‘ए दिदी, यता पार्किङ गर्न ठाउँ छ!’
गुर्जुधारा यातायात कार्यालय जाने उकालो छिर्नासाथ एक जना बिचौलिया दाइले बोलाइहाले। उनको कुराको बेवास्ता गर्दै यातायात कार्यालयतर्फ हुइँकिएँ।
स्कुटरको पछाडिबाट दिदीले प्रश्न गरी- ‘तल अघि किन बोलाको?’
'तिनीहरूको काम छैन बोलाउँछन्, छोड्दे।'
दिदी पहिलोपटक यातायात कार्यालय जाँदै थिई। ऊ ती बिचौलिया हुन् भन्नेबारे बेखबर थिई। ती मान्छेबारे उसले के सोची मैले सोधिनँ।
यातायात कार्यालयको मुख्य भवनअगाडि पनि बिहानैदेखि बिचौलियाहरू छ्याप्छ्याप्ती देखिए।
उनीहरूलाई बेवास्ता गर्दै म आफ्नै बाटो हुइँकिँदै थिएँ।
‘दिदी तपाईंको के काम गर्नुपर्छ?’
फेरि अर्को बिचौलियाको जिज्ञासा आइहाल्यो। सुनेर पनि नसुनेझैं गरेर चुप लागेँ। केही बोलिनँ।
‘ए दिदी पार्किङ यता छ, यता आउनुस्, के काम गर्नुपर्ने हो?’
फेरि सवारी साधन जाँच गर्न छिर्ने चौरको छेउबाट अर्का बिचौलियाले बोलाए। उनको कुरा बेवास्ता गर्दै आफैं ठाउँ खोजेर स्कुटर पार्किङ गर्न गएँ। पार्किङ गरेर फर्किंदा बिहानीको पौने नौ बजेको थियो।
त्यतिबेला यातायात कार्यालय खुल्ने त कुरै भएन। कर तिर्ने अन्तिम दिन थियो, असार मसान्तको दिन। स्कुटरको बीमा पनि गर्न बाँकी थियो। 'सरकारी काम कहिले डुब्ला घाम' भनेर थाहा थियो। त्यही बुझेर छिटो काम सकाउने हेतुले दिदीबहिनी बिहानै यातायात कार्यालय पुगेका थियौं।
पार्किङ गरेपछि बीमा गर्न कुनै ठाउँ खुलेका छन् कि भनेर वरिपरि हेर्यौं। तर कहीँकतै खुलेको थिएन। सबै होटल मात्रै खुला थिए। एकछिन चिया खाएर कुर्ने निधो गर्यौं।
चिया खान हामी होटलतिर लम्कियौं। फेरि केही समयअघि हामीलाई बोलाएका बिचौलियाले बोलाए।
‘के कामको लागि आउनुभयो कुन्नि? हामी गर्दिन्छौं नि’, जिस्किएको लवजमा उनले भने।
मलाई रिस उठिहाल्यो। बिचौलियाहरूसँग म गुर्जुधाराको उकालोदेखि नै तर्किंदै हिँडिरहेको थिएँ। पहिले स्कुटर चलाइरहेको भएर कोहीसँग दोहोरो कुराकानी गरेकी थिइनँ। तर जब ती बिचौलियाको लवज सुनेँ त्यसपछि चुप बस्न सकिनँ।
जवाफ दिन मन लागिहाल्यो- दाइ केही काम पर्यो भने त सोध्न आइहाल्छ नि हैन! यसरी मान्छेलाई बोलाएर दुःख दिन त भएन नि! सबैलाई मन पर्दैन। त्यति कुरा त बुझ्नुपर्यो नि!
त्यति भनेपछि म चुप लागेर चिया पसलतिर लागेँ। उनले के जवाफ फर्काउँदै थिए, वास्ता गरिनँ।
चिया खानेबेला दिदीको जिज्ञासा आइहाल्यो- ‘उनीहरूले किन यसरी बोलाएको?’
