‘माया रै'छ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि’
गायक तथा संगीतकार कालिप्रसाद बाँस्कोटाको उक्त गीत एकदमै हिट भयो।
सरल शब्द चयनमा गाएको यो गीतले धेरैको हृदय छोयो। मेरो पनि हृदय छोयो। गीतमा मायाको कुरा गरेको छ, अँगालोको कुरा गरेको छ, भरको कुरा गरेको छ अनि घरको।
जहाँ माया हुन्छ, त्यहाँ भर हुन्छ अनि जहाँ अँगालो हुन्छ त्यहाँ घर हुन्छ। यो एउटा कलाजयी शब्द हो मेरो लागि। कालजयी भावना हो। यो एउटा सत्यवाणी पनि हो।
जति यो गीत सुन्छु म मेरो दिदीले केही महिना अगाडि भन्नुभएको कुरा झलझली सम्झन्छु। यो गीतको विशेषगरी यो हरफसँग दिदीले व्यक्त गर्नुभएको भावनालाई ढाँच्छु।
दिदीको एक मात्र सन्तान। पोहोर साल त्यहीँ छोरासँग दशैँ मनाउन अष्ट्रेलिया आउनुभयो। एकदिन दिदीबहिनी गफ गर्दै गर्दा कुरैकुरैमा सोधे– अष्ट्रेलिया रमाइलो कि, नेपाल रमाइलो दिदी?
दिदीले केही वेर पनि नलगाइ ढुक्कसँग भनिदिनुभयो– सन्तान जहाँ बस्यो त्यहीँ रमाईलो।
दिदीको जवाफ गम्भीर लाग्यो तर पनि जिस्काएर दिदीलाई भनेँ–त्यसो भए भोलि छोरा मंगलग्रहमा गएर बस्यो भने पनि त्यही रमाईलो लाग्छ कि क्या हो तपाईँलाई?
अँ, मलाई त त्यही रमाइलो लाग्छ। आफ्नो सन्तान जहाँ मन त्यहाँ। सन्तानसँग बस्न पाउँदा मलाई नर्क पनि प्यारो लाग्छ। दिदीले पुरै आत्माविश्वास साथ भन्नुभयो।
ए त्यसो भए तपाइँ स्वर्ग नजाने ? दिदीलाई अझै जिस्काएर भनेँ।
कस्तो आँडे कुराहरु सोधेको तैँले। सन्तानसँग हुँदा, सन्तानको साथ हुँदा नर्क पनि स्वर्ग हुन्छ, अनि सन्तानसँग साथ नहुँदा स्वर्ग पनि नर्क हुन्छ भन्न खोजेको। तँ यसरी यसरी बुझ्न। दिदीले भन्नुभयो।
'अब एउटा सन्तान पाउँछु अनि कुरा बुझ्छु', दिदीलाई हाँसेर भनेँ।
मेरो कुरा सुनेर दिदीले ओठ अलिकति लेप्राउनुभयो। उहाँको मनमा यसको कुरा भन्ने भइरहेको थियो।
तीन महिना दिदी छोरासँग अष्ट्रेलिया बस्दा मैले प्रस्टै महसुस गरेको थिएँ– दिदीलाई अष्ट्रेलियाको हावापानी भन्दा पनि छोराको साथ राम्रो लागेको थियो। उहाँलाई मेल्वर्न, सिड्नी, तास्मेनिया शहर अनि त्यहाँको रेल र बस भन्दा पनि साथमा लिएर हिँडेको छोराको समय प्यारो लागिरहेको थियो।
समुन्द्रको छाल, पार्कको हरियालीभन्दा पनि छोराले पोजपोजमा खिचिदिएको फोटोले खुशी दिइरहेको थियो। पिज्जा र वर्गर पनि उहाँलाई छोराले किनेर ल्याइदिएकोमा मिठो भएको थियो। उहाँलाई तीन महिना भन्दा बढी बस्ने रहर पनि सन्तानको माया र अँगालोले नै जगाएको थियो।
दिदी मात्रै होइन मैले अरू पनि यहाँ भेटेको छु जसलाई अष्ट्रेलिया मन पर्नुको कारण एउटै छ किनकि यहाँ उहाँहरुको सन्तान बस्नुहुन्छ। यहाँ उहाँहरुको सन्तानको पनि सन्तान जन्मिएको छ।
धेरै अगाडि घर छेउको पार्कमा नातीनीलाई खेलाइरहनुभएको एउटा आमाबुबालाई सोधेको थिए– हजुरहरुलाई अष्ट्रेलिया कस्तो लागिरहेको छ?
