सानोमा लाग्थ्यो अर्को मुलुकबाट आएका सेतो/गोरो छाला हुनेहरू सबैले परररर, खरररर इंग्लिस अर्थात् अंग्रेजी बोल्छन्, उनीहरू अंग्रेजी बोल्न एकदमै प्रखर हुन्छन् र अंग्रेजी नै उनीहरूको मातृभाषा हो।
त्यही कारणले पनि अन्य मुलुकबाट गाउँ–टोल घुम्न आउने सबै सेतो छालासँग अंग्रेजी बोल्न अनि सिक्न विशेष मन लाग्थ्यो।
यदि उनीहरू बाटोमा हिँडेको देख्यो भने 'हाई', 'बाई', 'हाउ आर यू?', 'आइ एम फाइन', 'ह्वाट इज योर्स नेम?', 'ह्वयर आर यू फ्रम?' भनेर सोधिहाल्न मन लाग्ने बालापन थियो।
अनि उनीहरूको प्रतिक्रियाहरू आउँदा र अलिअलि संवाद गर्दा पनि भयंकर अंग्रेजी बुझें, बोलेजस्तो लाग्थ्यो।
अनि सगरमाथा नै चढेर आएको सफलता जसरी आमा बुबालाई–अघि पसलमा आएको कुहिरेसँग अंग्रेजी बोलेको नि मैल भनेर सुनाउँथें।
आमाबुवा एकअर्कालाई हेरेर मुसुमुसु मात्रै हाँस्नुहुन्थ्यो तर दाइ भने बोर्डिङ पढेर पनि यत्तिको बोल्न आएन, बुझेन भने लाज भइहाल्छ नि भनेर जिस्काउनु हुन्थ्यो। त्यसपछि कति दिनसम्म पनि बाहिरी देशको मान्छेसँग अंग्रेजी बोलेको भनेर आफैंप्रति गर्व लाग्थ्यो अनि आत्मविश्वास त पूरै रकेटमा सवार भएर चन्द्रमामा पुग्थ्यो।
घटनाः १
एकपटक सोसल साइन्स को डिभेट ट्रेनिङमा पोखरा जाँदा लेकसाइडतिर मभन्दा अझै सानो उमेरको केटाले टुरिस्टहरूलाई अंग्रेजीमा पटटटट पोखराको बारेमा जानकारी दिँदैथियो। उसले बोलेको अंग्रेजी सुनेर म त छक्क परें। स्कुलमा बाहेक बाहिर जीवनमा मैले पहिलो पटक एउटा साधारण व्यक्तिले त्यसरी मीठो अंग्रेजी बोलेको सुनेको देखेको थिएँ। उसको अंग्रेजी सुनेपछि त मलाई मेरो अंग्रेजीको दया लाग्यो। आफूलाई अंग्रेजी बोल्न आउँछ भन्न पनि लाज लाग्यो। यदि त्यो केटासँग मैले अंग्रेजीमा वादविवाद गरें भने पक्कै हार्छु जस्तो भयो अनि तुरून्तै आत्मविश्वासी रकेट धर्तीमा झरिहाल्यो।
उसको अंग्रेजीले मलाई यति धेरै प्रभावित पार्यो कि उसलाई सोधें पनि – तिमी कुन बोर्डिङमा अनि कतिमा पढ्छौ?
