नेपालको इतिहासमा लिच्छविकालसम्म आइपुग्दा नेपाल मण्डलमा नेवारहरूको बाहुल्यता भई विभिन्न ठाउँबाट आएका अनेकथरी जातजातिहरू एकआपसमा मिलिजुली बसेको आदिवासीहरूको रहनसहनबाट पनि अवगत हुन्छ।
आदिवासीहरूमध्ये कायस्थहरू पनि एकथरी हुन्। आजसम्म थाहा भएअनुसार कायस्थहरूको पहिचान नेपाल सम्बत २६० कार्तिक शुक्ल पूर्णिमाको दिन राजा मानदेवको पालामा भक्तपुर खौमा टोलमा बसोबास गर्ने कास्त नायक (कायस्थ) का छोरा रत्नाकर सिंहले चाँगुनारायणामा आफ्नो छोरा रामजन सिंहको दिर्घायु र सुखआनन्दको कामना गर्दै सुनको जलप लगाएको तामाको कलश एक जोडा चढाएका थिए।
त्यस्तै ने.सं. ६३९ मा जयसिंहराम कायस्थले चाँगुमा एक प्रकारको विशेष गहना चढाएको व्यहोरामा आफ्नो बाबु भारसिंह भएको उल्लेख छ। ने.सं.६४६ मा डोय कसले पहिला मगर सेनाबाट लुटिलगेको पात्र नामक गहना पुनः चढाएका थिए। ने.सं. ६५५ मा भारसिंह कसले आफ्नो दिवंगत बुवा डोय कसको सम्झनामा चाँगुमा कण्ठी चढाएका थिए।
त्यस्तै राजा प्राण मल्लको पालामा तत्कालीन चौतारीया भाजु कसले जग्गनाथ मन्दिर तथा फसि द्येग र भक्तपुर वडा नं. १ इनागःमा अवस्थित भाजुपोखरी बनाएका थिए जुन पोखरीले भक्तपुरको शोभा बढाएको थियो। 'भाजुकस' ले बनाएको पोखरी हुनाले 'भाजुया पुखु' भनिएको हो। पछि अपभ्रंश भएर भाज्या पुखु वा अहिले 'भाजुपोखरी' नामाकरण भएको छ। यसरी कायस्थ परिवार शक्तिमा रहँदा भविष्यसम्म इतिहास रहने गरी मन्दिर बनाउने र चाँगुनारायणमा कीर्ति राखेको पाइन्छ।
कायस्थ जातिको उत्पतिः
कायस्थहरू सृष्टिकर्ता ब्रह्माका मानस पुत्र चित्रगुप्तका सन्तान मानिन्छन्। हिन्दुहरूको वर्ण व्यवस्था (ब्राह्मण, क्षत्री, वैश्य, शुद्र) मा कायस्थहरूले छुट्टै वर्ण स्थान राख्छन्। ब्रह्माको चित्त (शरीर–काया) बाट उत्पन्न भएकाले कायस्थ आफैंमा छुट्टै एउटा वर्ण हो। चित्रगुप्तजीको दुइटा विवाह भएको थियो। जसमध्ये पहिली पत्नी सूर्यदक्षिणा/नन्दिनी हुन् जो सूर्यदेवका पुत्र श्रद्धादेवकी छोरी थिइन्। उनीबाट चार पुत्र भएका थिए। दोश्री पत्नी ऐरावती/शोभावती धर्मशर्मा (नागवेशी क्षत्रीय) की पुत्री थिइन्। उनीबाट आठ पुत्र थिए।
अतः कायस्थका १२ शाखा छन् – श्रीवास्तव, सूर्यध्वज, बाल्मिक, अष्ठाना, माथुर, गौड, भटनागर, सक्सेना, अम्बष्ठ, निगम, कर्ण तथा कूल श्रेष्ठ।
यी बाह्रवटै पुत्रहरूको विवरण तल दिइएको छ। जसको उल्लेख अहिल्या, कामधेनु, धर्मशास्त्र तथा पुराणहरूमा पनि दिइएको छ। वेदशास्त्र पुराणादिमा निपुण भएपछि श्री चित्रगुप्तजी महाराजका बाह्र पुत्रहरूको विवाह नागराज बासुकीको बाह्र पुत्रीसँग सम्पन्न भएको थियो जसले गर्दा कायस्थहरूको मावली नागवंश मानिँदै आएको छ र नागपञ्चमीका दिन विशेष रूपमा नाग पूजा गर्ने गरिन्छ।
