यो कथा विदेशी सहरको हो, जुन नेपालबाट कोसौं टाढा छ।
यस्तो सहर जहाँ सबैखाले नेपाली छन्। कोही २०-२५ वर्ष अगाडिदेखि छन्। कोही उडेर आएका छन्। कोही गुडेर आएका छन्। कोही अनेकन बाटो हुँदै अनगिन्ती सपना बोकेर सहरभित्र छिरेका छन्। कोही यतैका बासिन्दा बनेका छन्। कोही आफैंले आफैंलाई सहरको महाजालमा हराइदिएका छन्।
कोही काम खोज्दैछन्। कोही काम गर्दैछन्। कोही पढ्दै छन्। कोही पढ्दा पढ्दै थाकेर छाडेका छन्। कोही उठेका छन्। कोही चुर्लुम्म डुबेका छन्। कोही प्रतिष्ठित छन्। कोही गुमनाम छन्। कोही आफूलाई सहरिया कहलाउन ब्यस्त छन्। प्रत्येक अनुहारभित्र नयाँ-नयाँ कथा छन्।
कोही जीवन खोजिरहेछन्। कोही जीवन देखेर आजित छन्। कोही प्रेमको मादकतामा हराएका छन्। कोही सम्बन्धहरूको जालोभित्र उकुसमुकुस भएर रूमलिएका छन्।
जसरी गाउँबाट भर्खर-भर्खर काठमाडौं आउँदा काठमाडौं खाल्डोले मान्छेलाई दिग्भ्रमित बनाउँछ त्यसैगरी नेपालबाट यो सहर पुग्दा सुरूसुरूमा अनेकन बिराना कुराहरूले मान्छे रणभुल्ल पर्ने गर्छन्। त्यही रणभुल्लताभित्र अनेक अनुहारहरू ठोकिन्छन्। अनेक परिस्थिति आइपुग्छन्।
सहरभित्र कोही आफूलाई समुदायको खत्रै नेता कहलाउन ब्यस्त छन्। विभिन्न राजनीतिक पार्टी, पार्टी भित्रका गुट र नेतापिच्छेका पछुलग्गुहरू त हुने नै भए।
कोही ५-७ जनाको समूह लिएर जिल्ला-जिल्लाका, जात-जातका, भाषा-भाषाका समाज खडा गरेर आफूलाई समाजसेवी टोपल्दै गरेका देखिन्छन्। मिल्ने भए मान्छे-मान्छे पिच्छे आफ्नै एकल समूह खडा गर्न पनि पछि पर्दैनन् उनीहरू।
किनभने उनीहरूलाई आफू खत्रा समाजसेवी कहलाउनु छ। नेपालबाट हेर्ने मान्छेहरूलाई भ्रमित बनाउनु छ।
यस्तै भ्रमको खेतीमा व्यस्त रहनेको जमात पनि निकै ठूलो छ सहरमा।
कोही अनेकन उद्देश्यका दोकानमा ब्यस्त छन्। यहाँको कथाको अगाडि त नेपालमा हप्तै पिच्छे आउने प्रकरण पनि फ्लप खान्छन्। अवैध प्रवेश गर्ने नेपालीलाई अवैध कागजात बनाएर देशको प्रतिष्ठा गिराउने दोकानदेखि जागिर खोजिदिने प्रलोभनमा सोझा नेपालीसँग पैसा असुल गर्ने दोकानका पसले बनेर बसेका नेपाली पनि सहरभित्र छन्।
सहयोगको नाटक गरेर स्वार्थपूर्ति गर्ने दोकानहरू त छ्याप्छ्याप्ती छन्। प्रायलाई अनेक लोभ, प्रलोभन र बाध्यतामा ती दोकानहरूले सुल्सुल्ती निलिरहेछन्।
केटाहरूको ग्याङमा वरिष्ठ र कनिष्ठको प्रतिष्पर्धा छ।
