प्रसँग सुरू गरौं नक्कली भुटानी शरणार्थी प्रकरणबाट।
नक्कली भुटानी शरणार्थी प्रकरण अहिले अदालती प्रक्रियामा छ। राज्य संयन्त्रका उच्च पदाधिकारीहरूकै संलग्नतामा कसरी मानव तस्करीको जालो फैलिएको छ भन्ने विषय यस प्रकरणले सतहमा ल्याइदिएको छ।
आजको यस आलेख नक्कली भुटानी शरणार्थी प्रकरणबारे भन्दा पनि यो प्रकरणले उठाएको अर्को पाटोबारे बढी केद्रित रहने छ।
अमेरिका बसाइको सिलसिलामा मैले धेरै त्यस्ता व्यक्तिहरू भेटेको छु, जो ५०/६० लाख तिरेर र कोही त हिँडेरै गैरकानुनी ढंगबाट अमेरिका आइपुगे।
उनीहरूले भोगेको यातना, अमेरिका आए पछिको दु:ख, उनीहरूले झेलिरहेका समस्याबारे पनि मैले साक्षात्कार गरेको छु। मानिस अमेरिका आउन किन जे पनि गर्न तयार छ? जति पनि तिर्न तयार छ? र यहाँको वास्तविकता के छ? भन्ने विषयमा आज यस आलेखमा केही चर्चा गरिनेछ।
मानव तस्करीको जालो नक्कली भुटानी शरणार्थी प्रकरणमा मात्र सीमित छैन।
यो त विदेशमा हुने विभिन्न कार्यक्रममा सरकारी कर्मचारी वा नेतासँगको टिममा राखेर होस् या सांगीतिक कार्यक्रमहरूमा कलाकारको टिममा राखेर होस चलिरहेकै छ। त्यसबापत आयोजक, भ्रमण दलका कर्मचारी, नेता वा कलाकारले मोटो रकम असुलिरहेका पनि छन्।
त्यस्तै, गैरकानुनी ढंगबाट हिँडाएरै अमेरिका ल्याउने गिरोह पनि नेपालमा सक्रिय छ। त्यसबापत ७०/८० लाखसम्म तिरेर यहाँ आउन चाहने नेपालीको संख्या पनि ठूलो छ। यस्ता अनेकन गिरोहहरू छन् जो अमेरिकी सपना देखाएर नेपालीबाट मोटो रकम असुलिरहेका छन् र नेपालीहरू पनि अमेरिका आउनको लागि जति पनि तिर्न र जे पनि गर्न तयार छन्।
यो सबै हुनुको पछाडि अमेरिका आएपछि त जादुको छडी जसरी जीवन नै उलटपुलट भइहाल्छ भन्ने भ्रमको उपज हो।
नेपाली समाजमा अमेरिकी सपना यसरी गडेको छ लाग्छ अमेरिकामा रूखमा पैसा टिप्न सकिन्छ। तर वास्तविकता नित्तान्त फरक छ। त्यति पैसा खर्च गरेर आएपछि सुरूमा त खर्च गरेको पैसा उठाउनै महाभारत हुनेछ। त्यसरी अमेरिका आएपछि उसको यहाँको स्ट्याटस गैरकानुनी हो। गैरकानुनी रूपमा अमेरिका बस्नु निकै गाह्रो काम हो। गैरकानुनी रूपमा रहेपछि न उसले काम गर्न पाउँछ, न सहज रूपमा दैनिकी चलाउन नै सक्छ। अझ हिँडेरै अमेरिका पुग्ने सपनाले त उसको जीवन नै नरहन पनि सक्छ यहाँ आइपुगी हाले पनि आफ्नो गैरकानुनी प्रवेशलाई पुष्टि गर्न निकै गाह्रो पर्नेछ।