'यिनीहरू 'ब्रोकर' हुन्। काम गरिदिएको बापत् एउटा काम बराबर ५०० देखि हजार रुपैयाँ पैसा लिन्छन्। कसैलाई कता गएर के गर्ने थाहा हुँदैन अनि त्यस्ता मान्छेलाई तपाईंको काम सजिलै गर्दिन्छु भनेर पैसा लिन्छन्।'
‘ए त्यसो भए यिनीहरू त साह्रै मेहनती हुँदा रहेछन् है!,’ चिया पसलको सिसाबाहिर चौरतिर देखाउँदै दिदीले भनी, ‘हेर न त्यहाँ, त्यो निलो टिसर्ट लगाउने केटा मान्छे बोलाउन कति मेहनत गरिराछ।’
दिदीको कुरा सुनेर म जिल खाइराखेको थिएँ। चिया खाइवरी बीमा गर्न गयौं।
बीमा भएपछि कागजात हेरेँ। कागजमा बीमाको रकम १७०६.३० पैसा रहेछ।
बीमाको मान्छेलाई बोलाएँ र सुझाव दिएँ- बीमा गर्न १७१० रुपैयाँ लिनुभएको थियो तर कागजमा १७०६.३० रुपैयाँ रहेछ। आजलाई त ठिकै छ, अर्कोपटक तीन रुपैयाँ चेन्ज राख्ने गर्नुस् है!
त्यति भनेको मात्र के थिएँ, भित्र गएर तीन रुपैयाँ चेन्ज पैसा ५ सेकेण्डमै दिए।
अक्सर हामी एक-दुई रुपैयाँ त हो, त्यति जाबो पैसा त छोड्दिए भैगो नि! माग्यो भने लाज हुन्छ भनेर माग्ने गर्दैनौं। तर त्यो गलत प्रवृत्ति हो। पहिलो त जहाँबाट हामीले सेवा लिइरहेका छौं उनीहरूले लाग्ने रकम मात्र लिनुपर्छ। खुद्रा पैसा नदिने बानी गर्नै पाइँदैन किनकि खुद्रा पैसासहित दिनुपर्ने उनीहरूको दायित्व नै हो।
दश बज्न केही समय बाँकी थियो। बीमा गरेपछि यातायात कार्यालयको पैसा बुझाउने ठाउँमा गएँ।
दश बज्न केही समय बाँकी हुँदा बैंक भौचर दिइन्छ भनेर गार्डले सूचना दिए। तर सवा दश हुँदा पनि भौचर बाँड्ने काम भएन। उता प्राइभेट बैंकको झ्याल भने १० बज्न केही समय बाँकी हुँदा नै खुलिसकेको थियो। तर सरकारी कर्मचारी झ्याल नखोली भित्र के गरिरहेका थिए भेउ पाउनै मुश्किल। सोध्दा ‘अब खुल्छ’ भनेर भन्थे।
बैंकको भौचरको लागि मात्रै धेरै मान्छेहरू कुरिरहेका थिए। भौचर दिन पनि कर्मचारीलाई महाभारत त्यहाँ। बल्लबल्ल साढे १० बजेतिर झ्याल खुल्यो। जाबो एउटा भौचर मात्रै पाउन पनि १५ मिनेट लाइनमा बस्नुपर्ने।
पालो आयो। भौचर लिएँ र जबरजस्ती मुसुक्क हाँस्दै सोधेँ- १० बजे खुल्न पर्ने अफिस किन साढे १० बजे? त्यसमाथि एउटा मात्र झ्याल खुलेको छ, अनि भौचर त बाहिरै राख्दा हुन्छ होला म्याडम! भौचर लिनको लागि मात्रै यस्तो त गर्न भएन नि!