माता नन्दिनीका चारवटै पुत्रहरू भारतको काश्मिर छेउ–छेउतिर गएर बसे भने माता ऐरावती/शोभावतीका आठवटै पुत्रहरू गौड देशको छेउ–छेउ बिहार, उडीसा तथा बंगालमा गएर बसे। त्यस समयमा बंगाललाई गौड देश भनिन्थ्यो। पद्म पुराणमा यसको उल्लेख पनि पाइन्छ।
अफगानिस्तानदेखि वर्मा (म्यानमार) सम्म विभिन्न स्थानहरूमा अनेक थर उपनाम प्रयोग गरी बसोबास गरिरहेको पाइन्छ जसको विवरण देहायअनुसार छ – जस्तै उत्तर भारतमाः अम्बष्ट, अस्थाना, अधोलिया, बाल्मिकी, श्रीवास्तव, खरे, सक्सेना, माथुर, निगम, सूरध्वज, गौंड, भटनागर, कुलश्रेष्ट, कर्ण लेख्छन्।
दक्षिण भारतः मुदलियार, नायडू, पिल्ले, नायर, राज, मेमन, रमन, राव, करनाम, लाल, काणिक, रेड्डी, प्रसाद।
राजस्थानः गुप्त, नन्द, शर्मन, फुत्तु, भावेकदानवास, माथुर।
बंगालः सेन, कार, पालित, चंद्र, साहा, भद्रधर, नंदी, घोष, मल्लिक, मुंशी, डे, पाल, रे (राय) गुहा, वेध, नाग, सोम, सिन्हा, रक्षित, अकुर, नंदन, नाथ, विश्वास, सरकार, चौधरी, बर्मन, भावा, गुप्त, मृत्युंजय, दत्ता, कुंडु, मित्र, धर, शर्मन, भद्र, बोस।
महाराष्ट्रः पठारे, चंद्रसेनी, प्रभु, चित्रे, मथरे, ठाकरे, देशपांडे, करोड़े, दोदे, तम्हणे, सुले, राजे, शागले, मोहिते, तुगारे, फडसे, आप्टे, रणदिये, गड़कारी, कुलकणी, श्राफ, वेध, जयवत, समर्थ, दलवी, देशमुख, मौकासी, चिटणवीस, कोटनिस, कारखनो, फरणीस, दिघे, धारकर, प्रधान। गुजरातः चंद्रसेनी, प्रभु, मेहता, बल्लभी, बाल्मिकी, सूरध्वज उडीसाः पटनायक, पाटस्कर, कानूनगो, मोहन्ती, वाहीयार।
आसमः बरूआ, चक्रवर्ती, पुरूकायस्थ, वेध, चौधरी।
सिन्धः आलिभ, फाजिल, कामिल, अडवानी।
पंजाबः राय, बक्शी, दत्त, सिन्हा र बोस लेख्छन्।
तर नेपाल उपत्यकामा कायस्थ, कसजू, सैंजू प्रधान आदि थर लेख्ने गर्छन्।
कायस्थ वा कायथ एकमात्र वंश हो जसलाई धार्मिक ग्रन्थहरूमा वैदिक इश्वरको सीधा 'रक्त' बाट जन्मेको उल्लेख गरिएको छ र हिन्दू धर्मअनुसार श्री चित्रगुप्त भगवानको पूजा गर्छ, चित्रगुप्तको वंशज, चित्रांश वा देवपुत्र भनिएको छ। ऋगवेदको भाग २१ र गरूडपुराण अनुसार चित्रगुप्तलाई लिपिको पहिलो रूप दिने व्यक्ति भनिएको छ। ब्रह्मी लिपि चित्रगुप्तले दिएको लिपि हो जो वेदहरूको लिपिका रूपमा प्रायः प्रयोग भयो। प्राचीन विभिन्न लिपिहरू, कायस्थद्वारा प्रयोग गरिएको अनुमानित हुन सक्छ, तर केही अगाडिसम्म कैथिलिपिको व्यापक प्रयोग थियो जुन मिथिलाक्षर र बंग्लाक्षरसँग धेरै मिल्छ।
