छोटो समयमै प्रविधिको क्षेत्रमा भएको विकासको फड्कोसँगै विकासको मामलामा निकै पछि परेको हाम्रो देशको निकै विकट क्षेत्रमा समेत पछिल्लो समय विकासका अन्य पूर्वाधार, सूचकहरूको तुलनामा इन्टरनेटको पहुँच विस्तारलाई सहजै महसुस गर्न सकिन्छ।
तराई भित्री मधेसका चारकोशे झाडीभित्र अवस्थित स–साना गाउँदेखि पहाडका कुना, लेकबेसी, फेदी, उच्च पहाडी तथा हिमालपारिका जिल्लामा समेत सहज र सुलभ इन्टरनेट पहुँचले मानिसका जीवनशैलीमा परिवर्तन भएको देखिन्छ।
इन्टरनेट पहुँचसँगै सामाजिक सञ्जाल प्रयोगकर्ताहरूको संख्या समेत उल्लेख्य बढेको छ।
यही इन्टरनेट पहुँचले परिवर्तन गरेको अर्को पाटो हो पछिल्लो समय सामाजिक सञ्जालमार्फत् गरिने सामाजिक, सांस्कृतिक, आर्थिक, राजनीतिक, अन्तर्राष्ट्रिय विषयहरूमा गरिने खुला बहस तथा त्यसले सामाजिक सञ्जाल प्रयोकर्ताहरूको धारणामा पार्ने प्रभाव।
यस्ता सामाजिक सञ्जालमा भएका विभिन्न बहसहरूमध्येको निकै संवेदनशील, हिंसात्मक जघन्य प्रकृतिको अपराध हो बलात्कार।
बलात्कारजस्तो जघन्य प्रकृतिको सामाजिक अपराधको विषयमा समेत पीडितको दर्दनाक, विक्षिप्त मानसिक अवस्था जस्तो कुराको गाम्भीर्यतालाई बेवास्ता गरी पछिल्लो समय यसलाई खुला अन्तर्वार्ता, ट्रोल तथा यस्तै माध्यमबाट यसको भद्दा मजाक गरिने प्रवृत्ति बढेको छ।
पछिल्लो समय विभिन्न क्षेत्रमा काम गर्ने, आफ्नो कार्यक्षेत्रमा आफूलाई निकै अब्बल प्रमाणित गरी धेरै नै फ्यान फलोअर्स बढाएका व्यक्तिहरूले समेत यस्ता विषयमा स्वयं संलग्नता तथा त्यसमा कुनै न कुनै रूपमा पीडकहरूको पृष्ठपोषण गरेको देखिनु निकै उदेकलाग्दो देखिन्छ।
यस्ता कतिपय बहसहरूले स्पष्ट रूपमा आपराधिक मानसिकता भएका व्यक्तिहरूलाई निजसँगको विचारधारा मिलेकै आधारमा समर्थन गर्ने तथा कतिपय अवस्थामा अनुसन्धानमै प्रभाव पार्ने किसिमका टीकाटिप्पणीहरूले अपराध र अपराधीकरण मनोवृत्तिलाई संस्थागत गर्ने कार्यमा टेवा पुगेको देखिन्छ।
के आपराधिक व्यक्तिहरूको विचलित मनोभाव वा आपराधिक मनोवृत्तिलाई निजका फ्यानहरूले पनि सर्मथन गर्न जरूरी छ?
बलात्कारपछि निर्मम हत्या गरिएकी बालिका निर्मला पन्तको केशमा #justicefornirmalapanthi को अभियान तथा 'मिस ग्लोबल इन्टरनेसनल २०१४' को 'सक्सेस पार्टी' को नाममा होटल पुर्याई पटक-पटक बलात्कार गरेका मनोज पाण्डेलाई कानुनी कारबाहीको दायरामा ल्याउन एकबद्ध भएको तथा कानुनी क्षेत्राधिकारको अभावमा अपराधीले उन्मुक्ति पाउने अवस्थामा सरकारलाई समेत दबाबमा राखी कानुन परिवर्तन गर्न लगाउनेसम्मको प्रभाव राख्ने सामाजिक सञ्जाल, केही चर्चित व्यक्ति बलात्कारका घटनामा भने निकै विचलित देखिएको छ। त्यो विचलितता त्यसै सिर्जना भएको भने होइन, त्यसलाई त ती अभियुक्तका फ्यान फलोअर्सका अभिव्यक्तिहरूले नेतृत्व गरेको पाइन्छ।
यस्ता विचलित मनोभावबाट प्रदर्शित विचारधाराले कानुनी कारबाहीका सम्बन्धमा केकस्तो प्रभाव पार्छ त्यसको बहस छुट्टै होला तर यस्ता आपराधिक गतिविधिलाई समर्थन गर्ने बहसहरूले आपराधिक मानसिकता भएका व्यक्तिहरू अपराधपश्चात् समेत उन्मुक्ति पाउने आत्मबल बढ्ने, पीडितहरू न्यायिक आवाजलाई कुल्चिएर पीडकलाई उल्टै सेलिब्रेटी बनाउने अभियानले अन्ततः यस्ता अपराधहरूको वृद्धि हुने निश्चित छ।
प्रचलित कानुनले पीडितको सुरक्षा, सामाजिक पुनर्स्थापना, क्षतिपूर्ति जस्ता कुराहरूको व्यवस्था गरेता पनि पीडक तथा निजहरूको फ्यानहरूको नामबाट गरीने यस्ता अत्यन्त असंयम अभिव्यक्तिहरूले पीडित व्यक्तिको मानसिक स्वास्थ्य तथा सामाजिक पुनर्स्थापनामा निकै गम्भीर समस्या ल्याएको छ।
यस्तै, प्रकृतिका घटनाहरूमा करिब ७ करोडभन्दा बढी फ्यान फलोअर्स भएका छिमेकी राष्ट्र भारतको मध्य प्रदेशका धार्मिक तथा आध्यात्मिक व्यक्ति आशाराम वापु सन् २०१३ मा बलात्कारको अभियोगमा पक्राउ परेपछि निजका समर्थकहरूको निरन्तर अवरोधका बीच पनि अन्तत: कानुनी दायरामा ल्याई कानुनी राज्यको आभास गरेको ज्वलन्त उदाहरण छ। तर हाम्रो देशमा कमजोर कानुनको आडमा फ्यान फलोअर्सको अकर्मण्यतालाई आधार बनाएर कानुनका लुपहरूको लाभ लिँदै यस्तो अराजकता कहिलेसम्म?