पहिला सहर छिर्नेले पछि छिर्नेलाई कनिष्ठ देख्छ। गुण्डा नाइकेहरूको ग्याङमा दाइ बन्ने प्रतिष्पर्धाजस्तो।
बुढाहरूको ग्याङमा पहुँचको गफ दिने प्रतिष्पर्धा छ। नेपाली नेतासँगको पहुँचको गफदेखि पाए भने जो वाइडेनसँग समेत पहुँच रहेको गफ दिन पछि पर्देनन् उनीहरू।
केटीहरूको ग्याङमा छुट्टै खाले प्रतिष्पर्धा होला।
नेपालीले नेपालीको खुट्टा तान्ने, गिराउने प्रवृत्ति त जन्मजात रोग नै भइहाल्यो। यो रोग नेपालमा भन्दा भयंकर छ यहाँ। कोभन्दा को कमको प्रतिष्पर्धा खुब चल्छ। आफूलाई गफैले भए पनि अब्बल देखाउनु छ।
बिरानो सहरको यस्तै अन्धाधुन्ध सुरूङभित्र प्रत्येक दिन सयौं नेपालीहरू छिरिरहेछन्। उनीहरूलाई आफ्नो जालमा पार्न नेपालीहरू नै चोक-चोकमा कुरेर बसिरहेका छन्। माछालाई जालमा पारे जसरी। अनेकथरी जाल फालिएका छन्। पैसा असुल गर्ने जाल। बैँश असुल गर्ने जाल। अनेकन प्रलोभनका जाल।
भर्खर भर्खर आएकादेखि उज्ज्वल भविश्यको संघर्षमा रहेका चेलीहरू सहरभित्रका खोक्रेहरूको प्रलोभनमा परेर दैनिक रूपमा सकम्बरी बनिरहेका छन्।
नेपाली नजरमा आफूलाई प्रतिष्ठित देखाइ टोपल्नेहरू नै नेपाली चेलीहरूलाई गिद्दे नजर लगाउन पछाडि पर्दैनन्। त्यस्तै बैंश बोकेर सहर छिरेका युवायुवती मन मिलोस् नमिलोस् क्षणिक फाइदाका लागि एक अर्कामा समर्पित भएका छन्। केही समयको अन्तरालमै आफ्नो जीवनमा दुर्गामी असर पर्नेगरी।
नेपालबाट सोच्दा- हेर्दा नेपालीले नेपालीलाई त आफ्नै सोच्छन् होला जस्तो देखिन्छ। सहरमा उस्तै परे नेपाली-नेपालीसँग बोल्दैनन्। कसैलाई कसैको वास्ता छैन। वास्ता छ त कसरी आफ्नो जालमा पार्ने। कसरी पैसा कमाउने। कसरी युवतीलाई प्रलोभनमा पार्ने। कसरी समाजसेवी टोपल्ने। कसरी नेपालबाट हेर्नेलाई भ्रमित बनाउने।
राम्राहरू नभएका हैनन्। तर हालीमुहाली जालीहरूको छ। नेपालमा जस्तै। विदेशी सहरमा आफ्नो अलग प्रतिष्ठा बनाएका नेपाली नभएका हैनन्। तर उनीहरू आफ्नै जीवनमा व्यस्त छन्। एकता नभएको हैन। तर एकता नारामा सीमित छ। आफैं-आफैंमा मारामार छ। एकको अस्तित्व अर्कोले स्वीकार्दैनन्। म पनि नेपाली, ऊ पनि नेपाली भन्ने भावना छैन। तँभन्दा म धेरै सहरिया भन्ने भावना छ।
समग्रमा भन्नुपर्दा नेपाली बन्ने भन्दा सहरको सहरिया टोपलिने प्रतिष्पर्धा छ। उनीहरू पूरै सहर नै आफ्नो नियन्त्रणमा रहेको जस्तो गफैगफको पुलिन्दा बुन्न व्यस्त छन्।