जवाफ दिन उहाँ आमा अलि लजाउनुभयो तर बुबाले भने फ्याट्ट भन्नुभयो– ठिकै छ रमाइलो नै छ नि।
अलि समय बस्नुहुन्छ? मैले फेरि सोधेँ।
अँ यो पटक भने अलि लामै बस्छौ होला। पहिला पनि एक वर्ष बसेर जानुभएको कुरा बुबाले जिकिर गर्नुभयो।
अनि बुबाले मेरो नाम, थर, नेपाल घर, यहाँ आएको कति भयो, के गर्दै, विवाहित कि अविवाहित, सन्तान छ कि छैन जस्ता तमाम कुराहरु सोध्नुभयो। मैले पनि खुरुखुरु झर्को नमानि एकपछि अर्को जवाफ दिदै गएँ।
यी कुराको सिलसिला सकेपछि आधा घण्टा जति हाम्रो कुरा चुपचापसँग सुनिरहनुभएको आमाले सोध्नुभयो– अनि नानीलाई चाँहि कहाँ रमाइलो लाग्छ। नेपाल कि अष्ट्रेलिया?
मनले उता रमाइलो मानिरहन्छ, तनले भने यता हो कि? आमा।
मेरो कुराले आमाबुबा दुवै हाँस्नुभयो अनि बुबाले भन्नुभयो– नानी हाम्रो त आजकाल तन मन सबैले यतै रमाइ रहेको छ। आफ्ना सन्तानहरू सबै यतै अष्ट्रेलियातिर। नेपालको त्यो खाली घर धुमधुमति कुरेर बस्नुभन्दा त हामी बुढाबुढीलाई यसरी नातीनी कुरेर बस्न रमाइलो।
त्यसपछि आमा पनि बोल्नुभयो– आफ्नो सन्तान जहाँ बस्छन्, जहाँ रमाउँछन् हाम्रो मन पनि त्यही रमाउँछन् नि नानी। माया भन्ने कुरा सर्दै जाने रहेछ। अहिले यो नातीनीमा हाम्रो आत्मा बसेको छ। तत्काललाई जति चिसोभएपनि यही हावापानी प्यारो भइरहेछ। यो एउटा ठूलो ‘स्टेटमेन्ट’ थियो उहाँको तर सत्य थियो।
उहाँ लगायत अरु पनि धेरै आमाबुबाहरु हुनुहुन्छ, सन्तानहरु सबै विदेशीएकोले अरुको देशपनि प्यारो लाग्ने रहर र वाध्यता दुवै छ। मेरो जिल्लाकै दाइ मेरो छिमेकी हुनुहुन्छ यहाँ। उहाँको आमासँग मेरो भेट भएको बेला यस्तै कुराहरु बेलाबेलामा भइरहन्छ। उहाँको दुई सन्तान एक जना अमेरिका हुनुहुन्छ र एक जना यही।
एकदिन आमालाई सोधेँ– आमा अमेरिका रमाइलो कि अष्ट्रेलिया?
खै बा, रमाइलो त नेपाल नै होला नि तर सन्तानहरु नै एउटा अमेरिका र एउटा अष्ट्रेलिया भएपछि ती देशहरु नै रमाइलो मार्नु परिहाल्यो नि। दुई सन्तानको बराबर माया लागेजस्तै, दुवै छोराले रोजेर बसेको देशहरु पनि वरावर रमाइलो लाग्छ।
आमाले यति भन्नुभएपछि मैले अरु केही बोलिनँ। मैले उहाँ आमाको आँखामा नेपाल जाने बेलामा चिन्ता र आँसु देखेको छु। त्यस्तो आँसु मैले नेपालबाट विदेश विदाइ हुँदा देख्ने गरेको हुन्थे। उहाँ आमालाई अष्ट्रेलिया छोडेर नेपाल जानुपर्यो भन्ने चिन्ता होइन, सन्तान र नातीनातीनालाई छोडेर जानु पर्र्यो भनेर पीर हो।
एकपटक आमाले भन्नुभएको थियो– यस्तो पीर अमेरिकाबाट नेपाल आउँदा पनि हुन्छ।
म उहाँ आमालाई मात्रै होइन कुनै मौकामा अरु आमाबुबा जसको सन्तान विभिन्न देशमा हुनुहुन्छ र घुमेर आउनुभएको छ भने प्रसंग मिलाएर उहाँहरुलाई पनि सोध्ने गर्छु– हजुरहरुलाई कुन देश रमाइलो लाग्यो?