कायस्थ समुदायले इस्लामिक भारतमा फारसी, तुर्की, अरबी र पछि उर्दू अनुकूलन गर्यो। तसर्थ त्यस गुणले गर्दा, साम्राज्यवादी प्रशासनिक कालमा मौद्रिक नीति, न्यायशास्त्र र करको कार्य र विकासमा महत्वपूर्ण स्थान राख्न सफल भयो। साथै पञ्जिकाधिकारी एवं भूमिको लेखाजोखामा आफ्नो वर्चस्व बनाइराख्न सफल भयो।
स्कन्द पुराणमा पनि कायस्थको सात लक्षणको वर्णन छः (१) विद्वान– ज्ञानी, (२) सुची– सदाचारी, (३) धिर– धैर्यवान, आपतकालमा पनि अविचिलित नहुने, (४) दाता– अरूलाई मदत गर्ने (५) परोपकारी– परोपकार गर्नेवाला (६) राजसेवी– शासनको सेवा गर्ने र (७) क्षमाशील।
चित्रगुप्त वंशावलीः माता सूर्यदक्षिणा/नंदिनीको पुत्रहरूको विवरणः १ – भानु (श्रीवास्तव) – श्री भानु माता नन्दिनीका ज्येष्ठ सुपुत्र थिए। उनको राशिको नाम धर्मध्वज थियो। श्री भानु भारतको मथुरामा गएर बसे। यसैकारण भानु परिवारसँग सम्बन्धित सबै माथुर कायस्थको नामले चिनिए साथ–साथै सूर्यवंशीको नामले पनि चिनिये।
२ – विभानु (सूर्यध्वज) – भटनागर उत्तर भारतमा प्रयोग हुने एउटा जातिनाम हो, जुनकी हिन्दुहरूको कायस्थ जाति अन्तर्गत आउने गरेको छ। श्री चित्रगुप्तजी महाराजको पहिली स्वास्नी दक्षिणा नन्दिनीको दोश्रो पुत्र विभानुको वंशबाट भएको हो। उनको राशिको नाम श्यामसुन्दर थियो। विभानुलाई चित्राक्ष नामले पनि चिनिन्छ। महाराज चित्रगुप्तले उनलाई भट्ट देशको मालवा क्षेत्रमा रहेको भट नदीतिर पठाएका थिए। त्यहाँ यिनीहरूले चित्तौर र चित्रकूट बसाएका थिए। र यिनीहरू त्यहीँ रहनसहन गर्न थाले, जसले गर्दा यिनीहरूको वंश भटनागर भनियो। यिनीहरूको वासस्थान भारतको वर्तमान पञ्जाब प्रदेशको भट्ट प्रदेशमा थियो। यिनको स्वास्नीको नाम मालिनी थियो।
३ – विश्वभानु (बाल्मिकी) – श्री विश्वभानु माता नन्दिनीका तृतीय पुत्र थिए। उनको राशिको नाम दिनदयाल थियो। श्री विश्वभानुको परिवार गंगा–यमुनाको छेउमा गएर बसे, जसलाई प्राचीनकालमा साकब द्विप भनिन्थ्यो। त्यसकारण विश्वभानु परिवारसँग सम्बन्धित सम्पूर्ण कायस्थ सक्सेना कायस्थको नामले चिनिए साथ–साथै सूर्यवंशीको नामले पनि चिनिये।
४ – विर्यभानु (अष्ठाना) – श्री विर्यभानु माता नन्दिनीका सबैभन्दा कान्छो पुत्र थिए। उनको राशिको नाम माधवराव थियो। श्री विर्यभानुको परिवार बांस देश (काश्मिर) मा गएर बास लिए। त्यसैकारण विर्यभानु परिवारसँग सम्बन्धित सम्पूर्ण कायस्थ श्रीवास्तव कायस्थको नामले चिनिए साथ–साथै सूर्यवंशीको नामले पनि चिनिए।