'दिदी मैले त गाउँको सरकारी स्कुलमा चार कक्षासम्म मात्रै पढेको छु। पोखरा झरेपछि उहिल्यै पढाइ छोडेको।'
'ओहो! त्यसो भए यस्तो राम्रो अंग्रेजी बोल्न कहाँ सिक्यौ त?', मैले यो सोध्न धेरैबेर नै लगाइनँ।
'यही आउने कुहिरेहरूसँग बोल्दा बोल्दै सिकें नि दिदी। राम्ररी लेख्न चाँहि आउँदैन तर बोल्न त यी कुहिरेहरूले पनि मलाई सक्दैन। मेरो अंग्रेजी यिनीहरूको भन्दा पनि राम्रो छ।'
त्यो दिन अंग्रेजी भाषा बोल्न प्राइभेट बोर्डिङ, अंग्रेजी व्याकरणको ठूलाठूला किताब मात्रै पल्टाउनु पर्ने रहेनछ भन्ने लाग्यो। अर्को दिन त्यही उमेरको अर्को भाइ चाइनिज बोलेर टुरिष्टलाई घुमाउँदैथियो। मकै पोल्ने दिदी पनि टुटेफुटेको अंग्रेजीमा मकै बेचिरहनुभएको थियो। यो सबै देखेर एउटा निचोडमा पुगेँ कि अंग्रेजी अथवा अरू भाषा जान्नु भनेको एउटा अभ्यास रहेछ। मीठो र खारिएको आवाज निकाल्न निरन्तर गलाको रियाज गरेको जस्तै। त्यो दिन अर्को पनि कुरा लाग्यो– अंग्रेजी महँगो होइन, अंग्रेजी सस्तो नै रहेछ, चाहेको खण्डमा जसले पनि लिन सक्ने। अंग्रेजीमा हिरा, मोती, कोहिनूर जडित त्यस्तो केही पनि रहेनछ हजुर।
घटना:२
एकपटक मलेखु राजमार्ग सामुदायिक अस्पताललाई सहयोग गर्ने इटालियन डोनरहरू आएका थिए। त्यो साँझ रावल काकाको घरको छतमा उनीहरूलाई स्वागत गर्न नेपाली तथा इटालियन फ्युजनको खानेकुराहरू राखेको थियो। मेरो दाइ त्यो अस्पतालमा काम गर्ने भएकोले त्यो साँझको भोजमा म पनि सहभागी हुन पाएँ।
घरबाट निस्कँदा मनमा उनीहरूसँग आज राम्रो अंग्रेजी बोल्छु भन्ने थियो। तर त्यहाँ पुगेपछि सबै ठूलावडाहरूको बीचमा आफू सानो मान्छे के बोल्ने भन्ने पनि भयो। तर कसरी हो एकजना इटालियनसँग बोल्ने वातावरण मिल्यो। मलाई त लागेको थियो कि त्यो सेतो छालाले अब खररर, पररर अंग्रेजी बोल्छ त्यसैले मैले उसको कुरा ध्यान दिएर सुन्नुपर्छ। तर ऊ त मभन्दा पनि विस्तारै, रोकिँदै, शब्दहरू सोच्दै अनकनाउँदै अंग्रेजी बोलिरहेको थियो। मलाई अचम्म पनि लागेको थियो त्यतिखेर। अनि अर्को इटालियन पनि दाइहरूसँग कुरा गर्दा घरी सललल बगेको जस्तो, घरी अड्केको जस्तो, घरी भकभकाएको जस्तो, कुनै शब्द र वाक्य त कता हो कता, छरप्रष्ट समाल्नै गाह्रो भएको जस्तो देख्दा म एकछिन कन्फ्युज भएँ।
अनि उनीहरूको टोलीमा एक जना काठमाडौंबाट आउनुभएको नेपाली मान्छेले पनि अंग्रेजीमा होइन, नेपालीलाई इटालियन भाषामा नै उल्था गरेको देखेँ।