‘आज आउन अलिकति ढिलो भयो। अर्को सरहरू आउँदै हुनुहुन्छ। भौचर बाहिर राख्यो भने कति मान्छेलाई भर्नै आउँदैन। मिस्टेक गर्छन् अनि धेरै खर्च हुन्छ’, उताबाट जवाफ आयो।
'भर्न जान्ने मान्छेले भर्छन्, नजान्नेले सोध्छन् नि म्याडम तर भौचर चाहिँ बाहिरै राखिदिनुपर्यो, यस्तो गरेर हुँदैन नि म्याडम। न समयमा कार्यालय खुलेको छ न त कर्मचारी समयमा आएर सेवा दिएको छ।'
यति भनेपछि भौचर भरेर पैसा तिर्ने झ्यालतिर लागेँ।
त्यता दिदी पहिले नै लाइनमा बसिरहेकी थिई। त्यसैले दिदीलाई हटाएर लाइनमा बसेँ। केही मिनेटमै पैसा तिरेँ। उता भौचर बुझाउने लाइनमा दिदी बसिरहेकै थिई।
ऊ त्यो लाइनमा बसेको धेरै समय भइसकेको थियो। तर लाइन अलिकति पनि सरेको थिएन। जुन मान्छेलाई मैले पहिले देखेको थिएँ, त्यही मान्छे एक घण्टासम्म पनि थियो।
लाइन एक चिम्टी पनि नसरेपछि ‘किन लाइन नसरेको?’ भनेर अगाडि सोध्दा भित्रबाट काम गरिरहनुभएको छ भनेर एक जनाले भन्यो।
अचम्म लाग्यो। एक घण्टा अगाडिदेखि लाइनमा बस्दा आफ्नो काम नहुँदा पनि उनी चुप लागेर बसिरहेका थिए।
अगाडि गएँ र झ्यालभित्र हेरेँ। त्यहाँ यातायात कार्यालयका कर्मचारीहरूले भित्रैबाट बिचौलियाहरूले बुझाएका बन्डलका बन्डल भौचर कम्प्युटरमा इन्ट्री गर्दै थिए।
तीन वर्ष अगाडिदेखि नै म यातायात कार्यालयका कर्मचारी र बिचौलियाको यो हर्कतदेखि जानकार थिएँ। त्यसबेला पनि कर्मचारी र बिचौलियासँग झगडा गरेकी थिएँ। तीन वर्ष बितिसक्दा आज पनि उहीँ दृश्य देख्दा मलाई झोंक चल्यो।
भित्र कर्मचारीलाई सोधेँ- सर हाम्रो पालो कतिखेर आउँछ।
‘काम हुँदैछ, लाइनमा बस्नुस् न’
'सर कसको काम हुँदैछ, एक घण्टा भइसक्यो, एकचिम्टी लाइन सरेको छैन। अझै कति समय लाइनमा बस्नुपर्ने हो?'
‘यी देख्नुभएन,’ उनले भौचर देखाउँदै भने, ‘भौचर इन्ट्री गर्दैछौं। काम गर्न दिनुस्।’
'सर भित्र त कर्मचारी मात्रै अलाउड होला नि! यसरी अरू मान्छे भित्रै छिरेर बन्डलका बन्डल भौचर दिन पाइन्छ र? बिचौलियाको काम गर्नुस् कि नगर्नुस् मतलब भएन तर यसरी लाइनमा बाहिर सेवाग्राहीलाई कुराएर भित्र बिचौलियाको काम गर्न पाइँदैन। त्यो काम खुरूक्क बन्द गर्नुस् र यता लाइनमा बसेको मान्छको काम गर्नुस्। नत्र भने कसलाई फोन गर्न पर्ने हो गर्छु।'
उनी चुप लागे।
बाहिर लाइनमा बसेका सबैले पनि ‘के गरेको यस्तो अघिदेखि कुरेको कुर्यै, उता पैसा बुझाउनेको त्यत्रो लाइन सक्किसक्यो’ भन्दै कराएपछि उनले झ्यालमा बसेकाको भौचर लिन थाले।
बल्लबल्ल लाइन सर्दै थियो। फेरि त्यही लाइनको बीचमा बिचौलियाको झुण्ड थियो।