माता ऐरावती/शोभावतिको पुत्रहरूको विवरणः १ – चारु (माथुर) – श्री चारु माता ऐरावती/शोभावतीका ज्येष्ठ सुपुत्र थिए। उनको राशिको नाम पुरांधर थियो। श्री चारुको परिवार सूर्यदेश (बिहार) देश, मा गएर बसे तथा उनीहरूको राष्ट्रध्वजको चिन्ह सूर्य भएको कारण तिनीहरू सूर्यध्वज भनेर चिनिए।
२ – सुचारु (गौड) – श्री सुचारु माता ऐरावती/शोभावतीका दोस्रो पुत्र थिए। उनको राशिको नाम सारंगधार थियो। श्री सुचारुको परिवार पश्चिम बंगालको अम्बष्ठ जनपद,मा गएर बसे यसै कारण यिनीहरू अम्बष्ठ भनेर चिनिए।
३ – चित्र (चित्राख्य) (भटनागर) – श्री चित्र माता ऐरावती/शोभावतीका तृतीय पुत्र थिए। उनको राशिको नाम सारंगधार थियो। श्री चित्रको परिवार गौड देश (बंगाल), मा गएर बसे यसै कारण यिनीहरू गौड भनेर चिनिए
४ – मतिभान (हस्तीवर्ण) (सक्सेना) – श्री मतिभान (हस्तीवर्ण) माता ऐरावती/शोभावतीका चौथौ पुत्र थिए। उनको राशिको नाम रामदयाल थियो। श्री मतिभान (हस्तीवर्ण) को परिवार निगम देश (काशी), मा गएर यसै कारण यिनीहरूलाई निगम भनेर चिनिए। निगमहरु उत्तर भारतीय कायस्थ हुन्छन्।
५ – हिमवान (हिमवर्ण) (अम्बष्ठ) – श्री हिमवान (हिमवर्ण) माता ऐरावती/शोभावतीको पाँचौं पुत्र थिए। उनको राशिको नाम सारंधार थियो। श्री हिमवान (हिमवर्ण) को परिवार गौड देश (बिहार) मा प्राचीन करनाली नामक गाउँमा गएर बसे यसै कारण यिनीहरू कर्ण भनेर चिनिए।
६ – चित्रचारु (निगम) – श्री चित्रचारु माता ऐरावती/शोभावतीका छैठौं पुत्र थिए। उनको राशिको नाम सुमंत थियो। श्री चित्रचारुको परिवार अष्ठाना देश (सानो नागपुर) जो कि नागदेशको नामले पनि प्रसिद्ध छ, त्यहाँ गएर बसे। यसै कारण यिनीहरू अष्ठाना भनेर चिनिए।
७ – चित्रचरण (कर्ण) – श्री चित्रचरण माता ऐरावती/शोभावतीका सातौं पुत्र थिए। उनको राशिको नाम दामोदर थियो। श्री चित्रचरणको परिवार बंगालको नदिको छेउमा गएर बसे जुन हाल बंगालको खाडीनिर स्थित छ। सेवाको भावनाका कारण आफ्नो कायस्थ कूल मा सर्वश्रेष्ठ मानियो यसै कारण यिनीहरू कूल श्रेष्ठ भनेर चिनिए।
८ – अतिन्द्रीय (जितेन्द्रय) (कूल श्रेष्ठ) – श्री अतिन्द्रीय (जितेन्द्रय) माता ऐरावती/शोभावतीका सबैभन्दा कान्छो पुत्र थिए। उनको राशिको नाम सदानंद थियो। श्री अतिन्द्रीय (जितेन्द्रय) को परिवार बाल्मिकी देशमा (पुरानो मध्य भारत) गएर बसे यसै कारण यिनीहरू बाल्मिकी कायस्थ भनेर चिनिए।
कायस्थको लिखित दस्ताबेज मध्ययुग कालको अन्त्यबाट भेटिन्छ। जसमा कायस्थहरूले विभिन्न राजाहरूको दरबारमा मन्त्री, सल्लाहकार वा सर्वोच्च सरकारी पदहरू कब्जा गरेको देखिन्छ। मुगल साम्राज्यको मन्त्री र सल्लाहकारहरूको रूपमा सेवा गरेका र ब्रिटिस राजको समयमा पनि महत्वपूर्ण प्रशासनिक पदमा आसीन भएकाको संख्या धेरै छ। मुद्राराक्षस, राजा तोदरमल यसका उदाहरण हुन्। गुप्तकालमा कायस्थको प्रादुर्भाव राम्रै देखिन्छ।