त्यहाँ कि त नेपाली, कि त इटालियन, कि त टुटेफुटेका अंग्रेजी भाषा मात्रै बोलेको सुनियो। त्यो भेलामा कसैको पनि अंग्रेजी राम्रो थिएन तर पनि त साँझ रमाइलो नै भएको थियो। सबै जना एकअर्कासँग रमाइरहेका थिए। अनि बेलुका घर आएपछि आफ्नै मनलाई भनेँ– हेर निरु, अब भम्रबाट निस्की। सबै सेतो र गोरो छालाहरूले अंग्रेजी बोल्दैन रहेछ।’
त्यसपछि गाउँको स्कुल बनाउन आउने जर्मनी स्वयंम सेवकहरू, अरू देशका डोनरहरू, चर्चमा आउने कोरियनहरू, बुलेट बाइकमा सवार इजरायलीहरू सबै जनाको अंग्रेजी भाषाप्रति पूर्ण ज्ञान नभएको देखेपछि लाग्यो सेतो छाला हुनेहरू सबैको मातृभाषा अंग्रेजी नहुने रहेछ। त्यसैले अंग्रेजी कसैको होला तर सबैको मातृभाषा होइन। अंग्रेजीमा सबैथोक छ जस्तो लाग्ला तर मातृभाषा छैन हजुर।
घटनाः ३
एक जना फ्रान्सेली नागरिक साइक्लिङ गर्दै आउँदा विश्राम गर्न हाम्रो घरको आँगनमा आइपुग्यो। आमा र म पसलमा थियौं। उसले इशाराइशारामै पानी माग्यो, आमाले बुझेर पानी दिनुभयो, आमाले इशारा इशारामा नै कहाँ जान खोजेको भनेर सोध्नुभयो, उसले बुझेर नेपालको म्याप देखायो।
इशारामा नै आफू अहिले यो ठाउँमा भएको अब पोखरा जान लागेको भन्यो। आमाले कुन देशबाट आएको भनेर सोध्नुभयो अनि उसले अर्को म्याप झिकेर फ्रान्स देखायो। उहाँहरू इशारै इशारामा एकछिन संवाद गर्नु भयो। मलाई उहाँहरूको संवाद खुब रमाइलो लागिरहेको थियो त्यसैले पनि म केही नबोली हेरिमात्रै रहेँ। आमा पनि त्यसरी कुरा गर्दा रमाइ रहनुभएको थियो त्यसैले पनि मलाई बोल भन्नुभएन। एकछिन पानी खाएर ऊ आफ्नो बाटो लाग्यो।
अनि त्यो संवादबाट मैले दुइटा महत्वपूर्ण ज्ञान लिएँ।
१) मानिसहरूलाई भाषाले होइन हृदयले स्वागत गर्नुपर्दो रहेछ। एउटै भाषा नबोलेर पनि दया, प्रेम र आदर देखाउन सक्दो रहेछ।
२) संसार घुम्नलाई अंग्रेजी चाहिँदैन रहेछ वा त्यसमा निपुणता हुनुपर्छ भन्ने जरूरी रहेनछ।
घटनाः ४
फेरि म स्कुलकै एउटा रोचक घटनामा फर्किएँ। सायद नौ दश कक्षामा नै हुनुपर्छ। एकपटक नर्भस भएर हो कि के भएर 'often' अंग्रेजी शब्दलाई मैले 'अफटन’ भनेर उच्चरण गरेँ। त्यसपछि अंग्रेजी सर रिसाउनुभयो र भन्नुभयो–मैले कति पटक भनिसकें यो शब्दको उच्चरण 'अफटन’ होइन 'अफन’ हुन्छ भनेर। यो शब्द उच्चारण गर्दा 'टि' साइलेन्स गर्नुपर्छ।
मलाई अझ याद छ अफन लई अफटन उच्चारण गर्दा र सरको गाली खाँदा कक्षामा सबै हाँसेका थिए। तत्काल नै मलाई सजाय बमोजिम भनौं वा अभ्यास बमोजिम पचास पटक अफन,अफन...........’ भन्न लगाइएको थियो।
स्कुलदेखि कलेजमा आइपुग्दा पनि त्यही अफन नै भन्न र रटन सिकाइयो। यो शब्द उच्चारण गर्न यसरी सिकियो कि यदि अरूले अफटन भन्यो भने म उल्टै हाँस्न थालेँ।