उहाँहरु आफ्नो सन्तान रहेको सबै देशको वखान गर्नुहुन्छ। सबै देशको आ आफ्नो विशेषताको बारेमा पनि भन्नुहुन्छ। अनि लामो व्याख्यापछि एउटै निष्कर्ष आउँछ– आँखाले विकास देख्छ, मनले सन्तान। तर सन्तान रुकुम रोल्पा नै बसेपछि रमाईलो त त्यही लाग्छ। जहाँ भर छ त्यही घर छ।
म कहिलेकाँहि सोच्छु– प्राय विदेशमा जन्मेका छोराछोरीका आमाबुबाहरु किन चटक्कै नेपाल जान सक्दैन्न। कतिलाई यो प्रश्न सोध्छु पनि। धेरैको जवाफ ‘आर्थिक व्यवहार, कारोवार र सन्तानको जिम्मेवारी’ भन्ने आउँछ।
नेपालमा बुढा आमाबुबा हुनुहुन्छ। एक्लै घरमा सन्तानको बाटो हेरेर बस्नुहुन्छ। भिषादेखि अन्य विभिन्न कारणले सन्तानले उहाँहरुलाई सधैँ आफ्नो साथमा राख्न सक्नुहुन्न। आफ्नो सन्तानको भविष्य, पढाइ तथा अन्य विविध कारणले उहाँहरु आमाबुबासँग नेपाल बस्न पनि सक्नुहुन्न। परिस्थिीती यस्तो आउँछ कि आमाबुबा र सन्तानको जिम्मेवारीमा एउटा रोज्नु नै पर्र्यो।
यो कसमकसमा धेरैले सन्तानको नै जिम्मेवारी रोज्छन्। हिजो आमाबुबाले आफूलाई रोजेको हुन्छ र आज आफूले आफ्नो सन्तानलाई। यो जिम्मेवारी एउटा चक्र भइ व्यक्तिहरुमा घुमिरहन्छ।
एकदिन फेरि मेल्वर्नकै एउटा भाउजुसँग यस विषयमा गहन कुरा भयो। भाउजु त्यसरी हामीलाई नै रोज्ने आमाबुबालाई हामीले हाम्रो सन्तान भएपछि किन रोज्न सक्दैनौ होला है ? सन्तानको मायाले मानिसलाई किन यति धेरै निरिह र कमजोर बनाउँछ ? माया भुल्दै जान्छ हो ? मैले एकपछि अर्को प्रश्न गरेको थियो।
मायाले जहिले पनि पछाडि कम र अगाडि बढी हेर्दो रहेछ। सन्तान जन्मेपछि आमाबुबाप्रति अथाह सम्मान त बढ्छ तर मुटुकै टुक्रा चाँहि सन्तान नै हुनेरहेछ। हामी हाम्रो आमाबुबाको मुटुको टुक्रा भयौ अनि हाम्रो मुटुको टुक्रा आफ्नो सन्तान भए। सन्तानको मायाको अगाडि घुडा टेकिने रहेछ। उनीहरुको अगाडि सजिलै आत्मासमर्पण गर्न मन लाग्ने रहेछ। उनीहरुको खुशीको लागि आफू हारिन मन लाग्ने। उनीहरुको भलो हुन्छ भने जंगलमा गएर पनि बस्न तयार हुन मन लाग्ने। हिजो आमाबुबाले हाम्रो लागि आफ्नो रहरहरु त्याग्नु भयो आज हामी हाम्रो रहर उनीहरुको निमित्त त्याग्दैछौ। यो माया विचित्रको भनेको यही हो। आलो पाले भइरहने।
भाउजुले मायालाई आलोपाले भइरहने विचित्रको रुपमा परिभाषित गर्नुभयो।
भाउजुसँग कुरा भएर त्यो रात म घर फर्केपछि अरु पनि मनमा कुराहरु खेलाइरहे। जसरी आमाबुबाहरुलाई सन्तान विदेशमा रहेकोले उहाँहरुलाई विदेश रमाइलो लागेको जस्तै के मलाई पनि मेरो आमाबुबाहरु नेपाल हुनुभएकोले नेपाल देश प्यारो भएको हो ? यस विषयमा धेरैकुराहरु मेरो विचारमा आयो, मनमा आयो, मस्तिष्कमा आयो , तर्कमा आयो, दृष्टिमा आयो, कानमा आयो, मुखमा आयो तर निष्कर्षमा त्यही गीत आयो।