कायस्थहरूको जीविकोपार्जनको माध्यम नै लेखनी हो। त्यसैले कायस्थ कूलमा लेखकहरूको संख्या सानो छैन। राजा आनन्द देवको पालामा भक्तपुरको गोपति कायस्थ मिथिला सहर गई रामायणको किस्किन्धा पर्व सारी ल्याए। शिक्षित वर्गको नाताले उनीहरूले दरबारी लिखितको साथसाथै विभिन्न ग्रन्थ, ठ्यासफू लिपिबद्ध गर्ने काम गरे।
उदाहरणका लागि चण्डेश्वर ठ्क्कन (कायस्थ) ले रत्नाकर नामका सात ग्रन्थ लेखेका थिए र उहाँको अप्रकाशित ग्रन्थहरू पनि छन्। मया कसले लेखेको भार्गव धनुशास्त्र, दाँते कसले लेखेको नरपति जयाचार्य स्वरोदय, भागिराम कायस्थले लेखेको चाणक्य नीति अनि रामचन्द्र कायस्थले लेखेको चाणक्यसार संग्रह जस्ता अरू थुप्रै ग्रन्थहरू कायस्थहरूबाट सारेको वा लेखेको पुष्टि हुन्छ।
वर्तमानमा कायस्थहरू राजनीति, शिक्षा, विज्ञान र कलाको साथसाथै विभिन्न व्यावसायिक क्षेत्रमा छन्। केही कायस्थहरू राजनीतिमा समेत प्रवेश गरे जसले तत्कालीन नेपाल मण्डलको राजनैतिक इतिहास समेत प्रभावित भयो। राजनीतिमा प्रवेश गर्ने पहिलो व्यक्ति कस्त (कायस्थ) भारो हो। उनी ने.सं. ४४६ मा राजनीतिमा प्रवेश गरेको देखिएको छ।
त्यसपछि भक्तपुरको राजनीतिमा भारसिंह कायस्थले सफल राजनीति गरेका थिए। उनलाई ने.सं.६४७ मा राजा वीर मल्लले भक्तपुर दरबारभित्र राजनैतिक नियुक्ति गरेका थिए। यसमा डोय कसको ठूलो भूमिका देखिन्छ। डोय कस भारसिंहका बुवा हुन्। उनी राजा राय मल्लको समयदेखि भक्तपुर दरबारको दरवारी लेखक रहँदै आएका व्यक्ति थिए। उनैले वीर मल्ललाई खुसी पारी आफ्नो छोरालाई भारदार बनाउन सफल भए। राजा प्राण मल्लले ने..सं. ६५१ मा भक्तपुर दरबारको प्रमुख भारदार नै बनाए। परम्परागत कागज (लिखत) लेख्ने कायस्थ पहिलोपटक भक्तपुर दरबारको प्रमुख भयो।
कायस्थलाई नेपाल भाषामा कसजू भनिन्छ। कसजू शब्द दुई शब्द 'कस' र 'जू' मिलेर बनेको हो। 'कस' भन्नाले लेखक हो भने 'जू' आदरार्थी शब्द हो। कायस्थ कसजूहरू आफूलाई चण्डेश्वर ठ्क्कनका वंशज हो। कसजूले साँयजू पदवी पाएका थियो— भोटलाई नेवारी भाषामा साँय देश भनिन्छ। पटक पटकको युद्धमा जित हासिल गरेका भारदार कस (कायस्थ) लाई जितेको खुशीयालीमा मल्ल राजाले साँय (भोटको राजा) पदवी दिएका थिए। जस्तैः दक्षिण भारतमा मल्ल उपाधि पदवीका रूपमा धारण गर्ने प्रचलन थियो। पदवी पाएका व्यक्तिले आफ्नो नाम पछाडि साँयजू लेखन थाले। हाल ती साँयजूहरुले आफुलाई सैंजू भन्छन्।
नेपालमा कायस्थको उद्भव र विस्तारः