मेरो मानसपटलमा अफटन भन्नु पूरै बेइज्जत हो र एउटा अपराध पनि हो जस्तो भयो।
केही समयपछि म अष्ट्रेलिया आएँ। कक्षामा एउटा अष्ट्रेलियन गोरा साथीले 'often' लाई अफटन नै भनेर उच्चारण गरेको सुनें। तर मैले खुब जान्नी भएर दायाँबायाँ नसोचि उसलाई नै सच्चाउन खोजेँ– से अफन नट अफटन। अहिले हाँसो लाग्छ, उसको देशमा आएर म उसकै प्रमुख भाषा अंग्रेजीको एउटा शब्दलाई सही रूपमा उच्चारण गर्न सिकाउँदै थिएँ।
अफटन गलत उच्चारण भनेर बुझाउँदै थिएँ। तर धन्न असल मित्र परेछ उसले हाँसेर एकदमै सरल पाराले दुवै उच्चारण सही हो, दुवै बोल्दा केही फरक पर्दैन भनेर मलाई सम्झायो।
अनि लाग्यो अंग्रेजी एक 'फोनेटिक’ भाषा होइन (जसको मतलब तपाईंले शब्दहरू लेख्ने तरिका जसरी उच्चारण गर्न आवश्यक छैन र उच्चारण गरिएको कति शब्दहरू दुरूस्तै पनि लेखिँदैन)। त्यसैले अंग्रेजी उच्चारण हामी जस्तो आप्रवासी, अंग्रेजी पहिलो भाषा नहुनेहरू वा अंग्रेजी कहिल्यै पढ्दै नपढेको मानिसहरूलाई चुनौती हुन सक्छ। अब सबैले बुझ्नुपर्ने अंग्रेजीमा पनि धेरै कमी कमजोरीहरू छन् हजुर।
घटनाः ५
स्वीट्जरल्याण्डको जेनेभामा भएको १०९ औं अन्तर्राष्ट्रिय श्रम सम्मेलनमा तात्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले मन्तव्य दिनुभएको थियो। त्यो सम्मेलनमा अंग्रेजी राम्रोसँग बोल्न जानेन भनेर मिडिया, सोसल मिडियादेखि, विभिन्न संघसंस्था तथा व्यक्तिहरूले खिल्ली उडाएको थियो। त्यो भिडिओ मैले पनि हेरेको थिएँ। भिडिओमा उहाँले आफ्नै लवजमा पढ्नु पनि भएको छ। त्यो उहाँको लवज हो। सम्मेलनमा बोल्न जानु छ भन्दैमा उहाँले आफ्नो लवज रातारात परिवर्तन गर्न सक्नुहुन्न।
उहाँ कयौं दशकदेखि त्यही लवजमा बोल्दै र पढ्दै आउनुभएको छ। यति भनिरहँदा पनि उहाँले पढ्नुभएको स्पीचमा केही सुधार्न खोज्नुभएको भए सुधार्न सकिन्थ्यो। जस्तै कहाँ कतिखेर अलिकति रोकिने, कतिखेर पूरै रोकिने, कुन शब्द र वाक्यलाई महत्व दिने, आवाजको पिचदेखि अन्य केही टेक्निकल कुरामा ध्यान दिन सकिन्थ्यो तर पूरै ट्रोल गर्नुपर्ने आवश्यकता थिएन। यो एउटा बडी सेमिङजस्तै लवज सेमिङको कुरा हो।
मैले बहुसाँस्कृतिक व्यक्तिहरुको माझ पढ्दा अनि काम गर्दा याद गरेको कुरा कि सबैको आ आफ्नो लवज हुन्छ। सबैको आ आफ्नो तरिकाले भाषा बोल्ने र प्रस्तुत गर्ने शैली हुन्छ। नेपालमा पनि त हिमाल, पहाड र तराईको फरक फरक लवज छ। के उनीहरूको लवजलाई लिएर नेपाली बोल्नै आएन, नेपाली शब्द बिगार्यो भन्ने त?
अघि घटना ४ मा भने जस्तै अफटन अफन हुनसक्छ, नेपाल नेपोल हुन सक्छ, हरी ह्यारी हुन सक्छ भने अंग्रेजी भाषा सही कसरी हुन सक्छ?