मेरो अगाडि पनि एक जना बिचौलिया दिदी थिइन्। लाइनमा बस्ने बेला उनले जम्मा तीन वटा भौचर लिएर बसेकी थिइन्। उनीभन्दा पाँच जना मान्छे अगाडि उनकै साथी थियो।
अर्कातिर एक जनाले पैसा बुझाएर भौचर लिने र यता लाइनमा बसेको अर्को साथीलाई उक्त भौचर दिँदै जाने चलनबारे मैले केही वर्षअघि नै थाहा पाएकी थिएँ। यो पटक पनि त्यस्तै हुँदै थियो। मेरो आँखाले देखिहाल्यो।
'तपाईंले त्यो भौचर लिन पाउनु हुँदैन। तपाईं पछाडि गएर लाइनमा बस्नुस्।'
उनले ‘मेरो साथी हो। ऊ लाइनमा बसेको थियो। म भौचर भर्न गएको थिएँ’ भनेर जिद्दी गर्न थालिन्।
उनको हातमा पाँच-सात वटा भौचर थियो। जसले प्रष्टै देखाउँथ्यो, उनी कर तिर्न सँगै आएकी साथी होइनन्, बिचौलियाको रूपमा सँगै काम गर्ने साथी हुन् भनेर।
मैले लाइनमा बसेको साथीलाई अरू भौचर दिन दिइनँ।
अगाडि लाइन पनि मिलेको थिएन। कोही मान्छे सोध्न आएजस्तो गरी भौचरका बन्डलसहित चिट र केही रकम दिएर जाने गर्थे।
यो दृश्य देखेपछि अगाडि गएर सबैलाई सिधा लाइनमा बस्न अनुरोध गरेँ। कोही बिचौलियाले लाइनमा बसेको उसको साथीलाई भौचर दिन्छ कि भनेर निगरानी गर्न थालेँ। त्यो झ्यालमा सोधपुछको बहानामा भौचर दिने मान्छेलाई रोक्न बसेँ। आफ्नो काम नसकुन्जेल भित्रबाट बिचौलियाको काम गरेको देख्यो कि कर्मचारीलाई कराउन थालेँ।
यति गर्नासाथ लाइन भटाभट सर्न थाल्यो। मेरो पालो आयो। भौचर दिएँ। फेरि ती कर्मचारीलाई केही प्रश्न सोध्न मन लाग्यो।
'सर, यहाँ त भौचर मात्र बुझाउने ठाउँ हैन र? अनि उता क्यास काउन्टर हुँदाहुँदै पनि किन पैसाको लेनदेन यताबाट भइराछ?'
उनी चुप लागेँ। तर मेरो प्रश्न यतिकैमा सीमित थिएन।
'सर अनि यसरी बिचौलियालाई भित्रबाट सेवा त दिन भएन नि! समयमा झ्याल पनि नखोल्ने अनि भित्रभित्रैबाट बिचौलियाको काम गरिदिने? अफिसको काम गर्ने कोठाभित्र त कर्मचारी मात्रै जान पाउँछन् नि हैन र कि सबै जान अलाउड हो?'
उनी फेरि पनि चुप लागे। केही बोलेनन्। मलाई जवाफ चाहिएको थियो। म फेरि बोलेँ।
'सर तपाईं मौन बस्नुभयो त किन? भनेपछि तपाईंलाई पनि थाहा रैछ हैन तपाईंले गलत काम गर्दै हुनुहुन्छ भनेर। गलत गरेको हो भनेर थाहा हुँदाहुँदै यस्तो त गर्न भएन नि! सर साँच्चै तपाईंहरूले प्रतिव्यक्ति तीन वटा भौचरबाहेक नलिने गर्नुपर्यो। यसरी बन्डलका बन्डल एकैपटक लिन भएन।'
बल्ल उनको बोली फुर्यो- ‘मलाई हैन माथि हाकिम साब’लाई भन्नुस्’
'मैले त तपाईंलाई देखिराछु तपाईंलाई नै पो भन्छु त। हाकिम साबलाई भन्ने काम त तपाईंको हो नि! अनि पैसाको कारोबार भौचर बुझाउने ठाउँमा किन?'