‘माया रैछ र त भर रैछ नि
अंगालो पनि त घर रैछ नि’
मलाई पनि कतैकतै लाग्यो। मलाई नेपाल प्यारो हुनुको कारण नै मेरो आमाबुबा त्यहाँ बस्नुहुन्छ। उहाँहरुले मलाई जन्म मात्रै दिनुभएन, बुबा, दिदी, दाइ, आफन्त, मावली, साथीभाइ, वालापन, माया प्रेम, अँगालो, सम्झनाहरु, भर अनि घर दिनुभयो। मेरो पहिचान दिनुभयो। मेरो अस्तित्व दिनुभयो। मलाई मेरो देश नेपाल दिनुभयो।
मैले दिमाग दुख्नेगरी नै गहिरिएर सोचेँ, मलाई मेरो देश कुनै राजा, महाराजा, योद्धा, नेताले दिएका होइनन्। मेरो देश मेरो आमाबुबाले दिनुभएको हो। यदि मेरो आमाबुबा अन्तै देशमा बसाइँ सरेर जानुभएको र म त्यहाँ जन्मेको भए, हुर्केको भए म त्यही देशको हुन्थे। म त्यही देशको कहलिन्थेँ। मेरो पुर्खासम्म जान्न तर मेरो आमाबुबाले त्यही माटोमा जन्माउने प्रण र निर्णयले गर्दा मलाई मेरो माटोको माया लागेको हो। मेरो देशको माया लागेको हो। मेरो देश मेरो भर भएको हो। मेरो देश मेरो घर भएको हो।
ऋषिहरुको तपोभूमि, तेत्तीस कोटी देवीदेवताको वासस्थान, सगरमाथा, बुद्ध भएर प्यारो भएको होइन रहेछ नेपाल। यी सबै कुरा हुँदा गर्व मात्रै हुने रेछ तर प्यारो चाँहि आमाबुबा भएर हुने रहेछ।
एकदिन फोनमा गफ गर्दै गर्दा आमालाई सोधे– आमा मेरो त मन तपाइँहरुमा रमाउँने रहेछ। तपाइँहरुको मन केमा रमाउँछ ?
हाम्रो मन पनि तिमीहरुमा नै रमाउँछ। आमाबुबालाई आफ्नो सन्तान भन्दा प्यारो कोही हुँदैन।
कति प्यारो हुन्छ आमा। सानो वच्चाले जस्तो प्रश्न गरेँ।
कति कति महासागर भन्दा पनि अथाह। आमाको जवाफ थियो।
अनि हामी छोराछोरीहरुमा तपाइँलाई कस्को बढी माया लाग्छ ? मैले यो प्रश्न गरेर आमालाई जिस्काएको थिए। मलाई थाहा थियो यो प्रश्नको जवाफ के आउँछ भनेर पनि तर पनि आमालाई झ्याउँ लाग्ने घरी सोधेँ।
तँ के के कुराहरु सोध्छेस् क्या निरु। यत्रो हुँदा पनि भुरा जसरी सानासाना कुराहरु किचिकिचि सोध्छेस्। ल अरु त सबै कुरा ठिक छ होला नि हैन? म अब फोन राख्छु है। आमा मेरो जवाफबाट पन्छिन यसो भन्नुभयो।
म फेरि जिद्दि गर्थे अनि एटेनसन पाउन सोधेँ। भन्नुस् न कस्को बढी माया लाग्छ।
एउटा होइन, तीन चारवटा सन्तान जन्मा अनि मलाई भन कस्को बढी माया लाग्दो रहेछ। आमा यसो भनेर फोन राखे है भन्नुभयो।
म खितिति हाँसेर फोन राखेँ। तर मनमनै डराएँ आमाबुबाको मायालाई पनि ओझेल बनाइदिने मेरो भविष्यका सन्तानहरु कस्तो हुने होला?