अंग्रेजी लवजलाई नेपोल भन्ने अधिकार कस्ले दियो, अनितालाई अनिटा भन्ने अधिकार कसले दियो? यदि हाम्रो अंग्रेजी उच्चारणमा हाँस्छ भने उनीहरूको नेपाली उच्चारणमा पनि त हामी हाँस्न पाउनु पर्यो।
यदि उनीहरू हाम्रो लवजलाई सुधार्न खोज्छ भने उनीहरूको लवजलाई पनि त सुधार्नु पर्यो। यदि उनीहरूको शब्द सही तरिकाले उच्चारण होस् भनेर सोच्छन् भने हामीले पनि त हाम्रो देशको नामदेखि, मान्छेको नाम समेत सही तरिकाले लिओस् भनेर अपेक्षा राख्न पाउनुपर्यो।
जब एउटा अंग्रेजी भाषीहरूले त्यही नेपाली बिगारेर बोल्यो भने कस्तो क्युट स्टाइलिस भनेर प्रशंसा गर्न बेर लगाउँदैनौं भने एउटा नेपालीले अलिकति बिगारेर अंग्रेजी बोल्यो भने पहाडै खसेको जसरी, जमिनै भाँसिएको जसरी गाली गर्न जरूरी छैन। त्यसैले नेपाली लवजमा मात्रै होइन अंग्रेजी लवजमा पनि गलत छ, खोट छ हजुर।
घटनाः ६
अस्ट्रेलिया भ्रमण सकेर गएका माननीय ज्ञानेन्द्र शाही यतिखेर अंग्रेजी राम्ररी बोल्न नआएको र सही तरिकाले शब्द उच्चारण गर्न नसकेको कुरालाई लिएर चर्चामा छन् र सोसल मिडियामा व्यापक ट्रोल बनिरहेका छन्। कुनै समय यस्तै ट्रोल इटालियन प्रधानमन्त्री माटियो रेन्जिको भएको थियो अंग्रेजी भाषणलाई लिएर।
मैले नबुझेको कुरा यहाँ दुइटा छ:
१) हिजोको दिनमा हामी नै हाम्रो देशको सार्वभौमको कुरा गर्दैगर्दा नेपाली भाषाको जर्गेना गर्नुपर्छ, नजानी नजानी अंग्रेजीमा नै किन बोल्नुपर्यो, दोभाषे राखे पनि भैहाल्छ भनेर लेख लेख्ने, लामो स्टाटसहरू हाल्ने जब देशको त्यही नेता एउटा सांसद अस्ट्रेलिया आएर नेपालीमा बोल्दा दोभाषे प्रयोग गर्दा गालीगलौज किन? अस्ट्रेलियन नेता नेपालमा गएर अंग्रेजी बोल्दा वाह! हुने अनि नेपालको नेता अस्ट्रेलिया आएर नेपाली बोल्दा किन छिछि: हुने?
२) माननीय शाही जस्तो व्यक्तित्वले सोसल मिडियाको पछि लागेर ती कमेन्ट र भनाइहरूलाई च्यालेन्ज गरेर जर्वजस्ती अंग्रेजी किन बोल्नु परेको थियो? उहाँले म आफ्नो राष्ट्रिय भाषा जर्गेना गर्न यहाँको संसदमा नेपाली बोलिरहेको छु भन्दै गर्दा आफूलाई अंग्रेजी आउँछ भनेर प्रमाणित गर्न किन लाग्नुभयो?
यहाँ कमेन्टहरू आएका थिए, तपाईंको शैक्षिक योग्यतालाई प्रश्न गरेको थियो, तपाईंको अंग्रेजीलाई शंका गरिएको थियो तर कसैले प्रमाण मागेको थिएन, कसैले च्यालेन्ज गरेको थिएन तर तपाईं आफैं कठघरामा उभिएर बयान दिन थाल्नुभयो।
मेरो गुनासो तपाईंको अंग्रेजीमा होइन तपाईंको आचरणमा हो। मेरो दुखेसो तपाईं आफ्नै कुरामा अडिग हुन सक्नुभएन। अंग्रेजी एक थोपा नै नबोलेर नेपाल जानुभएको भए के नै फरक पथ्र्यो र! तपाईंजस्तो राष्ट्रवादी नेताको लागि यो त ठूलो सम्मानजनक कुरा हुन्थ्यो।