नेपालमा कायस्थको इतिहास एक हजार वर्ष जति पुरानो देखिन्छ। नेपालमा कायस्थहरुका पाँच भेद मात्रै पाइन्छ: (१) अतिन्द्रीय (बंगाली कायस्थ) (२) मैथिल कर्ण कायस्थ (३) अम्बष्ट कायस्थ (४) श्रीवास्तव कायस्थ (५) नेवार कायस्थ।
यसमध्ये कर्ण कायस्थको जनसंख्या बढी छ। इतिहासअनुसार बारा जिल्ला अन्तर्गत सिमरौनगढमा सन् १०९७ तिर कायस्थ कर्णाटकबाट आएका देखिन्छ। जस्तैः द्वापरयुगमा श्रीकृष्णले पशुपतिनाथको आराधना गर्न यस भूमिमा आउँदा उनका साथमा रहेका गोठाला र गाईहरूसँगै आएका थिए। त्यस्तै नान्यदेवका साथ कर्णाटक राजवंशका मन्त्री वर्गका महाजु र कसजू (कायस्थ लेखाध्यक्ष) हरु नेपाल पसेको उल्लेख गरेका छन्।
यी कायस्थहरू ब्राह्मण जाति जस्तै शैक्षिक क्षेत्रसँग परम्परागत रूपमा स्वाभाविक सम्बन्ध भएका जाति हुन्। मल्ल कालमा राजालाई परामर्श दिने ६ थरी मध्ये एक थरी कायस्थ (कसजु) हो। ६ थरीहरू दरबारसँग सम्बन्धित ठूला ओहोदा सम्हाल्थे।
एघारौं शताब्दीमा मिथिलाको राजधानी सिम्रौनगढ बनाउने नान्यदेव त्यही नयार देशबाट आएका थिए। उनले सिमरौनगढ बनाएका थिए। नान्यदेवले दुई छोरामध्ये गंगादेवलाई सिम्रौनगढको गद्दीमा राखे। ई सन् १३२४ मा गयासुद्दीन तुगलकले बंगाल विजय पश्चात दिल्ली फर्किँदै गर्दा तिरहुतको राजधानी सिम्रौनगढमाथि आक्रमण गरी ध्वस्त पार्यो। राजा हरिसिंहदेव, रानी देवलदेवी, पुत्र कुमार जगजितसिंहदेव अन्य परिवार महामन्त्री चण्डेश्वर ठ्क्कन/मल्लिक अन्य मन्त्रिगण, सैनिक सेवकहरुको साथमा उत्तर पहाड तर्फ पलायन भई सहायता माग्न सुरूमा दोलखा गएका थिए।
उनकी रानी देवलदेवी, छोरा जगतसिंह देव, आफूसँगै आएका भाइभारदार र सिमरौनगढका केही जनतालाई लिएर नेपाल उपत्यका आइन्। उनीसँग आएका जनतामा सिंह, प्रजापती, मुनंकर्मी, राठौर, कायस्थ, राजपुत, क्षत्रीय र ब्राह्मण आदि थिए। त्यस्तै मधेसबाट ल्याएका कालिगढहरू; शिल्पकार, रंजितकार, चित्रकार, ताम्राकार आदि थिए। रानी देवलदेवीका साथमा भित्रिएका बहुसंख्यक कायस्थहरू कर्णाटक देशबासी थिए। तत्कालीन नेपालमा कायस्थहरुको यही नै समूहगत प्रवेश थियो।
यी कर्ण कायस्थहरू अहिले नेवार कायस्थ भनिने रहेछन्। यी कायस्थहरू भक्तपुर निवासी नेवार जातिसँग पूरापुर घुलमिल हुँदै भए। स्थानीय संस्कृतिमै विलीन भए। यिनीहरूको बसोबास भक्तपुरका विभिन्न टोलमा छन्। नगरबाहिर नगरकोट, खरिपाटी, ठिमी, बनेपादेखि नेपालभर कायस्थहरू भेटिन्छन्। नेपालबाहिर सिक्किममा पनि भेटिन्छन्। भक्तपुरबाट सिक्किम नामथाङ प्रवेश गर्ने लक्ष्मीदास कसजू हुन्। राजाले उनलाई कुत उठाउने जिम्मा दिएका थिए। पछि उनले काठमाडौंबाट अरू नेवारहरू लगेका थिए।