पार्ने एउटै मात्रै भन्दै गर्दा प्रजनन गर्ने समय र उमेर पनि कटेर भएका प्रजननहरू ती स्वस्थ हुँदैनन् भन्ने डाक्टरको राय छ, यो सामान्य भए पनि बिकराल हो।
ती सबैलाई मुटुमै खुम्चाएर एउटा युवायुवतीहरू प्लेन चढ्न लालयित हुनुको एउटै कारण हो राजनीतिक नेतृत्व।
निकम्मा नेतृत्वले विगत नेपालको राज्यसत्ता ३० वर्षदेखि रजगज गरिदिनाले विदेशिने क्रम घट्ने भन्दा बढ्नु पर्दा नेताका अदुरदर्शी, भ्रष्टाचारका, व्यवस्था उनका परिवारका लागि मात्र सीमित गरिदिँदा देशका तमाम युवायुवतीहरूले आफ्नो जवानी बर्बाद गर्न बाध्य छन् अब यो कहिलेसम्म?
(लेखक एनआरएनका टास्कफोर्स सदस्य हुन्।)