यसो भनिरहँदा म माननीय शाहीले अंग्रेजी नजान्दैमा, शब्द उच्चारणमा समस्या हुँदैमा देशका र स्वंयम् व्यक्तिको बेइज्जतको रूपमा लिनु हुन्न भन्ने पक्षमा छु।
उहाँले अंग्रेजी राम्ररी बोल्नु हुन्न भन्ने कुरामा लाज मान्नु पर्ने कुनै कारण नै छैन। न हामी अंग्रेज घरमा जन्मियौं, न हामी संस्कारमा हुर्कियौं, न हामीले बोलेको पहिलो भाषा अंग्रेजी हो, न त अंग्रेजी हाम्रो राष्ट्रिय भाषा नै हो। त्यसैले नेपाली राम्ररी बोले पुग्छ अंग्रेजी नबोले पनि फरक पर्दैन।
यदि नेपाली भएर पनि नेपाली भाषामा निपुणता नहुनु र जनताको मर्म सही र सरल तरिकाले नेपालीमा प्रस्तुत गर्न नसक्नु चाहिँ बेइज्ज्त हुनेछ। रसिया, जापान, चाइना लगायत युरोपियन मुलुकहरूको कति प्रधानमन्त्री, राष्ट्रपति, सांसद, नेताहरू जीवनभर अंग्रेजी नबोलेर पनि त संसारको शक्तिशाली देश बनाएर छोडेका छन्। त्यसैले हाम्रो ध्यान भनेको नेताहरूले कस्तो अंग्रेजी बोल्यो भन्दा पनि देशलाई कसरी हाँकिरहेको छ भन्ने महत्त्वपूर्ण र चर्चाको विषय हो।
घटनाः७
अष्ट्रेलियन सिनेटर पाउलिन ह्यान्सन आफ्नो कतिपय अभिव्यक्तिको कारण विवादमा आइरहन्छिन्।
एकपटक उनले अंग्रेजी राम्ररी बोल्न नआउनेलाई संसदमा छिर्न दिनु हुँदैन भनिन्। अनि केही समयपछि उनी आफैं आफ्नो भाषा संसदमा बोल्दा चिप्लिइन्।
उनले 'कस्टडी' लगायत अरू शब्दलाई गलत उच्चारण गरेको र कति वाक्यहरू बिगारेर बोलेकोमा यहाँको लोकल मिडिया लगायत शरीर र भाषा विशेषज्ञहरूले उनलाई अङ्ग्रेजी पाठ चाहिन्छ भनेर सुझाव दिए।
उनी एक अस्ट्रेलियन भएर त अंग्रेजी शब्द उच्चारणमा चुकिन् भने हामी अरूको भाषामा पटकपटक बारम्बार चिप्लिनु स्वाभाविक नै हो।
यहाँको नेतादेखि जनताले अंग्रेजी फररर बोल्दैमा व्याकरण मिलाएर बोलेको भन्ने पनि हुँदैन। जसरी हामी नेपाली पूरै तरिकाले शुद्ध बोल्न चुक्छौं उनीहरू पनि शुद्ध अंग्रेजी बोल्न चुक्छन्।
जब उनीहरू अशुद्ध भाषा बोल्छन्, आफ्नै भाषामा पूर्ण हुँदैन तब हामी चुप लागेर बस्छौं, उनीहरूलाई जर्जड गर्दैनौं भने नेपालीले शुद्ध बोलेन अंग्रेजी आएन भनेर फेरि किन यति टाउको दुखाइ? अंग्रेजी आएन भन्दैमा नेपाली नेताहरू, सामाजिक अभियन्ताहरू, कलाकारहरू, व्यवसायीहरू, अन्य व्यक्ति र सर्वसाधारणलाई हाँस्यास्पदको पात्र बनाउन ठिक होइन।
सामाजिक सञ्जाल प्लेटफर्महरूमा मानिसहरू भेट्ने र अभिवादन गर्ने साझा फोरममा 'उचित/राम्रो/दोषरहित/कुनै अन्य विशेषण–अंग्रेजी भाषा' बोल्न नसक्ने मानिसहरूलाई अपमानजनक र भेदभाव गर्नु अपराध हो!
अनुसन्धानले देखाउँछ कि धेरै मानिसहरू जो आफ्नो भाषाको कारण लाजमर्दो वा बहिष्कृत हुन्छन् उनीहरूमा हीनताको भावना विकास हुन्छन्। हामी सबैले बुझ्नुपर्छ कि अंग्रेजी मात्र एक भाषा हो; यो सञ्चारको माध्यम हो, बुद्धि, ज्ञान वा क्ष्मताको मापन होइन।