जबसम्म आफ्नो गैरकानुनी बसाइलाई पुष्टि गर्न सक्दैन वा अमेरिकी कानुनले दिएका विभिन्न प्रक्रियामार्फत् कानुनी बाटोमा जान सक्दैन तबसम्म उसको यहाँको बसाइ नर्कमा बसेभन्दा असहज रहनेछ। प्रक्रियामा जाँदैमा कानुनी रूपमा यहाँ बस्न पाइन्छ भन्ने कुनै निश्चितता हुँदैन र यो प्रक्रिया वर्षौं लाग्न पनि सक्छ। कानुनी प्रक्रियाका लागि पनि उसको धेरै पैसा खर्च भइसकेको हुनेछ। यस्तो असहज र गैरकानुनी बाटोबाट अमेरिका आउन खोज्ने र अमेरिका आउन जति पनि पैसा खर्च गर्न खोज्नेहरूले तबमात्र वास्तविकता बुझ्नेछन् जब अमेरिकाको गैरकानुनी जीवनमा उनीहरू प्रवेश गरेका हुने छन्। त्यसबेला पछुताउनुबाहेक कुनै विकल्प रहने छैन।
गैरकानुनी व्यक्तिले यहाँ गर्ने भनेको निकै तल्लो दर्जाको त्यो पनि कोही चिनजानको व्यक्तिले नगदमा काम दियो भने मात्र हो। गैरकानुनी व्यक्तिलाई यहाँ निकै थोरै पारिश्रमिक दिइन्छ। गैरकानुनी व्यक्तिलाई काम दिनु पनि अपराध भएको हुँदा हत्तपत्त काम पाउन गाह्रो हुन्छ। यसो हुँदा आउने बित्तिकै एकातिर घर-खेत बेचेर दलाललाई दिएको त्यति ठूलो रकमको बोझ, अर्कोतर्फ गैरकानुनी बसाइ र काम नपाउने समस्याले कति त डिप्रेसनको सिकार हुने गरेका छन्। कतिले आत्महत्याको बाटो पनि रोजेका छन्।
तर यो सबै हुँदाहुँदै पनि अहिले पनि भित्रभित्रै यो जालो चलिरहेकै छ। पैसा बुझाउनेहरू बुझाइरहेकै छन्। लिनेहरू लिइरहेकै छन्। र अमेरिकी सपनामा कैयौं युवाहरू यो जालोभित्र फसिरहेकै छन्। त्यति ठूलो पैसाले त नेपालमा कुनै व्यापार- व्यवसायमार्फत मनग्य आम्दानी गर्न सकिन्छ तर पनि अमेरिकी सपना यसरी गडेको छ कि, अमेरिका त स्वर्गको टुक्रा नै हो। यहाँ टेक्ने बित्तिकै ‘छु मन्तर’ भइहाल्छ। तर वास्तविकता त्यस्तो हैन।
हो, यहाँ सीप हुनेका लागि र कानुनी ढंगले बस्नेका लागि निकै धेरै अवसर छन्। देश सिस्टममा चलेको छ। तसर्थ दिमाग लगाएर काम गर्दा आम्दानी पनि राम्रो हुन्छ। तर त्यस्ता व्यक्तिहरूका लागि पनि बचत गर्न निकै गाह्रो छ। कुनै न कुनै ढंगबाट कमाएको पैसा राज्यलाई नै बुझाउनु पर्छ। ५०/६० लाख बचत गर्नु भनेको कानुनी व्यक्तिलाई पनि वर्षौं लाग्न सक्छ। घरको किस्ता, गाडीको किस्ता, बीमा, खाना आदि इत्यादि भन्दैमा कमाएको जति पैसा सकिसकेको हुन्छ। यसरी हेर्दा यहीँको जीवन सहज छ तर बचत भन्ने कुरा निकै गाह्रो छ। गैरकानुनी व्यक्तिले त यी केही नसोच्दा पनि हुन्छ।
तसर्थ ५०/६० लाख खर्च गरेर अमेरिकी सपनामा आफ्नो बाँकी जीवन फसाउनु भन्दा देशमै अवसरको खोजी गर्दा त्यो बढी लाभदायक हुनेछ। नेपालबाट देख्ने अमेरिका र भोग्ने अमेरिकाबीच आकाश जमिनको फरक छ। त्यहाँ बसेर सुन्ने, देख्ने अमेरिकाको सपनालाई यहाँ आइसकेपछिको वास्तविक अमेरिकाले झस्काउने छ। अहिले भइरहेको र जेनतेन चलिरहेको सहज जीवनलाई कोही कसैको लहलहैमा घरखेत बेचेर, ऋण काढेर, दलालको खुट्टा मोलेर गैर कानुनी रूपमा अमेरिका आउनु भन्दा स्वाभिमानका साथ नेपालमा आफ्नै सानो व्यवसायमार्फत् जीवनलाई अर्को उचाइमा पुर्याउनु निकै राम्रो हुनेछ।