‘नवीकरण दस्तुर यता बुझाउनुपर्छ’
'ए त्यसो भए बिचौलियाहरूले मात्रै चिटसहित नवीकरण दस्तुर यता बुझाउने रैछन्। बाहिर सूचना टाँसेकै छैन। त्यति टाँस्न सरले दुःख गर्नुपर्यो!'
मैले व्यंग्य गर्दै भनें।
‘मलाई होइन माथि हाकिम साबलाई भन्नुस्, उहाँले जे भन्यो हामीले त्यही गर्ने हो।’
'ए त्यसो भए बिचौलियाको काम गरिदिनु भनेर आदेश आएको रैछ हैन त! साँच्चै हाकिम साबको र तपाईंको शुभनाम चाहिँ के हो नि?'
मैले हाँस्दै सोधेँ। उनले दुवैको नाम भने।
अर्को झ्यालमा गएँ ब्लुबुकमा हस्ताक्षर गराएँ।
अफिसको लागि ढिलो हुँदै थियो। हतार हतार त्यहाँबाट निस्किएँ। तर मनमा अनेकौं प्रश्नहरू खेलिरहेँ।
सात वर्षअगाडि पहिलोपटक स्कुटरको कर तिर्न ठूलीआमासँग सानोभर्याङस्थित यातायात कार्यालय पुगेकी थिएँ। त्यसबेला पनि बिचौलियाको उपस्थिति त्यतिकै थियो।
तीन वर्षअगाडि गुर्जुधाराको यातायात कार्यालयमा पुग्दा पनि बिचौलियाको उपस्थिति उत्तिकै थियो।
यतिका वर्ष बित्दा पनि यातायात कार्यालयका कर्मचारीमा कुनै परिवर्तन आएको रहेनछ। कर्मचारीमै परिवर्तन नआएपछि बिचौलियामा परिवर्तन आउने त कुरै भएन।
केही वर्ष अघि यातायात कार्यालयको भौचर लिने ठाउँमा दुइटा भौचर बाहेक लिइँदैन भनी सूचना टाँसेको थियो। तर पनि कर्मचारीले बिचौलियाको २०-३० वटा भौचर लिन्थे। तर अहिले उक्त सूचना पनि हटाइएको छ।
अन्य प्रदेश र बाग्मती प्रदेशका सवारी साधनको भौचर बुझाउन छुट्टै लाइन बस्नुपर्छ। तर कहीँकतै कुनको लागि कुन झ्याल भनेर सूचना टाँसिएको छैन।
मान्छे एक घण्टा लाइनमा बसेपछि तपाईंको ‘अन्य प्रदेशको सवारी हो’ अर्को झ्यालमा जानुस् भन्ने जवाफ आउँछ।
अनि फेरि अर्को लाइनमा पुनः घण्टौं लाइनमा बसेर काम गर्नुपर्ने बाध्यता।
सुरूमै सूचना राखेर अवगत गराउने काम हुँदैन। मानौं कि त्यहाँ आएका सबै सेवाग्राहीको काम छैन। सेवाग्राहीलाई सम्मानसहित सेवा दिनुपर्छ भनेर कहिले सरकारी कर्मचारीको घैंटोमा घाम लाग्छ?
अनि धेरै भीड हुने पासपोर्ट विभाग, यातायात कार्यालय जस्ता ठाउँमा एक-दुइटा हेल्प डेस्क स्थापना गर्न सकिन्न? त्यत्रो कर सेवाग्राहीसँग लिन सक्ने कार्यालयले सेवाग्राहीलाई सहज ढंगले सेवा सुविधा दिन सबैले सहजै देख्ने ठाउँमा हेल्प डेस्क स्थापना गर्न नसक्ने हो र?
अनि यस्ता सधैंभरी भीड हुने ठाउँमा किन नियमन गर्ने निकायहरू कर्मचारीले गरेको अनियमितताको नियमन गर्दैनन्?